विद्यार्थीहरुले घेरे चिकित्सा शिक्षा आयोग, सिट घटाउने निर्णयप्रति आक्रोश
काठमाडौं। चिकित्सा शिक्षा आयोगले पीजी अध्ययन गर्ने विद्यार्थीको सिट संख्या घटाएर म्याचिङ प्रक्रिया अघि बढाएपछि आन्दोलनमा रहँदै आएका विद्यार्थीहरुले सोमबार आयोगको कार्यालय घेराउ गरेका छन्।
संघर्षरत परीक्षार्थी समितिमार्फत विद्यार्थीहरुले आयोगको निर्णय सच्याउन माग गर्दै सोमबार आयोगको सानोठिमीस्थित कार्यालय घेराउ गरेका हुन। सो क्रममा परीक्षार्थीहरुले नारावाजी सहित प्रदर्शनसमेत गरे। समितिका संयोजक डा.अभिषेक अमरले आयोगको पीजीको सिट घटाउने निर्णय विरुद्ध आन्दोलन निरन्तर रहेको बताए।
‘आयोगले जुन निर्णय गर्यो, त्यो सच्याउनु पर्छ, हाम्रो माग यही हो, हामी निरन्तर संघर्षमा छौ, संघर्षकै क्रममा आज आयोगमा प्रदर्शन गरिएको हो,’ डा अमरले भने। आयोगले पूर्वनिर्धारित सिट संख्या घटाइएको भन्दै पहिले गरिएकै निर्णय कार्यान्वयन गर्न आफूहरुले माग गर्दै आएको उनी बताउछन्।
‘हामीले नयाँ निर्णय गर भनेका होइनौं, पहिले जे निर्णय भएको हो त्यही कायम गर भनेका हौं, पुर्ववत निर्णयमा फर्किन हामी चिकित्सा शिक्षा आयोगसँग आग्रह गर्दछौं,’ डा अमरले भने।
विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगलाई अहिलेको म्याचिङ प्रक्रिया तत्काल रोक्न र नमिलेका विषयको निरुपण गर्नका लागि १८ औं बैठक तत्काल बोलाउन माग गर्दै आइरहेका छन्।
निजी मेडिकल तथा डेन्टल कलेजसंगहरुको टकरावपछि आयोगले उनीहरुलाई दिने भनिएको सिट संख्या घटाएर ६ सय ७० मा झारेको थियो। आयोगले गत १४ चैतबाट सोही घटाइएको सिटमै म्याचिङ प्रक्रिया अघि बढाएको थियो। तर हालका लागि आयोगले यो प्रक्रिया रोकेको छ।
यसअघि आयोगले १७ औं बैठकले थप गरेको २ सय ३१ सहित ५ फागुनमा यस शैक्षिक सत्रका लागि भन्दै १४ सय ९६ सिट तोकिएको बताएको थियो। बढेको सिटपछि पढ्न पाउने आशामा २६ माघमा प्रवेश परीक्षा दिई उत्तीर्ण विद्यार्थीहरु आयोगको पछिल्लो निर्णयले मारमा पर्ने बताउँदै आएका छन।
गत १३ मंसिरमा आयोगले सिट संख्या नतोकी एमडीएमएस एमडीएसको प्रवेश परीक्षाको लागि सूचना जारी गरेको थियो। त्यसपछि विद्यार्थीहरु झस्किएका थिए।
उनीहरू आफ्ना मागमा आयोगलाई दबाब दिन सर्वोच्च अदालतसम्म पुगेका छन। सर्वोच्च अदालतले पीजीमा निजी मेडिकल कलेजहरूको सिट घटाउने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ।
आयोगको सो निर्णय रोक्न अन्तरिम आदेश माग गर्दै डा। सुजल न्यौपानेसहित १४ चिकित्सकले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सो रिटमाथि गत बिहीबार न्यायाधीश सपना मल्लको इजलासले आयोगलाई तत्काल सो निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई भोलि चैत २६ गते छलफलमा बोलाएको छ। विद्यार्थीहरुसमेत सर्वोच्च अदालतले आयोगलाई पुर्ववत निर्णय कार्यान्वयनमा फर्काउने आशमा छन।
आयोगले निर्धारण गरेको म्याचिङ प्रक्रिया अघि बढाए ८ सय भन्दा बढी विद्यार्थी पढाईबाट बन्चित हुने विद्यार्थीहरुको भनाइ छ।
नेपाल चिकित्सक संघलेसमेत संख्या घटाउने म्याचिङ प्रक्रिया रोक्न र पुर्वनिर्धारित संख्याकै आधारमा प्रक्रिया पुनः अघि बढाउन चिकित्सा शिक्षा आयोगसँग माग गरेको छ।
यस्तै नेपाल मेडिकल कलेज जोरपाटी र केएमसी अस्पताल सिनामंगलका आवसीय चिकित्सकहरुले समेत पीजीका विद्यार्थीहरुको आन्दोलनमा एक्यवद्धता जनाएका छन। उनीहरु आज आन्दोलनरत विद्यार्थीहरुलाई समर्थन गर्न आयोग पुगेका थिए। उनीहरुले सरकारी चिकित्सक सरह आफुहरुले तलब तथा सेवासुविधा पाउनु पर्ने विषयलाईसमेत सो क्रममा उठाएका थिए।
मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन
काठमाडौं । नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । शैक्षिक हडताल घोषणा गरेर काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले सोमबार बबरमहल–माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् ।
नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गर्ने घोषणा गरेको थियो । महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ ।
आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौंमा केन्द्रीत भएका छन् । उनीहरूले शिक्षा क्षेत्रको सुधारका लाग विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।
आफूहरूको मागका विषयमा प्रधानमन्त्रीले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ ।
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् ।
यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ। ‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरुमा जोडदार आग्रह गर्दछौं,’ महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरी दिनु हुन विद्यार्थी, अभिभावक, विं व्य स लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौं ।’
शिक्षा ऐन जारी गर्नका लागि नेपाल शिक्षक महासंघ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छ । सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलनलाई निरन्तरता दिएको छ । शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयको शैक्षिक गतिविधि र एसईईको उत्तरपुस्तिका परीक्षण कार्य समेत प्रभावित भएको छ । शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले भने अस्वीकार गर्दै आएको हो ।
यस्ता छन् नेपाल र थाइल्याण्ड सरकारबीच भएका सम्झौताहरु
काठमाडौं । नेपाल र थाइल्याण्डबीच आपसी सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र थाइल्याण्ड सरकारबिच दुईवटा सरकारी तथा छ वटा निजी क्षेत्रसम्बन्धी सहमति गरिएको बताएका छन् ।
यस्ता छन् नेपाल सरकार र थाइल्याण्ड सरकारबिच भएका सम्झौताहरु
१. पर्यटन क्षेत्रमा सहयोग सम्बन्धी सम्झौता
२ . सांस्कृतिक सहयोग सम्बन्धी सम्झौता
निजी क्षेत्रसम्बन्धी भएका सहमति
१. नेपाल उद्योग वाणिज्य महासंघ र बोर्ड अफ ट्रेड, थाइल्याण्ड
२. नेपाल चेम्बर अफ कमर्स, पर्यटन तथा सँस्कृति प्रवर्धन समिति एवँ थाइल्याण्ड पर्यटन काउन्सिल
३. नेपाल उद्योग महासंघ र थाइ उद्योग महासंघ
४. काठमाण्डौं विश्वविद्यालय र सियाम विश्वविद्यालय
५. जनता एग्रो तथा फोरेष्ट्री लिमिटेड र कासेचार्ट विश्वविद्यालय
६. नेपाल नेत्रज्योति संघ र माहिडोल विश्वविद्यालय ।
मुहम्मद युनुस भन्छन् : एआई प्रयोगबारे चीनबाट सिक्न चाहन्छौं
एजेन्सी । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले कृत्रिम बुद्धिमत्ता (एआई)को क्षेत्रमा प्रवेश र विकास गर्न चीनबाट सिक्न जरुरी रहेको बताएका छन् ।
बेइजिङमा रहेको चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी)सँगको हालैको अन्तर्वार्तामा युनुसले चिनियाँ उद्यमहरूलाई बंगलादेशमा लगानी गर्न आमन्त्रित गर्ने आशा व्यक्त गरे । उनले अर्थतन्त्र र सामाजिक विकासलाई माथि पु¥याउन मद्दत गर्ने कुरामा जोड दिए ।
विशेष गरी द्रुत गतिमा बढिरहेको एआईको प्रयोग र विकासबारे चीनबाट सिक्नुपर्ने बताएका हुन् । ‘हामी त्यो संसारमा कसरी प्रवेश गर्ने भनेर सिक्न चाहन्छौं । किनभने हामी अझै एआई र यससँग सम्बन्धित विषयमा समावेश भएका छैनौं । एआई दैनिक प्रयोगको हुनेछ। त्यसैले, यदि चिनियाँ कम्पनीहरू आएर यसलाई प्रयोग गरे भने, हामी यसलाई धेरै चाँडै सिक्नेछौं,’ उनले भनेका छन् ।
उनले एआई कसरी ह्यान्डल गर्ने, कसरी डिजाइन गर्ने र कसरी सुधार गर्ने भन्नेमा विशेषज्ञ बन्न बंगलादेश इच्छुक रहेको बताए । उनले एआईको सहायतामा अर्थतन्त्र र सामाजिक जीवनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अन्तरवार्ताका क्रममा युनुसले विगत ५० वर्षमा बंगलादेश र चीनले द्विपक्षीय सम्बन्धमा हासिल गरेका उपलब्धिहरूको प्रशंसा गरे । साथै चीनले बंगलादेशका जनताको अपेक्षा अनुरूप रूपान्तरण गर्न मद्दत गर्न सक्ने विश्वास व्यक्त गरे।
मार्च २६ देखि २९ सम्म, युनुसले दक्षिण चीनको टापु प्रान्त हेनानमा बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलन २०२५ मा भाग लिन पुगेका हुन् । (सीसीटीभीप्लस)
सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरू वार्तामा आएनन् : शिक्षामन्त्री
काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरू अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको छ । शुक्रवार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, संसदको प्रमुख सचेतक, दलका मुख्य सचेतकहरू सहितको उपस्थितिमा वार्ताको लागि आह्वान गरिएको थियो ।
डेढ घण्टा कुर्दा समेत शिक्षक महासंघ एवं शिक्षक प्रतिनिधिहरूको अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको मन्त्री भट्टराईले जानकारी दिइन् ।
उनले भनिन्,‘सरकार लचिलो भएर प्रस्तुत भइरहेको छ । शिक्षकका मागहरूलाई दृढताकासाथ सम्बोधन गरेर अगाडि बढिरहेको छ । मन्त्रालय मात्र नभइ सिंगो सरकार, संसदको प्रमुख सचेतक, दलका मुख्य सचेतकहरू सहितको उपस्थितिमा आह्वान गरेको थियौँ तर उहाँहरू आउनुभएन । औपचारिक खबर पनि आएन । करिब डेढ घण्टा पर्खेका हौं । उहाँहरू नआएपछि आजको बैठक स्थगित गराएका छौं ।’
उनले शिक्षक महासंघ, शिक्षक प्रतिनिधिहरू सबैलाई आफैले फोन गरेर साथै मन्त्रालयबाट औपचारिक रूपमा पत्राचार समेत गर्दा पनि वार्तामा उपस्थित नभएको बताइन् ।
‘मैले शिक्षक महासंघ, शिक्षक प्रतिनिधिहरू सबैलाई आफैँले फोन गरें र आमन्त्रण गरें । उहाँहरुलाई फोन गरेर आमन्त्रण गरेपछि अनौपचारिक भयो भनेर हामीले मन्त्रालयको तर्फबाट एउटा पत्र पठाऔं । सबैलाई तीन बजे उपस्थित हुन भनेका हौं । वार्ताका लागि मन्त्रालय सँधै खुला छ भनेर सार्वजनिक आह्वान पनि गर्यौँ ।’
राराबका क्याम्पस प्रमुखलाई अपरिचित व्यक्तिले दले कालोमोसो
जनकपुर । जनकपुरधाम स्थित राम स्वरुप राम सागर बहुमुखि (राराब) क्याम्पसका प्रमुख प्राध्यापक डा. वसन्त कर्णमाथि कालोमोसो दलिएको छ । क्याम्पस प्रमुख साइन्स ब्लकको निरीक्षण गर्ने बेला दुई जना अपरिचित व्यक्ति आएर उनीमाथि कालोमसो दलेको हो ।
बिहीबार साँझ दुई जना नकाबधारी व्यक्तिहरूले कालोमोसो दलेका छन् । घटनापछि उनीहरू फरार भएका छन् भने प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।
धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुण बहादुर सिंहका अनुसार घटनापछि सुरक्षाकर्मीहरू परिचालित भइसकेका छन् । प्रहरीले घटनाको साक्षीका रूपमा क्याम्पसका विद्यार्थी तथा कर्मचारीहरूसँग सोधपुछ गरिरहेको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार, ‘दुई जना मास्क लगाएका व्यक्ति अचानक क्याम्पस परिसरमा प्रवेश गरेर कर्णमाथि कालोमोसो दलेर भागेका थिए ।’ घटनाको वास्तविक कारण अहिलेसम्म खुलेको छैन । यद्यपि, क्याम्पसकै केही व्यक्तिहरू यस घटनामा संलग्न हुन सक्ने आशँका गरिएको छ ।
नाम उल्लेख नगर्ने सर्तमा क्याम्पसका एक प्राध्यापकले भने, ‘केही समयदेखि क्याम्पस प्रशासनसँग असन्तुष्टि राख्ने केही समूहहरू सक्रिय थिए । यो घटनामा त्यस्तै समूह संलग्न हुन सक्ने सम्भावना छ ।’
यस्तै, क्याम्पसका एक विद्यार्थी नेताले भने, ‘क्याम्पसमा विभिन्न विषयमा विवादहरू रहेका छन् । यदि समाधान नगर्ने हो भने यसले झनै तनाव बढाउन सक्छ ।’
कर्णमाथिको आक्रमणले शिक्षण संस्थामा देखिएको तनावलाई पुनः उजागर गरेको छ । यदि यस्ता घटनाहरूलाई रोक्न उचित कदम चालिएन भने शिक्षण संस्थाहरू सुरक्षित वातावरण दिन असमर्थ हुनेछन् । यसले समग्र शिक्षा प्रणालीमै नकारात्मक असर पार्न सक्छ ।
नेपालमा ६८ हजार नयाँ क्षयरोगी, २७ हजार भन्दा बढी छैनन् उपचारको पहुँचमा
काठमाडौं । नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै उपचारको पहुँचमा छैनन् ।
किन उपचारको दायरामा उनीहरु आएनन त? केन्द्रका निर्देशक डा श्रीराम तिवारीका अनुसार पर्याप्त स्रोतको अभाव तथा क्षयरोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य नहुँदा उपचारको पहुँच भन्दा बाहिर हुनेको संख्या ठूलो देखिएको छ ।
‘पर्याप्त स्रोतको अभाव तथा क्षयरोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य नहुँदा क्षयरोग लागेकाहरु लुकेरै बसेका छन, रोग लागेपछि हुने आर्थिक भारको डरलेसमेत धेरै क्षयरोगी खुलेर उपचारमा नआएको अवस्था छ,’ निर्देशक तिवारीले आइतबार केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा भने ।
उनका अनुसार लुकेर बसेकाहरुलाई पनि खोजेर उपचारको दायरामा ल्याउन प्रयास भैरहेको छ । त्यसका लागि स्थानीय तहसम्म क्षयरोग उपचारसँग सम्बन्धित कार्यक्रम पुर्याइएको छ ।
डा. तिवारीका अनुसार नेपालमा क्षयरोग लाग्ने महिला भन्दा पुरुषको संख्या बढी छ। गत वर्षको तथ्यांकलाई हेर्ने हो भने उपचारमा आएका ४० हजार ७७६ जनामध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन। यस्तै ८.६ प्रतिशत १४ वर्ष भन्दा तल उमेरका बालबालिका छन। उनीहरुले नियमित औषधि सेवन गरिरहेका छन् ।
औषधि सेवन गरिरहेकामध्ये पनि ०–१४ वर्ष उमेरका ८.६ प्रतिशत छन् । यस्तै १५ देखि ६४ वर्ष उमेर समुहका ६८ प्रतिशत ब्यक्तिलाई क्षयरोग लागेको देखिन्छ भने ६५ वर्ष माथिका २३ प्रतिशतले औषधि सेवन गर्दै आइरहेका छन् ।
केन्द्रका अनुसार नेपालमा क्षयरोगबाट एक वर्षमा १६ हजार ब्यक्तिको मृत्यु हुने गरेको छ । जसको मृत्युदर प्रति एकलाखमा ५४ हो ।
नेपालले सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्म क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्य राखेको छ । क्षयरोग अन्त्यका लागि वजेट भने पर्याप्त नभएको केन्द्रका निर्देशक तिवारी बताउँछन् ।
‘सन् २०२१ देखि २०२६ गरी पाँच वर्षका लागि क्षयरोग कार्यक्रमको बजेट १९२ मिलियन अमेरिकी डलर रहेको भनिएपनि ११० मिलियन डलर मात्रै उपलब्ध छ । अर्थात ४३ प्रतिशत बजेट अझै अभाव देखिन्छ ।’ डा तिवारीले पत्रकार सम्मेलनमा भने ।
क्षयरोग प्रभावित ५१ प्रतिशत नागरिकलाई यस रोगको कारण ठूलो आर्थिक भार खेप्नु परेको र सोही कारण लक्ष्यप्राप्तीमा समस्या हुने गरेको डा. तिवारी बताउँछन् ।
रोग लाग्नेको संख्या बढ्दो देखिएपनि उपचारमा जानेहरुको रोग निको हुने दर पनि नेपालमा उच्च छ । औषधि सेवन गरेर क्षयरोग लागेपछि पूर्ण रुपमा निको हुने अर्थात सफलता दर ९२ प्रतिशत भन्दा माथि रहेको अस्पतालका डा. नविनप्रकाश साहले जानकारी दिए ।
डा साह पनि ठूलो संख्यामा बिरामीहरु उपचारमा नआउदा समस्या बढेको बताउँछन् । यो अवस्थालाई रोक्न नयाँ संक्रमित र त्यसबाट मृत्यु हुनेक्रमलाई न्युनिकरण गर्न केन्द्रले हरसम्भव प्रयास गरिरहेको उनी बताउँछन् ।
कार्यक्रममा अस्पतालका डा. नविनप्रकाश साहले भने सेन्टरले अभावका वावजुत सेन्टरले धेरै कामहरु अघि बढाई रहेको बताए ।
‘उपचारका लागि स्वास्थ्य संस्था थपिएका छन्, उपचारको पहुँच बृद्धि भएको छ, परीक्षण गर्ने नयाँनयाँ विधिहरु थपिएका छन्, तीन तहका सरकारबीच समन्वय गरेर कार्यक्रमहरु अघि बढ्दैछ, यसले पक्कै पनि नतिजा राम्रो दिनेछ,’ डा. साहले भने ।
क्षयरोग लागेपछि पूर्णरुपमा निको पार्न ६ महिना नियमित औषधि सेवन गर्नुपर्ने उनी बताउँछन् । यस्तै क्षयरोग लाग्नुभन्दा अघि नै आवश्यक सावधानी अपनाउँदा पनि रोग लाग्नबाट वचन सकिने उनको भनाइ छ ।
नेपालभरी क्षयरोग उपचारका लागि ६२४१ स्वास्थ्य संस्थाहरु र निदानका सेवाहरु ८ सय स्वास्थ्य संस्थामा निशुल्क उपलब्ध छन् । यस्तै नेपालमा क्षयरोग नियन्त्रणका लागि ६७ जिल्लाका ११७ स्थानमा आधुनिक प्रविधिबाट द्रुत रुपमा खकार परीक्षण हुन्छ । क्षयरोगको उपचार र औषधि निशुल्क रुपमा प्रदान गर्ने गरिएको छ ।
विश्व क्षयरोग दिवस–२०२५ को पूर्व सन्ध्या पारेर राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलन आयोजना गरेर नेपालमा क्षयरोगको वर्तमान अवस्था बारे जानकारी गराएको हो । विश्वभर २४ मार्चलाई क्षयरोग दिवसका रुपमा मनाइने गरिएको छ ।
आज विश्व पानी दिवस मनाइँदै
काठमाडौँ । ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ ।
पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ ।
सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो । सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग गर्दै आएको छ ।
संसारभर कुल ९७ दशमलव पाँच प्रतिशत पानी समुद्रको रहेको छ । त्यो पानी नुनिलो भएकाले पिउन, सिँचाइ र विद्युत् उत्पादनको लागिसमेत प्रयोग गर्न मिल्लदैन । पानीको सदुपयोग गर्न नसक्दा संसारभर नै समस्या बढ्दै गएको छ ।
संसारभर उपलब्ध पानीमध्ये २.५ प्रतिशतमात्र पिउनयोग्य उपलब्ध छ । मूल, खोला, नदी, हिमनदीबाट उपलब्ध हुने पानी नै मानवीय प्रयोगका लागि उपयुक्त छ । पृथ्वीको उत्तरी तथा दक्षिणी ध्रुवमा उपलब्ध हुने पानी मानवीय उपभोगका लागि योग्य मानिएको छ ।
नेपालको हकमा प्रतिव्यक्ति कुल जलस्रोत उपभोग क्षमता तीन हजार ६०० घनमिटर पर्न आउँछ तर हाम्रो देशमा हालसम्मको उपभोग दर प्रतिव्यक्ति तीन सय ९३ दशमलव पाँच घनमिटर छ ।
आज देखि एसईई सुरु, पाँच लाख विद्यार्थी सहभागी हुँदै
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ ।
यस वर्षको एसईई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।
परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ ।

