इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै ४८ घण्टाभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा र विना कुनै अवरोध नखोले इरानका विद्युत केन्द्रहरू ध्वस्त पारिदिने धम्की दिएका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा आइतबार पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले भनेकाछन, ‘यदि इरानले अहिलेको समयबाट ठीक ४८ घण्टाभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा खोल्दैन भने, संयुक्त राज्य अमेरिकाले इरानका विभिन्न विद्युत केन्द्रहरूमा आक्रमण गरी तिनलाई नामेट पारिदिनेछ, जसको सुरुवात सबैभन्दा ठूलो विद्युत केन्द्रबाट हुनेछ ।’
यता अमेरिकी सेन्ट्रल कमाण्डले पनि अमेरिकी नागरिक र छिमेकी राष्ट्रहरूविरुद्ध शक्ति प्रदर्शन गर्ने इरानको क्षमतालाई निस्तेज पार्नु नै आफूहरूको स्पष्ट सैन्य उद्देश्य रहेको बताएको छ । यसैबीच, इरानले पनि अमेरिका र इजरायललाई कडा जवाफ दिएको छ । इरानी रिभोलुसनरी गाड्र्सको एयरोस्पेस फोर्सका प्रमुख मेजर जनरल सैयद माजिद मुसावीले इरानले इजरायली आकाशमाथि क्षेप्यास्त्र प्रभुत्व कायम गरेको दाबी गर्दै अबका आक्रमणहरूले अमेरिकी र इजरायली कमाण्डरहरूलाई स्तब्ध बनाउने चेतावनी दिएका छन् ।
उनले इजरायलको दक्षिणी आकाश घण्टौंसम्म उज्यालो रहने भन्दै नयाँ प्रविधिका क्षेप्यास्त्र प्रहार गर्ने संकेत गरे । इरानी संसदका सभामुख एम.बी. कालीबाफले इजरायलको डिमोना जस्तो उच्च सुरक्षा भएको क्षेत्रमा समेत क्षेप्यास्त्र रोक्न असफल हुनुले इजरायली आकाश रक्षाहीन रहेको पुष्टि गरेको र युद्ध अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । अर्कोतर्फ, इजरायली वायुसेनाले दक्षिणी शहर अरादमा ब्यालिस्टिक क्षेप्यास्त्र खसेको र आफ्नो रक्षा प्रणाली किन असफल भयो भन्नेबारे अनुसन्धान थालेको छ । इजरायली सञ्चारमाध्यमका अनुसार उक्त क्षेप्यास्त्र रोक्न गरिएका दुईवटा प्रयासहरू विफल भएका थिए । एएनआई
आज विश्व पानी दिवस मनाइँदै
काठमाडौं । आज विश्व पानी दिवस मुलुकभर मनाइँदै छ । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आइतबार विश्व पानी दिवस मुलुकभर मनाइने भएको हो ।
जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी नियकाय र विभिन्न सामाजिक सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी पानी दिवस मनाउन लागेको हो ।
विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९२ को मार्च २२ तारिख अर्थात् आजकै दिन विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।
इरानमा स्थल सेना परिचालनका लागि अमेरिकी पेन्टागनको व्यापक सैन्य तयारी
काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानमा सम्भावित स्थल सेना परिचालनका लागि व्यापक रणनीतिहरू तयार पारेको छ । विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाए अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलबीचको जारी द्वन्द्वका सन्दर्भमा थप सैन्य कदम चाल्ने सम्भावनालाई दृष्टिगत गर्दै उच्च सैन्य कमाण्डरहरूले पूर्व तयारीका लागि विशेष रणनीतिहरू अघि सारेका हुन् ।
राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा स्थल सेना तैनाथ गर्ने विषयमा विचार गरिरहनुभएको भए तापनि कुन निश्चित परिस्थितिमा उनीहरूको प्रयोग गर्ने भन्नेबारे अहिलेसम्म ठोस निर्णय भने भइसकेको छैन । संवेदशनशील सैन्य योजना भएकाले यसबारे जानकारी दिने अधिकारीहरूले नाम गोप्य राखेका छन् ।
बिहीबार ओभल अफिसमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै राष्ट्रपति ट्रम्पले आफूले तत्काल कतै पनि सेना पठाउन नलागेको बताउनुभएको थियो । यद्यपि, उहाँले “यदि सेना पठाउने नै भए पनि आफूले सञ्चारमाध्यमलाई जानकारी नदिने“ स्पष्ट पार्नुभयो ।
यसै विषयमा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पेन्टागनको मुख्य जिम्मेवारी नै कमाण्डर–इन–चीफ (राष्ट्रपति) लाई जुनसुकै संकटको समयमा अधिकतम सैन्य विकल्पहरू प्रदान गर्नु रहेको बताउनुभएको छ । उहाँका अनुसार यी तयारीहरू हुनुको अर्थ अन्तिम निर्णय भइसकेको भन्ने होइन ।
यसैबीच, अमेरिकी सेनाले सम्भावित आक्रमणको समयमा इरानी सैन्य अधिकारी तथा अर्धसैनिक सदस्यहरूलाई नियन्त्रणमा लिने र उनीहरूलाई थुनामा राख्ने प्रक्रियाका विषयमा समेत आवश्यक छलफल र योजना बनाएको रिपोर्टमा उल्लेख छ । यस योजना अन्तर्गत पक्राउ परेका व्यक्तिहरूलाई कुन स्थानमा राख्ने र कसरी व्यवस्थापन गर्ने भन्ने प्राविधिक पक्षहरूमा समेत छलफल भएको छ ।
हाल अमेरिकाले आफ्नो ८२ औं एयरबोर्न डिभिजन, मरीन एक्सपिडिसनरी युनिट र ग्लोबल रेस्पोन्स फोर्सलाई यस क्षेत्रमा तैनाथ गर्नका लागि उच्च सतर्कतामा राखेको छ । हजारौंको संख्यामा मरीन कमाण्डोहरू अहिले मध्यपूर्वको दिशामा प्रस्थान गरिसकेका छन् ।
क्यालिफोर्नियाबाट करिब २,२०० मरीन सैनिक बोकेका तीनवटा नौसेनाका जहाजहरू भर्खरै प्रस्थान गरेका छन्, जुन द्वन्द्व सुरु भएयता पठाइएको दोस्रो यस्तै टोली हो । यी गतिविधिहरूले पेन्टागनले राष्ट्रपतिलाई सैन्य विकल्पहरू विस्तार गर्न र जारी द्वन्द्वका बीच उच्च स्तरको तयारी कायम राख्न खोजेको संकेत गर्दछ । एएनआई
आजको मौसम : आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायूको प्रभाव रहेको छ । कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आँशिक बादल लागेको छ । कोशी र मधेश प्रदेशका केहि स्थानहरूमा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मध्यम सम्मको वर्षारहिमपात भईरहेको छ ।
आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आँशिक बादल लाग्नेछ । देशको पहाडी र हिमाली भुभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राती देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आँशिक बादल लाग्नेछ तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
इरानको आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्प प्रशासन
काठमाडौं । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने रणनीतिबारे आन्तरिक परामर्श गरिरहेको खबर सार्वजनिक भएको छ ।
अमेरिकी राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार, इरान को आणविक भण्डार नियन्त्रणमा लिन सकिने सम्भावित विकल्पहरूबारे उच्चस्तरीय छलफल भइरहेको छ । यद्यपि, कुनै पनि सैन्य वा विशेष अपरेसनबारे अन्तिम निर्णय भने अझै गरिएको छैन र यसको समयसीमा पनि स्पष्ट छैन ।
रिपोर्टका अनुसार योजना मुख्यत विशेष सैनिक (स्पेशल फोर्स) प्रयोग गरेर लक्षित अपरेसन सञ्चालन गर्ने सम्भावनामा केन्द्रित छ । यस्तो अपरेसनमार्फत इरानको संवेदनशील आणविक सामग्री कब्जा गर्ने वा सुरक्षित स्थानमा सार्ने विकल्पमा छलफल भइरहेको जनाइएको छ ।
यदि यस्तो अपरेसन अघि बढाइयो भने, यसले प्रत्यक्ष सैन्य टकरावको खतरा बढाउने र क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनाउने अनुमान गरिएको छ ।
हर्मुज जलमार्ग खुलाउन इरानसँग दक्षिण कोरियाको पहल
काठमाडौं । पश्चिम एसियामा द्वन्द्व चौथो हप्तामा प्रवेश गर्न लाग्दा दक्षिण कोरियाले विश्वकै प्रमुख व्यापारिक मार्ग ’हर्मुज जलमार्ग’ लाई सामान्य बनाउन इरान लगायतका मुलुकहरूसँग सक्रिय संवाद सुरु गरेको छ । यो जलमार्ग विश्वको कुल तेल व्यापारको २० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने एक महत्त्वपूर्ण मार्ग हो । इरानले यस मार्गमा गरेको अवरोधले दक्षिण कोरिया र जापान जस्ता पूर्वी एसियाली मुलुकहरूको ऊर्जा सुरक्षामा प्रत्यक्ष असर पारेको छ ।
दक्षिण कोरियाले जापान र युरोपेली मुलुकहरू सहित सात राष्ट्रको संयुक्त विज्ञप्तिमा ऐक्यबद्धता जनाउँदै खाडी क्षेत्रमा इरानले गरेका आक्रमणहरूको कडा निन्दा गरेको छ । विज्ञप्तिमा इरानले व्यावसायिक जहाजहरूमाथि गरेको ड्रोन तथा मिसाइल आक्रमण, समुद्री खानी बिछ्याउने कार्य र नागरिक पूर्वाधारमाथिको हमलालाई तत्काल रोक्न माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र नौवहन अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त हो । इरानका यी कार्यहरूले विश्वभरका कमजोर जनसंख्यालाई गम्भीर असर पु¥याउनेछ । “राष्ट्रहरूले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव २८१७ को पालना गर्न पनि इरानलाई आग्रह गरेका छन् ।
इरानको अवरोधका कारण तेलको मूल्यमा पर्न सक्ने प्रभावलाई कम गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले आफ्नो रणनीतिक तेल भण्डार बाट तेल आपूर्ति गर्ने निर्णय गरेको छ । दक्षिण कोरियाली सरकारले पनि आफ्ना नागरिकको सुरक्षा र ऊर्जा आपूर्ति मार्ग सुरक्षित गर्न सबै संयन्त्र परिचालन गरेको बताएको छ ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले जापानको समाचार एजेन्सी क्योटोसँग कुरा गर्दै टोकियोसँगको आवश्यक परामर्शपछि जापानतर्फ जाने जहाजहरूलाई मार्ग प्रशस्त गर्न तेहरान तयार रहेको सङ्केत दिएका छन् ।
दक्षिण कोरियाली अधिकारीहरूका अनुसार उनीहरूले इरानसँग निरन्तर सम्पर्क गरिरहेका छन् ताकि यस तनावपूर्ण अवस्थामा पनि इन्धन ढुवानीका मार्गहरू सुरक्षित रहन सकून् । हर्मुज जलडमरूमध्य भएर जाने सबै मुख्य मार्गहरू इरानी जलक्षेत्रभित्र पर्ने भएकाले यसको संवेदनशीलता झन् बढेको छ । एएनआई
मुस्ताङका उच्च भेगमा भारी हिमपात
मुस्ताङ । विगत केही दिनदेखिको लगातारको वर्षासँगै मुस्ताङका उच्च हिमाली क्षेत्रहरूमा भारी हिमपात भएको छ । हिजो शुक्रबारदेखि सुरु भएको हिमपातका कारण उपल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रको तापक्रम ह्वात्तै घटेको हो ।
हिमपातका कारण विशेषगरी लोमान्थाङ, छोसेर, लोघेकर दामोदरकुण्ड र मुक्तिनाथ क्षेत्रका गाउँहरू प्रभावित भएका छन् ।
कागबेनी–कोरला सडक खण्डका कतिपय स्थानमा बाक्लो हिउँ जमेकाले सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ । प्रशासनले पदयात्री र तीर्थयात्रीहरूलाई सतर्क रहन आग्रह गरेको छ ।
लामो समयको खडेरीपछि भएको यो हिमपातले स्याउ, जौ र आलु खेती गर्ने किसानहरूलाई भने उत्साहित बनाएको छ । हिउँले जमिनमा ओस कायम राख्ने र कीराहरू नष्ट गर्ने भएकाले उत्पादन बढ्ने आशा गरिएको छ ।
स्थानीय प्रशासनले उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र घरभित्रै सुरक्षित रहन सर्वसाधारणलाई सूचित गरेको छ ।
इरानको चेतावनीः विश्वभरका पर्यटकीय क्षेत्रहरू अब ‘असुरक्षित’
काठमाडौं । इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ । अल जजीराका अनुसार, इरानी सेनाका मुख्य प्रवक्ता जनरल अबोलफजल शेकार्चीले पार्क, मनोरञ्जन क्षेत्र र पर्यटकीय गन्तव्यहरू इरानका शत्रुहरूका लागि सुरक्षित नरहने चेतावनी दिएका हुन् ।
यो धम्कीसँगै इरानले मध्यपूर्वभन्दा बाहिर पनि ‘असिमेट्रिक’ (छापामार शैलीका) आक्रमणहरू गरेर दबाब बढाउन सक्ने भन्दै विश्वभर चिन्ता थपिएको छ । इजरायलले यसै साताको सुरुमा इरानको विशाल ‘साउथ पार्स’ अफशोर प्राकृतिक ग्यास क्षेत्रमा बमबारी गरेपछि इरानले खाडी अरब मुलुकका ऊर्जा केन्द्रहरूमा आक्रमण तीव्र पारेको छ ।
अल जजीराका अनुसार, शुक्रबार बिहान कुवेतको मिना अल–अहमदी तेल प्रशोधन केन्द्रमा इरानले दुई चरणमा ड्रोन आक्रमण गरेको छ । आक्रमणका कारण त्यहाँ भिषण आगलागी भएको बताइएको छ । दैनिक ७ लाख ३० हजार ब्यारेल तेल प्रशोधन गर्ने क्षमता भएको यो प्रशोधन केन्द्र मध्यपूर्वको ठूला प्रशोधन केन्द्रहरूमध्ये एक हो ।
कच्चा तेलको अभाव र अमेरिकालाई जवाफ
यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिंगटनले समुद्रमा इरानी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्न सक्ने संकेत गरेपछि इरानले कडा जवाफ दिएको छ । इरानी तेल मन्त्रालयका प्रवक्ता सामन घोड्दुसीले भनेका छन,‘हाल इरानसँग अन्तर्राष्ट्रिय बजारमा आपूर्ति गर्नका लागि कुनै पनि अतिरिक्त कच्चा तेल बाँकी छैन । अमेरिकी अर्थमन्त्रीको भनाइ केवल खरिदकर्ताहरूलाई आशा दिने उद्देश्यले आएको हो ।’
युएईलाई कडा चेतावनी
इरानले संयुक्त अरब इमिरेट्स (युएई) लाई पनि कडा चेतावनी दिएको छ । यदि युएईको भूमि प्रयोग गरेर फारसको खाडीमा रहेका इरानी टापुहरूमा पुनः आक्रमण भएमा इरानले युएईको ‘रास अल–खैमाह’ शहरमा ’ध्वंसात्मक प्रहार’ गर्ने चेतावनी दिएको छ ।
रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्ग नजिकै रहेका यी टापुहरूबाट विश्वको झण्डै पाँच भागको एक भाग तेल र ग्यास ढुवानी हुने गर्दछ । यसै महिनाको सुरुमा युएईले रास अल–खैमाहको अल–हाम्रा गाउँ क्षेत्रमा एउटा ड्रोन खसालेको दाबी गरेको थियो । इजरायल र इरानबीच बढ्दो तनावले अहिले सम्पूर्ण खाडी क्षेत्र र विश्वकै सुरक्षा व्यवस्थामा चुनौती थपेको छ । एएनआई
आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस
काठमाडौं । आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
दिवसका अवसरमा आज काठमाडौँमा राष्ट्रिय दलित आयोगसहित सङ्घसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपालमा यो वर्ष ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन’ भन्ने नारासहित यो दिवस मनाउन लागिएको राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार आयोगले दलित गैरसरकारी संस्थासहित अन्य नागरिक संस्थाहरूसँगको सहकार्यमा आज बबरमहलदेखि बुद्ध नगरसम्म सचेतनामूलक ¥याली निकालिने छ भने बुद्ध नगरमा पुगेर सभामा परिणत हुनेछ । कार्यक्रममा बिहान ११ बजेबाट हुने आयोगले जनाएको छ ।
त्यस्तै, दिवसकै अवसरमा दलित मुक्ति आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण सहिद तथा योद्धाहरूको स्मरणमा साँझ ५ः३० बजे माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम राखिएको छ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको अगुवाइमा उक्त कार्यक्रम राखिएको हो ।
सन् १९६० को दशकमा ल्याटिन अमेरिकी मुलुकमा गोरा शासकद्वारा लादिएको उपनिवेशवाद, जातिभेद तथा रङविरोधी संघर्षमा मारिएकाहरूको सम्झनामा मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् १९६६ मा २१ मार्चलाई ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’का रूपमा मनाउन अन्तर्राष्ट्रिय जगतलाई आह्वान गरेको थियो ।
नेपालमा सन् २००१ देखि यो दिवस मनाइँदै आएको छ । नेपालले सन् १९७१ मा यसलाई पक्ष राष्ट्रको रूपमा अनुमोदन गरेको थियो । २०६२र०६३ मा लोकतन्त्र बहाली भएपछि २०६३ साल जेठ २१ मा पुनस्र्थापित प्रतिनिधि सभाको बैठकले नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गर्यो। त्यसको पाँच वर्षपछि २०६८ जेठ १० गते ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ संसदबाट पारित भएको थियो ।
जातीय विभेद गर्नु कानुनतः दण्डनीय भए पनि व्यावहारिक रूपमा कानुन कार्यान्वयन फितलो हुँदा दलित समुदायले विभेद खेपिरहेका छन् ।
गगन थापाको राजीनामा अस्वीकार, पार्टी पराजित हुनुको कारण खुलाइयो
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस भएको छ ।
वैठकमा प्रारम्भिक समीक्षा पेस गर्दै पार्टी उपसभापति विश्वप्रकाश शर्माले चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको बताए । उनले पराजयको प्रमुख कारण चरम गुटबन्दी र वितृष्णा भएको ठहर गरेका हुन् ।
उनले गुटबन्दीको यस्तो चित्र सबैजसो दलहरुमा रहेको जसका कारण मतदातामा वितृष्णा जगाएको बताएका छन् । उनले कतिपय जायज आवाजहरुलाई पनि पार्टीले नजरअन्दाज गर्दा निर्वाचनको नतिजा प्रतिकूल हुन पुगेको बताएका छन् ।
पार्टीले फागुन २१ को निर्वाचनमा भोग्नु परेको पराजय र सभापति गगन थापाको राजीनामाका विषयमा छलफल र निर्णय लिन शुक्रबार कांग्रेस केन्द्रीय समितिको वैठक बसेको हो ।
सो क्रममा शर्माले सभापति थापाको राजीनामा अस्वीकृत हुने निर्णय पेस गरेका थिए । उनले सात कारणसहित सभापति थापाको राजीनामा स्वीकृत नहुने बताए।
प्रतिकुलता चिरेर पार्टीलाई अनुकुलतामा पु¥याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय नहुने उनको ठहर छ ।
‘विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय हुन्न,’ उनले भनेका छन,‘त्यसका बाबजुद नैतिक जिम्मेवारी अनुभूत गर्ने सभापतिको भावनालाई उच्च कदर गर्दै पदबाट दिनुभएको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ।’
उपसभापति शर्माले राजीनामाका विषयमा सात कारणसमेत खुलाएका छन्। उनले कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न नसके पनि पार्टीले अपनाएको मूल नीतिको विजय भएको बताए। उनले प्रतिकूल अवस्थाबीच चुनावमा जाँदा परिणाम अनुकूल नआउनु अनौठो नभएको बताए।
प्रतिवेदन पेस भएपछि थापाले पदबाट दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार भएको जानकारी गराइयो । सहमहामन्त्री बहादुर सिंह लामाले सभापति थापाको राजीनामा अस्वीकृत भएको पत्रकारहरुलाई जानकारी दिएका छन् ।
साथै बैठक आइतबार विहान ८ बजे बस्नेगरी सकिएको पनि केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी गराएका छन् ।


