बाजुरामा बालीनाली भित्र्याउन भ्याइनभ्याई, किसानलाई चाडबाड भन्दा काम प्यारो
बाजुरा । बाजुराका किसान यतिवेला धानबाली भित्र्याउनमा व्यस्त रहेका छन् । यहाँका किसानलाई दशैँभन्दा कामको चटारो बढेको हो । असारको महिना लगाएको धानबाली यतिवेला धमाधम काट्ने,चुट्ने काम चलिरहेको छ ।
यहाँका गाउँबस्तीमा स्थानीय बालीनाली भित्र्याउने,घाँस काट्ने लगायत काममा व्यस्त देखिन्छन् । किसानलाई दसैं भन्दा पनि काम प्यारो बनेको हो । हरेक बर्ष दसैं भन्दा अन्नवाली भित्र्याउन व्यस्त हुने यहाँका किसान यतिवेला पनि बालीनालीमै व्यस्त छन् ।
यहाँको त्रिवेणी,बुढिगङ्गा,खप्तड छेडेदह,गौमुल,बडीमालिका,बुढिनन्दा,स्वामाकार्तिक,हिमाली जगन्नाथका किसानलाई यतिवेला धानसँगै कागुनु, झुमरो, चिनो र फापर काट्ने, सुकाउने,चुट्ने कामको भ्याईनभ्याई छ । गाउँगाउँका खेतबारीमा निकै चहलपहल छाएको छ भने यहाँका मानिस बिहानै राति अवेरसम्म खेतमै कामकाजमा जुटेका देखिन्छन् ।
यतिवेला दसैं तिहार भन्दा पनि काम प्यारो बनेको बडीमालिका नगरपालिका वडा नम्वर ७ का स्थानीय शुभराज तिमिल्सेनाले बताए । खेतमा पाकेको धानबाली,कोदो, लगायत झुमरो, चिनो र फापर काट्ने, सुकाउने काम दैनिकी बनेको तिमिल्सेनाले बताएका छन् ।
अन्नबाली घर भित्र्याउनुपर्ने चटारोले बिहानै खेतमा पुगे पछि राती अवेरसम्म खेतमै काम गर्नुपर्ने बाध्यता रहेको तिमिल्सेनाको भनाइ छ । मौसम बिग्रिएपछि वर्षभरको मेहनत खेर जाने हुँदा समयमै किसानहरु बाली भित्र्याउने काममा लाग्ने गरेको बताए ।
बारीमा झुरीमुरी पाकेको धान भित्र्याउन किसानलाई चटारो छ । ९ वटै स्थानीय तहका हरेक गाउँबस्तीका खेतबारीमा,महिला,पुरूष,बालबालीका बिहान दिउँसो बारीमै व्यस्त हुने गरेका छन् । महिलाहरुलाई धान काट्न चटारो छ भने पुरुषलाई काटेको धानलाई चुटेर घरमा भित्र्याउने चटारो छ ।
जिल्लामा धान खेतिका लागि कुल क्षेत्रफल ७२३० हेक्टर सिंचित र रोपाइँ हुने खेत ५२०० हेक्टर, असिंचित र पाखो धान खेती २०३० हेक्टर रहेको कृषि ज्ञान केन्द्रको तथ्याकं रहेको छ । त्यस्तै कुल खेति गरिएको जमिन २६१६ हेक्टर छ । कुल खेती गरिएको क्षेत्रफलको २७.३५ मा धान खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए ।
बाजुरामा आर्थिक बर्ष २०८०÷०८१ मा १६ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो भने आर्थिक बर्ष २०८१÷०८२ मा कुल ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियो यस बर्ष पनि राम्रो धान उत्पादन हुने अपेक्षा लगिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
पछिल्लो समय बाजुरामा पनि उन्नत जातका धान लगाउने प्रचलन बढेको छ । विशेषगरी रामधान,जुम्ली, सावित्री, हिमाली धान,खुमल जस्ता उन्नत धान लगाउने गरिन्छ । कृषि ज्ञान केन्द्रले उन्नत जातप्रति किसानको आकर्षण बढ्दै जाँदा स्थानीय जातका धान लोप हुनसक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै रैथाने बाली तथा बीउ संरक्षणका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
आज बडादसैं अन्तर्गत टीका, उत्तम साइत ११ः५३ बजे
काठमाडौं । बिहीबार विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।
टीका प्रसाद ग्रहण गर्ने साइत आज बिहान ११ः५३ बजे उत्तम रहेको जनाएको छ ।
विजया दशमी आफैमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु पर्दैन भन्ने मान्यता पनि छ । आज बिहान ९ः२३ बजे देवी बिसर्जनको साइत रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजया दशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजया दशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरूप टीका, जमरा थापेर मनाइन्छ ।
आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादसैंको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।
महानिरीक्षक खापुङ्गले गरे मौलो एवम सङ्कल्प पूजा
काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले बडादसैंका अवसरमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् ।
नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक खापुङ्गले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाए । साथै प्रहरी महानिरीक्षक खापुङ्गले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका थिए । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो ।
नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ ।
नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतिकका रूपमा निशान झण्डालाई लिईन्छ ।
संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्त गरेपश्चात हरेक वर्ष बडादसैं र चैतेदसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ ।
साथै देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रही आएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाईहरूमासमेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ ।
बढी भाडा असुल्ने यातायात व्यसायीलाई तत्कालै कारबाही गर्ने मन्त्री घिसिङको चेतावनी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत एवम् कानूनको प्रतिकूल हुनेगरी निर्धारितभन्दा बढी भाडादर असुल्ने यातायात व्यसायीलाई तत्कालै कारबाही गरिने बताएका छन् ।
चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानून विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरे ।
हालको देशको विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौका रुपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न आग्रह गरे ।
यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न उनले आग्रह गरेका छन् ।
कञ्चनपुरमा छाउपडी अन्त्य अभियान : दुई पालिकामा १५० छाउगोठ भत्काइयो
कञ्चनपुर । छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत कञ्चनपुरका दुई पालिकामा हालसम्म १५० वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेदकोट नगरपालिकामा २३ र कृष्णपुर नगरपालिकामा १२७ छाउगोठ भत्काइएका हुन् । प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय पालिकाको संयुक्त पहलमा सो अभियान सञ्चालन गरिएको हो ।
कृष्णपुर–१ निगालीकी ३२ वर्षीया कमला आउजीको गत असार अन्तिम साता छाउगोठमै सर्पको टोकाइबाट ज्यान गएपछि पालिकाले तत्काल अभियान सुरु गरेको थियो । घटनापछि छाउगोठ नहटाउनेलाई रु १० हजार जरिवाना र कानुनी कारबाही गर्ने चेतावनीसमेत दिइएको थियो ।
नगर प्रमुख हेमराज ओझाले छाउगोठ भत्काउने अभियान अझै जारी रहने जानकारी दिए । ‘देशको विषम परिस्थिति कारण अभियान केही सुस्त मात्र भएको हो, दसैँ–तिहारपछि फेरि तीव्र पार्छौँ,’उनले भने । उनका अनुसार छाउपडी अन्त्यका लागि सचेतनामूलक कार्यक्रम पनि विद्यालय, महिला समूह र नागरिक समाजसँग सहकार्यमा निरन्तर सञ्चालन गरिनेछ ।
यद्यपि जिल्ला प्रशासन कार्यालयले जिल्लाका नौवटै पालिकालाई निर्देशन दिए पनि हालसम्म कृष्णपुर र बेदकोट नगरपालिकामा मात्र अभियान अगाडि बढाइएको छ । अन्य पालिकामा भने अझै पनि महिनावारी अवधिमा महिलालाई छाउगोठमै बस्ने प्रथा कायम छ ।
नेपालमा छाउपडी कानुनी रूपमा प्रतिबन्धित भए पनि ग्रामीण क्षेत्रमा परम्परा र अन्धविश्वासका कारण अझै यो प्रथा मौजुद रहेको छ । मुलुकी फौजदारी संहिता २०७४ को दफा १६८ अनुसार छाउपडी गराउनेलाई तीन महिना कैद वा रु तीन हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
अनियमिततामा मुछिएका कार्यालय प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइयो
काठमाडौं । अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन् ।
सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा,अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानिएको छ । कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजश्वसमेत हिनामिना भएको आशंका गरिएको छ ।
कार्यालयबाट दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (अन्तर प्रादेशिक) सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम गर्ने, जाँचपास गर्ने, प्रदूषण परीक्षणलगायतका कार्य हुन्छन् ।
कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमिता भइरहेको प्रमाणसहितको गुनासो सेवाग्राहीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङसमक्ष गुनासो प्राप्त भएको थियो । त्यसपछि मन्त्री घिसिङले तत्कालै दुवै जनालाई जिम्मबारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए ।
मन्त्री घिसिङले उक्त कार्यालयमा भइरहेको अनियमितता र त्यसमा सङ्लग्न कार्यालय प्रमुख, लेखापाल एवम् अन्य कर्मचारीमाथि छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका छन् ।
छानबिन समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । समितिले आरोपित तथा अन्य कर्मचारीसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, गरिएका निर्णयका कागजात अध्ययन/अनुसन्धान गर्ने,कारबाहीका लागि सिफारिस गर्नेलगायतका कार्यदेश दिइएको छ ।
आज घर घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।
यस वर्षको फूलपाती सोमबार अपराह्न साँढे चार बजे भित्र्याइने कार्यक्रम छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।
राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति
काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुको राहदानी रोक्का गर्न सिफारिस गरेकोप्रति एमाले पार्टीले तीव्र आपत्ति जनाएको छ ।
एमाले केन्द्रीय सचिवालयले आइतबार वक्तव्य जारी गर्दै उक्त सिफारिसलाई राजनीतिक प्रतिशोधको रूपमा टिप्पणी गरेको छ । दशैंको मौका छोपेर र गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर आयोगले सिफारिस गरेको भन्दै सचिवालयले गंभीर आपत्ति जनाएको छ । सचिवालयले भनेको छ, ‘यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामाथि समेत गम्भीर प्रश्न खडा गरेको छ ।’
यससँगै पार्टीले गृह मन्त्रालयद्वारा नेपाल प्रहरीलाई दिएको एउटा निर्देशनप्रति पनि आपत्ति जनाएको छ । भदौ २४ गतेको विध्वंसात्मक घटनामा संलग्न दोषीहरूमाथि कारबाही नगर्न निर्देशन दिएकोप्रति सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्तो निर्देशनले प्रहरीको स्वतन्त्र अनुसन्धानमा हस्तक्षेप गर्नुका साथै अपराधीहरूलाई उन्मुक्ति दिने प्रयास गरिएको सचिवालयको ठहर छ ।
‘यसले अपराध अनुसन्धान गर्ने प्रहरीको कानुनी अधिकारमाथि हस्तक्षेप मात्र गरेको छैन, अपराधीहरूको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनसाय बोकेको छ,’ सचिवालयले जनाएको छ।
यसैबीच, पछिल्लो राजनीतिक तथा सुरक्षासम्बन्धी घटनाक्रमबारे छलफल गर्न एमालेले केन्द्रीय समिति बैठक बोलाएको छ । दशौँ केन्द्रीय समिति बैठक आगामी असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने भएको छ । सो बैठकअघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९ र २० गते बस्ने तय भएको पार्टीले जनाएको छ ।
धरानको खसीबोका बजारमा व्यापारीको भीड, किसानलाई राम्रो आम्दानीको आशा
धरान (सुनसरी) । चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच बढेको छ । प्रत्येक साताको बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा देशका विभिन्न पहाडी र तराई क्षेत्रबाट किसान र व्यापारीले खसीबोका बिक्रीका लागि ल्याउने गर्दछन् ।
सङ्खुवासभाका श्यामबहादुर बस्नेत विगत १८ वर्षदेखि पशुपालन व्यवसायमा सक्रिय हुनुहुन्छ । उहाँले भन्नुभयो, “चाडपर्व सुरु हुँदा प्रत्येक वर्ष धरानको कृषि बजारमा आउने गरेको छु । यो पटक १५ वटा खसीबोका ल्याएको छु, अहिलेसम्म एउटा मात्रै बिक्री भएको छ, बाँकी बेच्नुपर्ने छ ।”
धनकुटाको सागुरीगढी गाउँपालिका-७ की ममता राईले पनि धरानको बजारमा नियमित रूपमा खसीबोका बिक्री गर्दै आउनुभएको छ । “पशुपालन हाम्रो पुख्र्यौली पेसा हो, गाउँमा घाँस पाइन्छ, अन्न र दाना किन्नुपरे पनि व्यापारमा नोक्सानी हुँदैन”, उहाँले भन्नुभयो । उहाँका अनुसार वार्षिक रूपमा खसीबोका बिक्री गरेर रु नौ लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।
सुनसरीको दुहबी नगरपालिका-५ का व्यापारी नैसात मियाँ हरेक हप्ता बिहीबार र शुक्रबार धरानबाट खसीबोका खरिद गर्दै आउनुभएको छ । उहाँले एक दिनमा १०० देखि एक सय ५० वटासम्म खसीबोका किनेर झुम्का, इटहरी, विराटनगर, लहान, जनकपुरलगायत स्थानमा बिक्रीका लागि पठाउन गरेको जानकारी दिनुभयो । “यो व्यवसाय गरेको ३१ वर्ष भयो, अहिले मासिक रु ८० हजारदेखि रु एक लाखसम्म नाफा हुन्छ”, उहाँले भन्नुभयो,
धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार हरेक हप्ता दुई दिन सञ्चालन हुने यस बजारमा दैनिक करिब चार हजार ५०० वटा खसीबोका बिक्री हुने गरेको छ । गत आर्थिक वर्ष २०८१-८२ मा मात्रै एक लाख २० हजारभन्दा बढी खसीबोका बिक्री हुँदा करिब रु दुई अर्ब ४० करोड बराबरको कारोबार भएको उहाँले जानकारी दिनुभयो ।
प्रत्येक वर्षको भदौदेखि अत्यधिक खसीबोका कारोबार हुने जनाउँदै अध्यक्ष भट्टराईले यो वर्षको भदौमा भने कारोबार कम भएको बताउनुभयो । “साउनमा लगातार वर्षा हुँदा ढुवानीमा समस्या भयो । भदौमा जेनजी प्रदर्शनका कारण व्यापारमा डर सिर्जना भयो र यातायात अवरुद्ध हुँदा गत वर्षको तुलनामा यस वर्ष खसीबोका किनबेचमा कमी आएको हो”, उहाँले भन्नुभयो ।
धरानको कृषि बजारमा धनकुटा, सङ्खुवासभा, पाँचथर, भोजपुर, तेह्रथुमलगायत पहाडी जिल्ला तथा इटहरी, कानेपोखरी, इनरुवा, झुम्का, बेलबारीलगायत तराई क्षेत्रबाट व्यापारी तथा किसान खसीबोका बिक्रीका लागि आउने गरेका छन् ।
यहाँबाट बिक्री भएका खसीबोका मुलुकका प्रमुख सहर हुँदै भारतसम्म पनि निर्यात हुने गरेको धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
चीनमा ऊँटको दूध अर्थात ‘सेतो सुन’ : अर्थतन्त्रका लागि गतिलो आधार
एजेन्सी । चीनमा उँटको दूध उत्पादनले आर्थिक विकासमा टेवा पुर्याइरहेको छ । शताब्दी पूरानो ऊँटको दूध उत्पादनले आर्थिक रुपान्तरणमा ठूलो फाइदा समेत पुगेको चीनियाँ अधिकारीहरुले बताएका छन् ।
चीनको सिनजियाङको अल्तेमा यो व्यावसायमा करिब पाँच परिवार आश्रित छन् । वाङ किआओका अनुसार गोठालाहरूका लागि, यस्तो आर्थिक क्रान्ति हरेक बिहान सूर्योदयमा दूध निकाल्ने सरल, महत्त्वपूर्ण कार्यबाट सुरु हुने गरेको छ ।
स्थानीयहरूले सयौं वर्षदेखि ऊँट र गाईवस्तु पाल्दै आएका छन् । स्थानीय गोठाला बहात्यनुर्ल बिकान भन्छन्,‘हाम्रो परिवारले पहिले गाईवस्तु पाल्थ्यो। २०११ ऊँट पाल्न थाल्यौं। पहिलो वर्ष हाम्रो आम्दानी एक लाख युआनभन्दा बढी थियो । एक दशकभन्दा बढीको कडा परिश्रमपछि, वार्षिक आम्दानी लगभग दस देखि बीस लाख युआन छ ।’
यो नाटकीय परिवर्तन कसरी भयो भन्ने प्रश्नको उत्तर पनि सहज छ–परम्परा र प्रविधिको मिश्रणले यस्तो भएको हो । स्थानीय ऊँटको दूध कम्पनीहरूले शुद्धता र दक्षता सुनिश्चित गर्न गोठालाहरूलाई दूध निकाल्ने मेसिनहरू प्रदान गरेका छन् ।
‘पहिले सबै हातले दुध दुहुन्थ्यो। अब, स्थानीय ऊँटको दूध कम्पनीले हामीलाई दुहुन मेसिनहरू दिएको छ। यसले समय र प्रयास बचत गर्छ, र प्रदूषण रोक्छ,’ एक गोठालाले भने ।
गोठाला बिकानको परिवारले स्थानीय कारखानालाई हरेक महिना लगभग ४०० किलोग्राम ऊँटको दूध आपूर्ति गर्छ ।
वाङ युआन बायोटेक्नोलोजी समूहका निर्देशक फ्यान जिन भन्छन्,‘हाम्रा सङ्कलकहरूले दैनिक गोठालाहरूलाई भेट्छन् । त्यहाँ ताजापन, मिसावट र रोगजनकहरूको परीक्षण गर्छौं। त्यसपछि, दूध हाम्रो प्लान्टमा १२८ वस्तुहरूको विस्तृत निरीक्षणको लागि जान्छ। यी परीक्षणहरू पछि मात्र यो उत्पादन लाइनमा पुग्न सक्छ ।’
चीनको फुहाई काउन्टीमा मात्र ३६,००० भन्दा बढी ऊँटहरू छन् । १,००० भन्दा बढी गोठाला घरपरिवारहरूले ठूलो मेहेनत गरिरहेका छन् ।
तीमध्ये २५७ परिवारको वार्षिक आम्दानी १० लाख युआनभन्दा बढी छ, जुन १४०,००० डलरभन्दा बढी हो । सबैभन्दा बढी कमाउनेहरू ३.६५ मिलियन युआन पुगेका छन्, जुन ५१३,००० डलरभन्दा बढी हो ।
ऊँटको दूध उक्त क्षेत्रको सेतो सुन हो। यसले प्राचीन चरन क्षेत्रदेखि विश्वव्यापी अर्थतन्त्रसम्म पुल निर्माण गरेको छ। (सीसीटीभीप्लस)

