डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय
काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने निर्णय गरेका छन् ।
सोमबार सिहंदरबास्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने पहिलो निर्णय गरेको जानकारी दिए ।
उनले भने, ‘आजको यस पदबहालीको पहिलो निर्णय चाँही डेडिकेटेड र ट्रंकलाइनको विद्युत महशुलको जुन बक्यौता छ, त्यो बक्यौता रकम असुल्ने निर्णय भएको छ ।’
प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले बक्यौता असुल्ने प्रयास गरेपनि तत्कालीन सरकारले यसमा रोक लगाएको थियो ।
त्यस्तै उनले अब कसैले र कुनैपनि निकायले भ्रष्टाचार र अनियमितता गरेको कतै पनि भेटियो भने कडा भन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिए । भ्रष्टाचार नियन्त्रणको विषयलाई आफूले जीवन मरणको विषयको रुपमा लिएको पनि उनको भनाई छ ।
‘अब कसैले र कुनैपनि निकायले भ्रष्टाचार र अनियमितता गरेको कतै पनि गरेको भेटियो भने हामी कडा भन्दा कडा कारबाही गर्ने छौं । आन्दोलनको प्रमुख विषय पनि भ्रष्टाचार थियो । यो विषयलाई जीवन मरणको विषयको रुपमा लिएको छु । यो ठूलो चुनौती लिएर म आएको छु ।
राजनीतिक परिवर्तनलाई स्वागत गर्छौँ : योङ इन्डिजिनिष्ट लिग
काठमाडौँ । हालै सम्पन्न राजनीतिक परिवर्तनप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै योङ इन्डिजिनिष्ट लिग (वाइआइएल) ले एक प्रेस वक्तव्य जारी गर्दै परिवर्तन प्रक्रियामा सक्रिय भूमिका निभाउने जेनजी युवाहरूको साहस, जागरुकता र नेतृत्व क्षमता प्रति उच्च सम्मान व्यक्त गरेको छ ।
योङ इन्डिजिनिष्ट लिगका संयोजक सनम लिम्बुले हस्ताक्षरित वक्तव्यमा आन्दोलनका क्रममा सहिद भएका क्रान्तिकारी योद्धाहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै, मृतक र पीडित परिवारजन प्रति समवेदना प्रकट गर्दै आन्दोलनका क्रममा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरिएको छ ।
वक्तव्यमा भनिएको छ, ‘यो परिवर्तन देशको इतिहासमा नयाँ अध्यायको सुरुवात हो र यसका नायकहरू युवा पुस्ताका जागरुक प्रतिनिधिहरू हुन् ।’
देशको चुनौतीपूर्ण अवस्थालाई सफलतापूर्वक व्यवस्थापन गर्ने क्रममा देखाएको भूमिकाको सराहना गर्दै योङ इन्डिजिनिष्टले नेपाली सेना तथा अन्य सुरक्षा निकायप्रति उच्च प्रशंसा व्यक्त गरेको छ । वक्तव्यमा भनिएको छ, ‘संकटको समयमा सुरक्षा निकायहरूले देखाएको व्यावसायिकता, संयमता र राष्ट्रहितमा लिएको भूमिका प्रशंसायोग्य छ ।’
योङ इन्डिजिनिष्टले पुराना राजनीतिक दलहरूका भ्रष्ट युवा संगठनहरूसँग संलग्न ठेकेदार, घुसखोर तथा गुन्डा तत्त्वहरूले जेनजी युवामाथि गर्न सक्ने सम्भावित आक्रमण वा षड्यन्त्रविरुद्ध आफूहरू दृढतापूर्वक उभिने जनाएको छ ।
वक्तव्यमा भनिएको छ, योङ इन्डिजिनिष्ट अभिभावकीय भूमिकामा रही क्रान्तिकारी युवा पुस्ताको सुरक्षा सुनिश्चित गर्न दृढतापूर्वक उभिनेछ र कुनै पनि षड्यन्त्र वा आक्रमणलाई कदापि स्विकार्ने छैन ।’
रामेश्वरलाई कठिन समयमा अर्थ मन्त्रालयको वागडोर, लोभलाग्दो विगत
काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर प्रसाद खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
जेनजी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पलट गरेसँगै अन्तरिम सरकारको अर्थमन्त्रालको जिम्मेवारी खनालले सम्हालेका हुन् ।
पूराना राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताहरुको सत्ता स्वार्थ, भ्रष्टाचार र व्यक्तिगत स्वार्थको राजनीतिले वाक्क दिक्क भएको नेपाली समाजले अब भने मुलुकमा केही सकारात्मक परिवर्तन हुने अपेक्षा पनि गरिरहेको छ ।
यद्यपी, यतिबेला जेनजी आन्दोलनका कारण भएको ठुलो क्षतिका कारण मुलुकको अर्थतन्त्र पनि तहसनहस भएको अवस्थामा छ ।
यस्तो शुन्यमा पुगेको मुलुकको अर्थतन्त्र सम्हाल्ने हिम्मत गरेर अर्थमन्त्रीमा नियुक्त भएका खनाल केहि महिना अघिसम्म तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको नियुक्तीमा उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगमा अध्यक्ष थिए । त्यसबेला उनले तत्कालीन सरकारलाई ४४७ पृष्ठ लामो आर्थिक सुधारसम्बन्धी प्रतिवेदन बुझाएका थिए ।
खनाल आयोगको सो प्रतिवेदनमा मुलुकको अर्थतन्त्रका कमजोरीहरू के–के हुन्, ती समाधान गर्न आवश्यक तात्कालिक कदम र दीर्घकालीन उपायबारे विस्तृत सुझाव समेटिएको छ ।
वि.स. २०१३ साल असारमा पाल्पा जिल्लाको तानसेनमा जन्मिएका खनाल सानैदेखि अत्यन्तै प्रतिभाशाली थिए । तानसेनकै स्कुलबा शैक्षिक यात्रा सुरु गरेका उनले कक्षा ८ सम्म लगातार प्रथम स्थान हाँसिल गर्न सफल भएका थिए ।
विद्यार्थी जीवनमा उनी रेडक्रस सर्कल अध्यक्ष, विद्यार्थी सङ्गठन सल्लाहकार जस्ता भूमिकामा सक्रिय भए र स्नातकमा दोस्रो, स्नातकोत्तरमा तेस्रो स्थान हासिल गरे । जागिरे जीवनमा खनालले नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक र लोक सेवा आयोगमा लिखित परीक्षा पास गरे ।
उनले करिब १५ वर्ष ९ महिना शाखा अधिकृतको रूपमा काम गरे । २०५३ सालमा सहसचिव पदमा नियुक्त भई महालेखा नियन्त्रकको कार्यालयमा कार्यरत भए र २०५९ सालमा अर्थ मन्त्रालय सरुवा भए ।
२०६३ सालमा सचिव बनेर २०६७ सालसम्म सेवा दिए, तर पूरक बजेट विवादका कारण अर्थसचिव रहँदाकै अवस्थामा उनले राजीनामा दिनुप¥यो ।
उनले सरकारी निर्णयमा स्वविवेकका आधारमा अवरोध गर्ने साहस देखाएका थिए, जस्तै आठ सय करार कर्मचारी स्थायी गर्ने प्रस्ताव अस्वीकार गर्नु, शेयर कारोबारमा लगानीकर्तालाई वार्तामा बाध्य बनाउनु, र निजामती कर्मचारीको अधिकार रक्षा गर्नु उनले गरेका केही साहसिक कार्यहरु थिए । अर्थ मन्त्रालयको सचिवको रूपमा सेवारत रहँदा उनले नेपालको राजस्व–देखि–जीडीपी अनुपात १२ प्रतिशत भन्दा कमबाट १५.३ प्रतिशत सम्म पु¥याएका थिए । जुन वित्तीय प्रदर्शनमा महत्वपूर्ण उपलब्धि मानिन्छ ।
०७० सालमा उनी नेपाली काँग्रेसमा प्रवेश गरेपनि आफ्नो विवेकलाई राजनीतिक आवद्धतासँग सम्झौता गरेनन् । यस कारण उनलाई अर्थ मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार आयोगको नेतृत्व जिम्मा दिएको थियो । आयोगको प्रतिवेदन कार्यान्वयनका लागि चालू आर्थिक वर्षको बजेटमा प्रमुख सुझावको रूपमा समावेश गरिएको छ ।
आफ्नो चार दशकभन्दा लामो करियरमा, खनालले नेपाल सरकारको जागिरसँगै शिक्षण क्षेत्र, र विभिन्न अन्तर्राष्ट्रिय विकासका विभिन्न उच्च पदहरू समेत सम्हालेका छन् र सुधारमुखी दृष्टिकोण तथा वित्तीय पारदर्शिताप्रति आफ्नो अडिग प्रतिबद्धताका लागि परिचित छन् ।
उनको प्रभाव शिक्षण क्षेत्रमा पनि फैलिएको छ, जहाँ उनले साउथ एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र काठमाडौं विश्वविद्यालयमा वित्त तथा व्यवस्थापन नियन्त्रण विषयको अध्यापन समेत गराएका थिए ।
प्रशासनिक भूमिकाहरूको अलावा, खनाल एक लेखक र स्तम्भकार पनि हुन् । सन् २०११ मा मात्र उनले विभिन्न पत्रपत्रिका र जर्नलहरुमा ५० भन्दा बढी लेखहरू प्रकाशन गरेका थिए । उनका आर्थिक नीतिमा आधारित विचारहरूले सार्वजनिक विमर्श र नीति निर्माणमा अझै प्रभाव पार्दै आएका छन् ।
अन्तरिम सरकारको अर्थमन्त्रीका रूपमा अर्थतन्त्र सुधारको जिम्मेवारी पाएका उनीसामू छोटो समयमै आफ्नै प्रतिवेदन कार्यान्वयन गर्दै देशको आर्थिक इतिहासमा नयाँ भूमिका निर्वाह गर्ने चुनौती र अवसर रहेको छ ।
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । अन्तरिम सरकारको मन्त्रीमा नियुक्त भएसँगै पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले शपथ ग्रहण गरेका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जनालाई शपथ गराएका हुन् ।
शपथ ग्रहणसँगै घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश अर्याललाई गृह मन्त्रालय र कानुन मन्त्रालयको दिइएको छ । यसैगरी रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट
काठमाडौं । हालको लागि गृह मन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालयको भवनमा सार्ने काम भइरहेको छ । भदौ २४ गते भएको जेनजी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गर्ने क्रममा गृहमन्त्रालय पनि जलेर ध्वस्त भएको थियो । त्यहाँबाट काम गर्न सकिने जस्तो अवस्था नभएपछि बन्द रहेको पुरानो परराष्ट्र मन्त्रालयबाट गृह मन्त्रालयको काम कारबाही अगाडि बढाउन लागिएको हो ।
हाल पुरानो परराष्ट्र मन्त्रालय सरसफाई गरि सामान सार्ने काम भईरहेको छ । नयाँ अन्तरिम सरकारमा गृहमन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्यालले पाएको छ ।
कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । आइतबार साँझ तीन नयाँ मन्त्रीहरू नियुक्त गरिएसँगै आज सोमबार उनीहरूको शपथ ग्रहण गर्दैछन् ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । घिसिङले विद्युत् क्षेत्रमा उल्लेखनीय सुधार गरेर व्यापक प्रशंसा कमाएका थिए ।
त्यस्तै, चर्चित कानुनविद् ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । अर्याल हालैसम्म काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कानुनी सल्लाहकार थि ए।
पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको नेतृत्व गर्ने जिम्मा दिइएको छ ।
अन्य मन्त्रीहरूको नाम भने टुंगो लागेको छैन । जेन–जी आन्दोलनबाट बनेको कार्की सरकारले २१ फागुनमा चुनाव गर्ने निर्णय गरिसकेको छ ।
गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले काठमाडौंलगायत देशभरि प्रदर्शन गरेका थिए । प्रदर्शन हिंसात्मक बनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । ओलीको राजीनामापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।
मैंले पार्टी छाडेको हुँ तर परिवर्तनको एजेन्डा छाडेको छैन् : सुमना श्रेष्ठ
काठमाडौं । पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेपनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन् ।
आइतबार विहान समाजिक सञ्जाल फेसबुकमार्फत आफूले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको घोषणा गरेलगत्तै दिउँसो फेरी फेसबुक लाइभमा आएर यस्तो बताएकी हुन् ।
आफ्ना शुभचिन्तकहरुले आफूलाई दिएको साथ सहयोगका लागि धन्यवाद दिंदै उनले भनिन,‘मलाई धेरै जनाले आज किन पार्टी छाडेको ? यस्तो गर्नु हुँदैन थियो भनिरहेका छन् । मैंले आजसम्म उक्त पार्टी भित्र रहेर जति काम गर्न सकेँ त्यो तपाईहरु सबैको साथले भएको हो । मैंले पार्टी छाडेको हुँ तर, पार्टीभित्र मैंले जुन एजेन्डा बोकेर गएकी थिएँ, त्यो एजेन्डा त कहिल्यै छाडेको छैन् ।’
परिवर्तनको एजेन्डा बोकेका जेनजी युवापुस्तालाई सबैले साथ दिनुपर्ने उनको जोड छ । यतिबेला जेनजी पुस्तालाई बदनाम गर्नेहरु अग्रसर भएको बताउँदै उनले त्यस्तो नगर्न र उनीहरुलाई सबैले साथ दिनुपर्ने बताएकी छन् । आफुले पार्टी भित्र गर्न नसकेको काम अब, बाहिर आएर गर्न लागेको उनको दाबी छ ।
आफूले मन्त्री पद्मा जानका लागि पार्टी छाडेको नभइ जेनजी पुस्ताका भाइबहीनीलाई साथ दिनका लागि पार्टी छाडेको दाबी उनले गरेकी छन् ।
भिडियोको अन्त्यमा भावुक हुँदै उनले भनेकी छन,‘हामी सबैले चाहेको परिवर्तन हो । कुनै पार्टीभित्र बसेर जेनजीको क्रान्तीलाई बिथोल्न हुँदैन् । कुनै दल नसोच्नुस यतिबेला सबैले नेपाल बनाउन लाग्नुस ।’
सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा कुटाकुट
काठमाडौं । जेनजीका विषयमा भइरहेको विवाद लगायतका विषयमा ‘हामी नेपाली’ नामक संस्थाले रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुटाकुट भएको छ ।
आइतबारको पत्रकार सम्मेलनका क्रममा हामी नेपाल नामक संस्थाका सुदन गुरुङले धारणा राखिरहँदा विवाद भएको थियो ।
मृतकको परिवारसँग बसेर सुदनले मिडियासँग साक्षात्कार गरिरहेका थिए । पत्रकारले सोधेका प्रश्नहरुको उत्तर दिइरहेका थिए ।
तर, अचानक उनलाई बाहिरबाट प्रेस मिटमा छिरेका व्यक्तिले सोध्छन्, ‘ठूलो परिवर्तन भयो भन्नुभयो, आज प्रधानमन्त्रीले पदभार ग्रहण गर्नुभएको छ । ५१ जना मान्छे मारेर ल्याएको परिवर्तन यो ६ महिने अन्तरिम सरकारका लागि हो ? प्रत्यक्ष कार्यकारीको मुद्दा कहाँनेर तपाईंहरुले कार्यान्वयन गर्न सक्नुभएको छ ? तपाईंहरुले सदन विघटन गर्नुभयो, त्यसको असर कहाँ पुगेको छ तपाईहरुलाई ?’
यसपछि सुदनले सोध्छन्, ‘कहाँसम्म पुगेको छ, हजुर नै भन्नु न त ।’
प्रश्नकर्ताले भन्छन्, ‘अब केही पनि हुँदैन, छ महिनापछि तिनै नेता आउँछन् ।’ सुदनले भन्छन्, ‘हामी फेरि आन्दोलन गर्छौ । आउनै दिन्नौं । नेताहरुलाई घरबाट निस्कनै दिन्नौं ।’ सुदन यतिमै रोकिँदैनन्, ‘एक छिन ल गाइज’ भन्दै थप्छन्, ‘मैले मान्छे मारेको होइन नि त ।’
प्रश्नकर्ताको प्रश्नले सुदन रिसाउँछन् । चिच्याउँदै बोल्छन्, ‘८० वर्षको इतिहासमा यो परिवर्तन भएको छ, के यो परिवर्तन होइन रु आगलागी हामीले गरेको हो ? हामीले सुरुवात होइन, अन्त्य चाहिँ गरिदिएको हो ।’ यसपछि प्रेसमिटमा हंगामा मच्चिन्छ । सबै मान्छे आ–आफ्नै सुरमा बोल्न सुरु गर्छन् । सुदन पोडियमबाट बाहिरिन्छन् ।
यसैगरी उनले आफू नेपालको छोरा भएकोले भारतीय भन्ने काम नगर्न चेतावनी दिएका छन् । उनले सुरुमै भने,‘तपाईंको भारतीय फेक सुदन गुरुङ यही हो । फेक भारतीय सुदन गुरुङ है, म नेपालको छोरो हो । मलाई भारतीय भन्ने काम नगर्नुहोला । कुनै मिडिया, कुनै व्यक्तिले मेरो प्रतिष्ठामा प्रहार गर्ने काम नगरिदिनु, प्लिज । म एउटामात्रै झण्डको मुनि छु अहिलेसम्म, त्यो मेरो देशको झण्डा हो । कहिले भारतीय भन्या छ, कहिले के भन्या छ, कहिले बारबरा फाउण्डेशन, कहिले फ्रि–तिव्बत भन्छ, कहिले चाईजिन भन्छ । हो, मेरो आँखा त त्यस्तै छ ।’
महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त
काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन् ।
महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामालाई स्वीकृत गरी भण्डारी महान्यायाधिवक्ता नियुक्त भएकी हुन् । भण्डारी नेपालको प्रथम महिला महान्यायाधिवक्ता हुन् ।
नागरिक उन्मुक्ति पार्टीबाट अलग रेशम चौधरी, नयाँ दल गठनमा
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छोडेर नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नागरिक उन्मुक्ति पार्टी छाडेको र अब नागरिक उन्मुक्ति नेपाल नामक नयाँ पार्टी गठन गरेर अगाडि बढ्ने घोषणा गरेका हुन्।
चौधरीले फेसबुकमा लेखेका छन् “आजदेखि म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्दछु। अब म पार्टीमा छैन। म अलग अभियानमा छु। मेरो आन्दोलनको भावना बुझ्ने साथीहरूले साथ दिने विश्वास लिएको छु। म राजनीतिक व्यक्ति भएकाले यत्तिकै बस्न सक्दिन, आजैदेखि नयाँ पार्टी निर्माणमा लाग्ने छु।”
त्यस क्रममा उनले रन्जितासँग आफ्नो कुनै दुश्मनी नरहेको स्पष्ट गर्दै दुश्मनी भने “देशका राष्ट्रिय फटाहाहरूसँग” रहेको बताएका छन्।