राष्ट्रपतिद्वारा भोटोजात्रा अवलोकन
पाटन (ललितपुर), २० साउनः राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रुपमा मनाइँदै आएको भोटोजात्रा अवलोकन गर्नुभएको छ । उहाँले ललितपुरको जावलाखेलमा आज अपराह्नमा ४ बजे आयोजित कार्यक्रममा भोटोजात्रा अवलोकन गर्नुभएको हो ।
राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटोजात्रा अवलोकन गर्नुभयो । उहाँहरुलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गर्नुभएको थियो ।
हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभयो । उहाँले जीवित देवी कुमारीको दर्शन पनि गर्नुभयो ।
भोटेजात्राका अवलोकन गर्न उपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल सरकारका मन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनुहुन्थ्यो । भोटोजात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मङ्गलबार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार भोटो देखाइएको हो । यससँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ ।
गत वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै यो जात्रा सुरु भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि जात्रा प्रारम्भ भएको थियो । यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रामध्येको एक हो । जात्रा करिब एक हजार छ सय वर्षअघि सुरु भएको विश्वास गरिन्छ ।
भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुङ्गमती पु¥याउनुपर्ने परम्परा रहको गुठी संस्थानका प्रमुख बैकुण्ठ आचार्यले जानकारी गराउनुभयो ।
आज देखी समाजवादी फुटसल कप शुरू
धरान, २० श्रावण: महेन्द्र बहुमुखी क्याम्पस धरान अन्तर संकाय 'दोस्रो समाजवादी पुरुष तथा महिला फुटसल कप– २०८१' सुरु भएकोछ । फुटसल कप, समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरान इकाई समितिद्वारा आयोजना गरिएको हो ।
जसपा केन्द्रीय नेता तथा पूर्व स्ववियु सभापति भीम राई, जसपा धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बु,कौसिला चेम्जोङ्ग, क्याम्पस स्ववियु सभापति युवराज राई (अलौकिक),समितिका इकाई अध्यक्ष विजय राई र नेवि संघ विद्यार्थी नेता विनोद आले मगर लगायतको उपस्थितिमा आज धरान ११ स्थित मितेरी फुटसल हलमा प्रतियोगिता उद्घाटन भएको हो ।
क्याम्पसमा अध्यायनरत विद्यार्थीहरूलाई आफ्नो शैक्षिक कार्य सँगै खेलकुद र यस प्रकारको अतिरिक्त क्रियाकलापहरूमा पनि सहभागी गराउने उदेश्यले वार्षिक रूपमा समितिले ‘समाजवादी पुरुष तथा महिला फुटसल कप’ आयोजना गरीरहेको समितिका खेल संयोजक सन्देश बेघा लिम्बुले बताए ।
संयोजक लिम्बुका अनुसार आज उद्घाटन गरिएको फुटसल कपमा पुरुष तर्फ २० समूह र महिला तर्फ ४ समूह रहेकाछन् पुरुष समूह तर्फको खेलमा विजेताले बिस हजार दुई सय बाइस उपविजेताले दश हजार एक सय एघार त्यसैगरी महिला समूह तर्फ विजेताले बाह्र हजार दुई सय बाइस उपविजेताले सात हजार सात सय सतहत्तर रुपैयाँ पुरस्कार प्राप्त गर्ने जानकारी गराएका छन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई एक–एक वटा ट्रफी प्राप्त गर्ने छन् । फुटसल कप खेल प्रतियोगिता कार्यक्रम यही २२ श्रावणमा समापन हुने जानकारी गराए ।
त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा रुपान्तरण गरिने
काठमाडौँ, २० साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा रुपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज क्यानका पदाधिकारी, पूर्वक्रिकेटर, कलाकार केकी अधिकारी र प्रकाश सपुतलगायत क्रिकेट प्रमीसँगको संयुक्त भेटमा प्रधानमन्त्री ओलीले क्रिकेट, खेलाडी र यससँग सम्बन्धित पक्षको विकास र विस्तारका विषयमा छलफल गर्नुभएको हो ।
“क्रिकेट रङ्गशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो । यससँगै रङ्गशाला निर्माणलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने विश्वास लिएका छौँ”, प्रधानमन्त्री ओलिले भन्नुभयो ।
मन्त्रिपरिषद्को पहिलो बैठकले त्रिवि मैदानलाई तीन सय दिनमा अन्तर्राष्ट्रितनस्तरको सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेको थियो ।
सोमबारदेखि स्वयम्भूमा एकमहिने मेला
काठमाडौँ, २० साउनः स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भाग मर्मत तथा जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।
महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर आसपासमा अस्थायी पसल हटाइएको तथा सहयोगापेक्षीलाई बस्न नदिने व्यवस्था गरिएको बताउनुभयो । थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।
काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले महासमितिसँग समन्वय गरी मेला व्यवस्थापनको प्रबन्ध भएको जानकारी दिनुभयो । स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक जामलाई व्यवस्थापन गर्ने जनाएको छ ।
गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेलाअवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रममा, शोभाभगवतीसँगै विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।
अकबरेखेतीबाट वार्षिक १५ लाख आर्जन गर्दै इलामका खड्गबहादुर
फिक्कल (इलाम), २० साउनः जिल्लाको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ । वार्षिक उहाँले रु १५ लाख आर्जन गर्दै आउनुभएको छ ।
मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्ता गरी व्यावसायिक रूपमा अकबरेखेती सुरु गर्नुभएका उद्यमी कार्कीले वार्षिक रु तीन लाख आम्दानी गर्दै आउनुभएको छ । “गत वर्ष एक हजार बोटबाट ११ क्विन्टल अकबरे उत्पादन भएको थियो, पहिलोपटक नै प्रशस्त आम्दानी भयो”, कार्कीले भन्नुभयो, “प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयसम्ममा बारीमा नै बिक्री हुने भएकाले यस वर्षदेखि खेती विस्तार गरेको छु ।”
यो वर्ष उहाँले पाँच हजार बोट अकबरे रोप्नुभएको छ । आफ्नै चार तथा छिमेकीको चार रोपनी जग्गा भाडामा लिएर आठ रोपनी क्षेत्रमा खेती विस्तार गर्नुभएको हो । उत्पादिन अबकरे बिक्रीका लागि बजारको चिन्ता नभएपछि खेती विस्तार गरेको उहाँ बताउनुहुन्छ । “सबै खर्च कटाएर वार्षिक रु १० देखि १५ लाखसम्म कमाइ गर्ने लक्ष्यका साथ खेती विस्तार गरेको छु ।” “दुई वर्षसम्म यही बोटले उत्पादन दिन्छ, हरियो खुर्सारी दिनैपिच्छे पनि टिप्न पाइन्छ तर पाकेको भने सातामा दुईपटक टिप्न मिल्छ, एक हजार बोटबाट पहिलोपटक ३० र दोस्रो खेपमा २० केजीसम्म उत्पादन हुन्छ”, कार्कीले भन्नुभयो ।
हरियो खुर्सानी प्रतिकेजी रु दुई सय ५० मा बारीबाटै बिक्री हुने गरेको छ । यहाँ उत्पादित अकबरे इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले लैजाने गरेका छन् ।
सुरुमा थोरै लगानीमा आफ्नै बारीमा अकबरेखेती सुरु गर्नुभएका कार्कीले १० हजार बोट अकबरे विस्तार गर्ने योजनामा रहेको सुनाउनुभयो । उहाँले अबकरेका साथै गोलभेँडा, भण्टा, बन्दाकोभी, प्याजखेती तथा एभोकाडो र कफीका बिरुवा पनि उत्पादन गर्दै आउनुभएको छ ।
महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
काठमाडौँ १९ साउनः राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले एतिहासिक जित दर्ता गराएको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५-१८ ले जित्यो । खेलको दोस्रो सेट भारतले २५-१२ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट भने नेपालले जित्यो । नेपालले भारतलाई २५-१७ ले पाखा लागायो । तर चौथो सेट १८-२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५-१३ ले पराजित गर्यो ।
उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । उक्त प्रतियोगिताअन्तर्गत भोलि दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलङ्का र माल्दिभ्स भिड्नेछन् भने सवा पाँच बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्नेछ । उक्त दुवै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ ।
जारी प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले श्रीलङ्कामाथि २५-१९, २५-१८, र २५-१९ ले पराजित गरेको थियो ।
आजदेखि भानु कप फुटबल
दमौली (तनहुँ), १९ साउन : तनहुँमा आजदेखि १७औँ भानु कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । भन्सार युवा क्लबको आयोजनामा भानु नगरपालिका–१ भन्सारस्थित खेल मैदानमा उक्त प्रतियोगिता हुन लागेको हो ।
भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घाको प्रचारप्रसारका लागि क्लबले प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबका खेल संयोजक विष्णु अधिकारीका अनुसार उद्घाटन खेलमा साविक विजेता तनहुँको सेभेन स्टार युवा क्लब र योङ ब्वाइज एफसी चितवनबीच हुनेछ ।
यही साउन २६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा २४ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नकआउट चरणमा खेलाइने सो प्रतियोगिताको विजेताले रु दुई लाख ५० हजार दुई सय ११ तथा उपविजेताले रु एक लाख २५ हजार दुई सय ११ सहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु २५ हजार दुई सय ११ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु पाँच हजार दुई सय ११, उत्कृष्ट गोलरक्षकलाई रु पाँच हजार दुई सय ११ तथा सर्वाधिक गोलकर्तालाई रु पाँच हजार दुई सय ११ पुरस्कार प्रदान गरिनेछ । सोही अवसरमा आयोजना हुने छेलोतर्फ प्रथम हुनेलाई रु ६ हजार दुई सय ११ र बाघचालतर्फ प्रथम हुनेलाई रु ६ हजार दुई सय ११ पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
‘माइतीघर’ सार्वजनिक
काठमाडौँ, १८ साउनः साउनः हिन्दू नारीको महान्पर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत बजारमा आइरहेको छ । केही वर्षयता तीजमा आउने गीत कला र संस्कृति दर्शाउनेभन्दा पनि भड्किलो भएको आरोप लागिरहेका सन्दर्भ तीजको परम्परागत मान्यतालाई बोकेर नयाँ गीत ‘माइतीघर’ सार्वजनिक गरिएको छ ।
गायिका सीता परियारले गाउनुभएको गीतमा तीज नजिकिँदै गर्दा चेलीले महसुस गर्ने भावनालाई समेटिएको छ । “गीतमा माइतीसँग चेलीको माया र चाडसँग जोडिएको परम्परागत संस्कारलाई जोडिएको छ”, गायिका परियारले भन्नुभयो ।
तीजसँग जोडिएको मौलिकता झल्किने यस गीतको शब्द र सङ्गीत पूर्ण परियारले तयार गर्नुभएको हो । गीतको सार्वजनिक श्रव्यदृश्यमा स्मारिका ढकालले अभिनय गर्नुभएको छ । उक्त श्रव्दृश्यमा तीजको हर्षोल्लासका साथै चेलीको वेदनालाई पनि प्रस्तुत गरिएको छ । श्रव्यदृश्यमा मुकेश नेपालीले नृत्य निर्देशन, अजय रेग्मीले छायाङ्कन, अमृत चापागाईंले सम्पादन र विशाल घिमिरेले निर्देशन गर्नुभएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौँ, १८ साउन : सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको छ ।
यही साउन २ गते सुनको मूल्य प्रतितोला रु एक लाख ४९ हजार आठ सय बराबर पुगेको थियो । यस आधारमा साउन २ गतेको तुलनामा आज रु एक सयले वृद्धि भएको हो । बिहीबार भने प्रतितोला रु एक लाख ४९ हजार चार सयमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।
साँगामा आजदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता
काभ्रेपलाञ्चोक, १७ साउन : काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कूलमा आजदेखि विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पुलिस स्कूलद्वारा आयोजित सो प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा काठमाडाँै उपत्यकासहित अन्य जिल्लाका २८ विद्यालयका एक सय १९ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको आज एक समारोहबीच नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष उदयकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । प्रतियोगितामा यू–११, यू–१३ र यू–१६ वर्ष उमेर समूहका छात्रछात्राले ६ विधामा प्रतिस्पर्धा गर्ने स्कूलका प्राचार्य माहेन पौडेलले जानकारी दिनुभयो ।
आयोजकका अनुसार सङ्घको प्राविधिक सहयोगमा सञ्चालित उक्त प्रतियोगिता विद्यालयस्तरको सबैभन्दा ठूलो प्रतियोगिता हो । उद्घाटनका अवसरमा स्कूलका विद्यार्थीले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।


