आनी छोइङ डोल्माको लाइभ कन्सर्ट बेलायतमा आयोजनाहुँदै
काठमाडौँ I मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्ट बेलायतमा आयोजना हुँदैछ । यही वैशाख २३ गते बेलायतको क्यामवर्ली स्थित लेकसाइड कन्ट्री क्लवको हलमा आयोजना हुने सो कन्सर्टका लागि गायिका आनी छोइङ र मानवसेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारी आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
मानवसेवा आश्रम युके च्याप्टरको आयोजनामा बेलायतमा मे ५ मा कन्सर्ट र मे १९ सम्म मानवता प्रवर्ध्दन सम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना हुने आयोजक संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । विगतमा पनि आश्रमद्धारा बेलायतमा आमा सेमिनार लगायत मानवता प्रवर्धन सम्बन्धी कार्यक्रम सम्पन्न भइसकेको अधिकारीको भनाइ छ । यसपटक हुनलागेको कन्सर्ट मानवसेवा आश्रमको बेलायतमा तेस्रो कार्यक्रम हो । ‘इनर मेलोडी फर इनर पिस’ कन्सर्टमा सहभागी हुन मानिसहरुको आकर्षण बढ्दै गएको मानवसेवा आश्रम युके च्याप्टरका पदाधिकारीहरुले जानकारी दिएका छन् । कन्सर्ट कार्यक्रममा एक हजार जनालाई सहभागी गराउने आयोजकको लक्ष्य रहेको पनि मानवसेवा आश्रम युके च्याप्टरका सचिव यादव श्रेष्ठले बताउनुभयो ।
कन्सर्ट र मानवता प्रवर्धन सम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमबाट सङ्कलन गरिने रकम घरबार र परिवारविहिनहरूको आश्रयस्थल मानवसेवा आश्रमको सेवाप्रवाह सहजीकरणमा खर्चिने मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष अधिकारीले बताउनुभयो । कन्सर्टबाट एक लाख पाउन्डभन्दा बढी सहयोग जुटाउने लक्ष्य राखिएको छ ।
बुद्ध फाउण्डेसन युके, बुद्धिस्ट गुम्बा रिडिङ युके, द बुद्धिस्ट कम्युनिटी सेन्टर युके, शिव कल्चर एण्ड कम्युनिटी सेन्टर युके, तमुधिं एशोसिएसन युके, पासा पुच गुठी युके, क्षेत्री समाज युके, क्याट युके, ग्रेटर रिडिङ नेपलिज कम्युनिटि यूके, नेपाली भिलेज, पोखरेली मञ्च युके र मगर एशोसिएसन युके कार्यक्रमको सह–आयोजक रहेका छन् । बेलायतमा गुञ्जयमान हुने कन्सर्ट नितान्त नेपालको सडक पेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवश बेसहारा, असहाय, अशक्त, अभिभावक विहीन, मानसिक तथा शारिरीकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण र संरक्षणका लागि सहयोग पुयाउने मनसायले आयोजना गर्न लागिएको मानवससेवा आश्रम युके च्यापटरका संयोजक सुनिलबाबु खड्काको तर्क छ ।
संसारभरका मानिसलाई संगीतको आनन्द दिएर कमाएको पारिश्रमिक आनी छोइङले सामाजिक सेवा, परोपकार र धार्मिक कार्यमा खर्चिदै आउनुभएको छ । सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणमा टेवा पुर्याउने आयोजकको विश्वास छ । मानवीय कार्यमा सहकार्य गर्नको लागि आगामी जेठ ६ गते सम्म बेलायतका विभिन्न शहरमा मानवता प्रवद्र्धन लगायत ‘मिट र ग्रिट’ कार्यक्रम आयोजना गरिने र उक्त कार्यक्रममा बेलायतबासी नेपालीलाई सहभागी हुन र सहकार्य गर्न आह्वान गरिएको युके च्यापटरका संयोजक राजु आर्चाय र विक्रम भटराईले बताउनुभयो ।
सम्बन्धित खबर
