बुधबार, ०२ पुस २०८२

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, ३१ साउन २०८१

भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो

https://www.jawaaf.com/storage/01J5ADEHB85YM4KERHRKJ9R05S.jpg

_


चौतारा (सिन्धुपाल्चोक), ३१ साउनः यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरूवारी स्थित पर्यटकीयस्थल भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्ला सदरमुकाम चौताराबाट नजिकको प्राकृतिक पर्यटकीय स्थलका रुपमा रहेको भूतछाँगामा सार्वजनिक बिदाका दिन सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका हुन् ।     
     
पैदलयात्रा तथा साइकलिङका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको भूतछाँगा राजधानी काठमाडौँबाट ९३ किलोमिटर र चौताराबाट छ किलोमिटर दूरीमा पर्दछ । अन्यत्रबाट भ्रमण, काम वा अध्ययनका सिलसिलामा चौतारा आएकाको प्रमुख रोजाइ बन्ने गरेको स्थानीय राजिव दुलालले बताउनुभयो । यहाँ सिन्धुपाल्चोकसहित काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ र ललितपुरबाट पर्यटक आउने गरेका उहाँले जानकारी दिनुभयो ।     
     
आफू पहिलोपटक यहाँ पुग्दा भूतछाँगा प्राकृतिक रुपमा सुन्दर र मनमोहक रहेको स्थानीय तेजबहादुर अधिकारीले बताउनुभयो । यहाँ पर्यटकीय सम्भावना रहेको भन्दै स्थानीय सरकारले पर्यटन प्रवर्द्धनमा योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पर्यटन प्रवर्द्धन गरी स्थानीयस्तरमा स्वरोजगारका अवसर सिर्जना गरी आयआर्जन वृद्धि गर्न सकिने उहाँको भनाइ छ ।     
     
भूतछाँगामा अन्य साहसिक पर्यटनका गतिविधिसमेत सञ्चालन गर्न पर्याप्त सम्भावना देखिएकाले यसतर्फ सरोकार भएकाको ध्यान जान आवश्यक रहेको अधिकारीले बताउनुभयो ।     
     
काठमाडौँबाट एक दिनमा पुगेर फर्कन सकिने, हाइकिङ वा साइक्लिङ गर्न उपयुक्त स्थान भूतछाँगामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्न थालेको स्थानीय भुवन घलेले बताउनुभयो । पर्यटकीय गतिविधि बढ्न थालेपछि स्थानीय व्यवसायीले यहाँ रिसोर्ट सञ्चालन गरेका भन्दै थप पूर्वाधार निर्माण गरी आर्थिक गतिविधि वृद्धि गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।     
 


_

सम्बन्धित खबर

/frontend/images/redline.png