यस्तो छ नेपालमा उपलब्ध सामसङका मोबाइल, ट्याब्लेट, वाच, फिट र इयरबडको पछिल्लो मूल्य सूची
काठमाडौं । सामसङले नेपाल उपलब्ध आफ्ना सम्पूर्ण ग्याजेट तथा उत्पादनको पछिल्लो मूल्य सूची सार्वजनिक गरेको छ । कम्पनीले यही १५ मार्च २०२४ देखि लागू भएको नयाँ मूल्य सूची बाहिर ल्याएको हो ।
स्मार्टफोन अन्तर्गत एम सिरिजका नौ, एफ सिरिजका चार, ए सिरिजका ४५, फ्ल्यागशिप एस सिरिजका १३ र फ्ल्यागशिप एफ सिरिजका आठ मोडेल रहेका छन् । त्यस्तै १३ मोडेलका ट्याब, दुई ओटा मोडेलका ग्यालेक्सी फिट, १० मोडेलका स्मार्ट वाच, पाँच मोडेलका इयरबड र दुई मोडेलका फिचर फोनको मूल्य पनि समावेश छ ।
जसमा १२ हजार ४९९ रुपैयाँ पर्ने सामसङ ए ०३ कोरदेखि दुई लाख ४४ हजार ९९९ रुपैयाँ पर्ने जेड फोल्ड फोरसम्मका स्मार्टफोन, २१ हजार ४९९ रुपैयाँ पर्ने ए नाइन वाईफाईदेखि ८० हजार ९९९ रुपैयाँ पर्नेसम्मका ट्याब, पाँच हजार ४९९ रुपैयाँ पर्ने ग्यालेक्सी फिट टु देखि सात हजार ४९९ रुपैयाँ पर्नेसम्मका फिट रहेका छन् ।
त्यस बाहेक ३४ हजार ९९९ रुपैयाँ पर्ने ग्यालेक्सी वाच फोर ४० एमएमदेखि ६४ हजार ९९९ रुपैयाँ पर्ने ग्यालेक्सी वाच सिक्स क्लासिक तथा ग्यालेक्सी वाच फाइभ प्रो ४५ एमएमसम्मका स्मार्टवाच, १४ हजार ९९९ रुपैयाँ पर्ने ग्यालेक्सी बड्स एफईदेखि २५ हजार २९९ रुपैयाँ पर्ने ग्यालेक्सी बड्स प्रोसम्मका इयरबड र दुई हजार ५५० रुपैयाँदेखि दुई हजार ८५० रुपैयाँ पर्ने सम्मका बारफोनको मूल्य समेत सार्वजनिक भएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ स्नातकोत्तर तहमा भर्ना खुला, यसरी दिनुहोस् आवेदन
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायले स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूमा भर्ना प्रक्रिया खुलाएको छ । एक सूचना जारी गर्दै विश्वविद्यालयले शैक्षिक सत्र २०२४ का लागि विद्यार्थी भर्नाको अनलाइन आवेदन खुलाएको हो ।
स्नातक तहमा इन्जिनियरिङ तह उत्तीर्ण इच्छुक विद्यार्थीले आगामी २ वैशाखभित्र र विलम्ब दस्तुर तिरी ६ वैशाखभित्र अनलाइन आवेदन दिन सक्नेछन् । यस अन्तर्गत आवेदन शुल्क तीन हजार रुपैयाँ र बिलम्ब दस्तुर पाँच हजार रुपैयाँ ताेकिएको छ ।
हाल विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त स्कुल/क्याम्पस/कलेजहरूमा एमएससी इन इन्जिनियरिङ म्यानेजमेन्ट, एमएससी इन इन्फर्मेसन सिस्टम इन्जिनियरिङ, एमएससी इन इलेक्ट्रिकल पावर इन्जिनियरिङ लगायतका कोर्स सञ्चालनमा रहेका छन् ।
भर्नाबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
श्रम सँस्कृति पार्कमा आरा धरानको अनावरण (भिडियोसहित)
धरान: श्रम सँस्कृति पार्क क्षेत्रमा राखिएको आरा धरानको प्रतिमा मंगलबार अनावरण गरिएको छ ।
धरानका मेयर हर्क साम्पाङ र स्वतन्त्र नागरिक समाजका अध्यक्ष दत्तकुमार लिम्बुले संयुक्तरुपमा प्रतिमाको अनावरण गरेका हुन् । शिलालेखमा मेयर साम्पाङसँगै उपमेयर अइन्द्रबिक्रम बेघाले अनावरण गर्ने उल्लेख भएपनि उपमेयर बेघा काठमाण्डौंमा भएकोले दत्त लिम्बुले अनावरणको अवसर पाएका हुन् । काठ चिर्न धरान माथि उभिएको प्रतिमाको मेयर साम्पाङले र तल उभिएको प्रतिमा दत्त लिम्बुले अनावरण गरेका थिए ।
कलाकार रोजन राईले बनाएको आरा धरानको प्रतिमा गत जेठ १६ गते नै धरान २० स्थित श्रम सँस्कृति पार्क क्षेत्रमा राखिएको थियो । तर, आरा चिर्दै गरेका व्यक्तिको प्रतिमा छोपिएको कारणले प्रतिमाको अनुहार कस्तो होला भन्ने कौतुहलता सबैमा थियो । अन्ततः मंगलबार अनावरण भएसँगै सबैको कौतुहलता पनि मेटिएको छ ।
कलाकार राईका अनुसार प्रतिमाको लागि उपमहानगरपालिकाबाट भ्याटसहित ९ लाख रुपैया उपलब्ध भएको थियो । बाँकी करिब ३ लाख जति लगानी आफ्नोतर्फबाट योगदान गरेको पनि उनले बताए । सुरक्षाको लागि बनाइएको रेलिङमा भएको थप खर्च भने मेयर साम्पाङले उपलब्ध गराउने प्रतिवद्धता जनाएको उनले बताए ।
मेयर साम्पाङले आरा धरानको सुरक्षा गर्ने जिम्मेवारी सबैको भएको बताए । आरा धरानको आसपासमा फाइबरको फलैचा बनाइने र सुन्दर गार्डेन पनि तयार गरिने बताए । फलैचाको लागि दाताहरुबाट सहयोग आउने पनि मेयर साम्पाङले बताए । धरान सहरको नाम धरान कसरी रहन गयो भनेर बुझाउने उद्देश्यले श्रम सँस्कृति पार्क क्षेत्रमा आरा धरानको प्रतिमा राखिएको मेयर साम्पाङको भनाई छ ।
काठ चिर्नको लागि आरावालाहरुले तयार गर्ने धरान (धराप)बाट पुर्वको आधुनिक सहर धरान नामकरण भएको मानिन्छ । घना जंगलकोरुपमा रहेको स्थानमा फडानी गर्ने क्रममा काठ चिर्ने आरावालाहरुले धरान (धराप) तयार गर्थे । धरानको शिर रहेको विजयपुरमा मात्र मानव बसोबास थियो । उनीहरु काठ चिर्न आउने ठाउँ धरान (धराप) भएकोले फडानी भएको ठाउँको नाम धरान रहन गएको र अहिलेको आधुनिक धरान भएको हो ।