केन्द्रीय प्रविधि क्याम्पस स्ववियू सह–सचिवमा सुलभ लिम्बु
धरान । धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सह–सचिवमा सुलभ लिम्बु चयन भएका छन् ।
समाजवादी विद्यार्थी युनियन क्याम्पस समितिको सिफारिसमा समानुपातिकतर्फ स्ववियू सदस्य बनेका लिम्बुलाई शुक्रवार बसेको स्ववियू बैठकले आवश्यक बहुमतका आधारमा सह–सचिवमा चयन गरेको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्ववियू मिश्रित निर्वाचन प्रणालीअनुसार समानुपातिकतर्फ निर्वाचित सदस्यहरू मध्ये बाट सहमति वा बहुमतका आधारमा उपाध्यक्ष र सह–सचिव चयन गर्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अन्तर्गत बहुमतीय आधारमा लिम्बु सहसचिव चयन भएकाहुन ।
०८१ चैत ५ गते सम्पन्न स्ववियू निर्वाचनमा समानुपातिकतर्फ मुइङ्हाङ लावती निर्वाचित भएका थिए । तर कार्यकालकै बीचमा नेपाल प्रहरी सहायक निरीक्षकमा उत्तीर्ण भएपछि उनले पद त्याग गरेका थिए । त्यसपछि समाजवादी विद्यार्थी युनियन क्याम्पस समितिका अध्यक्ष संयोगिता राई र सचिव अभिनाष कुमारको सिफारिसमा लिम्बुलाई स्ववियू सदस्यमा पठाइएको हो । सोही सिफारिसपछि स्ववियू बैठकले उनलाई सह–सचिवमा चयन गरेको छ ।
चैत ५ को उक्त निर्वाचनमार्फत क्याम्पसको स्ववियू अध्यक्षमा स्वतन्त्र उम्मेदवार पेशल राज कार्की र कोषाध्यक्षमा नाम्छाहाङ राई विजयी भएका थिए भने बाँकी सदस्यहरू विभिन्न दलगत संगठनबाट निर्वाचित भएका थिए ।
दोस्रो चरणको आन्दोलनको तयारीमा शिक्षक महासंघ
काठमाडौं । नेपाल शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउनु पर्ने माग राख्दै विभिन्न राजनीतिक दलहरुको पार्टी कार्यालयमा आज पनि धर्ना दिएका छन् ।
बिहीबार जसपा (अशोक राई), जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत पाँच पार्टी कार्यालयमा धर्ना दिएसँगै धर्नाको कार्यक्रम अन्त्य हुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
उनले आज पहिलो चरणको आन्दोलनअन्तर्गत राजनीतिक दलका पार्टी कार्यालयमा धर्नामा बस्ने कार्यक्रमको अन्तिम चरणमा रहेको बताएका हुन् ।
अध्यक्ष सुवेदीले शिक्षा विधेयकमा महासंघका मागहरू सम्बोधन नभए दोस्रो चरणका कार्यक्रमको सार्वजनिक गरी कडा आन्दोलन गर्ने बताए ।
‘आज धर्नाको कार्यक्रम अन्त्य हुन्छ । भोलि हामी बैठक बस्दैछौ । बैठकपछि दोस्रो चरणका कार्यक्रमको सार्वजनिक गर्छौ । विस्तारै आन्दोलनले गति समात्दैछ । हिजो ०८१÷०८२ मा भएको भन्दा कडा आन्दोलन हामी गर्छौ,’उनले भने ।
उनले धर्नामार्फत राजनीतिक दलका नेताहरुलाई प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट शिक्षकहरुको समस्याको समाधान गरिदिन ध्यानाकर्षण पत्र बुझाएको बताए ।
उनले भने,‘हाम्रो मुल मुद्दाहरु प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट समाधान गरिदिनुपर्छ भन्नलाई आएका हौं । ध्यानाकर्षण पत्र पनि पेस गरेका छौ । प्रतिनिधि सभा र राष्ट्रिय सभाले कुन ढङगले काम गर्छ त्यो अनुसार हाम्रो आन्दोलनको रुप अगाडि आउँछ । यदी ऐन जारी हुने दिशातिर गयो भने अबको लडाई संशोधनको हुन्छ ।’
उनले महासंघको बैठक भोलि(शुक्रबार) बसी नयाँ कार्यक्रमहरुको सार्वजानिक गर्ने जानकारी समेत दिए ।
अशोक राई : जनसम्पर्क निरन्तर, विकास कार्यको स्थलगत अनुगमन
बराहक्षेत्र । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य अशोक कुमार राईले आफ्नो निर्वाचन क्षेत्र सुनसरी–१ मा विभिन्न विकास तथा निर्माण कार्यको स्थलगत अनुगमन गरेका छन् । यस क्रममा उनले राजनीतिक संवाददेखि शैक्षिक, स्वास्थ्य, धार्मिक तथा पूर्वाधार विकासका विषयमा सरोकारवालासँग प्रत्यक्ष छलफल गरेका थिए । सुनसरी निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा १ र २ तर्फका प्रदेशसभा सदस्यहरू रमेश कुमार बस्नेत र विजय कुमार राईसँग समेत राजनीतिक र विकाससम्बन्धी विषयमा विचार–विनिमय भएको राईको सचिवालयले जनाएको छ ।
शैक्षिक क्षेत्रमा उनले धरान–४ स्थित हर्दिया माध्यमिक विद्यालय, धरान–११ को ज्ञानोदय माध्यमिक विद्यालय र धरान–१४ को पिण्डेश्वर माध्यमिक विद्यालयमा बजेट विनियोजनअनुसार बनेका नयाँ भवन र छात्रावासको स्थलगत अनुगमन गरे । वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुसँग विद्यालयको अवस्था तथा आगामी आवश्यकताबारे समेत छलफल गरिएको सचिवालयले जनाएको छ।
सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा उनले धरान – ११ को एकता टोल, धरान–१७ इन्द्रेणी मार्गका उपभोक्ता, दिपेन्द्र आवि समिति, क्रिश्चियन पास्टर समाज तथा बुद्धिजीवीहरुसँग सामाजिक समन्वय र विकासबारे विचार–विनिमय गरे। साथै, धरान–५ देउराली मार्गमा ३ करोड रुपैयाँ बजेट विनियोजन भएको सडक कालोपत्रे कार्यको समेत स्थलगत अनुगमन गरिएको हो।
बराहक्षेत्र क्षेत्रमा उनले चतरा अस्पतालको स्तरोन्नति, १८ करोड रुपैयाँ लागतमा बन्ने नयाँ अस्पताल भवन, बराह आदर्श क्याम्पसको नयाँ भवन, सरस्वती माध्यमिक विद्यालय, बाङ्गेबजार सडक स्तरोन्नति, इक्राइ समावेशी टोलमा बनेको कालोपत्रे सडक, खानेपानी तथा सरसफाइ योजनासहितका आयोजना स्थलगत अनुगमन गरेका छन्।
यससँगै उनले आगामी आ.व. २०८२/०८३ मा बजेट विनियोजन भएका योजनाहरूको समेत स्थल अनुगमन गरे । लालबस्तीमा डेनसहितको सडक स्तरोन्नति, सूर्यकुण्ड आधारभूत विद्यालय भवन निर्माण, बाङ्गेबजार सडक स्तरोन्नति, खानेपानी ट्याङ्की निर्माण, बाङ्गे नडाह हुँदै धरान–१७ जोड्ने सडक, आहाले सडक, पोखरीया–रामझोडा सडक, चतरा धाम स्तरोन्नति, बराह धाम स्तरोन्नति तथा सौन्दर्यकरण, बराह मन्दिर संरक्षणका लागि सप्तकोशीमा तत्बन्धन लगायतका योजनाको अवलोकन गरिएको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार निर्वाचन क्षेत्रमा भइरहेका विकास–निर्माणलाई प्रभावकारी बनाउन, स्थानीयवासीको राय–सुझाव लिन र जनताको समस्या प्रत्यक्ष बुझ्न राईले निरन्तर भेटघाट तथा अनुगमन अभियान सञ्चालन गरेका छन् । सम्पूर्ण कार्यक्रम सम्पन्न गरी उनी बिहीबार काठमाडौं फर्किने कार्यक्रम रहेको पनि सचिवालयले जनाएको छ ।
इटहरीमा आईआईसी इनोभेक्स, विराटनगर इन्टरनेशनल विजेता
इटहरी । नेपालकै सबैभन्दा ठूलो विद्यार्थी–नेतृत्वको नवप्रवर्तन र उद्यमशीलता महोत्सव ‘आईआईसी इनोभेक्स …३=०' तीन दिनकोभव्य यात्रापछि सफलतापूर्वक सम्पन्न भएको छ ।
साउन ४ देखि ६ गतेसम्म इटहरी इन्टरनेशनल कलेजमा आयोजनागरिएको यस महोत्सवले देशभरका १६ वटा कलेजका विद्यार्थीलाईएउटै मञ्चमा ल्याउँदै सिर्जनात्मकता, प्रतिस्पर्धा र प्रेरणाको नयाँ उचाइ कायम गरेको हो ।
यसपटक विराटनगर इन्टरनेशनल कलेज विजेता बन्न सफल भयोभने एसीई इन्स्टिच्युट अफ म्यानेजमेन्ट पहिलो रनरअप र हेराल्डकलेज काठमाडौं दोस्रो रनरअप बने ।
निर्णायकहरूले मौलिक विचार, स्पष्ट रणनीति र आत्मविश्वासपूर्ण प्रस्तुति प्रस्तुत गर्ने टोलीलाई उच्च अंक दिएका थिए ।
विजेताहरूलाई कलेजका प्रमुख कार्यकारी अधिकृत सत्यव्रत कोइराला, कार्यक्रम लिडर अच्युतराज भट्टराई लगायत पदाधिकारीहरूले नगद पुरस्कार र ट्रफी प्रदान गरे ।
‘फाइनान्सियल फीट’, ‘लिगल सिम्पोजियम’, ‘मार्केटिङ मा भेन’ र‘सिइओ क्रोनिकल्स’ जस्ता विभिन्न कार्यक्रम मार्फत विद्यार्थीहरूलेशैक्षिक ज्ञानलाई व्यवहारिक जगतमा उतार्ने अवसर पाएका थिए ।
निर्णायक मण्डल, उद्योग विज्ञ र दर्शकहरू विद्यार्थीहरूको मौलिक प्रस्तुति र समाधान प्रस्तावले प्रभावित बने ।
देशभरका दुइसय भन्दा बढी विद्यार्थीको प्रत्यक्ष सहभागिता रहेकोइन्नोभेक्स ३.० मा उद्योग विज्ञ, शिक्षाविद् र मिडियाको उल्लेखनीय चासो रह्यो ।
महोत्सवले विद्यार्थी, पेशेवर र सम्भावित रोजगारीदाता बीच बलियो नेटवर्किङ र सहकार्यको वातावरण बनाएको आयोजकहरूको दाबीछ ।
समापन कार्यक्रममा आयोजक टोलीले सहभागी कलेज, मार्गदर्शक रसहकार्य साझेदारलाई धन्यवाद व्यक्त गर्दै ‘आईआईसी इनोभेक्स३.०’ ले नेपाली विद्यार्थीहरूको विश्वस्तरीय क्षमता पुनः प्रमाणितगरेको उल्लेख ग¥यो । साथै, उनीहरूले आगामी वर्ष ‘आईआईसीइनोभेक्स ४.०’ अझ ठूलो प्रभावका साथ आयोजना गर्ने योजना सार्वजनिक गरेका छन् ।
शिक्षाविधेयक संसदीय समितिबाट पारित
काठमाडौं । ‘विद्यालयशिक्षाविधेयक २०८०’ संसदीय समितिबाट पारित भएको छ । बिहीबार प्रतिनिधिसभाअन्तर्गत शिक्षा, विज्ञान तथाप्रविधि समितिको बैठकले उक्तविधेयकपारित गरेको हो । पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुनेछ ।
विद्यालयशिक्षाविधेयकमा राखिएका केहीप्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएनभने शिक्षाविधेयकका केहीप्रावधानलाई लिएर निजीविद्यालय सञ्चालकहरूले आजबाट आन्दोलन समेत सुरु भएको छ ।
कक्षा १२ को नतिजा प्रकाशित
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। सोमबार साँझ बोर्डले नतिजा सार्वजनिक गरेको हो।
प्रकाशित नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै, ३८.८३ प्रतिशत विद्यार्थी ‘नन ग्रेड’ अर्थात आवश्यक न्यूनतम ग्रेड प्राप्त गर्न नसकेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
यस वर्षको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।
८० प्रतिशत युवाहरुले बिना जागिर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौँमा बस्ने ८० प्रतिशत युवाहरुले बिना जागिर घरबाटै महिनाको २ लाख भन्दा धेरै कमाउने गरेको दाबी गरेका छन् ।
शनिबार काठमाडौंका आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौ महानगरपालिका १५ वडा कमिटीद्वारा एसईई सम्मान बधाई तथा शुभकामना दिँदै अहिलेका युवाहरुले घरमै बसेर विदेशका विभिन्न कम्पनिबाट काम लिई ल्याप्टपबाट काम गरि पठाउँदा नेपालमा बार्षिक १ खर्ब रुपैयाँ आम्दानी भएको बताए ।
उनले यस्ता कामलाई अझै बढी जोड दिए वार्षिक ८ लाख भन्दा बढी कमाउने बताएका छन् । हिजोको दिनमा जस्तो डाक्टर इन्जिनियर नै बन्नुपर्छ भन्ने नभई नयाँ नयाँ रोजगारिको क्षेत्र आएको छ त्यसैलाई सदुपयोग गर्न सक्यो भने पैसा कमाउन सकिने उनले बताए । उनले आमा बुबाले पनि छोरा छोरिको रुचि के छ भन्नु भन्दा पनि मार्गनिर्देशन दिएर अगाडी बढ्न दिनुपर्ने बताए ।
‘अहिले काठमाडौंमा ८० प्रतिशत युवाहरु जसले जागिर खाँदैनन् तरपनि उनिहरुले घर बसि बसि २ लाख भन्दा धेरै कमाउने गरेका छन् । त्यस्को कारण भनेको विदेशका विभिन्न कम्पनिबाट काम लिएर ल्याप्टपबाट काम गरि पठाउने गरेका छन् । यस्तो जागिरबाट नेपालमा बार्षिक १ खर्ब रुपैयाँ आइरहेको छ । यसलाई विकास गर्न सक्यो भने ८ खर्ब सम्म ल्याउन सक्छाँै । त्यसैले तपाँइहामी ले सोचेको भन्दा नयाँ खालको काम गर्नपर्छ । हामी हिजोको जस्तो दिनमा छैन्म डाक्टर इन्जिनियर नै बन्न पर्छ भन्ने छैन नयाँ नयाँ रोजगारिको क्षेत्र आएको छ त्यसलाई सदुपयोग गर्न पर्छ, अनि पैसा कमाउन सकिन्छ । आमा बुबाले पनि छोरा छोरिको रुचि के छ त्यहि बन्न दिने हो मार्गर्निदेशन दिने हो यही बन्न पर्छ भनेर दबाब दिने होइन ।’ उनले भने
पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१ औ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिस्ट्रार प्रा डा कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो ।
यस्तै उपकुलपति प्रा डा बिजुुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबिबिएस कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिएको छ ।
प्रधानमन्त्री एवं कुलपति ओलीको तत्परतामा नयाँ आर्थिक वर्ष लाग्नुपूर्व नै सबै विश्वविद्यालयको सभा बैठक आयोजना भई बजेट स्वीकृतिको क्रम जारी रहेको छ ।
पाथीभरा प्रि–आर्मी ट्रेनिङ एकेडेमीमा गुरु पूर्णिमाको भव्य कार्यक्रम सम्पन्न
धरान,२६ असार। पूर्वी क्षेत्रको धरान सहरमा अवस्थित पाथीभरा प्रि–आर्मी ट्रेनिङ एकेडेमीले आज (असार २६ गते) गुरु पूर्णिमाको पर्व भव्यताका साथ मनाएको छ। हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा गुरुप्रतिको श्रद्धा र सम्मान व्यक्त गर्ने परम्परा अनुसार एकेडेमीले विशेष कार्यक्रम आयोजना गरेको हो।
विगत १८ वर्षदेखि गोर्खा ब्रिट्रिश आर्मी र सिंगापुर पुलिस फोर्स भर्तीका लागि इच्छुक नेपाली युवाहरूलाई तयारी तालिम प्रदान गर्दै आएको पाथीभरा, गोर्खा भर्ती हुन चाहने युवाहरूको लागि तयारीका लागि पहिलो रोजाइमा पर्दै आएको छ। एकेडेमीले शारीरिक तन्दुरुस्ती, शैक्षिक ज्ञान र मानसिक दृढताका लागि आवश्यक सम्पूर्ण तालिम प्रदान गर्दै आएको छ। यहाँबाट प्रशिक्षित सयौं युवाहरूले सफलतापूर्वक ब्रिट्रिश आर्मी र सिंगापुर पुलिस फोर्स मा आफ्नो स्थान बनाउन सफल भएका छन्।
यस एकेडेमीमा तयारीरत ट्रेनी सौगात राईले कार्यक्रमबारे जानकारी दिँदै भने, "हामी यहाँ २०२६ को छनोट प्रक्रियाका लागि धेरै साथीहरू तयारी गरिरहेका छौं। आज गुरु पूर्णिमा भएकाले हाम्रा गुरुहरूलाई सम्मान स्वरूप यो कार्यक्रम आयोजना गरिएको हो।" उनले थपे, "यसका लागि पाथीभरा एकेडेमीले पनि केही व्यवस्थापनका लागि सहयोग र साथ दिनुभएको छ। यसको लागि हामी सबै ट्रेनीहरूको तर्फबाट एकेडेमीको म्यानेजमेन्ट टिमलाई धन्यवाद दिन्छौं।" ट्रेनीहरूले फूलमाला, टीका र मिठाईका साथ आफ्ना गुरुहरूलाई सम्मान गरेका थिए। गुरुहरूले पनि आफ्ना विद्यार्थीहरूलाई सफलताका लागि शुभकामना र आशीर्वाद प्रदान गरे।
कार्यक्रममा एकेडेमीका सञ्चालक मिलन राईले सम्पूर्णलाई गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै गुरुको महत्वका बारेमा आफ्ना धारणा व्यक्त गरे। उनले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै गुरु र विद्यार्थीबिचको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए। "गुरुले विद्यार्थीलाई सही मार्ग देखाउँछन् र उनीहरूको जीवनलाई आकार दिन्छन्," राईले भने, "यस एकेडेमीको सफलताको पछाडि हाम्रा अनुभवी गुरुहरूको अथक परिश्रम र समर्पणको ठूलो हात छ।"
विद्यालयको भवन नहुँदा भुइँमै बसेर पढ्न बाध्य मुगुका विद्यार्थी
मुगु । खत्याड गाउँपालिकाको वडा नं ६ मा पर्ने लाम्र पन्सेरीमा रहेको भगवती माध्यमिक विद्यालयमा अध्वनरत विद्यार्थीहरू भौतिक पूर्वाधारको अभावमा चिसो भुइँमै बसेर पढ्न बाध्य छन् ।
विद्यालयमा भवन अभाव हुँदा यहाँका विद्यार्थीहरू खुला आकाश, टिनको टहरा र बहु कक्षाको व्यवस्था गरी भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएको पाइएको हो । भौतिक पूर्वाधार निर्माणका लागि विद्यालयसँग पर्याप्त जग्गा भएपनि स्रोतको अभावमा पूर्वाधार निर्माण हुन नसकेको हो ।
पूर्वाधार अभावमा ईसीडी कक्षा देखि १० कक्षासम्म बध्यनरत ३ सय ५० भन्दा बढी विद्यार्थीहरूलाई पठनपाठनका लागि निकै समस्या भएको विद्यालयले बताएको छ । विद्यालयमा आठवटा मात्र कोठा छन् । जसमा फरक फरक दुईवटा कक्षाका विद्यार्थीहरू सँगै बसेर अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक बिस्नु केसीले जानकारी दिए ।
कक्षा कोठा निर्माणका लागि आ.व. २०७६/७७ मा कर्णाली प्रदेश सरकारको सामाजिक विकास कार्यालयले २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
तर, सो बजेटले भवन निर्माण गर्न अपुग भएपछि निर्माणाधीन भवन अलपत्र अवस्थामा छ । पूर्वाधार निर्माणमा सहयोग गर्न स्थानीय र प्रदेश सरकारसँग मौखिक रूपमा सहयोग मागिए पनि त्यसको सुनुवाइ नभएको प्रधानाध्यापक केसीले बताए ।
‘विद्यालयमा कक्षाकोठा नै अभाव भएकाले पढाइ राम्रो हुन सकेको छैन् । व्यक्तिगत सरसफाइमा पनि असर परेको छ । खुला आकाश र चौरमा बसेर पढ्नु परेको छ भने एउटै कक्षामा दुई फरक कक्षाका विद्यार्थी बसेर पढ्नुपर्दा होहल्ला बढी हुने भएकाले शिक्षकले पढाएको कुरा समेत बुझन गाह्रो भएको छ,’कक्षा दशमा अध्ययनरत छात्रा आकृति शाहीले भनिन् ।
राज्यले शिक्षा, स्वास्थ्य, र रोजगारीको जस्ता अनेक शीर्षमा बजेट छुट्याएपनि बजेट अभावमा मुगु जिल्लामा रहेका धेरै विद्यालयहरूको अवस्था यस्तै रहेको वडा नम्बर ६ का वडा अध्यक्ष भरत बहादुर शाहीले बताए । उनका अनुसार प्रदेश सरकारले दिएको बजेटले विद्यालयको जग हाल्न मात्र पुगेकोले आधा निर्माण भएको भवन वर्षौँ देखि अलपत्र अवस्थामा छ ।