शिक्षा विधेयक पारित गर्ने विषयलाई केही दिन होल्ड गर्न मन्त्री पन्तको आग्रह
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा विधेयक पारित गर्ने विषयलाई केही दिन होल्ड गर्न आग्रह गरेका छन् । सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले मन्त्रीको हैसियतले सबै कुराहरु मिलाउन समय चाहिएको भन्दै बैठकलाई स्थगित गर्न आग्रह गरेका छन् ।
उनले भने, ‘यो बैठकलाई आज स्थगित गरौं किनभने एउटा कुरा प्रष्ट भन्न चाहान्छु संसदीय प्रणालीमा र समितिमा पनि सरकारको तर्फबाट मन्त्रीले यसलाई अहिले रोकौ भनेपछि त्यो विधेयकको रुपमा अगाडि जादैँन् । यसलाई अहिले स्वीकारको पक्षमा नजाउ, तपाईहरुसँग मेरो कुरा मिल्छ तर मन्त्रीको हैसियतले सबै कुराहरु मिलाउन मलाई समय चाहियो । यो समय जटिल छ, यो अवस्थामा सबै कुरा मिलाउन पर्छ संयोजन गरेर जानुपर्छ । त्यसकारण समय चाहियो तर सरकारले मानेन हामी पास गर्छौ भन्नु हुन्छ भने म रोक्दिन तर सरकारले अहिले नगरौं भनेको कुरा अगाडि बढेको मलाई कुरा अझसम्म भएको थाहा छैन् ।’
बैठक फेरि अनिश्चितकालका लागि स्थगित भएको छ । केही सांसदहरूले मन्त्रीले विधेयक पारित प्रक्रियामा ‘ढिलाइ गर्न खोजेको’ आरोपसमेत लगाए । तर, अन्ततः समितिका सभापति अम्मरबहादुर थापाले सबै सदस्यको प्रतिक्रिया सुनेपछि बैठक ‘पुनः आह्वान नहुन्जेलसम्म’ स्थगन भएको घोषणा गरेका छन् ।
धरानमा 'हाम्रो अभियान: कम्प्युटर प्रयोगको व्यावहारिक ज्ञान प्रदान' कार्यक्रम सम्पन्न, ७८ विद्यार्थी लाभान्वित
धरान, असार १६। विगत ३२ वर्षदेखि धरानमा कम्प्युटर शिक्षा प्रदान गर्दै आएको मिक कम्प्युटर प्रा.लि.ले यस आर्थिक वर्ष २०८१/८२ मा धरान उपमहानगरपालिकासँगको सहकार्यमा "हाम्रो अभियान: कम्प्युटर प्रयोगको व्यावहारिक ज्ञान प्रदान" नाराका साथ आधारभूत कम्प्युटर कोर्सको निःशुल्क तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमले धरानका वडा नं. ३, ९ र ११ का कुल ७८ जना विद्यार्थीलाई आधारभूत कम्प्युटर ज्ञान प्रदान गरेको हो।
कार्यक्रममा वडा नं. ३ बाट १७ जना, वडा नं. ९ बाट २४ जना, र वडा नं. ११ बाट ३७ जना विद्यार्थीले सहभागिता जनाएका थिए । धरान ११ बाल सञ्जालका अध्यक्ष रोजन शंकरका अनुसार प्रत्यक्ष सहभागितामा कम बजेटमै धेरै विद्यार्थीले यो अवसर प्राप्त गर्न सकेको बताएकाछन् ।
कार्यक्रमको समापन समारोह धरान ११ का वडाध्यक्ष श्री लोकेन्द्र फागो लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। अध्यक्ष लिम्बुले यो कार्यक्रम एस.ई.ई. परीक्षामा सहभागी भई नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूलाई लक्षित गरी वडाले पहिलो पटक ल्याएको जानकारी दिनुभयो । उहाँले आगामी वर्षहरूमा पनि यस्तै व्यावहारिक शिक्षासँग सम्बन्धित कार्यक्रमहरू निरन्तर ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मिक कम्प्युटर प्रा.लि. धरानका सञ्चालक तथा प्रवन्ध निर्देशक राजकुमार थोप्राले आफ्नो भनाइ राख्दै धरान ११ नं. वडाले आफ्ना वडाबासीहरूका लागि तीन महिने कम्प्युटर सीप तालिमका लागि २०८१/८२ को बजेट उपलब्ध गराएकोमा वडा समितिलाई हार्दिक धन्यवाद ज्ञापन गरे । उनले सूचना प्रविधि (आई.टी.) क्षेत्रमा अगाडि बढ्नका लागि यो आधारभूत सिकाइ महत्वपूर्ण रहेको र आगामी दिनमा थप उन्नत कोर्सहरूको तालिम लिई दक्ष बन्नका लागि सबैलाई शुभकामना व्यक्त गरे ।
प्रदेशबाटै एसईई गर्न मन्त्री पन्तको प्रस्ताव
काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाटै गर्न सरकारले प्रस्ताव गरेको छ । शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले सो प्रस्ताव अघि सारेका हुन् ।
बैठकमा बोल्दै उनले एसईई प्रदेशबाट सञ्चालन गर्नुपर्ने र एसईईले गुणस्तर कायम गर्न मद्दत पुग्ने बताए । उनले एसईई हटाइयो भने सीटीभीटीमा भर्ना के गर्ने भनि प्रश्न गरे ।
उनले भने, ‘बजेटमा पनि एसईई प्रदेशमा दिने भनेर पास गरेको छ । सीटीभीटीमा भर्ना हुने पनि एसईई पछि हो । एसईई हटायो भने सीटीभीटीमा भर्ना के गर्ने । सरकरले प्रदेशमा गर्ने भनेर ल्याएको छ । एसईई राखौं प्रदेशबाट सञ्चालन गरौं । एसईईले गुणस्तर कायम गर्न मद्दत गर्छ ।’
एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । नतिजा प्रकाशनको प्रक्रियाको अन्तिम तयारी गरिरहेको बोर्डले नतिजा प्रकाशनको मिति भने टुंग्याएको छैन । त्यसैका लागि बोर्डले आज बोर्ड बैठक बस्ने तयारी गरेको छ ।
नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भैइसकेको छैन ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
राराब क्याम्पसमा प्रवेशपत्र विवाद: विद्यार्थी-प्रहरी झडप, दुई नेता पक्राउ
जनकपुर। जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा बीबीएस तेस्रो वर्षको परीक्षाको प्रवेशपत्र वितरणमा ढिलाइ भएपछि उत्पन्न विवादले शुक्रवार उग्र रूप लिएको छ। आक्रोशित विद्यार्थी र प्रहरीबिचको झडपमा केही प्रहरी घाइते भएका छन् भने दुई विद्यार्थी नेता पक्राउ परेका छन्।
शुक्रवारबाट सुरु भएको बीबीएस तेस्रो वर्षको परीक्षाका लागि प्रवेशपत्र वितरणमा ढिलाइ हुँदा विद्यार्थीहरू आक्रोशित बनेका थिए। आफ्नो प्रवेशपत्र नभेटिएपछि विद्यार्थीहरूले स्ववियु सभापति मनिष यादवलाई जानकारी गराएका थिए। यादवले यस विषयमा क्याम्पस प्रमुख वसन्त कर्णसँग बुझ्दा उनले गैरजिम्मेवारीपूर्वक जवाफ दिएको विद्यार्थीहरूको आरोप छ।
क्याम्पस प्रमुखको जवाफबाट क्रुद्ध बनेका विद्यार्थीहरूले उनीसँग विवाद गर्न थालेपछि क्याम्पस प्रमुखले प्रहरीलाई खबर गरेका थिए। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले विद्यार्थीहरूलाई गालीगलौज गरेको विद्यार्थीहरूको आरोप छ, जसले गर्दा विवाद झन् चर्किएको थियो। यस झडपमा केही प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ।
स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले स्ववियु सभापति मनिष यादव र विद्यार्थी नेता चमनप्रसाद गोइतलाई पक्राउ गरेको छ। धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहका अनुसार, प्रहरीले विवाद साम्य पार्न खोज्दा विद्यार्थी नेताहरूले अभद्र व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गर्नुपरेको हो।
विद्यार्थी नेताहरूको पक्राउको विरोधमा विद्यार्थीहरूले क्याम्पस चोकमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए। हाल उनीहरू जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् र पक्राउ परेका विद्यार्थी नेताहरूको तत्काल रिहाइको माग गरिरहेका छन्।
यता, क्याम्पस प्रमुख वसन्त कर्णले प्रवेशपत्र काठमाडौंबाटै आउन ढिलाइ भएकाले वितरणमा ढिलाइ भएको प्रतिक्रिया दिएका छन्। यस घटनाले जनकपुरधामको शैक्षिक वातावरणमा तनाव सिर्जना गरेको छ
एसईई परीक्षा सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने प्रस्ताव
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । शनिवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भएको विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा एसईइलाई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव राखेका हुन् ।
उनले भने,‘अधिकार स्थानीय तहको नै हो । तर त्यो अधिकार निरङकुश र मनलाग्दी ढंगले प्रयोग गर्न नपाओस् भन्न शिक्षकहरूको योग्यता शिक्षा सेवा आयोगले तोक्छ । उनीहको विभिन्न रेकर्ड राख्ने र धेरै अधिकार नदिइकन जुन शिक्षा इकाई छ त्यसलाई कायम गर्ने कुरा सरकारको नीति कार्यक्रममा पनि आएको छ । एसईई प्रदेश सरकारलाई नै जिम्मा लगाउ । प्रदेशलाई जिम्मा लगाएपछि त्यसमा शिक्षा इकाईले पनि सहयोग गर्छ ।माध्यमिक शिक्षा अब स्थानीय सरकारको अधिकार हो भन्ने कुरामा प्रस्ट छौैँ ।’
त्यस्तै उनले निजी विद्यालय शैक्षिक गुठी र कम्पनीमै स्थापना र सञ्चालन गर्ने प्रस्ताव गरे । निजी विद्यालयलाई निषेध गरेर जान नसकिने भन्दै कडाइका साथ नियमन र गुठीमा जानेलाई प्रेरित गर्नुपर्ने उनको भनाई छ ।
सरकार र आन्दोलनकारीबिचको सहमतिमा हस्ताक्षर वाध्यता हो : सभापति थापा
यस्तै, बैठकमा समितिका सभापति अम्मरबहादुर थापाले सरकार र आन्दोलनकारीबिचको सहमतिमा बाध्य भएर आफूले हस्ताक्षर गरेको बताए । आफूले हस्ताक्षर नगरेसम्म आन्दोलन नरोकिने अवस्था देखेपछि बाध्य भएर हस्ताक्षर गरेको बताएका हुन् ।
उनले भने, ‘त्यहाँ समस्या समाधान नहुने भएपछि हस्ताक्षर गर्नुपर्ने बाध्यता पर्यो । म समितिमा आएर आलोचित पनि भएको छु । उपसमितिले त्यहाँ गएर सही नगर्नु भनेको थियो । हस्ताक्षर नगरेरै आउन खोजेको हो । मैँले नै हस्ताक्षर नगरेसम्म आन्दोलन रोकिँदै नरोकिने भएपछि बाध्य भएको हुँ । मैले त्यो विषयमा धेरै आलोचना खेप्नु पनि प¥यो । सरकार र आन्दोलनकारीबिचको सम्झौता संसद्भित्र प्रवेश गर्नु भनेको कमजोरी थियो । मैले त्यहाँ पनि यही शब्द भनेको थिएँ । संसदीय प्रणाली विपरीत मलाई हस्ताक्षर नगराउनुस् भनेको थिएँ त्यसैलाई जबरजस्ती भन्ने शब्द परेको हो । नत्र मैले जबरजस्ती हात समाएर गराएको भनेको छैन ।’
त्यस्तै पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक बनाउने विषयमा बाह्य प्रेसर आउने गरेको भन्दै त्यो सह्य नहुने बताइन् ।
गर्मीका कारण धरानका विद्यालय २ दिन बन्द, विद्यार्थीको स्वास्थ्य सुरक्षा प्राथमिकतामा
धरान, सुनसरी । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै धरान उपमहानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ २९ र ३० गते (दुई दिन) का लागि बन्द हुने भएका छन्।
उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार विगत केही दिनदेखि तापक्रममा उल्लेख्य वृद्धि भई पठनपाठन सञ्चालनमा कठिनाइ भएको र बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने देखिएकाले यो निर्णय गरिएको हो। बन्द गरिएका यी दुई दिनको बिदालाई विद्यालयको वार्षिक बर्खे बिदाबाट समायोजन गरिनेछ।
यद्यपि, धरान उपमहानगरपालिकाका वडा नं. ४ र २० अन्तर्गतका विद्यालयहरूका लागि भने विशेष व्यवस्था गरिएको छ। यी वडाका विद्यालयहरूले आफ्नो भौगोलिक अवस्था र भौतिक संरचनाको प्रकृतिलाई ध्यानमा राखी, अत्यन्त आवश्यक परेमा मात्र विद्यालय बन्द गर्न सक्नेछन्। यसका लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई आफ्नो विद्यालयको अवस्थाको मूल्याङ्कन गरी सोही अनुसार निर्णय लिन अनुरोध गरिएको छ।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा यस अवधिमा तापक्रममा गिरावट आएमा वा मौसमको अवस्था अनुकूल बनेमा भने विद्यालयहरूलाई नियमित पठनपाठन तत्काल सञ्चालन गर्न समेत अनुरोध गरिएको छ।
विद्यार्थीलाई बाहिर निकालेर जनप्रतिनिधिले नै गरे विद्यालयमा तालाबन्दी
रामेछाप । मन्थली नगरपालिका–९ को पुरानागाउँ स्थित स्थानापति मावि बाङ्गेसल्लामा जनप्रतिनिधि समेतको उपस्थितिमा विद्यालयमा तालाबन्दी गरिएको छ ।
सोमबार विद्यालयमा पठनपाठन भइरहेको समयमा जिल्ला समन्वय समिति रामेछापकी सदस्य हिराकुमारी गिरी, वडा सदस्य धनलाल तामाङ समेतको उपस्थितिमा बैठक बसी विद्यालयमा ताला लगाइएको हो ।
विद्यालय व्यवस्थापन समितिलाई पूर्णता नदिएको भन्दै सोमबार विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य धनबहादुर तामाङको अध्यक्षतामा जनप्रतिनिधि समेतको उपस्थितिमा बैठक बसी निर्णय नै गरेर विद्यालयमा ताल लगाइएको छ ।
गत पुस १५ गते विद्यालय व्यवस्थापन समितिको निर्वाचन भई सदस्यहरू निर्वाचित भइसकेको अवस्थामा कानुन अनुसार मनोनीत गर्नुपर्ने सदस्य मनोनीत गरेर अध्यक्ष नचुनिएको उनीहरूको आरोप छ । विद्यालय व्यवस्थापन समितिको बैठक राख्न ज्येष्ठ सदस्यले पटक पटक अनुरोध गर्दा पनि विद्यालय प्रशासनले अटेर गरेको कारण ताल लगाउनु परेको निर्णयमा उल्लेख छ ।
पठनपाठन भईरहेको बेला विद्यार्थीहरूलाई कक्षाबाट निकाली जनप्रतिनिधिले नै विद्यालयमा तालाबन्दी गरेको कारण पठन पठान प्रक्रिया अवरुद्ध भएकोले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने माग गर्दै विद्यालयका प्रधानाध्यापक शम्भु मण्डलले सोमबार नै जिल्ला प्रशासन कार्यालय रामेछापमा निवेदन दर्ता गराएका छन् ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मंगलबार आज दुवै पक्षलाई छलफलको लागि बोलाइएको जानकारी दिए ।
जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायतका छोराछोरीलाई सामूदायिक विद्यालयमा नै पढाउनुपर्ने
रामेछाप । रामेछापमा सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका छोराछोरी सामूदायिक विद्यालयमा नै पठनपाठन गराउनुपर्ने आवाज उठेको छ ।
सदरमुकाम मन्थलीमा आयोजित शैक्षिक क्षेत्र सुधार सम्बन्धी कार्यक्रममा सहभागीहरुले सो विषयमा प्रतिवद्धता पनि जनाएका छन् ।
रामेछापको शैक्षिक क्षेत्र सुधारको लागि जारी गरिएको पाँच बुँदे साझा घोषणापत्रमा पनि उक्त विषय समावेश गरिएको छ । सहभागीहरुले ‘हामी सुधार्छौं हाम्रो विद्यालय’को नारालाई साकार पार्ने प्रतिबद्धता पनि जनाए ।
सिकाइ केन्द्रित पठन पाठन गर्ने, नियमित विद्यालय उपस्थिति र पठन पाठनमा कडाइ गर्ने, पठनपाठनमा आधुनिक प्रविधिको प्रयोगका लागि प्रोत्साहित गर्ने प्रतिबद्धता सहभागीले गरेका छन् ।
सो क्रममा शिक्षा गुणस्तर सुधारको लागि अभिभावकसँगको सहकार्य बढाउने, कम्तीमा वर्षमा दुई पटक अभिभावक भेला राख्ने तथा सबै बालबालिकाको व्यक्तिगत फाइल खडा गरी अभिभावकसँग नियमित सम्पर्कमा रहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
विद्यालयमा स्वच्छ खानेपानी, उपयुक्त शौचालय, प्रयोगशाला, पुस्तकालय, खेल मैदान लगायतको उचित व्यवस्थापन गर्ने, विद्यालयको भौतिक सुधारको लागि स्थानीय समुदायसँग समन्वय, सहभागिता र सहकार्य गर्ने घोषणापत्रमा उल्लेख छ ।
शिक्षा व्यवस्थापनमा उत्तरदायित्व र पारदर्शीता कायम गर्न विद्यालयका सबै गतिविधि सार्वजनिक गर्ने, सहभागितामूलक योजना निर्माण, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने, विद्यार्थी र अभिभावको क्रियाशीलता बढाउने खालका कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता पनि भेलामा व्यक्त गरिएको छ ।
सो क्रममा शैक्षिक सुधारका लागि मन, वचन र कर्मले लाग्ने प्रतिबद्धता व्यक्त गर्दै जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका छोराछोरी सामुदायिक विद्यालयमा नै पठन पाठन गर्ने प्रतिबद्धता पनि सहभागीले गरेका छन् ।
शिक्षकको तलबबाट कट्टा हुने गरी प्रत्येक शिक्षकलाई ल्यापटप उपलब्ध गराउने, विद्यार्थीले उत्पादन गरेको सामाग्री स्थानीय तहले खरिद गरिदिने गरी स्थानीय उत्पादनमूलक शिक्षामा जोड दिने, स्थानीय अभिभाव तथा समाजसेवीलाई विद्यालयमा अतिथि शिक्षकको रूपमा सहभागी गराउने, शिक्षक कर्मचारी विद्यालय समय भित्र कुनै पनि राजनीतिमा सहभागी नहुने, परियोजनामा आधारित शिक्षण सिकाइमा जोड दिने, शिक्षक, विद्यार्थी अभिभावक आचार संहिताको पूर्ण पालना गर्ने, विषयगत योजना निर्माण र कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालद्वारा आयोजित कार्यक्रममा शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, स्थानीय शासन विज्ञ सोमत घिमिरे, शिक्षाविद् डा बलराम तिमिल्सिना र सामुदायिक विद्यालय व्यवस्थापन समितिका महासंघका अध्यक्ष गुणराज मोक्तान लगायत सहभागी थिए ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतलगायतका जनप्रतिनिधि, जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत अभिभावकहरू सहभागी थिए ।
आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै
काठमाडौँ । आज विश्व दूरसञ्चार दिवस विभिन्न कार्यक्रम गरि देशभर मनाइने गरिन्छ । हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ ।
सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यही दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो ।
नेपालमा पनि समाज परिवर्तन एवं आर्थिक विकासका लागि सूचना तथा सञ्चार साधनहरूको उपयोगीयताबारे चर्चा गर्दै विश्व दूरसञ्चार दिवस मनाइँदैछ । यस वर्षको दूरसञ्चार दिवसको नारा ‘दीर्घकालीन विकासका लागि डिजिटल नवप्रवर्तन’ भन्ने रहेको छ ।
सन् १९१३ मा पहिलो पटक काठमाडौँमा टेलिफोन लाइन जोडिएको एक वर्षपछि सन् १९१४ मा काठमाडौँदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो । नेपालमा पहिलो पटक सन् १९९९ मा मोबाइल फोनको सुरुवात भएको थियो भने २००० बाट इन्टरनेटको व्यावसायिक सुरुवात भएको हो । त्यसपछि विस्तारै विकास हुदैँ गएको सञ्चार क्षेत्र वर्तमान अवस्थासम्म आई पुगेको छ ।




