एक वर्षको अवधिमा तीस हजार पर्यटकद्वारा म्याग्दी भ्रमण
म्याग्दी, ४ साउन I एक वर्षको अवधिमा ३० हजार पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । म्याग्दी जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा २४ हजार एक सय ३० जनाले यो जिल्लाका र बाहिरिनेको पाँच हजार सात सय ८९ जना रहेको छ । घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रने र बाहिरिने पर्यटकको विस्तृत विवरणसहितको तथ्याङ्क राख्ने गर्छन् ।
आव २०७९/८० मा २९ हजार तीन सय २८ र २०७८/७९ मा सात हजार नौ सय २६ विदेशी पर्यटकले भ्रमण गरेका थिए । म्याग्दीमा आउने पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी, पुनहिल क्षेत्र पर्ने गरेको छ ।
धवलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोपारा, अन्नपूर्ण धवलागिरि, धवलागिरि सेञ्चुरी, धवलागिरि चक्रीय, धवलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।
छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने गर्छन् । अमेरिका, फ्रान्स, इटली, जर्मनी, कोरिया, चीन, भारत, पोर्चुगल, अष्टे«लिया, नेदरल्याण्डका साथै भारतीय पर्यटक धेरै आउने पर्यटकीयस्थल घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताउनुभयो ।
अघिल्लो वर्षको हाराहारीमा पर्यटक आए पनि अपेक्षाकृत नभएको उहाँले बताउनुभयो । सबैभन्दा बढी २०८० को चैतमा पाँच हजार आठ सय ४९ जना पर्यटक आएको तथ्याङ्क रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । विसं २०८० साउनमा नौ सय ४७, भदौमा नौ सय ७२, असोजमा चार हजार दुई सय ९८, कात्तिकमा चार हजार तीन सय ५७, मङ्सिरमा तीन हजार एक सय ९९, पुसमा एक हजार छ सय २७, माघमा एक हजार पाँच सय ७७, फागुनमा दुई हजार चार सय ४४, २०८१ वैशाखमा चार हजार एक सय ७५, जेठमा ८६ र असारमा तीन सय ८८ जना पर्यटक आएका छन् ।
आव २०७६/७७ मा ५० हजार, आव २०७५/७६ मा ७५ हजार एक सय ९१, २०७४/७५ मा ७४ हजार सात सय ३३, २०७३/७४ मा ६९ हजार आग सय ३७ विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । आव २०७२/७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ४३ हजार छ सय ३२ जना र २०७७/७८ मा शून्य थियो ।
तोलामा रु तीन सयले घट्यो सुनको मूल्य
काठमाडौँ, ३ साउन I स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु तीन सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।
बुधबार प्रतितोला रु एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ६० निर्धारण भएको छ ।
भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप
फुङ्लिङ (ताप्लेजुङ), ३ साउन I जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । प्रतियोगितामा प्रथम हुने टोलीले रु तीन लाख ११ हजार एक सय ११ र उपविजेताले रु एक लाख ११ हजार एक सय ११ प्रदान गरिने छ ।
चर्च बोइज युनाइटेड क्लब विजयी
काठमाडौँ, २ साउन I राजधानीमा जारी एन्फा यु–१८ युथ लिग फुटबल प्रतियोगितामा चर्च बोइज युनाइटेड क्लबले पहिलो जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा चर्च बोइज थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
चर्च बोइजको जितमा अमनबहादुर तामाङले गरेको एक गोल नै निर्णायक बन्यो । उनले खेलको ४५औँ मिनेटमा गोल गरेका हुन् ।
जितसँगै चर्चले तीन अङ्क जोडेको छ । यसअघि चर्च पहिलो खेलमा न्युरोड टिम (एनआरटी) सँग २–१ गोलले पराजित भएको थियो । थ्री स्टारको भने यो लगातार दोस्रो हार हो । थ्री स्टार लिगको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग ७–२ गोलले पराजित भएको थियो ।
पिण्डेश्वर बाबाधाममा बोलबम मेला सुरु
धरान (सुनसरी), २ साउन I धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा मङ्गलबार देखि बोलबम मेला सुरु भएको छ । बालसन्त मोहनशरण देवाचार्यले मेलाको उद्घाटन गर्नुभएको थियो ।
एक महिनासम्म सञ्चालन हुने मेलामा करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरी सोहीअनुसार व्यवस्था मिलाइएको बोलबम मेला आयोजक समितिले जनाएको छ ।
साउनभरि लाग्ने मेलामा पिण्डेश्वर बाबाधाममा जल चढाउन तथा दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि मूल आयोजक समितिले सुरक्षाका साथै वर्षाका बेला मन्दिरभित्र एक हजारभन्दा बढी भक्तजनलाई ओतको व्यवस्था गरेको समितिका सल्लाहकार वासुदेव बरालले बताउनुभयो ।
सप्तकोशी नदीको सङ्गमस्थलबाट ल्याएको जल चढाउँदा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएकाले तीन लाख भक्तजनको आगमन हुने अपेक्षा गरिएको बरालले बताउनुभयो । मेलामा विशेषगरी पहँेलो लुगा लगाउने, खाली खुट्टा हिँडेर बराहक्षेत्रको चतरास्थित कोशीबाट जल ल्याएर पिण्डेश्वर मन्दिरमा चढाउने गरिन्छ ।
मेलामा देशमा पूर्वी क्षेत्रका अधिकांश जिल्लाका भक्तजन, पश्चिमका बैतडी, दाङ, बाजुरा, रौतहत, अछाम, डडेलधुराका साथै छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङलगायत स्थानबाट भक्तजन आउने गरेका छन् ।
उद्घाटन कार्यक्रममा विजपुर र पिण्डेश्वरलाई केन्द्र मानी यहाँका धार्मिक क्षेत्र, दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर, बराहक्षेत्र, प्राचीन हरिद्वार, कुम्भमेलालगायत पुराणमा कथालाई उद्धृत गरेर सल्लाहकार बरालले लेख्नुभएको ‘रुद्राक्षारण्य परिचय’ पुस्तकको विमोचन गरिएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका सांसद रमेश बस्नेत, धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा, स्थानीय जनप्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो ।
असारमा पाथीभरा (मुकुमलुङ) मा २० लाख बढी भेटी सङ्कलन
फुङ्लिङ (ताप्लेजुङ), १ साउन I ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा पछिल्लो एक महिनामा रु २० लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार असारमा पाथीभरामा भत्तजनले चढाएको भेटीका रूपमा रु २० लाख ४४ हजार नौ सय भेटी सङ्कलन भएको हो ।
सङ्कलित भेटी सोमबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटी गणना गरी सो बराबरको नगद बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।
तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ । समितिका कार्यकारी निर्देशक हाङबाङका अनुसार आव २०८०/८१ मा दुई लाख ३१ हजार तीन सय ३४ तीर्थालुले मन्दिरको दर्शन गरेका छन् ।
किराती समुदायले सिसेक्पा तङ्नाम पर्व मनाउँदै
फुङ्लिङ (ताप्लेजुङ), १ साउन I किराती समुदायले सिसेक्पा तङ्नाम पर्व आज मनाउँदै छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गर्छन् । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा रहिआएको छ ।
पूर्वी नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने किराती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वनजङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) सङ्कलन गरी ल्याउने गर्दछन् । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने परम्परा रहिआएको याक्थुङ चुम्लुङका अध्यक्ष इन्दिरा मान्याङबोले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबै परिवार मिलेर अलि सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्दछन् । किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवाका अनुसार सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मिठो–मसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुक पड्कन्छन् । थाल, झ्याम्टा, नाङ्लो र ढोल बज्छन् । प्रत्येक घरका हिँडडुल गर्न सक्ने बच्चादेखि युवायुवतीले घरमूली बूढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने चलन रहेको छ ।
किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाउ, मङ्क्रान्ति आउ, अनिकाल जाउ, सहकाल आउ’ भन्ने आदि भावमा अनिकाल वा दुःख–पीडालाई त्यसरी पर्वका रूपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् । यसैगरी उनीहरूले घरपरिवारमा रहेको बाझोजुझो, गाउँघरमा रहेको सामाजिक–सांस्कृतिक विकृति–विसङ्गति र सिङ्गो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भाव पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमूलीले आग्रह गरेका हुन्छन् अर्थात् अब त नयाँ अन्नबाली र फलफूल पाके । यसकारण, अब हामी कम्तीमा छ महिना माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौँ भनेर रमाउने गरेको किरात धर्मका जनकारको भनाइ छ ।
आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी-जनजाति पूर्वका किरात लिम्बू, राई तराईका थारूर पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई सिसेक्पा तङनामको रूपमा मनाउँदै आएको याक्थुङ चुम्लुङका अध्यक्ष मान्याङबोले बताउनुभयो । किरातीले सिसेक्पा तङनाम (साउने सङ्क्रान्ति) र कक्फेक्वा तङनाम (माघे सङ्क्रान्ति)लाई महान् पर्वका रूपमा मनाउने जनाइएको छ ।
‘कुमोन सिकाइ विधि’नेपालमा
काठमाडौँ, १ साउन I जापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि लागू गर्न थालिएको छ । व्यक्तिपिच्छे सिक्ने क्षमता फरक–फरक हुन्छ भन्ने मान्यता बोक्ने यस विधिमा तालिमप्राप्त शिक्षकबिना नै विद्यार्थीले डिजिटल ट्याब्लेटका माध्यमबाट आफ्नै शैलीमा सिक्ने जनाइएको छ ।
उक्त विधिको आधिकारिक नेपाल प्रतिनिधि आइसिजी बिजनेस होल्डिङ प्रालिले ललितपुरको ग्वार्काे युनाइटेड र काठकाडौँको कलङ्कीस्थित एलआरआइ स्कुलका कक्षा ३ र ४ का करिब एक हजार पाँच सय विद्यार्थीलाई कुमोन पद्धतिको अभ्यास सञ्चालन गरेको हो । जापानको कुमोन एजुकेशन कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक कात्सुयुकी इनोउले सोमबार ती विद्यालयका सञ्चालित कुमोन अभ्यासको अवलोकनका साथै विद्यार्थीसँग अन्तक्र्रिया गर्नुभएको छ । उहाँले नेपालका धेरैभन्दा धेरै विद्यार्थीलाई स्वतन्त्र रूपले आफ्नो लयमा आफैँ सिक्ने सीपहरू बढाउन यो विधिले सोच्ने क्षमता अभिवृद्धि हुने बताउनुभयो । यो विधिबाट समस्या समाधान गर्ने क्षमताको विकास हुनाका साथै जीवन जिउने कलाको विकास गर्ने उहाँले जनाउनुभयो ।
एलआरआइ स्कुलका प्रिन्सिपल डा देवीकान्त जोशीले दैनिक ३० मिनेटको कुमोन विधिले विद्यार्थीहरूको अध्ययन गर्ने बानी र व्यवहारमा सकारात्मक परिवर्तन आएको बताउनुभयो । युनाइटेड स्कुलका प्रिन्सिपल मनोज विश्वकर्माले यो विधि एक अद्धितीय स्वयं सिकाइ र विद्यार्थीकेन्द्रित विधि भएकाले नेपालमा प्रभावकारी हुने बताउनुभयो ।
आइसिजी होल्डिङका अध्यक्ष गणेशमान लामाले शिक्षामा गुणस्तर बढाउने ध्येयले उक्त विधि नेपाल ल्याइएको बताउँदै शिक्षक तालिम, शिक्षा नीति, पाठ्यक्रम र पाठ्यपुस्तकमा परिमार्जनका लागि बहस हुने गरे पनि विद्यार्थीको दिमागी तालिम र अभिवृद्धिका लागि सोचको विकास भइनसकेको बताउनुभयो ।
यस विधिले विद्यार्थीले ‘आइक्यु’स्तरमा सुधार गरेर ‘अपरेटिङ’ प्रणालीलाई छिटो गर्न मद्दत गर्ने अध्यक्ष लामाले जानकारी दिनुभयो । यसले विद्यार्थीको दैनिक क्रियाकलापको मूल्याङ्कन गर्छ भने विद्यार्थीको दिमागको कसरी प्रयोगको भइरहेको छ भन्नेबारेमा आइआए (कृत्रिम बुद्धिमत्ता)का माध्यमबाट कुमोनका कर्मचारीलाई सूचित हुन्छ । सोको प्रतिक्रिया विधिका प्रशिक्षकलाई पुग्ने र प्राप्त निर्देशनअुसार दिमागको प्रयोगमा सुधार गर्दै लगिनेछ ।यो पद्धति हाल संयुक्त राज्य अमेरिकाका विभिन्न राज्य तथा युरोपका विभिन्न मुलुकमा सञ्चालन भइसकेको छ । आर्थिक रूपमा महँगो मानिने यो विधि नेपालमा सरल मूल्यमा उपलब्ध गराइएको छ ।
मन्त्रिपरिषद्को पहिलो निर्णयः कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान
काठमाडौँ, ३१ असार I नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न आजको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज शपथ लिएपछि सिंहरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहालीपछि भएकोे बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
उक्त रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि फ्ल्ड लाइट र आवश्यक संरचना बनाउने निर्णय गरिएको छ । उक्त कामका लागि तीन सय दिनको समयसीमा निर्धारण गरिएको छ ।
बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्ने निर्णय गरेको छ ।
साउन १ गते देउडा पर्व, कर्णाली प्रदेशमा सार्वजनिक बिदा
कर्णाली, ३१ असार I ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।