एसईई परीक्षा सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने प्रस्ताव
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । शनिवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भएको विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा एसईइलाई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव राखेका हुन् ।
उनले भने,‘अधिकार स्थानीय तहको नै हो । तर त्यो अधिकार निरङकुश र मनलाग्दी ढंगले प्रयोग गर्न नपाओस् भन्न शिक्षकहरूको योग्यता शिक्षा सेवा आयोगले तोक्छ । उनीहको विभिन्न रेकर्ड राख्ने र धेरै अधिकार नदिइकन जुन शिक्षा इकाई छ त्यसलाई कायम गर्ने कुरा सरकारको नीति कार्यक्रममा पनि आएको छ । एसईई प्रदेश सरकारलाई नै जिम्मा लगाउ । प्रदेशलाई जिम्मा लगाएपछि त्यसमा शिक्षा इकाईले पनि सहयोग गर्छ ।माध्यमिक शिक्षा अब स्थानीय सरकारको अधिकार हो भन्ने कुरामा प्रस्ट छौैँ ।’
त्यस्तै उनले निजी विद्यालय शैक्षिक गुठी र कम्पनीमै स्थापना र सञ्चालन गर्ने प्रस्ताव गरे । निजी विद्यालयलाई निषेध गरेर जान नसकिने भन्दै कडाइका साथ नियमन र गुठीमा जानेलाई प्रेरित गर्नुपर्ने उनको भनाई छ ।
सरकार र आन्दोलनकारीबिचको सहमतिमा हस्ताक्षर वाध्यता हो : सभापति थापा
यस्तै, बैठकमा समितिका सभापति अम्मरबहादुर थापाले सरकार र आन्दोलनकारीबिचको सहमतिमा बाध्य भएर आफूले हस्ताक्षर गरेको बताए । आफूले हस्ताक्षर नगरेसम्म आन्दोलन नरोकिने अवस्था देखेपछि बाध्य भएर हस्ताक्षर गरेको बताएका हुन् ।
उनले भने, ‘त्यहाँ समस्या समाधान नहुने भएपछि हस्ताक्षर गर्नुपर्ने बाध्यता पर्यो । म समितिमा आएर आलोचित पनि भएको छु । उपसमितिले त्यहाँ गएर सही नगर्नु भनेको थियो । हस्ताक्षर नगरेरै आउन खोजेको हो । मैँले नै हस्ताक्षर नगरेसम्म आन्दोलन रोकिँदै नरोकिने भएपछि बाध्य भएको हुँ । मैले त्यो विषयमा धेरै आलोचना खेप्नु पनि प¥यो । सरकार र आन्दोलनकारीबिचको सम्झौता संसद्भित्र प्रवेश गर्नु भनेको कमजोरी थियो । मैले त्यहाँ पनि यही शब्द भनेको थिएँ । संसदीय प्रणाली विपरीत मलाई हस्ताक्षर नगराउनुस् भनेको थिएँ त्यसैलाई जबरजस्ती भन्ने शब्द परेको हो । नत्र मैले जबरजस्ती हात समाएर गराएको भनेको छैन ।’
त्यस्तै पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक बनाउने विषयमा बाह्य प्रेसर आउने गरेको भन्दै त्यो सह्य नहुने बताइन् ।
गर्मीका कारण धरानका विद्यालय २ दिन बन्द, विद्यार्थीको स्वास्थ्य सुरक्षा प्राथमिकतामा
धरान, सुनसरी । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै धरान उपमहानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ २९ र ३० गते (दुई दिन) का लागि बन्द हुने भएका छन्।
उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार विगत केही दिनदेखि तापक्रममा उल्लेख्य वृद्धि भई पठनपाठन सञ्चालनमा कठिनाइ भएको र बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने देखिएकाले यो निर्णय गरिएको हो। बन्द गरिएका यी दुई दिनको बिदालाई विद्यालयको वार्षिक बर्खे बिदाबाट समायोजन गरिनेछ।
यद्यपि, धरान उपमहानगरपालिकाका वडा नं. ४ र २० अन्तर्गतका विद्यालयहरूका लागि भने विशेष व्यवस्था गरिएको छ। यी वडाका विद्यालयहरूले आफ्नो भौगोलिक अवस्था र भौतिक संरचनाको प्रकृतिलाई ध्यानमा राखी, अत्यन्त आवश्यक परेमा मात्र विद्यालय बन्द गर्न सक्नेछन्। यसका लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई आफ्नो विद्यालयको अवस्थाको मूल्याङ्कन गरी सोही अनुसार निर्णय लिन अनुरोध गरिएको छ।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा यस अवधिमा तापक्रममा गिरावट आएमा वा मौसमको अवस्था अनुकूल बनेमा भने विद्यालयहरूलाई नियमित पठनपाठन तत्काल सञ्चालन गर्न समेत अनुरोध गरिएको छ।
विद्यार्थीलाई बाहिर निकालेर जनप्रतिनिधिले नै गरे विद्यालयमा तालाबन्दी
रामेछाप । मन्थली नगरपालिका–९ को पुरानागाउँ स्थित स्थानापति मावि बाङ्गेसल्लामा जनप्रतिनिधि समेतको उपस्थितिमा विद्यालयमा तालाबन्दी गरिएको छ ।
सोमबार विद्यालयमा पठनपाठन भइरहेको समयमा जिल्ला समन्वय समिति रामेछापकी सदस्य हिराकुमारी गिरी, वडा सदस्य धनलाल तामाङ समेतको उपस्थितिमा बैठक बसी विद्यालयमा ताला लगाइएको हो ।
विद्यालय व्यवस्थापन समितिलाई पूर्णता नदिएको भन्दै सोमबार विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य धनबहादुर तामाङको अध्यक्षतामा जनप्रतिनिधि समेतको उपस्थितिमा बैठक बसी निर्णय नै गरेर विद्यालयमा ताल लगाइएको छ ।
गत पुस १५ गते विद्यालय व्यवस्थापन समितिको निर्वाचन भई सदस्यहरू निर्वाचित भइसकेको अवस्थामा कानुन अनुसार मनोनीत गर्नुपर्ने सदस्य मनोनीत गरेर अध्यक्ष नचुनिएको उनीहरूको आरोप छ । विद्यालय व्यवस्थापन समितिको बैठक राख्न ज्येष्ठ सदस्यले पटक पटक अनुरोध गर्दा पनि विद्यालय प्रशासनले अटेर गरेको कारण ताल लगाउनु परेको निर्णयमा उल्लेख छ ।
पठनपाठन भईरहेको बेला विद्यार्थीहरूलाई कक्षाबाट निकाली जनप्रतिनिधिले नै विद्यालयमा तालाबन्दी गरेको कारण पठन पठान प्रक्रिया अवरुद्ध भएकोले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने माग गर्दै विद्यालयका प्रधानाध्यापक शम्भु मण्डलले सोमबार नै जिल्ला प्रशासन कार्यालय रामेछापमा निवेदन दर्ता गराएका छन् ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मंगलबार आज दुवै पक्षलाई छलफलको लागि बोलाइएको जानकारी दिए ।
जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायतका छोराछोरीलाई सामूदायिक विद्यालयमा नै पढाउनुपर्ने
रामेछाप । रामेछापमा सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका छोराछोरी सामूदायिक विद्यालयमा नै पठनपाठन गराउनुपर्ने आवाज उठेको छ ।
सदरमुकाम मन्थलीमा आयोजित शैक्षिक क्षेत्र सुधार सम्बन्धी कार्यक्रममा सहभागीहरुले सो विषयमा प्रतिवद्धता पनि जनाएका छन् ।
रामेछापको शैक्षिक क्षेत्र सुधारको लागि जारी गरिएको पाँच बुँदे साझा घोषणापत्रमा पनि उक्त विषय समावेश गरिएको छ । सहभागीहरुले ‘हामी सुधार्छौं हाम्रो विद्यालय’को नारालाई साकार पार्ने प्रतिबद्धता पनि जनाए ।
सिकाइ केन्द्रित पठन पाठन गर्ने, नियमित विद्यालय उपस्थिति र पठन पाठनमा कडाइ गर्ने, पठनपाठनमा आधुनिक प्रविधिको प्रयोगका लागि प्रोत्साहित गर्ने प्रतिबद्धता सहभागीले गरेका छन् ।
सो क्रममा शिक्षा गुणस्तर सुधारको लागि अभिभावकसँगको सहकार्य बढाउने, कम्तीमा वर्षमा दुई पटक अभिभावक भेला राख्ने तथा सबै बालबालिकाको व्यक्तिगत फाइल खडा गरी अभिभावकसँग नियमित सम्पर्कमा रहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
विद्यालयमा स्वच्छ खानेपानी, उपयुक्त शौचालय, प्रयोगशाला, पुस्तकालय, खेल मैदान लगायतको उचित व्यवस्थापन गर्ने, विद्यालयको भौतिक सुधारको लागि स्थानीय समुदायसँग समन्वय, सहभागिता र सहकार्य गर्ने घोषणापत्रमा उल्लेख छ ।
शिक्षा व्यवस्थापनमा उत्तरदायित्व र पारदर्शीता कायम गर्न विद्यालयका सबै गतिविधि सार्वजनिक गर्ने, सहभागितामूलक योजना निर्माण, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने, विद्यार्थी र अभिभावको क्रियाशीलता बढाउने खालका कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता पनि भेलामा व्यक्त गरिएको छ ।
सो क्रममा शैक्षिक सुधारका लागि मन, वचन र कर्मले लाग्ने प्रतिबद्धता व्यक्त गर्दै जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका छोराछोरी सामुदायिक विद्यालयमा नै पठन पाठन गर्ने प्रतिबद्धता पनि सहभागीले गरेका छन् ।
शिक्षकको तलबबाट कट्टा हुने गरी प्रत्येक शिक्षकलाई ल्यापटप उपलब्ध गराउने, विद्यार्थीले उत्पादन गरेको सामाग्री स्थानीय तहले खरिद गरिदिने गरी स्थानीय उत्पादनमूलक शिक्षामा जोड दिने, स्थानीय अभिभाव तथा समाजसेवीलाई विद्यालयमा अतिथि शिक्षकको रूपमा सहभागी गराउने, शिक्षक कर्मचारी विद्यालय समय भित्र कुनै पनि राजनीतिमा सहभागी नहुने, परियोजनामा आधारित शिक्षण सिकाइमा जोड दिने, शिक्षक, विद्यार्थी अभिभावक आचार संहिताको पूर्ण पालना गर्ने, विषयगत योजना निर्माण र कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालद्वारा आयोजित कार्यक्रममा शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, स्थानीय शासन विज्ञ सोमत घिमिरे, शिक्षाविद् डा बलराम तिमिल्सिना र सामुदायिक विद्यालय व्यवस्थापन समितिका महासंघका अध्यक्ष गुणराज मोक्तान लगायत सहभागी थिए ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतलगायतका जनप्रतिनिधि, जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत अभिभावकहरू सहभागी थिए ।
आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै
काठमाडौँ । आज विश्व दूरसञ्चार दिवस विभिन्न कार्यक्रम गरि देशभर मनाइने गरिन्छ । हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ ।
सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यही दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो ।
नेपालमा पनि समाज परिवर्तन एवं आर्थिक विकासका लागि सूचना तथा सञ्चार साधनहरूको उपयोगीयताबारे चर्चा गर्दै विश्व दूरसञ्चार दिवस मनाइँदैछ । यस वर्षको दूरसञ्चार दिवसको नारा ‘दीर्घकालीन विकासका लागि डिजिटल नवप्रवर्तन’ भन्ने रहेको छ ।
सन् १९१३ मा पहिलो पटक काठमाडौँमा टेलिफोन लाइन जोडिएको एक वर्षपछि सन् १९१४ मा काठमाडौँदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो । नेपालमा पहिलो पटक सन् १९९९ मा मोबाइल फोनको सुरुवात भएको थियो भने २००० बाट इन्टरनेटको व्यावसायिक सुरुवात भएको हो । त्यसपछि विस्तारै विकास हुदैँ गएको सञ्चार क्षेत्र वर्तमान अवस्थासम्म आई पुगेको छ ।
शिक्षकको कुटाइबाट १३ वर्षिय विद्यार्थी अविनास अस्पताल भर्ना
सिरहा । गोलबजार नगरपालिका वडा नं. ७ चाहेर्वा स्थित एपेक्स विद्या मन्दिरमा कक्षा ८ अध्ययनरत १३ वर्षिय छात्र अविनास यादव शिक्षकको कुटाईबाट मुर्छित भएका छन् । अविनासको बुबाले विद्यालयबाट बालक छोराको उद्धार गरी गोलबजारस्थित एक निजी अस्पतालमा भर्ना गराएका छन् । बालक अविनासको उपचार भइरहेको छ । उनी खतरामुक्त भएपनि तङ्गरिन एक साता लाग्न सक्ने अस्पताल सुत्रले बताएको छ ।
शिक्षक सन्तोष गुप्ताले अविनासलाई कोठा थुनेर बाँसको लठ्ठीले सकुनञ्जेल लगातार प्रहार गरेको विद्यार्थी अविनासले होसमा आएपछि अस्पतालको शैय्या बाट बताएका छन् । बालक अविनासको गाला, पिठ्यु र तिघ्रामा गहिरो घाउ चोट र दर्जनौ नील डाम देखिन्छ ।
गृहकार्य नगरेको र भने अनुसार नगरी अटेरी गरेको निहुमा शिक्षक गुप्ताले बालक छात्रलाई मरनासन्न हुने गरी कुटेको अविनासका बुबा सुरेश कुमार यादवले बताए । उनले भने म खाना खान बसेकामे थिएँ , अचानक कसैले फोन ग¥यो । तिम्रो छोरालाई पिटेर बेहोस बनाएको छ भनेपछि म गाँस छोडेर कुदे । विद्यालयमा पुग्दा मेरो बच्चा इन्तु न चिन्तु थियो । उनले भने कसाईहरु रहेछन् , झण्डै मेरो बच्चा मारेनन् । सख्त कारवाही हुनुपर्छ – हामीले न्याय पाउनु पर्छ यादवले आँशु झार्दै भने ।
विद्यार्थीलाई निर्घात कुट्ने शिक्षक सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीले कानून बमोजिम कारवाही हुने बताएको छ ।
मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो
जोमसोम । मुस्ताङको लोमानथाङ्ग गाउँपालिका – ५ को सिमसार मैदानमा पहिलो पटक कालो घाँटी भएको क्रेनको जोडी भेटिएको छ ।
हिमाली जिल्ला मुस्ताङ्गको भूगोलमा यसअघि कालो घाँटी भएको क्रेन देखिएको कुरा स्थानीयहरूले भनियता पनि प्रमाणित भएको थिएन् । २०८२ बैशाख २्२ गते बिहान घोडा हेर्न गएका शुनिल बि.कले कालो घाँटी भएको क्रेनको जोडी देखेर आफ्नो मोबाइलमा कैद गरेका थियो ।
कालो घाँटी भएको सारस (ब्ल्याक नेक क्रेन) एसियामा मध्यम आकारको क्रेन हो जुन तिब्बती पठार र भुटानको दुर्गम भागहरूमा वर्षनी बसाईसराई गर्छन् । तिनीहरू पश्चिमी तिब्बत र भुटानको बीचमा बसाइँ सर्छन्, उत्तर तर्फबाट हिमालयको समानान्तर उडान गर्छन् ।
उपल्लो मुस्ताङ्गको स्थानीय भाषामा यसलाई झ्याठुङ्गठुङ्ग (कर्मो) भन्ने गरेको पाइन्छ । सन् २०१९ को भदौ महिनामा चिनको सिमाना आसपासको पानी जमेको ठाउँमा सात/आठ वटा यही प्रजातिको क्रेन देखेको लोमाङ्गथाङ्ग गाउँपालिका –२ का वडा अध्यक्ष कर्मा नाम्गेल गुरुङ्गले बताए ।
‘लामो दुरी सम्म उड्ने चरा र राम्रो देखिने भएको कारणले होला हामीले हाम्रो स्थानीय भाषामा झ्याठुङ्गठुङ्ग (कर्मा) हामीलाई तपाईको आर्केसर्क र लामो पखेटा दिनुस म सबैलाई लोब्याउदै गाउँ घुमेर आउछु भनेर स्थानियहरू हाल सम्म गाउँमा गीत गाउने गरिन्छ’ गुरुङ्गले भने
यो कालो घाटि भएको सारस बच्चा कोरल्न लोमानथाङ आएको हुन सक्ने सारस संरक्षणकर्ता राजेन्द्र सुलवालले बताए
‘यो प्रजातिको क्रेनलाई नेपालमा धेरै दुर्लभ मानिन्छ । उनले भने, ‘हाल सम्म हुम्लाको लिमी उपत्यकामा यसले गुँड बनाएको रेकर्ड गरिएको थियो, र पोखरामा एउटा घुमन्ते कालो घाटि भएको सारस देखिएको छ ।’
यो बौद्ध परम्पराहरूमा सम्मानित छ र यसलाइ भुटान र तिबतमा शान्ति,दिगायु ,पवित्र ,बफादारी ,शुभ दिनको प्रतीकको रूपमा लिने गरेको संरक्षण विज्ञ डा.शैलेन्द्र थकालीले बताउनु भयो । भुटानमा यसको संरक्षणको लागि छुट्टै संरक्षण क्षेत्र स्थापना भएको छ । त्यहाँ वर्षेनी सयौँ पर्यटकहरू कालो घाटी भएको सारस हेर्न त्यहाँ पुग्ने गरेको पाइन्छ ।
साथै कालो घाटि भएको सारसको आगमनमा भुटानको फोबझिका उपत्यकामा वार्षनी नोबेम्बर महिनामा महोत्सव मनाउने गरेको थकालीले बताउनुभयो । महोत्सव मनाउदा आशिस पाउने र बाली राम्रो फस्टाउने विश्वास त्यहाँको स्थानियले गरेको पाईन्छ ।
कालो घाँटी भएका सारसहरूको विश्वव्यापी जनसंख्या लगभग दश हजार देखि बाह् हजार रहेको अनुमान गरिएको छ । यी सारसहरू चीन, भारत र भुटानमा कानुनी रूपमा संरक्षित छन् । यो सारसलाई आईसियुनको रातो सूचीमा खतरा नजिक पुगेकोे प्रजातिहरूको रुपमा स्वचिकृत गरिएको छ । यसलाई भारतको लद्दाख राज्यले ‘राज्य चरा’ को रुपमा मानेको छ ।
कक्षा १२ को परीक्षा आजदेखि सुरु, पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै
काठमाडौं । आज (आइतवार) बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जानकारी दिएको छ ।
परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले परीक्षा दिदैछन् ।
यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ जना परीक्षार्थी छन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी परीक्षा दिदैछन् । परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको छ ।
त्यसैगरी, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ। परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्ष बाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ। परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ।
परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दु व्याकरण विषयको परीक्षा हुदैछ ।
९ बुँदे सहमतिसँगै सडक आन्दोलन फिर्ता, सहमति पत्रमा के छ ?
काठमाडौं । बुधबार सरकारसँग भएको ९ बुँदे सहमतिसँगै लामो समयदेखि आन्दोलनमा रहेका शिक्षकहरुको सडक आन्दोलन फिर्ता भएको छ ।
विगतमा भएका सहमति र सम्झौतालाई ध्यानमा राखी नयाँ विद्यालय शिक्षा ऐन असार १५ भित्र प्रतिनिधिसभाबाट पारित गर्न संसदीय समिति, सत्तापक्षका दलका प्रमुख सचेतकहरूबाट समेत लिखित प्रतिवद्धता व्यक्त भए पछि सडक आन्दोलन फिर्ता भएको हो ।
शिक्षक महासंघले विज्ञप्ति निकाल्दै समयमा ऐन जारी हुने विश्वाससहित आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षासम्बन्धी सबै काम गर्न आग्रह गरेको छ ।
शिक्षामन्त्री र सरोकारवालाहरुको उपस्थितिमा निरन्तर ३ दिनको वार्ता हिजो (बुधवार) सहमतिमा टुंगिएको थियो । ९ बुँदे सहमतिलाई मन्त्रिपरिषद्बाट स्वीकार गरिएको साथै प्रक्रियामा गई कार्यान्वयन गर्ने क्याविनेटपछि सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराए ।
सहमति पत्रमा के छ ?
१) शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।
२) अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।
३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम
व्यवस्था गर्ने ।
४) आगामी आर्थिक वर्ष २०८२÷८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।
५) स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।
६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।
७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।
८) नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।
९) निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।
सबै शिक्षक र कर्मचारीलाई काठमाडौँ आउन महासङ्घको अपिल
काठमाडौं । आइतवार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो ।
अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारी माथि भएको यो क्रूर दमनको विरोधमा आफूहरूसँग उभिन हामी सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल गरेका छन् ।
उनले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘नेपाली शिक्षक–कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनः उद्घोष गर्दै देशभरका सबै शिक्षक–कर्मचारी साथीहरूलाई आफ्ना साथीहरू माथि भएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौँ आइ आन्दोलनमा सहभागी हुन जोडदार अपिल गर्दछौँ ।’
विद्यालय शिक्षाको सुधार र शिक्षक–कर्मचारीका पेसागत उन्नयनका पक्षमा गत वर्षको माघ २० गतेबाट निरन्तर शान्तिपूर्ण आन्दोलनमा रहेका छन् । शिक्षक–कर्मचारी माथि गरिएको यो अमानवीय आक्रमणबाट सरकारको अलोकतान्त्रिक, दमनकारी तथा शिक्षा विरोधी चरित्र पर्दाफास भएको महासङ्घले बताएको छ ।


