किम्फमा ‘डान्सिङ इन फायर’
काठमाडौँ, १७ जेठः नेपाली समाजमा रहेको वायु उतार्ने र खली खाने परम्परामा आधारित वृत्तचित्र ‘डान्सिङ इन फायर’ काठमाडौँमा जारी २१औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा आज प्रदर्शन गरिएको छ ।
नेपालको खलीखाने चलन र जनस्वास्थ्यका विषयमा चार दशकदेखि अध्ययन गरिरहनुभएका अमेरिकी मानवशास्त्री अल्फ्रेड पार्कले निर्माण गर्नुभएको यो वृत्तचित्रलाई रमेश खड्काले निर्देशन गर्नुभएको छ ।
आफ्नो घर तथा कुलमा अकालमा मृत्यु भएका व्यक्तिहरु ‘काँचो वायु’ भएर रहन्छन् र उनीहरुको आत्मालाई पूजाको विधिद्वारा ‘वायु उतार्ने’ जनविश्वास काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा छ । सोही प्रचलनलाई आधार बनाएर चाँगुनारायण नगरपालिकाको जीतपुरफेदी खड्का गाउँमा भएको वायु उतार्ने र खली खाने चलनलाई समेटिएको वृत्तचित्र ‘डान्सिङ इन फायर’ विश्वका विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ ।
एक महिना लामो वायु उतार्ने प्रक्रिया, उनीहरुको सामाजिक माहोल र मृत्युको दुःखबाट छुटकारा पाउन परिवार र सिङ्गो समाजले गरेका गतिविधिमा केन्द्रित वृत्तचित्रलाई किम्फमा मन पराइएको छ ।
“यहाँको प्रदर्शनमा पनि राम्रो प्रतिक्रिया पाएका छौँ । विश्वकै लागि नौलो र फरक विषयवस्तु भएकाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यसलाई सहभागी गराइएको छ । यसले पाइरहेको अन्तर्राष्ट्रिय सफलताप्रति हामी खुसी छौँ”, निर्देशक खड्काले भन्नुभयो ।
गत चैतमा फ्रान्सस्थित पेरिसमा सम्पन्न इथ्नो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको वृत्तचित्र फ्रान्सकै कान्स विश्व चलचित्र महोत्सव, जर्मनीको ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ ।
उहाँका अनुसार वृत्तचित्र सिङ्गापुर अन्तर्राष्ट्रिय चलचित्र मेलामा ‘आउटस्ट्यान्डिङ डकुमेन्ट्री’ पुरस्कार, स्वीडिस अन्तर्राष्ट्रिय मोसन पिक्चर अवार्ड र फुकेट अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट वृत्तचित्र’को पुरस्कार जित्नुका साथै डक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भुटान, दुबई अन्तर्राष्ट्रिय चलचित्र कार्निभल, साउथ एसियन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फ्लोरिडामा प्रदर्शन भइसकेको छ ।
यसका साथै यही जेठमा अमेरिकामा हुने फिल्म सोसाइटी अफ समिट २०२४ र अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ ।
एभरेस्ट म्याराथनको उपाधि कुलुङ र शेर्पालाई
१६ जेठ,सोलुखुम्बु I सगरमाथा दिवसका अवसरमा आयोजित तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका छन् । विश्वकै सबैभन्दा उच्च स्थानमा दौडिदै पुरुषतर्फ सोलुखुम्बु महाकुलुङका कुलुङ र महिलातर्फ नेपाल प्रहरीका शेर्पाले उपाधि जितेका हुन् ।
सगरमाथा आधार शिविरबाट सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेसम्म ४२ दशमलब १९ किमिको दूरी कुलुङले तीन घण्टा ५२ मिनेट २ सेकेन्डमा पार गर्दै पहिलो हुनुभएको हो । महिलातर्फ सोही दूरी प्रहरी जवान शेर्पाले चार घण्टा ४२ मिनेटमा पार गर्नुभयो । पुरुषतर्फ तीन घण्टा ५३ मिनेट २७ सेकेन्डमा दूरी पार गर्दै सुमन कुलुङ दोस्रो र चार घण्टा सात मिनेट ४० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रामकुमार राजभण्डारी तेस्रो हुनुभएको छ । महिलातर्फ पाँच घण्टा एक मिनेट २२ सेकेन्डमा दूरी पार गर्दै प्रिया राई दोस्रो हुनुभएको छ । प्रतियोगितामा दुई सय १० जना धावक सहभागी रहेको आयोजकले जनाएको छ ।
सगरमाथामा पहिलो पटक एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले ७१ वर्षअघि सन् १९५३ मे २९ मा पाइला राखेको दिनको सम्झनामा हिमालयन एक्स्पिडिसन कम्पनी लिमिटेडले म्याराथन आयोजना गर्दै आएको छ ।
प्रधानमन्त्री कप भलिबलको खेल तालिका सार्वजनिक
१६ जेठ, काठमाडौँ I नेपाल भलिबल सङ्घको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल तालिका आज सार्वजनिक भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९ देखि २६ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा पुरुष तर्फ आठ र महिला तर्फ छ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोटर्स क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबका साथै कोसी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब रहेका छन् ।
महिलातर्फ एभरेष्ट भलिबल क्लब बुटवल, नेपाल पुलिस क्लब, एपिएफ क्लब, चन्द्रागिरि न्युडायमण्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्नेछन् ।
यही जेठ १९ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल र बूढानीलकण्ड क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई गरी छ खेल हुनेछन् ।
साथै पुरुषतर्फ नेपाल पुलिस र सुदूरपश्चिम स्पोर्ट्स, एपिएफ र गण्डकी प्रदेश तथा त्रिभुवन आर्मी क्लब र कोसी प्रदेशबीच खेल हुनेछ । यसैगरी उद्घाटन खेलको महिलातर्फ एपिएफ र चन्द्रागिरि न्युडायमण्ड तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
अन्नपूर्ण आरोहण दिवसमा म्याराथन
१४ जेठ, गण्डकी I अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण म्याराथन हुँदैछ । यही जेठ २१ गते चार हजार एक सय ३० मिटरको उचाइमा उक्त म्याराथन हुन लागेको हो ।
अन्नपूर्ण आधार शिविरबाट माछापुच्छ्रे« आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकसम्म कूल ४२ दशमलव १९५ किलोमिटर दूरीमा धावक दौडिने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मूल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिनुुभयो । ‘पर्यटनका लागि सबै मौसम’ नाराका साथ २०७५ सालदेखि आरम्भ भएको अन्नपूर्ण म्याराथनको यो चौथो संस्करण हो । म्याराथनका माध्यमबाट अन्नपूर्ण आधार शिविरसहित यहाँको समग्र पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने उहाँले बताउनुुभयो ।
“संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुुटेरेसबाट गत कात्तिक महिनामा अन्नपूर्ण आधार शिविरको भ्रमण हुनु, अमेरिकास्थित टाइम आउट म्यागेजिनले घान्द्रुकलाई भ्रमण गर्न लायक विश्वको सानो सुन्दर सहरको सूचीमा राख्नुु, पोखरा पर्यटकीय राजधानी हुनुलगायत हामीले विगतदेखि गर्दै आएको यही कार्यक्रमको प्रभाव र उपलब्धि हुन् भन्ने ठानेका छौँ”, संयोजक गुरुङले भन्नुुभयो ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणसँगै हिमाल आरोहणको क्रम सुरु भएकाले अन्नपूर्ण हिमाललाई आरोहणको जेठो हिमालका रुपमा समेत लिइन्छ । मौरिस हर्जोगको टोलीले जुन ३ मा अन्नपूर्ण प्रथमको आरोहण गरेकै कारण यस दिनलाई अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) का रुपमा मनाउने गरिएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्षको अन्नपूर्ण म्याराथनमा अन्तर्राष्ट्रिय धावकको सहभागिता बढ्ने अपेक्षा गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका सचिव मिकास गुरुङले बताउनुुभयो । महिला तथा पुरुषतर्फ छुुट्टाछुुट्टै प्रतिस्पर्धा रहने यस संस्करणका लागि नाम दर्ता गराउने क्रम जारी रहेको र हालसम्म ५० धावकले नाम दर्ता गराइसकेको उहाँले बताउनुभयो । हालसम्म नाम दर्ता गराउनेमा ४० पुरुष र १० महिला रहेका छन् । नाम दर्ता गराउनेमा चार विदेशी नागरिकसमेत रहेका सचिव गुरुङले जानकारी दिनुुभयो ।
म्याराथनमा सहभागी हुन महिलाका लागि रु पाँच हजार र पुरुषका लागि रु सात हजार शुल्क तोकिएको छ । महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु एक लाख ५० हजार, रु एक लाख र रु ७५ हजार पुरस्कार प्राप्त गर्नेे प्रचारप्रसार संयोजक टङ्कराज अधिकारीले जानकारी दिनुुभयो । यसअघि म्याराथनको पहिलो, दोस्रो र तेस्रो संस्करणको उपाधि क्रमशः त्रिभुवन आर्मीका हरिकुमार रिमाल, डोटीका खगेन्द्रबहादुर भाट र जुम्लाका धीरबहादुर बुढाले जितेका थिए । तेस्रो संस्करणदेखि म्याराथनमा महिलालाई सहभागी गराइएको हो । महिला म्याराथनको उपाधि गणना भण्डारीले जित्नुुभएको थियो ।
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
१३ जेठ, काठमाडौँ I मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन प्रकाशन गर्दै आगामी तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न आवश्यक तयारीसहित सतर्कता अपनाउन अनुरोध गरेको हो ।
महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, माङ्सपेशीहरू दुख्ने, बान्ता हुनेलगायत समस्या आउने भन्दै सर्तकता अपनाउन अनुरोध गरेको हो ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिड्ने, हल्का तथा सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, पानीका साथै झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरिएको छ ।
कीर्तिमानी आरोही फुञ्जो लामाको स्वागत
१३ जेठ, काठमाडौँ I पन्ध्र घण्टाभन्दा कम समयममा विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ ।
आरोही फुञ्जोले यही जेठ १० गते बिहान सगरमाथा शिखरमा पुगेर सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने महिला आरोहीको कीर्तिमान कायम गर्नुभएको हो । उहाँ २४ घण्टा २४ मिनेटमा आधार शिविरबाट चुचुरोमा पुग्न र त्यहाँबाट आधार शिविरमा ओर्लेर कीर्तिमान कायम गर्न सफल हुनुभएको हो ।
विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार उहाँले १४ घण्टा ३१ मिनेटमा शिखर चुम्नुभएको हो । सन् २०१८ मा उहाँले ३९ घण्टा छ मिनेटमा शिखरमा पुग्नुभएको थियो । सन् २०२१ मा हङ्कङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा शिखरमा पुगेर उहाँको कीर्तिमान भङ्ग गर्नुभएको थियो ।
विसं २०४३ मा गोरखाको छेकम्पार बुर्जीगाउँ (चुम भ्याली)मा सामान्य परिवारमा जन्मेकी फुन्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो । अमेरिकाको ‘डेनाली’ हिमाल चढेर आरोहण यात्रा प्रारम्भ गर्नुभएकी उहाँले चोयु, आमाडब्लम, लापुछे, मनास्लुको सफल आरोहण गर्नुभएको छ । उहाँले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसक्नुभएको छ ।
आरोही फुञ्क्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई उद्धार गर्दै आउनुभएको छ । उहाँले सोलुखुम्बुको खुम्बु र गोरखाको मनास्लु क्षेत्रमा केन्द्रित रहेर उद्धार गर्दै आउनुभएको छ ।
सगरमाथा आरोही सङ्घका महासचिव सापकोटाले फुञ्जोले कायम गरेको कीर्तिमानबाट विश्वभरका महिला आरोहीलाई प्रेरणा मिलेको तथा त्यसले देशको साहसिक पर्यटन विश्वबजारमा प्रवर्द्धन गर्न मद्दत पुग्ने बताउनुभयो ।
विमानस्थलमा उहाँलाई पर्वतारोही, पर्यटन व्यवसायी, सगरमाथा आरोही सङ्घका पदाधिकारी सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख सम्पर्क अधिकृत लगायत साहसिक पर्यटन क्षेत्रका अगुवाले स्वागत गरेका थिए ।
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
१३ जेठ,काठमाडौँ I भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६ गते प्रदर्शन भइसकेको चलचित्रलाई पुनः सम्पादन गरी असार ७ मा प्रदर्शन गरिने स्वर्गीय गायक आचार्यका छोरा सत्यराज आचार्यले राससलाई जानकारी दिनुभयो । पुनः प्रदर्शनलाई लक्षित गर्दै चलचित्रको नयाँ प्रचार सामग्रीको रूपमा इन्टरनेटमा श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ ।
“यो बुबालाई एउटा श्रद्धाञ्जलि पनि हो । बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि हामीले प्रदर्शन गर्न लागेका हौँ । यो हेर्नेले बुबाको जीवनीलाई बुझ्न पाउनुहुनेछ”, गायक आचार्यले भन्नुभयो ।
चलचित्रमा सत्यराज नै पिताको भूमिकामा हुनुहुन्छ । चलचित्रमा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको उहाँले बताउनुभयो । निर्देशक प्रशान्त रसाइलीले निर्देशन गर्नुभएको चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गर्नुभएको छ ।
गायक तथा अभिनेता आचार्यले सार्वजनिक श्रव्यदृश्यले राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सायद १३ वर्ष अगाडिको समय यस्ता चलचित्रको लागि उपयुक्त थिएन । त्यो समयमा पनि हामीले चलेका अनुहारभन्दा अभिनय गर्न सक्ने कलाकारलाई लिएका थियौँ । चलचित्रलाई जीवन्त बनाउने पूर्ण कोसिस गरेका छौँ ।” गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।
‘द पोएट आइडल’को उपाधि सिक्किमका राईलाई
यसैबीच, कवितामा आधारित रियालिटी शो ‘द पोएट आइडल’को दोस्रो शृङ्खलाको उपाधि सिक्किमका सिमियोन सुकिता राईले जित्नुभएको छ । शनिबार बेलुकी भएको अन्तिम प्रतिस्पर्धामा मुस्कान पोखरेल, विजय लुइँटेल र मोहित जोशीलाई पछाडि पार्दै राईले उपाधि जित्नुभएको हो ।
“आज मसँगै मलाई विश्वास गर्ने सबैको जित भएको छ । मलाई यो मञ्चसम्म ल्याउन धेरै सहयोगी हातले हातेमालो गर्नुभएको छ । मेरो कविता यात्रालाई दिगो बनाउन यो उपाधि मार्गदर्शक भएको छ”, विजेता राईले भन्नुभयो । ‘द पोएट आइडल’को दोस्रो शृङ्खलामा उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी निर्णायक हुनुहुन्थ्यो ।
नेवार समुदायका युवायुवतीलाई वाद्यवादन तालिम
दमौली (तनहुँ) १३ जेठ: गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिका–४ मा नेवार समुदायका युवायुवतीलाई धिमे बाजा बजाउने तालिमको व्यवस्था भएको छ ।
धिमे बाजाबारे पछिल्लो पुस्ता अनभिज्ञ रहेकाले तालिमको व्यवस्था गरिएको अरिदेव नेवा पुचः कोषका अध्यक्ष ज्ञाननारायण श्रेष्ठले राससलाई बताउनुभयो । कोषले नै ४० जना युवायुवती छनोट गरेर एकमहिने तालिम सुरु गरेको हो । तालिम शनिबारदेखि प्रारम्भ भएको हो ।
“संस्कृति संरक्षण गर्न प्रज्ञा प्रतिष्ठानको सहयोगमा तालिम सञ्चालन गरिएको हो । यसबाट वर्तमान पुस्तालाई संस्कृति संरक्षण गर्नुपर्छ भन्ने प्रेरणा मिल्ने विश्वास छ ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य –सचिव मनकुमार श्रेष्ठले सबै समुदायका भाषा संस्कृति, संस्कार संरक्षणका लागि प्रतिष्ठानले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । आफ्नो भाषा, संस्कृति जोगाउन सम्बन्धित समुदाय नै क्रियाशील हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले भाषा संस्कृति र संस्कार हरेक समुदायको परिचय एवं गौरव भएकाले त्यसको संरक्षण आवश्यक छ भन्नुभयो ।
कालीगण्डकीको सभ्यता जागाउने अभियान र सन्देश
गण्डकी, १२ जेठ : कालीगण्डकी नदी सभ्यता र त्यहाँका शालिग्राम शिलाको संरक्षणका लागि अभियन्ताहरूले नयाँ प्रयास सुरू गरेका छन् । श्रीकृष्ण मोहिनी एकादशी तिथि पारेर हालै यहाँ कालीगण्डकी नदीका शिलामा भगवान्का विभिन्न नाम अङ्कित गरे । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलालाई संसारभरका हिन्दूमार्गीले विष्णु भगवान्का रूपमा पुज्ने गर्छन् ।
अवैज्ञानिक उत्खननले एकातिर नदीको पारिस्थितिकीय प्रणाली नै खल्बलिने र अर्कातिर दुर्लभ शालिग्राम शिला लोप हुने जोखिम बढेपछि संरक्षणप्रेमीहरू कालीगण्डकी जोगाउने अभियानमा जुटेका हुन् ।
‘कालीगण्डकी बचाऔँ अभियान’ र ‘प्रकृति, पर्यावरण र शालिग्राम संरक्षण समिति’मा आबद्ध अभियानीहरूले म्याग्दीको प्रसिद्ध गलेश्वरधामबाट बागलुङ हुँदै पर्वतको मोदीवेणीधामसम्मको क्षेत्रमा अवस्थित प्रमुख धर्मघाटहरूमा शालिग्राम भगवान्का नाम शिलाङ्कित गरेका छन् । गण्डकी स्नान गरी हरिहर सङ्कृतनका साथ शिलाहरूमा भगवान्का नाम अङ्कित गरिएको ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदीप्त गिरीले बताउनुभयो ।
कालीगण्डकी नदीको पवित्रता एवम् चक्राङ्कित र निष्चक्राङ्कित शालिग्राम शिला र नदी संरक्षणको सन्देश दिन अभियान सुरू गरिएको उहाँको भनाइ छ । “धार्मिक तिथिमिति पारेर यो अभियानलाई निरन्तरता दिन्छौँ, श्रीकृष्ण मोहिनी एकादशीमा कालीगण्डकीका हजारौँ शिलामा शालिग्राम भगवान्का ९० अवतारका नाम शिलाङ्कित गरिसकेका छौँ”, उहाँले भन्नुभयो ।
अभियन्ता, साधु, सन्त र पर्यावरणप्रेमीहरूको समूहले हरहर गङ्गे, मच्छेमूर्ति, महाकुर्ममूर्ति, बराहमूर्ति, लक्ष्मीनारायणलगायत देवीदेउताका नाम शिलामा कोरेका थिए । “अस्तित्व सङ्कटबाट गुज्रिरहेको कालीगण्डकी नदी संरक्षणमा सरोकार भएका पक्षको ध्यानाकर्षण होस्, जनस्तरमा सन्देश पुगोस् भनेर यो अभियान थालिएको हो”, संयोजक गिरीले भन्नुभयो, “सभ्यता बोकेको नदी मानवीय अतिक्रमणको चपेटमा छ, यसतर्फ बेलैमा सबैको ध्यान जानु जरुरी छ ।”
नदी र खोलाका किनारैकिनार खनिएका सडक, अव्यवस्थित सहरीकरण र विकास गतिविधि, प्रकृतिदोहन आदि कारणले मानव र प्राणी जगत् जोखिममा परेको उहाँको भनाइ छ । पर्वत, बागलुङ र म्याग्दी आसपासमा पर्ने आनन्द बगर, फोर्से, सती बगर, राजा बगर, सहश्रधारालगायत क्षेत्रमा सञ्चालित दर्जनौँ क्रसर उद्योगले मनोमानी नदीजन्य पदार्थ उत्खनन गर्दै आएका छन् । अव्यवस्थित उत्खननका कारण नदी कुरुप बन्दै गएको मात्र छैन, ठाउँठाउँमा नदीको धार नै परिवर्तन भइरहेको छ ।
रातारात कालीगण्डकीबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन तथा ओसारपसार हुने गरेको स्थानीयवासीको गुनासो छ । कालीगण्डकीले झेलिरहेको समस्याप्रति जनप्रतिनिधि र स्थानीय प्रशासनले अनदेखा गरिरहँदा दोहनकर्ताले संरक्षण पाइरहेको पर्वतको जलजला गाउँपालिकाका यज्ञ थापाले बताउनुभयो । “नदीजन्य सामग्री उपयोगका नाममा जथाभावी उत्खनन गर्दा नदी गहिरिने, धार परिवर्तन हुने भइरहेको छ”, उहाँले भन्नुभयो, “तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढ्दो छ ।” कालीगण्डकी दोहनकै कारण यस क्षेत्रमा रहेका कतिपय ऐतिहासिक धर्मघाटहरू विस्थापित भएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । “संसारमै दुलर्भ मानिने शालिग्राम शिलाको अस्तित्व सङ्कटमा परिरहेको छ, भगवान् विष्णुको अवतारका रूपमा पुजिने शिला ढुङ्गा, गिट्टीका रूपमा बिक्री भइरहेको छ, यो दुःख्द विषय हो ।”
कालीगण्डकी दोहनसँगै यस आसपासका खोल्साखोल्सी, वनजङ्गल, चौर, ढिस्काढिस्की, सम्पदा क्षेत्र साथै सार्वजनिक महत्वका ठाउँसमेत मानवीय अतिक्रमणमा परिरहेको उहाँले बताउनुभयो । बालुवा, गिट्टी र ढुङ्गालगायत निर्माण सामग्री नदी किनारमै सङ्कलन गर्ने र त्यहीँबाट उठाउने गरिएको छ । नदी ऐन÷नियम, वातावरणीय प्रभाव मूल्याङ्कनको समेत बेवास्ता गर्दै मनपरी ढङ्गले कालीगण्डकी दोहन गर्दा मानव बस्तीसँगै अन्य प्राकृतिक स्रोत÷पानीका मूल–मुहान, जलथल आदि सङ्कटमा परेका जानकारहरू बताउँछन् ।
सर्वोच्च अदालतले विसं २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन नगर्न÷नगराउन र कालीगण्डकी नदीमाथिका सबै हस्तक्षेप बन्द गर्न आदेश दिएको ‘कालीगण्डकी बचाऔँ अभियानका” संयोजक गिरीले बताउनुभयो । सर्वोच्चको आदेशविपरीत अहिले पनि लुकीछिपी नदीजन्य पदार्थको उत्खनन भइरहेको उहाँले जानकारी दिनुभयो । “कालीगण्डकीजस्तो जन्मदेखि मृत्युसम्मका सबै संस्कार र परम्पराको स्रोतस्थलमा भएको क्रुर दोहन हामीलाई कदापि स्वीकार्य छैन”, उहाँले भन्नुभयो ।
कालीगण्डकीको अनियन्त्रित दोहन नरोकिने हो भने नदीको अस्तित्व नै नामेट हुने खतरा रहेको अधिवक्ता राम शर्माले बताउनुभयो । उहाँले नदीजन्य पदार्थ उत्खननका लागि जोखिम नभएका ठाउँ पहिचान गर्ने, तोकिएको मात्रामा उत्खनन गर्ने, व्यवसायीलाई अनिवार्य करको दायरामा ल्याउने आदि गरेमा उत्खनन केही व्यवस्थित हुनसक्ने धारणा राख्नुभयो । “नदीबाट गिट्टी, बालुवा झिक्नै नपाउने कुरा व्यवहारिक नहुन सक्छ तर उत्खननलाई व्यवस्थित बनाउनुपर्यो, राज्यले कानुनी प्रबन्धहरू त्यहीअनुसार गर्नुपर्यो”, अधिवक्ता शर्माले भन्नुभयो, “पारिस्थितिक प्रणालीमै धक्का पुग्नेगरी मनपरी किसिमबाट नदी दोहन भइरहे मानवजाति र प्रकृतिमाथि नै सङ्कट निम्तन सक्छ ।”
अभियन्ता गिरीले भने गिट्टी, बालुवाका लागि खानीको विकास गर्नुपर्ने र ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न सकिने विचार राख्नुभयो । उहाँ भन्नुहुन्छ, “ठूला यन्त्र, उपकरणको सहायतामा भइरहेको दोहनका कारण बर्र्सेनि नदी बिरुप बन्दै गएको छ, नदीको धार परिर्वतन हुँदा बाढीलगायतका विपद् निम्तिरहेका छन् । त्यसैले नदी किनारमा बसोबास गर्ने लाखौँ मानिसको थातथलो र जीविका सङ्कटमा पर्दै गएकाले त्यसलाई जोगाउन सबैको ध्यान जान आवश्यक छ ।”
कालीगण्डकीको शिर मुक्तिनाथ र दामोदरकुण्डलाई हिन्दू र बौद्धमार्गी दुवैले पवित्र क्षेत्र मान्दछन् । कालीगण्डकीको जलाधार क्षेत्रमा आठ हजार मिटरभन्दा अग्ला तीनवटा हिमालय पर्वत श्रृङ्खला धवलागिरि, अन्नपूर्ण र मनाश्लु रहेका छन् भने आठ हजारदेखि छ हजार मिटरसम्मका दुई दर्जनभन्दा धेरै हिमशिखर रहेका छन् । कालीगण्डकीको जलाधार क्षेत्रमा मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ, नवलपुर, नवलपरासी गरी १० जिल्ला रहेका छन् । नदीको अप्राकृतिक दोहनले मुक्तिनाथदेखि देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत सङ्कटमा छन् ।
हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकीसँग आफ्नै प्राचिन सभ्यता छ । यससँग जोडिएको हिमालय सभ्यताको पौराणिक तथा धार्मिक साहित्यमा चर्चा गरिएको पाइन्छ । यस क्षेत्रका फाँटहरूमा प्राचीनकालदेखि नै सांस्कृतिक गतिविधि हुने गरेको विभिन्न धर्मग्रन्थहरूमा उल्लेख छ । चिनियाँहरूले रेशम व्यापारका क्रममा हिमालय भञ्ज्याङ पार गरी कालीगण्डकीको किनारैकिनार पोखरा, पाल्पा, तानसेन, लुम्बिनी हुँदै भारतसम्मको यात्रा गरेको इतिहासमा उल्लेख छ ।
धवलागिरि क्षेत्रका पर्यावरणप्रेमी युवाहरू मिलेर चार वर्षअघि ‘कालीगण्डकी बचाऔँ अभियान’ सुरू गरेका थिए । नदी–सभ्यता जोगाउन लागिपरेको अभियानले जागरण गीतका रुपमा दुई वर्षअघि ‘ए कालीगण्डकी...हे आमा गण्डकी’ सार्वजनिक गरेको थियो । अभियानले कालीगण्डकी संरक्षणका पक्षमा ‘नदी सप्तक’ कविता श्रृङ्खला पनि चलाएको थियो । कालीगण्डकीको महिमागानदेखि मानवीय अतिक्रमण झेलिरहेको नदीको चित्कारसम्मलाई कवि–लेखकहरूले आफ्ना रचनामा मुखरित गरेका थिए ।
पूर्णिमाद्वारा सगरमाथा आरोहणमा विश्व कीर्तिमान
काठमाडौँ, १२ जेठ : फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गर्नुभएको छ । वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उहाँले आज बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर उक्त कीर्तिमान बनाउनुभएको हो । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले आरोही श्रेष्ठले आज बिहान ५ः५० बजे सगरमाथाको सफल आरोहण गरेको जानकारी दिनुभयो ।
पत्रकार श्रेष्ठ एउटै याममा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला बन्नुभएको छ । उहाँको योसहित सगरमाथा आरोहण चौथो पटक हो । श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।
गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो । उहाँले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसक्नुभएको छ । विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहनुभएकी श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गर्नुभएको थियो ।