शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01KE6R90GRB91M1V8F2T7DX3SA.jpg

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

काठमाडौं । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो ।

‘ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छ भने चिनेजानेकै नेपालीहरुमार्फत तेश्रो मुलुकका व्यक्तिहरुसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरुको गुनासो पनि आएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ । ठगीमा परेको गुनासो गर्नेहरूमा नेपालबाट बेलायत आउन चाहनेहरुको संख्या धेरै रहेको दुतावासले जनाएको छ ।

यस्ता अपराधहरु नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरु तथा बेलायतमा रहेका स्थानीय प्रहरी एवं नेशनल एण्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न समेत दूतावासको सुझाव छ ।

प्रकाशित मितिः सोमबार, २१ पुस २०८२
https://www.jawaaf.com/storage/01KE6R59Z49RQB9PATZXJWFY1D.jpg

बालेन रास्वपाको ‘वरिष्ठ नेता’, को–को बने केन्द्रीय सदस्य ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन् । आइतबार साँझ बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । बालेन रास्वपाको ‘वरिष्ठ नेता’का रुपमा रहनेछन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकले बालेनसहित २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

यी हुन् नयाँ केन्द्रीय सदस्यहरु
१. बालेन्द्र शाह (वरिष्ठ नेता)
२. सुनिल लम्साल
३. भूप देव शाह
४. सस्मित पोखरेल
५. सागर ढकाल
६ .सरिता ज्ञवाली
७. रमेश पौडेल
८. केपी खनाल
९. खडक राज पौडेल
१०. सन्तोष गिरि
११. लक्ष्मण थारु
१२. खगेन्द्र सुनार
१३. डा. नमिता यादव
१४. लक्ष्मी बर्देवा
१५. राम कुमार ढुंगाना
१६. रोहन कार्की
१७. अनन्त राज घिमिरे
१८. सुशान्त बैदिक
१९. प्रदिप ज्ञवाली
२०. जेम्स कार्की
२१. मधुसुदन ढकाल
२२. ओजस्वी थापा
२३. शिव यादब
२४. आदित्य आचार्य
२५. प्रदिप पाण्डे
२६. खेम राज साउद ।
सभापति रवि लामिछाने र बालेनबीच पुस १३ गते भएको सहमतिअनुसार केन्द्रीय समिति बैठकले समायोजन प्रक्रिया अघि बढाएको हो ।

प्रकाशित मितिः सोमबार, २१ पुस २०८२
https://www.jawaaf.com/storage/01KE6NMD6Z9PEZGWJC3M75KDAK.jpg

कोलम्बियामाथि ट्रम्पको कडा टिप्पणी, अमेरिकी हस्तक्षेपको आशंका बढ्यो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाबारे दिएको कडा र अभूतपूर्व टिप्पणीले कोलम्बियामा समेत अमेरिकी हस्तक्षेपको आशंका बढेको छ ।

ट्रम्पको टिप्पणीले अन्तर्राष्ट्रिय स्तरमा विवाद चर्काएको छ । वासिङ्टनमा पत्रकारहरूसँगको छोटो संवादका क्रममा ट्रम्पले कोलम्बियालाई ‘एउटा बिरामी मानिसले चलाएको देश’ भन्दै वर्तमान नेतृत्व ‘धेरै समय टिक्ने छैन’ भन्ने टिप्पणी गरेका हुन् ।

पत्रकारले यसले कोलम्बियामा अमेरिकी कारबाहीको संकेत हो कि भनेर सोध्दा ट्रम्पले ‘मलाई त ठीकै लाग्छ’ भन्दै जवाफ दिएका थिए । उनको यो छोटो अभिव्यक्तिले कोलम्बियामा सम्भावित अमेरिकी हस्तक्षेपको अड्कलबाजी बढाएको छ भने व्यापक आलोचना समेत भएको छ ।

कोलम्बिया लामो समयदेखि लागूऔषध नियन्त्रण, क्षेत्रीय सुरक्षा र आर्थिक सहकार्यका क्षेत्रमा अमेरिकाको नजिकको साझेदार रहँदै आएको छ । यता, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकाले देखाएको ‘आक्रामकता’ विरुद्ध ल्याटिन अमेरिकालाई एकजुट हुन आह्वान गरेका छन् ।
पेट्रोले सामाजिक सञ्जाल एक्समा लेख्दै दक्षिण अमेरिकी राजधानीमाथि बमबारी गर्ने विश्वको पहिलो देश अमेरिका भएको दाबी गरे ।

‘यो घाउ लामो समयसम्म रहनेछ । बदला होइन, एकता नै आवश्यक छ,’ उनले उल्लेख गरेका छन् । साथै उनले ल्याटिन अमेरिका एकताबद्ध नभए दासझैँ व्यवहार गरिने चेतावनी दिँदै क्षेत्रीय सहकार्य मजबुत बनाउन आग्रह गरेका छन् ।

यसैबीच, ट्रम्पले अर्को ल्याटिन अमेरिकी देश क्यूबालाई पनि निशाना बनाएका छन् । एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले क्यूबा आर्थिक रूपमा पतनको संघारमा रहेको र भेनेजुएलाबाट प्राप्त तेलमा निर्भर रहेकाले त्यहाँ कुनै सैन्य कारबाही आवश्यक नपर्ने दाबी गरे ।

ट्रम्पको लगातारको कडा अभिव्यक्तिले ल्याटिन अमेरिकासँग अमेरिकाको सम्बन्धको भावी दिशा र कूटनीतिक भाषाशैलीबारे गम्भीर प्रश्न उठाएको छ । एएनआई

प्रकाशित मितिः सोमबार, २१ पुस २०८२
https://www.jawaaf.com/storage/01KE26C8Y15P1Y4Q0H28B6CRV1.jpeg

जनता समाजवादी पार्टीको वडा समिति पुनर्गठन

बराहक्षेत्र (सुनसरी) । जनता समाजवादी पार्टी (जसपा) बराहक्षेत्र नगरपालिका–३ नम्बर वडा समितिको आज पुनर्गठन सम्पन्न भएको छ। 

उक्त कार्यक्रम जनता समाजवादी पार्टी  सुनसरी जिल्ला सदस्य सञ्जय राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। 

कार्यक्रममा जनता समाजवादी पार्टी बराहक्षेत्र नगर समिति अध्यक्ष जे.बी. हाङ राई, नगर सचिव भूपेन्द्र राजधामी तथा समाजवादी युवा संघ बराहक्षेत्र नगर अध्यक्ष मुस्कान राई विशेष अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सञ्जय राईले जनता समाजवादी पार्टीका माग र मुद्दाहरू हिमाल, पहाड तथा तराई–मधेशसम्म फैलिएको सबै नेपालीको अपनत्व झल्काउने खालको रहेको बताए। उनले उत्पीडित वर्ग, जाति र क्षेत्रलाई समेट्ने समावेशी समानुपातिक प्रणाली, संघीयता, सुशासन, समृद्धि र समाजवाद पार्टीको मुख्य एजेन्डा रहेको उल्लेख गरे।

विशेष अतिथि जे.बी. हाङ राईले नयाँ पुस्ताले उठाइरहेका अधिकांश मुद्दाहरू जनता समाजवादी पार्टीले करिब १३ वर्षअघिदेखि नै उठाउँदै आएको बताउँदै जसपा र वर्तमान पुस्ताका मागहरू धेरै हदसम्म मिल्दोजुल्दो रहेको धारणा राखे। उनले यदि जसपाका मागहरू बहुमत प्राप्त दल तथा सरकारले समयमै सम्बोधन गरेको भए प्रदेशमा पाँच वर्षभित्र पाँचपटक मुख्यमन्त्री फेरबदल हुने अवस्था नआउने बताए। प्रत्यक्ष जनमतबाट निर्वाचित सरकार बनेको भए पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन भई भौतिक पूर्वाधार तथा विकासका योजना र कार्यक्रमहरू सहज, सरल र निरन्तर रूपमा सफल हुने उनको भनाइ थियो।

उक्त कार्यक्रममा जनता समाजवादी पार्टी बराहक्षेत्र–३ वडा समितिका पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन गरिएका छन्। नवगठित समितिको अध्यक्षमा वीरबहादुर मगर चयन भएका छन् भने उपाध्यक्षमा नरेन्द्र कटुवाल, सचिवमा सुम्निमा राई, सह–सचिवमा श्याम कार्की र कोषाध्यक्षमा कोपिला चाम्लिङ चयन भएका छन्। त्यस्तै सदस्यहरूमा नीरबहादुर राई, भीमबहादुर राउत, सुकु देवान राई, पर्वतशिला राई, आशाराम राजधामी, नर्बदा राई, भावना रसाइली, गणेश चौधरी र माधव राई चयन भएका छन्।

नवगठित वडा समितिले पार्टी संगठन सुदृढीकरण गर्दै स्थानीय तहमा जनसम्पर्क विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मितिः शनिबार, १९ पुस २०८२
https://www.jawaaf.com/storage/01KDWVAC9C2N57HSH5ZFNTXGC6.jpg

जेनजी आन्दोलन छानबिनः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने तयारी

काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको लागि पत्र काट्ने तयारी गरेको छ ।
बिहिबार जाँचबुझ आयोगका प्रमुख गौरी बहादुर कार्कीले केपी शर्मा ओलीलाई आयोगले छानबिनको लागि पत्र काट्ने तयारी गरेको जानकारी दिएका हुन् ।
यसअघि आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिएको थियो ।

प्रकाशित मितिः बिहिबार, १७ पुस २०८२
https://www.jawaaf.com/storage/01KDW4VNBXQA3NSQ2P5VXJ46HT.jpg

नेपाली राजनीतिमा २०२५ : इतिहासकै दुर्लभ घट्नाले मुलुक नयाँ मोडमा

काठमाडौं । सन् २०२५ नेपालका लागि राजनीतिक दृष्टिले उल्लास र चुनौतीले भरिएको वर्ष रह्यो । राजनीतिक अस्थिरताका कारण देशमा ठूलो विध्वंश समेत भयो । तत्कालीन सत्ता साझेदार दलहरु एमाले र कांग्रेसलगायतको अहमतपूर्ण निर्णयले देशको राजनीतिमा उतलपुथल ल्यायो ।

जेनजी पुस्ताको विद्रोहले देशको नेतृत्व, राजनीतिक दलहरू, युवा शक्ति, र सामाजिक आन्दोलनको स्वरूपलाई पूर्ण रूपमा फरक ढंगले परिभाषित समेत गरेको छ ।

यस वर्षको सुरुवातमै राजनीतिक दलहरूबीच गठबन्धन र विवादको परिस्थितिले देशभरि चर्चा पाउनुकासाथै जनतामा विभिन्न प्रकारका आक्रोस र असन्तुष्टिसमेत पैदा भयो । जसको फलस्वरुप जेनजी आन्दोलनको उत्पति भयो । जसले पूराना नेतृत्व दलहरुलाई चुनौती समेत दिएको छ ।

सामाजिक आन्दोलनको दृष्टिले पनि ०२५ वर्ष महत्वपूर्ण रह्यो । विभिन्न क्षेत्रीय, आर्थिक, र सामाजिक मुद्दाहरूमा नागरिकहरू सडकमा आए, जसले सरकार र राजनीतिक दलहरूलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्यो । यो वर्षमा महिलाहरू र सामाजिक वर्गका प्रतिनिधिहरूले नेतृत्व र निर्णय प्रक्रियामा आफ्नो स्थान बलियो बनाउन कदम चाले ।

राजनीतिक उल्लासका पक्षहरूमा चुनावी प्रतिस्पर्धा, नयाँ राजनीतिक विचारधारा, र सुधारमुखी एजेण्डाहरूलाई प्राथमिकता दिइयो भने चुनौतीहरूमा भ्रष्टाचार, नीति निर्माणमा ढिलाइ र राजनीतिक अस्थिरता प्रमुख रहे ।

त्यसैगरी ०२५ ले नेपाललाई भविष्यका लागि सुदृढ लोकतान्त्रिक संरचना निर्माण गर्ने अवसर र चेतावनी दुवै प्रदान गरेको गरेको छ । वितेको एक वर्ष प्रारम्भमा केही सकारात्मक सन्देशहरु पैदा भएपनि वर्षको मध्यतिर आइपुग्दा अस्थिरताले गाँज्न पुग्यो ।

गठबन्धन सरकार

यस वर्षको सुरुमै प्रधानमन्त्री केपीशर्मा ओली चौथो पटक प्रधानमन्त्री बनेका थिए । एमाले र नेपाली कांग्रेस गठबन्धनमा प्रधानमन्त्री बनेका ओलीले राष्ट्रवादी विचारलाई स्थापित गरेपनि निरंकुश रुपमा सत्ता चलाउँदा देशमा विध्वंश मच्चियो ।

राजावादी आन्दोलन

गत चैत्र १५ गते राजतन्त्र पुनस्र्थापना र हिन्दू राष्ट्रको माग राख्दै तीनकुनेमा ठूलो प्रदर्शन भएको थियो । प्रदर्शनकारी, सुरक्षाकर्मीबीच झडप भएको थियो । जसमा पत्रकार सुरेश रजतले आफ्नो ज्यान गुमाए । रविन्द्र मिश्र, धवलशम्सेर जवरा, दुर्गा प्रसाईंलगायतका नेता एवं अभियन्ताहरु पक्राउ परे ।

शिक्षक आन्दोलन

यसैबर्ष देशभरका शिक्षकहरु काठमाडौं जम्मा भएर बृहत आन्दोलन गरे । नेपाल शिक्षक महासंघलगायतको अगुवाइमा भएको आन्दोलनले हप्तौंसम्म काठमाडौंका सडकहरु अस्तव्यस्त रहे ।

सरकारले ल्याएको शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले रोजगार सुरक्षा, सुविधा र अधिकारका लागि व्यापक आन्दोलन सुरु गरेका थिए । काठमाडौँमा लामो समयसम्म प्रदर्शन, श्रेणी १२ परीक्षा स्थगन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा जस्ता घटनाहरु भए।

इतिहासमै सबभन्दा ठूलो राजनीतिक संकट

केपी ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको विषय अन्ततः जेनजी पुस्ताको आन्दोलन निम्तायो । जसले इतिहासकै भिषण र विध्वंसात्मक आन्दोलन भयो । जसका कारण अर्बौंको भौतिक क्षति भएको छ । फेसबुक,युट्युव इन्सटाग्राम लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि युवा वर्गमा ठूलो आक्रोस् उत्पन्न भयो।

गत भाद्र २३ र २४ गतेको सो घटना २०२५ को सबैभन्दा निर्णायक राजनीतिक मोड मानिन्छ । नेतृत्वहीन युवा विरोध आन्दोलन नेपालको विभिन्न सहरहरुमा फैलियो, भ्रष्टाचार, तथा सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलन व्यापक हिंसात्मक बनेर संसद, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी भयो। कम्तीमा ७० भन्दा बढीको ज्यान गयो भने हजारौं घाइते भए।

प्रधानमन्त्री राजीनामा

जेनजी आन्दोलनपछि केपी शर्मा ओलीले ९ सेप्टेम्बर मा राजीनामा गरे । जुन नेपालमा राजनीतिक इतिहासमा एक ठूलो मोड थियो । अधिकांश नेताहरु सैनिक नियन्त्रणमा रहेभने मुलुकमा सैनिक शासनको व्यापक चर्चा भयो । तथापी, राष्ट्रपति रामचन्द्र पौडेलको सुझवुझपूर्ण कदमले मुलुकले नयाँ अन्तरिम सरकार पायो । १२ सेप्टेम्बर २०२५ मा सुशीला कार्कीक नेतृत्वमा अन्तरिम सरकार गठन भयो। संघीय संसद विघठनत गरियो र प्रतिनिधि सभा निर्वाचनको घोषणा गरियो ।

ठूला पार्टीबीच एकता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका १० पार्टीबीच कार्तिक १९ मा एकता घोषणा भयो ।

कांग्रेस दलभित्र १५औँ महाधिवेशन कहिले गर्ने भन्नेमा ठूलो विवाद रह्यो। एक समूहले चुनावभन्दा पहिले गर्न माग गर्यो भने शेर बहादुर देउवा पक्षले चुनावपछि गर्ने पक्षमामा अडिग रहँदा नेपालको ठूलो र पूरानो पार्टी कांग्रेस अन्योलताको भूमिरीमा फस्यो ।

जेनजी समूह फेरि सडकमा

२४–२६ नोभेम्बरमा केही युवा समूहले फेरि विरोध प्रदर्शन गरे, जसमा तत्कालीन प्रधानमन्त्रीसँग भेट हुन नसक्दा उनीहरू असन्तुष्ट देखिए । गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग गर्दै उनीहरु सडकमा उत्रिए । केही युवाहरु अझै आन्दोलन र अनसनमा सक्रिय छन् ।

एमालेमा नयाँ नेतृत्व

१४–१६ डिसेम्बरमा एमाले महाधिवेशन गर्यो जसमा केपी शर्मा ओली लगातार तेस्रो पटक अध्यक्ष चुनिए । यता, २०२६ को चुनावका लागि ११४ दल दर्ता भए । निर्वाचन आयोगले ११४ दललाई चुनावमा भाग लिन स्वीकृति दियो, जसले विविध विकल्प र नयाँ राजनीतिक शक्ति उदय भइरहेको छ भन्ने देखायो । डिसेम्बरमा नै सहकारी ठगी मुद्दामा थुनामा रहेका रास्वपाका सभापति रवि लामिछाने थुना मुक्त भए । कुलमान घिसिङ,रवि लामिछाने र बालेन शाहबीचको एकता प्रमुख चर्चाको विषय बनेको छ ।

प्रकाशित मितिः बिहिबार, १७ पुस २०८२
https://www.jawaaf.com/storage/01KDW0P7DWCRK3N27NS9DY606G.jpg

सुनसरी सीमा क्षेत्रमा गोली लाग्दा एकजनाको मृत्यु, घटना स्थलमा प्रदर्शन

विराटनगर । सुनसरीको सिमाक्षेत्रमा भएको गोलीकाण्डमा कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको छ। घटना सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार, नेपाल–भारत सीमा नजिकैको घटनास्थलमा सिटी सफारीमार्फत सामान ल्याउने क्रममा चालकलाई लक्षित गरी गोली चलाइएको देखिएको छ ।

घटनास्थलमा गोलीको खोका फेला परेको र विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयबासी र घाइतेका परिवारले प्रदर्शन सुरु गरेका छन्। प्रारम्भिक रिपोर्ट अनुसार गोली सशस्त्र प्रहरीकाबाट चलेको आशंका गरिएको छ। प्रहरीले घटनास्थलको नियन्त्रण कायम गर्दै अनुसन्धानलाई तीव्र बनाएको छ।

प्रकाशित मितिः बिहिबार, १७ पुस २०८२
https://www.jawaaf.com/storage/01KDVRENZX97GDW255CQWPEDZG.jpg

पेट्रोल प्रतिलिटर ४ रुपैयाँले घट्यो

रौतहट । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । निगमको पछिल्लो निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य कम गरिएको हो ।

आन्तरिकतर्फको हवाइ इन्धनमा निगमले प्रतिलिटर ६ रुपैयाँले कटौती गरेको छ। बिहिवार बिहान देखि घटेको नयाँ मूल्य लागु हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नयाँ मूल्य भारतीय आयल निगमले पठाएको मूल्यअनुसार समायोजन गरिएको हो।मूल्य समायोजनसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल÷मट्टितेलको १३७ रुपैयाँ कायम हुनेछ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको फेरबदलका कारण नेपाली बजारमा उपभोक्तालाई राहत दिन यो कदम चालिएको निगमले जनाएको छ।

हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एलपीजी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

प्रकाशित मितिः बिहिबार, १७ पुस २०८२
https://www.jawaaf.com/storage/01KDVQ1K8KEXG445T9REQAVQNQ.jpg

विश्वभर इस्वी संवत् २०२६ सुरु

काठमाडौं । आजदेखि इस्वी संवत् २०२६ औपचारिक रूपमा सुरु भएको छ। सन् २०२५ को बिदाइसँगै विश्वभर नयाँ वर्षको स्वागत गर्दै शुभकामना आदान–प्रदान भइरहेको छ।

नयाँ वर्षको आगमनसँगै विश्वका विभिन्न मुलुकमा उत्सव, सांस्कृतिक कार्यक्रम तथा विशेष समारोह आयोजना गरिएको छ।

नेपालमा पनि राजधानी काठमाडौंसहित पोखरा, सौराहा, ठमेल, बौद्धलगायत स्थानमा नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्। सर्वसाधारण, युवा तथा पर्यटकहरू उत्साहका साथ नयाँ वर्ष मनाइरहेका छन्।

नयाँ वर्षको अवसरमा सामाजिक सद्भाव, शान्ति, समृद्धि र सकारात्मक परिवर्तनको अपेक्षा गरिएको छ। विभिन्न संघसंस्था, राजनीतिक दल तथा व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गरेका छन्।

इस्वी संवत् २०२६ ले विश्वभर नयाँ आशा, नयाँ संकल्प र नयाँ सम्भावनाको सुरुवात गराएको विश्वास गरिएको छ।

प्रकाशित मितिः बिहिबार, १७ पुस २०८२
https://www.jawaaf.com/storage/01KDT7TTXJ39G9FAHCJ98GKTSN.jpg

पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने अदालतको आदेश

काठमाडौं । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ ।
पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले गुप्तालाई थुनामा पठाउने आदेश गरेको हो ।
विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो ।

प्रकाशित मितिः बुधबार, १६ पुस २०८२