नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष आराधना
बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विशेष पूजा–आराधना गरिँदैछ ।
पौराणिक ग्रन्थअनुसार शिरमा अर्धचन्द्र र हातमा चन्द्रको आकार भएको घण्ट धारण गर्ने भएकाले यिनको नाम ‘चन्द्रघण्टा’ रहन गएको हो । देवीको स्वरुप पहेँलो वर्णको शान्त, करुणामयी भए पनि यिनी दानवीय शक्तिहरूको नाश गर्ने शक्तिशाली रूपकी रूपमा वर्णन गरिएको छ ।
धर्मशास्त्रीहरूका अनुसार चन्द्रघण्टा देवीको ध्यानले शक्ति, ऐश्वर्य, विद्या प्राप्त हुने विश्वास छ । विशेषगरी संगीत क्षेत्रमा लागेकाहरूले आजको दिन देवीको पूजा आराधना गर्न विशेष महत्त्व दिने गर्छन् ।
यसअघि नवरात्रको पहिलो दिन घटस्थापनासहित शैलपुत्री देवीको, दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिएको थियो। अब क्रमशः कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री देवीको पूजा हुँदै जानेछ ।
नवरात्रका अवसरमा घरघरमा मात्र नभई देशभरका शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म गरिने यो साधना र आराधना विजयादशमी र कोजाग्रत पूर्णिमासम्म निरन्तर पर्वका रूपमा मनाइन्छ ।
चीनमा विवाहको सिजन : सुन पसलहरु ग्राहकले भरिए
एजेन्सी । विवाहको सिजन नजिकिँदै गर्दा चीनमा सुनका गहनाको बिक्री बढेको छ । अक्टोबरमा चीनको विवाहको मौसम मानिन्छ र विवाहको लागि अत्यावश्यक सुनका गहनाको देशभर माग उच्च छ ।
शेन्जेन शहरको गहना केन्द्रमा, नयाँ विवाहित जोडीहरू एवम विवाहको तयारीमा रहेका जोडीहरु पसलहरूमा भरिभराउ देखिन्छन् । जसका लागि सुनको व्यापार बढाएको छ ।
एक उपभोक्ता भन्छन्,‘हाम्रो विवाहमा सुनका लागि मात्र भनेर १४ हजार अमेरिकी डलरको बजेट छ । मूल्य अझ बढ्नु अघि नै सुन किन्न आएका हौं ।’
सुनको मूल्यमा भएको वृद्धिबाट चाँडै विवाह गर्ने जोडीहरू विचलित छैनन् । जसका कारण बजारका खुद्रा विक्रेताहरूले बिक्री राम्रो भइरहेको छ । शेन्जेन शुइबेई बजारमा सुन पसल चलाइरहेका लिन वेनबिङले आजकल, सुनको मूल्य लगभग प्रतिदिन दुई अमेरिकी डलरले बढिरहेको भएपनि बिक्री पहिलेभन्दा पनि राम्रो भइरहेको बताए ।
विश्लेषकहरूका अनुसार यस वर्ष अहिलेसम्म विश्वव्यापी सुनको मूल्य ३० प्रतिशतभन्दा बढीले बढेको छ । (एएनआइ)
दशैंअघि नागढुंगा–सिस्नेरी सुरुङमार्ग संचालन कति संभव ?
काठमाडौँ। केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।
मन्त्रालयमा सम्बन्धित सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले चाडपर्वलाई लक्षित गर्दै २४ सै घण्टा यात्रुलाई सडक अवस्थाका र गुनासो सुन्न एवम् त्यसको व्यवस्थापनका बारेमा जानकारी दिने, पहिरोलगायतले सडक अवरोध भएमा तुरुन्तै पुनस्थापनाको आवश्यक व्यवस्था गर्न निर्देशन दिएका थिए ।
यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक,सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसँग छलफलपछि पहिलो नम्बरमा ‘नागढुंगा–सिस्नेरी– सुरुङ्गमार्ग सम्बन्धमा’ शिर्षकमा निर्णय नै गरेका थिए ।
‘नागढुंगा–सिस्नेरी– सुरुङ्गमार्ग सम्बन्धमाः काठमाण्डौँ उपत्यकाबाट बाहिर जाने सवारी साधनहरुमध्ये यात्रुबाहक सार्वजनिक सवारी साधनहरु सो सुरुङ्गमार्गबाट बाहिर जाने र दशैंपछि माथि उल्लिखित सवारी साधनहरु प्रवेश गर्न गराउने व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने,’ पहिलो नम्बरको निर्णयमा यही उल्लेख थियो । तर उक्त सुरुङ मार्ग दशैं अगाडि नै संचालन गर्न मुस्किल पर्ने देखिएको छ ।
हुनत निवर्तमान केपी ओली नेतृत्वको सरकारले उक्त मार्ग प्रयोग गर्ने अन्तिम तयारी गरेपनि केही प्राविधिक कठिनाइका कारण रोकिएको थियो ।
साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुरुङ मार्ग प्रयोगकर्ताका लागि शुल्क निर्धारण गरिसकेको थियो । साथै ओलीले उक्त सुरुङमार्ग २०८२ कार्तिकमा सक्ने लक्ष्य रहेकोमा हालसम्म ८५ प्रतिशत प्रगतिसहित अत्यावश्यक पर्ने लाईटिङ भ्यानटिलेसनहरूको कार्य अन्तिम चरणमा रहेको जनाएका थिए ।
सुरुङ्गमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक सन्जय पन्थी दशैं अगाडि नै सुरुङ संचालन गर्न आवश्यक छलफल भइरहेको बताउँछन् । ‘सुरुङ मार्ग संचालनका लागि जापानी सहयोग नियोग जाइका साथै नेपाल सरकारका सम्बन्धित निकायसँग छलफल गरिरहेका छौं । प्राविधिक टोलीले अध्ययन पनि गरिरहेको छ । टोलीले सहमति दिएपछि मात्र दशैं अगाडि संचालनमा ल्याउन सकिन्छ । तर हालसम्मको प्रगतिलाई हेर्दा दशैं अगाडि नै मुस्किल पर्छजस्तो लाग्छ,’ उनले भने ।
सुरुङका मुख्य संरचना बनिसकेका छन् भने अन्य कामहरु धमाधम भइरहेको छ । २०७६ कात्तिकमा शिलान्यास भएको सुरुङमार्ग २.६ किलोमिटरको लामो छ । २०८१ वैशाख ३ गते सुरुङ ‘ब्रेक थ्रु’ भएको मार्ग स्थानीय बासिन्दाले पटक पटक अवरोध गर्दै आइरहेका छन् ।
आयोजनाले यतिबेला कर्मचारी, विद्युत्, अक्सिजनलगायतका पूर्वाधारको व्यवस्थापन गरिरहेको छ । सुरुङमार्गभित्र, लाइटिङ, भेन्टिलेसन, कंक्रिट सडक निर्माणको काम अन्तिम चरणमा छ ।
एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन
काठमाडौं । एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन भएको छ । तीन महिनायता फोक्सोको क्यान्सरसँग जुधिरहेकी उनको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।
चितवन मेघौलीमा जन्मिएकी सीताले एउटै खुट्टाले नाचेर आफ्नो छुट्टै परिचय बनाएकी थिइन् ।
उनले १२ वर्षको उमेरमा बोनम्यारो क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी थिइन् । उनकी एक छोरी छिन् । अन्त्येष्टिका लागि परिवार चितवनबाट काठमाडौँ आउँदैछन् ।
१५ वर्षिय बालकको अपहरणपछि हत्या
सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहा गाउँका १५ वर्षिय बालक अभिषेक सिंहको अपहरणपछि हत्या भएको छ । असोज ५ गते रातीदेखि बेपत्ता भएका अभिषेक सिंहको शव आज बिहान ६ बजे उनको घर नजिकैको आधारभूत विद्यालयको गेटमा फेला परेको हो ।
उनको शव आधा जलेको अवस्थामा थियो भने शरीर भर कुटपिट गरेको निसानहरु पनि थिए । यसबारे प्रहरीले विस्तृत अनुसन्धान गर्ने क्रम जारी छ ।
अभिषेकका घरपरवारले रातभरी खोज्दा पनि उनलाई नभेटेपछि अपहरणमा परेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन पनि दिएका थिए । असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा ५ करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको पक्का भएको थियो ।
फिरौती माग गरिएको इमो सन्देशमा अंक र अक्षर दुबैमा ५ करोड उल्लेख गरिएको छ । अभिषेकका बुबा सञ्जय सिंहको ७ वर्ष अघि करेण्ट लागेर मृत्यु भएको थियो । बुवा आमाका एक्लो सन्तान अभिषेक आफ्नी आमा, हजुरबुवा र हजुरआमासँग गोलबजारमै बस्दै आएका थिए ।
चीनले प्रयोगमा ल्यायो स्मार्ट ड्राइभिङ एवम मूल्याङ्कन प्रणाली
एजेन्सी । चीनले स्मार्ट ड्राइभिङ एवम मूल्याङ्कन प्रणाली प्रयोगमा ल्याएको छ । चाइना अटोमोटिभ इन्जिनियरिङ रिसर्च इन्स्टिच्युटले देशको पहिलो पिरामिड आकारको मूल्याङ्कन ढाँचा सुरु गरेको हो ।
जुन बहुस्तरीय बेन्चमार्क हो, जुन वैज्ञानिक र कडाईका साथ स्वायत्त रुपमा ड्राइभिङ क्षमताहरूको ग्रेडिङ गर्न डिजाइन गरिएको हो ।
यो नयाँ प्रणालीले सवारी साधनको प्राविधिक र कार्यसम्पादन थ्रेसहोल्ड मापन गर्दछ र तीन तहमा संरचित छ । प्रत्येक तहले उत्पादन स्थिति, अनुसन्धान र विकास लगानीको तीव्रतासँग मेल खान्छ ।
सुरक्षा परीक्षणमा दुई प्राविधिक रोडम्यापहरू मार्फत आगामी पाँच वर्षको लागि अनुसन्धान र विकास प्राथमिकताहरू एवम प्रमाणीकरण विधिहरूको रूपरेखा प्रस्तुत गरिएको छ ।
यसको विकासले चीन स्वायत्त सवारी साधन र गतिशीलता सेवाहरूको लागि विश्वको सबैभन्दा ठूलो बजार बन्ने अनुमान गरिएको छ । उक्त क्षेत्रबाट राजस्व २०३० सम्ममा ५०० अर्ब अमेरिकी डलर नाघ्ने अपेक्षा गरिएको छ। (एएनआइ)
नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज(सोमबार) आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिह्ना, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलले सपथ गराएका हुन् । आइतबार सिफारिस भएकी डा. संगीता मिश्राको नाम भने अन्तिम चरणमा हटाइएको थियो ।
राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार साँझ नियुक्त गरेका थिए । अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय ,महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि र जगदीश खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
सोमबार दिउसो आयोजित समारोहमा सभामुख, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधिश, उपराष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
सुनसरी जिल्ला अदालतले दशैंमा सेवा अवरुद्ध नहुने गरी विशेष व्यवस्था
विराटनगर । विजया दशमी २०८२ का अवसरमा सुनसरी जिल्ला अदालत, इनरुवाले दशैं अवधिमा पनि आवश्यक न्यायिक कामकाज निरन्तर हुने गरी विशेष व्यवस्था गर्ने भएको छ ।
अदालतका अनुसार असोज ६ गतेदेखि असोज २० गतेसम्म नियमित कामकाज बन्द रहने भए पनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम आवश्यक कानुनी प्रक्रिया भने जारी रहनेछ ।
अदालतका उप–सचिव टिकेन्द्रवीर जङ्ग राणाले पक्राउ पूर्जि जारी गर्ने, त्यसको अनुमती प्रदान गर्ने, साथै गैरकानुनी थुनामा रहेका बन्दी प्रत्यक्षीकरणजस्ता कार्य अवरुद्ध नहुने जानकारी दिए ।
यस अवधिमा शनिबार, घटस्थापना, दशैंको मुख्य दिन विजयादशमी तथा कोजागत पूर्णिमाबाहेक प्रत्येक दिन अदालत बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सञ्चालन हुने अदालतले जनाएको छ। सार्वजनिक सूचना जारी गर्दै अदालतले सो समयमा सेवा आवश्यक पर्ने पक्षलाई उपस्थित हुन आग्रह गरेको छ ।
राणाका अनुसार दशैंजस्तो ठूलो चाडपर्वमा अदालत पूर्ण रूपमा बन्द हुँदा थुनुवामा रहेका अभियुक्तहरूको हकहित प्रभावित हुनसक्ने भएकाले विशेष कदम चालिएको हो। यसअघि पनि ठूला चाडपर्वहरूमा जिल्ला अदालतहरूले यस्तै व्यवस्था गर्दै आएको अदालतले जनाएको छ ।
चार नयाँ मन्त्रीहरुको सपथ आज हुने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाएकी छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठक पछि प्रधानमन्त्री कार्कीले नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेकी हुन् ।
अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरिएको छ ।
यस्तै महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार र संगीता मिश्रा स्वास्थ्यमन्त्रीका रूपमा सिफारिस गरिएको छ ।
सिफारिस भएका नयाँ मन्त्रीहरुको सपथ सोमबार (आज) हुनेछ ।
देश बचाउनको लागि संविधान खारेज नगरेको हो : सुदन गुरुङ
काठमाडौं । हामी नेपालका संयोजक तथा जेनजी अभियान्ता सुदन गुरुङले आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै संविधान खारेजको विषयमा स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।
गुरुङले धेरै जनताबाट संविधान खारेजको माग आएको स्वीकार गरे पनि आफू एक्लैले यस्तो ठूलो निर्णय गर्न नसक्ने बताएका छन् । उनले भने, ‘धेरै जनताको माग छ । म एक्लै केही पनि गर्न सक्दिन । संविधान खारेज गर्ने कि नगर्ने? गर्यो भने के हुन्छ, हुँदैन?’
तर, लिम्पियाँधुरा हाम्रो भूभाग भएको कुरा सबै नेपालीलाई थाहा भएको उल्लेख गर्दै उनले संविधान खारेजको माग तत्काल अघि नबढाएको बताए । ‘जे जस्तो भए पनि लिम्पियाँधुरा हाम्रो हो भन्ने हामी सबैलाई थाहा छ । त्यसैले संविधान खारेजको माग अगाडि राख्न सकेन,’ गुरुङले भने।
उनले काठमाडौं केन्द्रित सोच मात्रै लिएर निर्णय गर्न नमिल्ने उल्लेख गर्दै देशका सबै क्षेत्र सुदूरपश्चिम, पूर्व र पश्चिमलाई ध्यानमा राखेर निर्णय लिनुपर्ने आवश्यकता औंल्याए । ‘संविधान खारेज ग¥यो भने हाम्रो लिम्पियाँधुरा सबै जान्छ भनेर नगरेको हो,’ उनले स्पष्ट पार्दै भने । गुरुङले देशलाई बचाउनकै लागि संविधान खारेज नगरेको बताए ।