शुक्रबार, १५ जेठ २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01HWT0XB91TMY8B27D2T6ECV5S.jpg

आनी छोइङ डोल्माको लाइभ कन्सर्ट बेलायतमा आयोजनाहुँदै

काठमाडौँ  I मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्ट बेलायतमा आयोजना हुँदैछ । यही वैशाख २३ गते बेलायतको क्यामवर्ली स्थित लेकसाइड कन्ट्री क्लवको हलमा आयोजना हुने सो कन्सर्टका लागि गायिका आनी छोइङ र मानवसेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारी आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।     
     
मानवसेवा आश्रम युके च्याप्टरको आयोजनामा बेलायतमा मे ५ मा कन्सर्ट र मे १९ सम्म मानवता प्रवर्ध्दन सम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना हुने आयोजक संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । विगतमा पनि आश्रमद्धारा बेलायतमा आमा सेमिनार लगायत मानवता प्रवर्धन सम्बन्धी कार्यक्रम सम्पन्न भइसकेको अधिकारीको भनाइ छ । यसपटक हुनलागेको कन्सर्ट मानवसेवा आश्रमको बेलायतमा तेस्रो कार्यक्रम हो । ‘इनर मेलोडी फर इनर पिस’ कन्सर्टमा सहभागी हुन मानिसहरुको आकर्षण बढ्दै गएको मानवसेवा आश्रम युके च्याप्टरका पदाधिकारीहरुले जानकारी दिएका छन् । कन्सर्ट कार्यक्रममा एक हजार जनालाई सहभागी गराउने आयोजकको लक्ष्य रहेको पनि मानवसेवा आश्रम युके च्याप्टरका सचिव यादव श्रेष्ठले बताउनुभयो ।     
     
कन्सर्ट र मानवता प्रवर्धन सम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमबाट सङ्कलन गरिने रकम घरबार र परिवारविहिनहरूको आश्रयस्थल मानवसेवा आश्रमको सेवाप्रवाह सहजीकरणमा खर्चिने मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष अधिकारीले बताउनुभयो । कन्सर्टबाट एक लाख पाउन्डभन्दा बढी सहयोग जुटाउने लक्ष्य राखिएको छ ।     
     

Advertisement


बुद्ध फाउण्डेसन युके, बुद्धिस्ट गुम्बा रिडिङ युके, द बुद्धिस्ट कम्युनिटी सेन्टर युके, शिव कल्चर एण्ड कम्युनिटी सेन्टर युके, तमुधिं एशोसिएसन युके, पासा पुच गुठी युके, क्षेत्री समाज युके, क्याट युके, ग्रेटर रिडिङ नेपलिज कम्युनिटि यूके, नेपाली भिलेज, पोखरेली मञ्च युके र मगर एशोसिएसन युके कार्यक्रमको सह–आयोजक रहेका छन् । बेलायतमा गुञ्जयमान हुने कन्सर्ट नितान्त नेपालको सडक पेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवश बेसहारा, असहाय, अशक्त, अभिभावक विहीन, मानसिक तथा शारिरीकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण र संरक्षणका लागि सहयोग पुयाउने मनसायले आयोजना गर्न लागिएको मानवससेवा आश्रम युके च्यापटरका संयोजक सुनिलबाबु खड्काको तर्क छ ।     
     
संसारभरका मानिसलाई संगीतको आनन्द दिएर कमाएको पारिश्रमिक आनी छोइङले सामाजिक सेवा, परोपकार र धार्मिक कार्यमा खर्चिदै आउनुभएको छ । सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणमा टेवा पुर्याउने आयोजकको विश्वास छ । मानवीय कार्यमा सहकार्य गर्नको लागि आगामी जेठ ६ गते सम्म बेलायतका विभिन्न शहरमा मानवता प्रवद्र्धन लगायत ‘मिट र ग्रिट’ कार्यक्रम आयोजना गरिने र उक्त कार्यक्रममा बेलायतबासी नेपालीलाई सहभागी हुन र सहकार्य गर्न आह्वान गरिएको युके च्यापटरका संयोजक राजु आर्चाय र विक्रम भटराईले बताउनुभयो ।     
 

प्रकाशित मितिः बुधबार, १९ वैशाख २०८१
https://www.jawaaf.com/storage/01HWSWMYGSDVF3PJ8656PD71N6.jpg

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

लताप, (धादिङ) I साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ । ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को अनुसन्धान तथा प्रवद्र्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल (टान) र गाउँपालिकाको टोलीको उपस्थितिमा आज तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको हो । तामाङ भाषामा ‘ह्यारा’को अर्थ भिरमौरी भन्ने बुझिन्छ ।     
      
      
गङ्गाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले विगत लामो समय देखि भीरमौरीको मह उत्पादन हुँदै आएको तेम्बायारा महभिरमा मह उत्पादनका लागि आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेर पर्यटन प्रवद्र्धनमा सहयोग गर्दैआएको बताउनुभयो । “साहसिक पर्यटनको अत्यधिक सम्भावना भएको तेम्बाह्यारा महभिरमा भीरमौरीको महबाहेक क्यानोनिङको समेत सम्भावना छ, गाउँपालिकाले यसको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्छ,” अधिकृत श्रेष्ठले भन्नुभयो ।     
      
गङ्गाजमुना–२ का वडाअध्यक्ष बलबहादुर तामाङले तेम्बाह्यारा महभिरमा रहेकोे भिरमौरीको महलाई आगामी दिनमा संरक्षण समिति बनाएर उत्पादन गरिने बताउनुभयो । उक्त महभिरमा विगत दुई सय वर्ष देखि भिरमौरीको मह निकालिँदै आएको उहाँको भनाइ छ ।     
      
हाल ‘री’ गाउँका ६ युवाले रु दुई लाख लगानी गरेर डोरी खरिद गरी भिरमौरीको मह निकाल्दै आएका छन् । उत्पादन भएको मह रु एक हजार पाँच सय देखि रु दुई हजार सम्ममा बिक्री वितरण गरिँदै आएको वडाअध्यक्ष तामाङले बताउनुभयो । उक्त महभिर गङ्गाजमुना–२ र ३ को सिमाना ताप्राङ खोलामा पर्दछ ।     
      
 गङ्गाजमुना–३ का वडाअध्यक्ष राजकुमार गुरुङले वडाभित्रका पर्यटकीय क्षेत्रको खोज गरी संरक्षणमा वडा लागेको बताउनुभयो । आजदेखि सुरु भएको भिरमौरी मह निकाल्न एक हप्ता लाग्नेछ । भिरमौरीको मह निकाल्नका लागि री गाउँका चन्द्रबहादुर तामाङ, कुर्मु तामाङ, दुर्गा तामाङलगायत लाग्नुभएको थियो । उक्त महभिरमा कात्तिक र वैशाखमा भिरमौरीको मह उत्पादन गरिँदै आएको छ ।     
      
 गङ्गाजमुनाका पर्यटन विकास संयोजक एवम् वडा नं ६ का वडाध्यक्ष रमेश ढकालले गङ्गाजमुनामा भएको साहसिक पर्यटनको विकासका लागि गाउँपालिकाले काम गर्ने बताउनुभयो । सङ्घीय राजधानी काठमाडौँमा समेत धादिङका अधिकांश व्यक्ति पर्यटन व्यवसाय गर्दै आएका छन् । गङ्गाजमुनाका बासिन्दाका मात्र ९५ ट्रेकिङ कम्पनी छन् । पर्यटन विकास संंयोजक ढकालले गङ्गाजमुनाभित्रको पर्यटनको विकासका लागि काठमाडौँमा रहेका सबै व्यवसायीलाई समेटेर अगाडि बढ्ने बताउनुभयो ।     

प्रकाशित मितिः बुधबार, १९ वैशाख २०८१
https://www.jawaaf.com/storage/01HWS7SWQ4N3K0THHEB7DDA5A0.jpg

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री

१९ वैशाख, काठमाडौँ   I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलिया बीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने बताउनुभएको छ ।     
      
आज बिहान रारा होल्डिङका प्रतिनिधिहरूसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले भन्नुभयो, “राराको मुर्माटपमा रिसोर्ट निर्माणका निम्ति भएको सम्झौता महत्त्वपूर्ण छ । नेपालमा समृद्धिका लागि प्रचुर सम्भावनाका क्षेत्र मध्ये पर्यटन एक महत्त्वपूर्ण क्षेत्र हो । त्यसका निम्ति पर्यटन पूर्वाधारमा राज्यले जोड दिनुपर्दछ । तपाईँहरू निजी क्षेत्र आफैँले यसका निम्ति पहल लिनुभएकामा म खुसी छु । रारामा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।”     
      
प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रिसोर्ट निर्माणका निम्ति राज्यले समेत पूर्वाधार विकासमा भूमिका खेल्नेछ । मुख्यतः त्यहाँ पुग्ने सडक निर्माण, विद्युत् प्रसारण, खानेपानी लगायत क्षेत्रमा सरकारका तर्फबाट सहयोग हुनेछ । यो लगानीले नेपालमा पर्यटक भित्र्याउनमात्र सहयोग पुग्ने छैन, आन्तरिक राजश्वसमेत अभिवृद्धि हुनेछ ।”     
      
भेटमा रारा होल्डिङ प्रालिका अभिषेकविक्रम शाह र एक्पर्ट ग्रुप अष्ट्रेलियाका सञ्जीव शर्माले लगानी सम्मेलनमा भएको सम्झौता बमोजिम निर्धारित समयमा नै काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।     
      
सोमबार सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रु एक अर्ब १० करोडको लागतमा रारा ताल समीप सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।     

प्रकाशित मितिः बुधबार, १९ वैशाख २०८१
https://www.jawaaf.com/storage/01HWFHBX9T47J4B8JGC8N277FH.jpg

एशिया कप ट्रायथलन : इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

१५ वैशाख, कास्की I पोखरामा आज सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया कपको उपाधि पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइलले जितेका छन् । यसैगरी महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिर विजयी भइन् ।

ट्रायथलनको स्प्रिन्ट विधा अन्तर्गत फेवातालमा सात सय ५० मिटर पौडी र २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड भएको थियो । पुरुषतर्फका विजेता  इसमाइलले निर्धारित दूरी ५६ मिनेट ४५ सेकेण्डमा पूरा गरे । अष्ट्रेलियाका ब्रुक्किन हेनरीले ५७ मिनेट १० सेकेण्डमा पूरा गरी द्वितीय र जापानका मिट्सुहो मोचीजुकील ५७ मिनेट २५ सेकेण्डमा पूरा गरी तृतीय भए । 

महिलातर्फकी विजेता इड्डाले निर्धारित दूरी पार गर्न एक घण्टा छ मिनेट लगाइन् । यसैगरी उपविजेता गुआमका मानामी लिजिमाले एक घण्टा ४२ सेकेण्ड र तृतीय उज्वेकिस्तानका एलिना खाकीमोवाले एक घण्टा चार मिनेटमा पार गरिन् ।

दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा पुरुष तथा महिला दुबैतर्फ भारतीय खेलाडीले वर्चस्व राखे । पुरुषतर्फ भारतका मुरलीधर नैरले  एक घण्टा दुई मिनेट तीन सेकेण्डमा तोकिएको दूरी पार गरी उपाधि जिते । यसैगरी कौसिक विनयले एक घण्टा तीन मिनेट २६ सेकेण्ड लगाउँदै उपविजेता बने । नेपालका विपन खत्कत्वा एक घण्टा पाँच मिनेट २५ सेकेण्ड लगाउँदै तृतीय भए । 

महिलातर्फ भारतका मान्सी मोहितिले निर्धारित दूरी एक घण्टा सात मिनेट ५१ सेकेण्डमा पूरा गरी विजेता बनिन्  ।  नेपालका श्रेवी महर्जनले एक घन्टा ११ मिनेट ४५ सेकेण्डको पूरा गरी उपविजेता बनिन् । नेपालकै शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पूरा गरी तृतीय हुन सफल भइन् । 

यसैगरी राष्ट्रिय च्याम्पियनसिपमा विपन खत्कत्वाले एक घन्टा पाँच मिनेट २५ सेकेण्डमा निर्धारित दूरी पार गरी च्याम्पियन बने । प्रवीन थारुले एक घन्टा छ मिनेट २० सेकेण्डमा पार गरी द्धितीय र मुकेश थारुले एक घण्टा १५ मिनेट ११ सेकेण्ड लगाउँदै तृतीय हुन सफल भए  ।

महिलातर्फ एक घन्टा ११ मिनेट ४५ सेकेण्डको समयमा दूरी पार गर्दै श्रेवि महर्जन च्याम्पियन बनिन् । शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पार गरी द्धितीय र ज्ञानु कुमारी चौधरीले एक घण्टा २१ मिनेट ५७ सेकेण्डमा पूरा गरी तृतीय स्थान हासिल गरिन् ।

यसैगरी जुनियर साउथ एसिया च्याम्पियनसिपमा पुरुषतर्फ भारतका साइ केडी च्याम्पियन बने । भारतकै कृषिभ पटेल द्धितीय र नेपालका यजु महर्जन तृतीय भए ।  महिला जुनियरतर्फ नेपालका श्रेवी महर्जन विजेता बनिन् । भारतका दुर्विशा पवार द्धितीय र प्रेरणा श्रवणकुमार तृतीय भइन् । 

नेपाल ट्रायथलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन सङ्घको व्यवस्थापनमा सञ्चालन भएको च्याम्पियनसिपमा विभिन्न १५ देशका ३८ पुरुष र २४ महिला गरी ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्ष मारिसोल कासडो, महासचिव एन्टोनियो आरामानी, नेपाल ट्रायथलन सङ्घका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ  लगायतले पुरस्कार तथा मेडल वितरण गरेका थिए । प्रतियोगिता अन्तर्गत आइतबार दुआथलन च्याम्पियनसिप हुने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, १५ वैशाख २०८१
https://www.jawaaf.com/storage/01HWFA3DY1HPAPC7G1MG08N5ZH.jpg

निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई

१५ वैशाख, काठमाडौँ I अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित हुनुहुन्छ । उहाँले निर्देशन गर्नुभएको चर्चित नाटक हो ‘डिग्री माइला’ । त्यही नाटकको मूल कथालाई टेकेर बनेको डिग्री माइला अहिले चलचित्रका रुपमा प्रदर्शनरत छ । नाटक निर्देशनकै बेला उहाँले शैक्षिक बेरोजगारीको कथालाई रोज्नुभएको थियो । डिग्री माइला मार्फत पनि सामाजिक, शैक्षिक र राजनीतिक विषयमा व्यङ्ग्य गरिएको उहाँले बताउनुभयो । 

“हामीले तयार गरेको डिग्री माइला गाउँमा देखेको पात्रकै प्रतिनिधित्व हो किनकि उनीहरू आफूभन्दा अघिल्लो पुस्तासँग घुलमिल हुन सक्दैनन् र नयाँ सँग विचार  मिल्दैन”, उहाँले भन्नुभयो, “त्यसैकारण माइला मार्फत कथा भन्न मन लागेको हो । नाटक बन्दा नै यसलाई ठूलो पर्दामा ल्याएर धेरै दर्शकलाई देखाउनुपर्छ भन्ने लागेको थियो ।”

डिग्री माइला शीर्षकमा चलचित्र बन्ने चर्चा चल्दा धेरैले अभिनेता राईले निर्देशन गर्नुहुन्छ भन्ने अनुमान गरेका थिए तर उहाँले नाटक निर्देशन गर्नुभएता पनि चलचित्र निर्देशन गर्नुभएन । यद्यपि उहाँलाई चलचित्र निर्देशन गर्ने चाहना भने छ । 

“यो निर्देशन गरौँ भन्ने सोच आएको थिएन । अहिले म अभिनयमै व्यस्त छु, त्यसैले समय पनि व्यवस्थापन गर्न सहज हुँदैन । यद्यपि मैले केही फरक र भन्नै पर्ने कथा भेटेँ भने दुई चलचित्र निर्देशन गर्छु”, अभिनेता राईले भन्नुभयो । 

उहाँले चलचित्र निर्देशन गर्नुभयो भने आफूले जानेको कुरा प्रयोग गर्ने योजनामा हुनुहुन्छ । रङ्गमञ्च मार्फत चलचित्रमा प्राप्त गरेको सफलताले उहाँको चलचित्रमा व्यावसायिक र कलात्मक मध्ये कुन पाटो हाबी हुन्छ भन्ने कौतुहलता स्वाभाविक छ । उहाँले भन्नुभयो, “मैले चयन गर्ने विषयले मलाई कलात्मक वा व्यावसायिक के बनाउँछ भन्ने निर्धारण गर्छ । किनकि कथालाई कसरी देखाउँदा प्रभाकारी हुन्छ भन्ने विषयले नै निर्देश गर्छ । त्यस कारण अहिले त्यस विषयमा धेरै सोचेको छुइन, म प्रति अपेक्षा छ भन्नेमा ज्ञात छु ।”

उहाँले डिग्री माइला जस्तो व्यावसायिक चलचित्र सँगै ‘गाउँ आएको बाटो’ र ‘राजागञ्ज’ जस्ता कलात्मक चलचित्रमा अभिनय गर्नुभएको छ । उल्लिखित चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता पाउनाका साथै केहीमा पुरस्कार समेत जितिरहेका छन् । 

उहाँ अभिनित ‘जारी’ मा लिम्बू समुदायको कथा, ‘दयारानी’ मा गुरुङ समुदायको कथा थियो । अब प्रदर्शन हुने भनिएको ‘घर ज्वाईं’ मा मगर समुदायको कथा छ । ग्रामीण भेग र ओझेलमा परेका समुदायको कथामा अभिनय गर्न पाउँदा उत्साह लाग्ने अभिनेता राईले बताउनुभयो । 

प्रकाशित मितिः शनिबार, १५ वैशाख २०८१
https://www.jawaaf.com/storage/01HWF7R7KQKTHRZ1ZRWM2J8N62.jpg

नेपालले टस जितेर फिल्डिङ गर्दै

१५ वैशाख, काठमाडौँ  I  नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । यस सँगै वेस्ट इन्डिज ‘ए’ ले अब पहिला ब्याटिङ गर्नेछ ।

नेपालको प्लेइङ एघारमा कप्तान पौडेल सहित कुशल भुर्तेल, अनिल कुमार शाह, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा छन् । बेन्चमा आसिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, आकाश चन्द, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम र आरिफ शेख छन् ।  त्यसैगरी वेस्ट इन्डिज ‘ए’ को प्लेइङ एघारमा जोन्सन चार्ल्स, अलिक अथान्जे, म्याथ्यु फोर्ड, गुडाकेश मोती, आन्द्रे फ्लेचर, रोस्टन चेज, केसी कार्टि, किमो पल, कडीम एलेन, ओबेद मकोए र ओशेन थोमस छन् ।

प्रकाशित मितिः शनिबार, १५ वैशाख २०८१
https://www.jawaaf.com/storage/01HWAQYTFFJ1DBFJMSAADJ03WW.webp

राष्ट्रिय महिला भलिबल : एपिएफ क्लब विजयी

काठमाडौँ, १३ वैशाख I विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा एपिएफ क्लबले अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले पराजित गरेको हो । यसअघि एपिएफ क्लबले पहिलो खेलमा विभागीय टोली नेपाल प्रहरीको पुलिस क्लबलाई ३–१ सेटमा पराजित गरेको  थियो ।

आजको खेलमा एपिएफले सुरुआती दुई सेट २५–२३ र २५–२३ अङ्कले आफ्नो पक्षमा पा¥यो । त्यसपछिका दुई सेट आर्मीले २५–१३ र २५–१४ अङ्कले जित्यो । खेलको अन्तिम निर्णायक सेट एपिएफ क्लबले १५–९ अङ्कले जित्यो । जितसँगै एपिएफ क्लबले पाँच अङ्क जोडेएको छ । 

प्रतियोगिताको विजेताले रु चार लाख ९९ हजार, दोस्रो हुने टोलीले रु दुई लाख ५० हजार, तेस्रो हुनेले रु एक लाख २५ हजार र चौथो हुने टोलीले रु ६२ हजार पुरस्कार प्राप्त गर्नेछ । 

प्रकाशित मितिः बिहिबार, १३ वैशाख २०८१
https://www.jawaaf.com/storage/01HVY2PZTCJCYYD5GNYAECJ654.jpg

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

फुङ्लिङ (ताप्लेजुङ), ८ वैशाख I ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन् । 

चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसम समेत खुलेकाले भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार पाथीभरामा भक्तजनको चाप बढ्ने गरेको छ । स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने गरेका छन् । भक्तजनको चाप बढेपछि सहज रूपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको समितिले जनाएको छ । 

चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक लाख ६८ हजार चार सय ६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको तथ्याङ्क समितिले सार्वजनिक गरेको छ । भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३, कात्तिकमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभरा आएको समितिले जनाएको छ । 

यस्तै मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५, माघमा छ हजार एक सय एक, फागुनमा १७ हजार नौ सय १२ भक्तजन पाथीभरा पुगेका छन् ।

प्रकाशित मितिः शनिबार, ०८ वैशाख २०८१
https://www.jawaaf.com/storage/01HVWNPXBBYDGVTXTS59NSN2SY.jpg

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी, ८ वैशाख I विसं २०८० मा ३१ हजार भन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।     
      

 विसं २०८० को वैशाख देखि चैत सम्म ३१ हजार चार सय ३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । चौकीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरण सहितको अभिलेख राख्दै आएको छ ।     
      
गत वर्ष २५ हजार दुई सय ७९ जना पर्यटक भित्रिएका र छ हजार एक सय ६० जना घोडेपानी हँुदै अन्यत्र गएका घोडेपानी प्रहरी चौकीका वरिष्ठ हवल्दार टेकबहादुर सुनारी मगरले बताउनुभयो । सबै भन्दा बढी चैत महिनामा पाँच हजार आठ सय ४९ जना पर्यटक घोडेपानी आएका छन् ।     
      
वैशाखमा चार हजार चार सय १४, जेठमा एक हजार दुई सय ८१, असारमा चार सय ४१, साउनमा नौ सय ४७, भदौमा नौ सय ७२, असोजमा चार हजार दुई सय ९८ र कात्तिकमा चार हजार तीन सय ५७ जना पर्यटक आएका छन् । कात्तिकमा चार हजार तीन सय ५७, मङ्सिरमा तीन हजार एक सय ९९, पुसमा एक हजार छ सय २७, माघमा एक हजार पाँच सय ७७ र फागुनमा दुई हजार चार सय ७७ जना पर्यटक आएका थिए ।     
      
 विसं २०७९ मा २६ हजार तीन सय एक जना पर्यटकले घोडेपानी घुमेका थिए । घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष समेत रहेकी होटल व्यवसायी जुली ठकुरी पुनले कोरोना अघिकै लयमा फर्कन नसके पनि पर्यटक आगमन सुधार हुन थालेकाले आशा जागेको बताउनुभयो ।     
      
 “अनुकूल मौसम र बिदाको समय भएकाले आन्तरिक पर्यटकको आगमन पनि राम्रो छ”, उहाँले भन्नुभयो, “आन्तरिक पर्यटकले यहाँको होटल व्यवसाय धानिएको छ ।” कोरोना अघि वार्षिक ६० देखि ७० हजार जना पर्यटक घोडेपानी आउने गरेका थिए ।     
      
समुद्र सतह देखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् । घोडेपानीमा साना ठूला गरी २७ होटल छन् । ती होटलमा एक दिनमा एक हजार जना बास बस्न सक्छन् ।     
      
पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि माइलादाइ होटल तथा रेष्टुराँलाई रु ६३ लाख ११ हजारमा ठेक्का सम्झौता गरेको छ । पुनहिल प्रवेश गर्न हरेक नेपालीले रु ५० र विदेशीले रु एक सय ५० शुल्क तिर्नुपर्छ ।     
      
पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्र«े, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्यावलोकन गर्न पाउनु पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँस जङ्गल छ । हिजोआज गुराँसले ढकमक्क भएको जङ्गलमा रमाउने पर्यटकको चहलपहल बढेको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो ।     
      
अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरेबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । आन्तरिक पर्यटकको अभिलेख राख्ने गरिएको छैन । म्याग्दीको पोखरेबगर– घार– शिख– चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधनमा पुग्न सकिन्छ । पोखरा–घोडेपानी बस सेवा पनि सञ्चालनमा छ ।     

प्रकाशित मितिः शनिबार, ०८ वैशाख २०८१
https://www.jawaaf.com/storage/01HVTP41AT28CHS49S4Z1R07VZ.jpg

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

ध्रुवसागर शर्मा   
गलेश्वर (म्याग्दी) ७ वैशाख I अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गते सम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् ।     
     
म्याग्दी–मुस्ताङ छिर्ने नाकाअन्तर्गतको घासा प्रहरीचौकीमा रहेको तथ्याङ्क अनुसार गत वर्षको वैशाख १ गतेदेखि चैत मसान्त सम्म चार लाख १४ हजार दुई सय ८० जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ पुगेका हुन् ।     
     
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने आन्तरिक पर्यटकको सङ्ख्या तीन लाख ३५ हजार चार सय ६६ छ । तीमध्ये दुई लाख २० हजार सात सय २४ जना पुरुष छन् भने महिलाको सङ्ख्या एक लाख १४ हजार सात सय ४२ छ ।     
     
विसं २०८० मा ७८ हजार आठ सय १४ बाह्य पर्यटक मुस्ताङ घुमेका छन् । यीमध्ये ७२ हजार सात सय ५६ जना सार्क राष्ट्र भित्रका हुन् भने छ हजार ५८ जना सार्कराष्ट्र बाहिरका रहेका प्रनाउ पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सार्क राष्ट्रबाट ३८ हजार आठ सय २१ पुरुष र ३३ हजार नौ सय ३५ महिला छन् ।     
     
सार्क राष्ट्र बाहिरबाट तीन हजार छ सय ४८ पुरुष र दुई हजार चार सय १० महिला मुस्ताङ पुगेका प्रहरीको तथ्याङ्कबाट देखिएको छ । सोही अवधिमा हवाइमार्गबाट ११ हजार चार सय ८४ पर्यटक मुस्ताङ भित्रिएका छन् । यीमध्येका एक हजार एक सय ३४ पुरुष र पाँच सय ४५ महिला गरी एक हजार छ सय ७९ आन्तरिक पर्यटक रहेका प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।     
     
सार्क राष्ट्रबाट तीन हजार सात सय ६७ पुरुष र चार हजार दुई सय ८८ महिला गरी आठ हजार ५५ पर्यटकले मुस्ताङ घुमेका छन् । सार्क राष्ट्र बाहिरबाट आठ सय ८६ पुरुष र आठसय ६४ जना महिला गरी एक हजार सात सय ५० पर्यटक मुस्ताङ भित्रिएका तथ्याङ्कले देखाएको छ ।     
     
सडकको सहज पहुँचका साथै सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण पनि पछिल्ला वर्षमा पर्यटकको सङ्ख्या बढ्दै गइरहेको कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा मुस्ताङ आकर्षक गन्तव्यस्थल बनेको छ ।     
     
सडक मार्ग सहज बनेपछि मुस्ताङमा पर्यटकको लर्को लाग्न थालेको छ । बिदा सदुपयोग र तीर्थयात्रा गर्ने आन्तरिक पर्यटकदेखि प्राकृतिक दृश्य नियाल्न चाहने बाह्य पर्यटकसम्मले मुस्ताङ भ्रमण गर्न चाहने हुँदा मुस्ताङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढ्न थालेको हो ।     
     
मुस्ताङ आफँैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । मुस्ताङमा घुमफिर गरेर रमाउनका लागि थुप्रै धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थल रहेका छन् । पछिल्लो पटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटक धेरै पुग्ने गरेका छन् ।     
     
मुस्ताङ प्रवेशद्वारमा रहेको थासाङ गाउँपालिकामा पर्यटकीय टिटीताल पर्दछ । यसका साथै यहाँ सेकुङ ताल, धौलागिरि आइसफल, टुकेचे (हिमाल) पिक, भुसर्तोताल, नाउरीकोटा गाउँ (जहाँ कबड्डी–कबड्डी फिल्म सुटिङ) भएको थियो ।     
     
यसैगरी घरपझोङ गाउँपालिकामा जोमसोम बजार, पर्यटकीय ढुम्बाताल, छेमाताल, यारुजो डाँडा (भ्यु–प्वाइन्ट), कुछपतेरङ्गा गुम्बा, छैरु गाउँ (जहाँ तिब्बतीयनहरु बस्दछन्), मार्फा गाउँ र स्याउ बगैँचा रहेका छन् ।     
     
बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा प्रसिद्ध मुक्तिनाथ मन्दिर पर्दछ । यस्तै यहाँ कागबेनी (पितृ तर्पण दिने स्थान), तिरीगाउँ, १२ वटा गाउँहरु, तिरीताल (डोल्पा जाने बाटोमा पर्ने), छुसाङ पारी ऐतिहासिक गुम्बा र तेताङ नुनखानी समेत पर्दछ ।     
     
लो–घेकर दामोदरकुण्ड गाउँपालिकाभित्र दामोदरकुण्ड (पवित्र कालीगण्डकी नदीको उत्पत्ति भएको स्थान), चुङ्सी गुफा, घिलिङ गाउँलगायत बस्ती र धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पर्दछन् । त्यस्तै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा लोमान्थाङ गाउँ ‘माटोको सहर’को नामले पनि चिनिन्छ ।     
     
उपल्लो मुस्ताङमा मुस्ताङ र तिब्बतका बीचमा हुने व्यापारको राजस्व सङ्कलन गर्ने नेचुङ–लिची भन्सार कार्यालय समेत छ । छोसेर गाउँमा रहेको चर्चित झोङ गुफा, बहुचर्चित (मुस्ताङ–तिब्बत) कोरला नाका लगायत पर्यटकीय क्षेत्र उपल्लो मुस्ताङमा रहेका छन् ।     
     
सन् २०२२ मा विदेशी पर्यटक ६५ हजार नौ सय ४० जनाले मुस्ताङको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रशासन सहायक कमलराज जोशीले जानकारी दिनुभयो । सन् २०२३ मा ७८ हजार आठ सय १४ जना बाह्य पर्ययहाँ भित्रिएका छन् ।     
     
मुस्ताङमा खासगरी धार्मिक पर्यटक कागबेनीमा आफ्ना पितृहरुको उद्धारका लागि पिण्डदान (श्राद्ध गर्न) जाने गर्दछन् भने प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्नुका साथै एक सय आठ वटा धारा र पोखरीमा स्थान गर्न पुग्छन् ।     
     
साथै मार्फाको स्याउ बगैँचा, जोमसोम बजार क्षेत्र, उपल्लो मुस्ताङको लोमान्थाङ र बहुचर्चित मुस्ताङ–तिब्बत कोरला नाका, गुफा तथा गुम्बाको अवलोकन तथा भ्रमणमा बर्सेनि पर्यटक पुग्ने गरेका छन् । पछिल्लो समय मुस्ताङमा विदेशी भन्दा पनि स्वदेशी पर्यटकहरुको बाहुल्यता बढ्दै गएको छ । मुस्ताङ पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ ।     
     
विश्वमै चर्चित स्थानमध्ये पर्ने मुस्ताङमा भारतसहित तेस्रो मुलुकबाट अधिकांश पर्यटक विभिन्न समयमा भ्रमण गर्न पुग्ने गर्दछन् । पछिल्लोपटक नेपालीमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएसँगै अहिले देशका विभिन्न जिल्लाबाट पनि यहाँ घुम्न जाने पर्यटकको भीड लाग्ने गरेको छ । पछिल्लोपटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको पर्यटन व्यवसायी बताउँछन् ।     
     
मुस्ताङ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु खासगरी म्याग्दीको बेनी हुँदै सवारीसाधनमार्फत पुग्ने गरेका छन् । कतिपय पर्यटकहरु टे«किङ एजेन्सी मार्फत पर्यटक गाइडहरुको सहयोगमा मनाङको थोरङ्लापास क्षेत्र र कोही पर्यटक पोखरा–जोमसोम हवाईमार्गबाट पनि पुग्ने गर्दछन् ।     
 

प्रकाशित मितिः शुक्रबार, ०७ वैशाख २०८१