शुक्रबार, १५ जेठ २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01KM37EZ5TRM3255Q9XTZFAB2H.jpg

आगामी तीन दिन देशका विभिन्न भागमा वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना

काठमाडौं । आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले चैत ६ गते शुक्रबारदेखि मौसममा उल्लेख्य बदलाव आउने जानकारी दिएको हो।
शनिबार पूर्वी नेपालका विराटनगर, धनकुटा, धरान र आसपासका जिल्लामा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको वेगमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ। प्रि–मनसुनको अवधि भएकाले यस्तो शक्तिशाली हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र घरका छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्न सक्ने जोखिम रहेको छ।
शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक(दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले जोखिमबाट बच्न विशेष काम नपरी यात्रामा ननिस्कन र सुरक्षित स्थानमा आश्रय लिन सर्वसाधारणलाई अपिल गरेको छ।

प्रकाशित मितिः बिहिबार, ०५ चैत २०८२
https://www.jawaaf.com/storage/01KK3J0M1ZXEBA773E4039N0H7.jpg

चीनमा उच्च शिक्षामा भर्ना दर ६० प्रतिशत नाघ्यो, विश्वकै सबैभन्दा ठूलो शिक्षा प्रणाली भएको दाबी

काठमाडौं । चीनका शिक्षामन्त्री हुवाइ चीनपीङले चीनको उच्च शिक्षामा भर्ना दर ६० प्रतिशतभन्दा माथि पुगेको बताएका छन् । उनले चीन अहिले विश्वकै सबैभन्दा ठूलो तथा गुणस्तरीय शिक्षा प्रणाली सञ्चालन गर्ने देश बनेको दाबी गरेका छन् ।
बेइजिङमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हुवाइले यो जानकारी दिएका हुन् । उक्त पत्रकार सम्मेलन चीनको संसद् नेश्नल पिपुल्स काँग्रसको १४औँ कार्यकालको चौथो अधिवेशनका क्रममा आयोजना गरिएको थियो ।
उनका अनुसार १४ औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) अवधिमा चीनको उच्च शिक्षा प्रणालीले समाजका लागि करिब ५ करोड ५० लाख दक्ष जनशक्ति उत्पादन गरेको छ । उनले सन् २०१२ अघि उच्च शिक्षामा भर्ना दर ३० प्रतिशतभन्दा कम रहेकोमा अहिले त्यो बढेर ६० प्रतिशतभन्दा माथि पुगेको बताए ।
मन्त्री हुवाइका अनुसार पछिल्ला दुई वर्षमा चीनका विश्वस्तरीय विश्वविद्यालय र उत्कृष्ट विषयगत विश्वविद्यालयहरूले उच्च गुणस्तरका स्नातक कार्यक्रम विस्तार गर्दै थप ३८ हजार विद्यार्थी भर्ना गरेका छन् ।
यसका साथै विगत पाँच वर्षमा चीनले १८ वटा नयाँ स्नातक विश्वविद्यालय र ७० वटा नयाँ व्यावसायिक स्नातक कलेज स्थापना गरेको छ । यसले गर्दा स्नातक तहमा विद्यार्थी भर्ना संख्या ७ लाखले बढेको उनले जानकारी दिए । अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई पनि चीनले तीव्र रूपमा विस्तार गरेको छ ।
मन्त्री हुवाइका अनुसार चीनले विदेशी विश्वविद्यालयहरूसँग सहकार्य गर्दै स्नातक वा सोभन्दा माथिल्लो तहमा ५४० भन्दा बढी संयुक्त शैक्षिक संस्था तथा कार्यक्रम स्थापना गरेको छ । यसबाट करिब ३ लाख ५० हजार विद्यार्थीलाई अध्ययनको अतिरिक्त अवसर सिर्जना भएको उनले बताए ।
चीन सरकारले उच्च शिक्षा विस्तार, अन्तर्राष्ट्रिय सहकार्य र गुणस्तरीय कार्यक्रममार्फत विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित शिक्षा क्षेत्रमा लगानी बढाइरहेको बताइएको छ । सीसीटीभी

प्रकाशित मितिः शनिबार, २३ फागुन २०८२
https://www.jawaaf.com/storage/01KJRTJ6P9GZYAEMA2EZTZRNNN.jpg

साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टासम्म स्पष्ट देखिने

काठमाडौं । आज साँझ खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । साँझ ६:०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिने खगोलविद्हरूले बताएका छन् ।

वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार यो चन्द्र ग्रहण नेपालका विभिन्न स्थानबाट अवलोकन गर्न सकिनेछ । चन्द्रमा क्षितिजबाट माथि उठ्दै गर्दा यसको आधाभन्दा बढी भाग पृथ्वीको गाढा छायाले ढाकिएको देखिने उनले जानकारी दिए ।

उनका अनुसार चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिनु दुर्लभ खगोलीय घटना मानिन्छ । काठमाडौँमा चन्द्रमा ग्रहणसहित साँझ ६ः०४ बजे उदाउनेछ र करिब एक घण्टासम्म स्पष्ट रूपमा अवलोकन गर्न सकिनेछ ।

खगोलविद्हरूले चन्द्र ग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा सुरक्षात्मक चस्माको आवश्यकता नपर्ने बताएका छन् । सूर्य ग्रहणभन्दा फरक, चन्द्र ग्रहणले आँखामा प्रत्यक्ष असर नपार्ने भएकाले खुला स्थानबाट नाङ्गो आँखाले सुरक्षित रूपमा अवलोकन गर्न सकिनेछ ।

प्रकाशित मितिः मङ्गलबार, १९ फागुन २०८२
https://www.jawaaf.com/storage/01KJ1A4A74VWDWDCJ30ZGZZSKR.jpg

गुगलद्वारा नयाँ मोडेल जीमीनी ३.१ प्रो सार्वजनिक

काठमाडौं । प्रविधि कम्पनी गुगलले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल जीमीनी ३.१ प्रो सार्वजनिक गरेको छ । जटिल समस्या समाधानमा अझ सशक्त क्षमता प्रदान गर्ने लक्ष्यसहित यो मोडेल ल्याइएको कम्पनीले जनाएको छ ।

गत नोभेम्बर १९ मा जीमीनी ३ प्रो सार्वजनिक गरेको तीन महिनापछि गुगलले यसको उन्नत संस्करण जीमीनी ३.१ प्रो बजारमा ल्याएको हो । कम्पनीका अनुसार नयाँ मोडेलले ‘मुख्य तर्कशक्तिमा महत्वपूर्ण सुधार’ गर्दै जटिल चुनौतीहरू सामना गर्न अझ सक्षम आधार तयार गरेको छ ।
गुगलले दाबी गरेको छ कि जीमीनी ३.१ प्रो ले विभिन्न एआई बेन्चमार्कहरूमा अघिल्लो संस्करण जीमीनी ३ प्रो र अन्य कम्पनीका प्रतिस्पर्धी मोडेलहरूभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ ।

कम्पनीका अनुसार यो मोडेल ‘साधारण उत्तर पर्याप्त नहुने’ अवस्थाका लागि तयार गरिएको हो । यसले बहु–स्तरीय कार्य र जटिल प्रश्नहरू समाधान गर्न उन्नत तर्क प्रविधि प्रयोग गर्छ । जीमीनी ३.१ प्रो व्यावहारिक रूपमा जटिल विषयहरूको स्पष्ट र दृश्यात्मक व्याख्या तयार गर्न, ठूलो परिमाणको तथ्यांकलाई एकीकृत रूपमा विश्लेषण गर्न तथा सिर्जनात्मक कार्यप्रवाहमा सहयोग गर्न उपयोगी हुने गुगलको दाबी छ ।

यो मोडेल जीमीनी एपमार्फत सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । तर गुगल एआई प्रो र गुगल एआई अल्ट्रा सदस्यहरूले उच्च प्रयोग सीमा पाउनेछन् । साथै, यो मोडेल नोटबुल एलएमा पनि उपलब्ध गराइएको भए पनि त्यहाँ पहुँच भने प्रो र अल्ट्रा सदस्यहरूमा मात्र सीमित गरिएको छ । यस नयाँ संस्करणको सार्वजनिकतासँगै जेनरेटिभ एआई क्षेत्रमा तर्क क्षमता सुदृढ गर्ने प्रतिस्पर्धा थप तीव्र बनेको विश्लेषण गरिएको छ । एएनआई

प्रकाशित मितिः आइतबार, १० फागुन २०८२
https://www.jawaaf.com/storage/01KHN0TGBTDTF82WJCBJKXKAQ4.jpg

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले सूचना जारी गर्दै २०८३ साल वैशाख १४ गतेदेखि कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका) परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुने जनाएको हो ।

सूचना अनुसार परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म सञ्चालन हुनेछ । वैशाख १४ गतेदेखि सुरु हुने परीक्षा वैशाख २७ गतेसम्म चल्नेछ । विभिन्न संकाय अन्तर्गत अनिवार्य तथा ऐच्छिक विषयहरूको परीक्षा तोकिएको मिति र समयमा सञ्चालन गरिने बोर्डले जनाएको छ ।
वैशाख १४ गते अनिवार्य अङ्ग्रेजी (नियमित) विषयबाट परीक्षा सुरु हुनेछ भने १५ गते अनिवार्य नेपाली, १६ गते अनिवार्य अङ्ग्रेजी (आंशिक) र सामाजिक अध्ययन (प्राविधिक धार) का विषयहरू सञ्चालन हुनेछन् ।

त्यसैगरी गणित, लेखा, भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, अर्थशास्त्र, शिक्षा, व्यवस्थापन, मानविकी तथा विभिन्न प्राविधिक विषयहरूको परीक्षा क्रमशः तोकिएको तालिकाअनुसार सञ्चालन गरिनेछ । बोर्डले परीक्षार्थीहरूलाई परीक्षा सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा उपस्थित हुन निर्देशन दिएको छ । परीक्षा सुरु भएको १५ मिनेटपछि उपस्थित हुने परीक्षार्थीलाई सहभागी गराइने छैन । परीक्षा कार्यक्रममा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षा व्यवस्था नगरिने पनि स्पष्ट पारिएको छ ।

त्यस्तै, परीक्षा केन्द्र परिवर्तन गर्न नपाइने, मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय उपकरण लैजान निषेध गरिएको, आवश्यक सामग्री परीक्षार्थी स्वयंले ल्याउनुपर्ने तथा जीवविज्ञान विषयका परीक्षार्थीहरूले बोटनी र जुलोजीका लागि एउटै उत्तरपुस्तिका प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कुनै विद्यार्थीको एकभन्दा बढी विषय एकै दिन परेमा सूचना प्रकाशित भएको १५ दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ । साथै, अनिवार्य नेपालीको सट्टा ऐच्छिक अङ्ग्रेजी अध्ययन गर्ने विदेशी नागरिकले वैशाख १५ गते नै ऐच्छिक अङ्ग्रेजी विषयको परीक्षा दिनुपर्ने जनाइएको छ ।

प्रकाशित मितिः मङ्गलबार, ०५ फागुन २०८२
https://www.jawaaf.com/storage/01KGSF9FGKQ1AX4M0QDGBYSNVV.jpg

सुनसान सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय विज्ञापन छायाँकन

काठमाडौं । सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय विज्ञापन छायाँकन भइरहेको छ । सगरमाथा आधार शिविरमा कोरियन ब्राण्ड ‘ब्ल्याक याक’ ब्राण्डकाे विज्ञापन छायाँकन भइरहेको छ ।

नेपालमा सामान्यतया हिमाली पदयात्राको लागि हिउँदे समयलाई जोखिमपूर्ण समय मानिन्छ । हिउँदे समयमा जोखिम तथा उच्च चिसोका कारण पदयात्रा गर्न अपूर्ण हुन्छ भन्ने मान्यताको गलत भाष्यलाई कोरियन ब्राण्ड ‘ब्ल्याक याक ब्राण्ड’ ले चिरिदिएको छ ।

बेमौसमीमा हिमालमा अत्यधिक चिसो, तिब्र गतिको हावा, हाइ अल्टिच्युट सिकनेस र हाइपोथर्मियाको जोखिम बढाउँछ भन्ने मान्यताले पदयात्रीहरु यात्रा गर्न डराउँछन् । तर १६ जना कोरियनलगायत ४० जनाको टीमले यो ‘ब्ल्याक याक ब्राण्ड’को विज्ञापन छायाँकनले यसलाई गलत सावित गरिदिएको हो ।

उक्त विज्ञापनलाई ड्रोन र क्यामेरा प्रयोेग गरी छायाँकन भइरहेको छ । यसको सबै सरकारी अनुमति प्रक्रिया र प्राविधिक व्यवस्थापन भने फिल्म क्रू नेपाल नामक संस्थाले गरेको हो । फिल्म क्रू नेपालले उक्त वृत्तचित्रको लागि गृह, पर्यटन मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभाग तथा संञ्चार मन्त्रालयबाट अनुमति लिएको थियो ।

पर्यटन व्यवसायी नावा निमा शेर्पाले नेपाल दुईवटा सिजनको लागि मात्र नभइ हिउँदे सिजन पनि त्यत्तिकै सौन्दर्य र मौसमअनुकुल छ भन्ने कुरा विश्वलाई चिनाउन चाहेको बताए । विशेष विन्टर सिजनलाई फोकस गरेर हिमाली भेगमा डकुमेन्ट्री, फिल्म सुटिङलाई अलि प्रवर्द्धन गर्नुपर्ने समेत बताउँछन् ।

उनले भने, ‘चारवटा सिजनलाई व्यवसायीहरुले गलत प्रचार गरेजस्तो लाग्छ । अक्टोबर र स्प्रिङ सिजनमा पर्यटन गतिविधि धेरै हुन्छ तर नेपालमा यसबारे गलत बुझाइ छ । नेपालमा दुईवटा सिजनको लागि मात्र होइन, विन्टरमा पनि त्यत्तिकै सौन्दर्य र मौसमअनुकुल छ । विशेषगरी नेपालको लागि यो सिजन एकदमै राम्रो हो भन्ने कुरालाई फोकस गरेर हिमाली भेगमा डकुमेन्ट्री, फिल्म सुटिङलाई बढी प्रवर्द्धन गर्नुपर्छ ।’

यसैगरी उनले नेपाल संसारकै प्रकृतिक रूपले खुल्ला स्टूडियो भएको हुनाले नेपाल सरकारले बढी फिल्म क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्ने बताए । उनले कानुनी प्रक्रियाहरु विशेषगरी अनुमति प्रक्रियामा सहजीकरण गर्यो भने आउने दिनमा नेपाल धेरै भन्दा धेरै सुखी हुने बताए । उनले भने, ‘सरकारले नेपाल संसारका लागि अपन स्टूडियोका रुपमा बुझाउन सक्नुपर्छ । फिल्म सुटिङका लागि प्रमोट गर्दै कानुनी प्रक्रियाहरुमा सहजीकरण गरिदिनुपर्छ । विशेषगरी अनुमति दिने कुरामा सहजीकरण भयोभने आउने दिनमा नेपाल धेरै भन्दा धेरै सुखी हुन्छ । यसले नेपाललाई संसारभरी प्रवद्र्धन गर्छ भन्ने व्यवसायीहरुको मान्यता हो ।’

वसन्त ऋतुलाई हिमाल आरोहणको मुख्य सिजन मानिन्छ । सामान्यतया नेपालमा हिमाल आरोहण र पदयात्राका लागि असोज, कार्तिक र बैशाख महिनालाई उपयुक्त मानिन्छ । सरकार र पर्यटन व्यवसायीले सोही अनुसार पर्यटन प्रवद्र्धन गर्ने गरेका छन् । तर पर्यटन विभागले आरोहीहरुले निवेदन दिएको खण्डमा जुनसुकै सिजनमा पनि अनुमति दिने गरेको निर्देशक/सूचना अधिकारी हिमाल गौतमले बताए ।

प्रकाशित मितिः शुक्रबार, २३ माघ २०८२
https://www.jawaaf.com/storage/01KG778RHB3G67MD7PMW0H021T.jpg

चीनका सडकहरुमा गुड्न थाले चालकविहीन कार

एजेन्सी । चीनका सडकहरुमा चालकविहीन अर्थात स्वचालित सवारी साधनहरु गुड्न थालेका छन् । विशेषगरी बेइजिङ र चोङकिङमा सडकमा यस्ता सवारी साधनहरु गुडिरहेका छन् ।
चीनले चालकविहीन कारहरूलाई ठूलो मात्रामा उत्पादनमा ल्याउने प्रयास गरिरहेको पनि छ ।

जनवरीमा, बेइजिङको एलथ्री पूर्ण विद्युतीय सेडानको पहिलो ब्याच राजमार्ग र एक्सप्रेसवेहरूमा ठूलो मात्रामा परीक्षणहरूमा परिक्रमा गर्न थालेको थियो ।

चाङ्गान टेक्नोलोजीका इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम डिजाइन र विश्लेषणका उपप्रमुख इन्जिनियर लिउ युकिङका अनुसार यस्ता कारहरु क्रसिङ, ब्याकलाइट अवस्था, रातको समय, वर्षा र कुहिरो जस्ता चुनौतीपूर्ण परिदृश्यहरूमा बढी अनुकूलनशीलता र सुरक्षाका साथ प्रदर्शन गर्न सक्षम पारिएको छ ।

यस्ता कारको मनिटरमा जडान गरिएका विशेष उपकरण र सेन्सरहरूले वरिपरिको वातारण, अरू सवारीसाधन र पैदलयात्रु बारेमा थाहा पाउनेछन्। (सीसीटीभीप्लस)

प्रकाशित मितिः शुक्रबार, १६ माघ २०८२
https://www.jawaaf.com/storage/01KFMA5NMA4XKYT7532NZPY6N7.jpg

आज सरस्वती पूजा, देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै

काठमाडौं । आज सरस्वती पूजा अर्थात् श्री पञ्चमी देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ । ज्ञान, कला र सङ्गीतकी देवी सरस्वतीको उपासना गर्दै विद्यालय, मन्दिर तथा विद्याका केन्द्रहरूमा आज विशेष पूजा–आराधना गरिन्छ ।

आजको दिन अक्षरारम्भ गर्ने, कलम–कागज, वाद्ययन्त्रजस्ता सिर्जनाका औजारहरूको पूजा गर्ने परम्परा रहेको छ ।

आजको दिन आफैँमा शुभ हुने भएकाले विवाह, व्रतबन्धलगायत सबै प्रकारका सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने बताइन्छ । यस दिन बालबालिकाको नाक, कान छेड्ने चलन पनि छ ।

आज काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरहरूमा भक्तजनको भीड लाग्ने गर्दछ । उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैह्रीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा भइरहेको छ ।

आजबाट वसन्त ऋतुको सुरुवात हुने धार्मिक विश्वास पनि छ । सरस्वती पूजालाई विद्या, सिर्जना र सकारात्मक सोचको आरम्भका रूपमा लिइन्छ ।

प्रकाशित मितिः शुक्रबार, ०९ माघ २०८२
https://www.jawaaf.com/storage/01KEZR3MTM8442331CC6MC2XAH.jpg

माघी पर्व र थारु संस्कार–संस्कृतिमा राजनीतिक घुसपैठ मान्य हुँदैन

काठमाडौं । माघको चिसो बिहान शहर र बस्ती निदाइरहेकै बेला थारु बस्तीहरूमा भने नयाँ उमंगको सुरु हुन्छ । बिहान ४ बज्न नपाउँदै नदी, खोल्सा, पोखरीतिर स्नानका लागि लाग्ने भीड देखिन्छ । अनि अनुहारमा नयाँ वर्षको आशा भरिन्छ र माघी अर्थात थारु समुदायको नयाँ वर्ष प्रारम्भ हुन्छ ।

थारु समुदायका लागि माघी केवल एक पर्व होइन, यो सामूहिक स्मृति, सामाजिक पुनर्संयोजन र आत्मपहिचानको दिन हो । पश्चिम दाङदेखि कञ्चनपुरसम्म र पूर्वी तराईसम्म फरक–फरक नाम र परम्परामा मनाइए पनि माघीको आत्मा एउटै छ– ‘दुःख बिर्सेर नयाँ सुरुवात गर्ने ।’
थारु माघी महोत्सव २०८२ का आयोजक नन्दुराज चौधरीका अनुसार माघ १ गते बिहानै माघी स्नान अर्थात ‘माघ लहान’ गर्ने परम्पराले शारीरिक मात्र होइन, आत्मिक शुद्धताको अर्थ पनि बोकेको हुन्छ ।

माघीको दिन स्नानपछि घर फर्केर ‘निस्राउ’ छुट्याइन्छ । निस्राउमा चामल, दाल, नुन, बेसार, तरकारी र गक्षअनुसार दानदक्षिणा हुन्छन् । चौधरीका अनुसार निस्राउ छोएपछि ठूलाबडासँग ढोग–सलाम गरी आशीर्वाद लिने चलन छ, जसले पुस्ताबीचको सम्बन्धलाई बलियो बनाउँछ । छोरीबेटीका लागि कपडा छुट्याउने परम्परा रहेको र त्यसले माइती र चेलीको नाता अझै जीवित राख्छे उनले बताए ।

माघीमा हरेक घरमा घिक्री, घोंगी, सोरिकशिखर, खिचरीजस्ता परिकार पाक्छन्। पश्चिम तराईमा करिब १५ दिनसम्म मघौटा, धमाहा, झुम्रा जस्ता नाचगानले गाउँ भरिने उनले बताए ।

‘हरेक घरमा पकवान घिक्री, घोंगी, सोरिकशिखर लगायत विभिन्न पकवानहरु हुन्छन् । त्यो सेवन गर्ने गराउने गर्छौं। हाम्रो पश्चिमतिर १५ दिनसम्म मनाइन्छ । नाचगान गरेर मघौटा, धमाहा लगायत गीतहरु गाएर घरघरमा जसरी देउसीभैलो खोलिन्छ त्यसैगरी घरघरमा गएर खेल्ने चलन पनि छ,’ उनले भने ।

पूर्वी तराईमा तिल र मुरीको प्रयोग, परिधान र संस्कारमा केही फरक भए पनि पर्वको मर्म उही मेलमिलाप र नयाँ आशा रहेको उनको भनाई छ ।
उनले भने, ‘पूर्वतिर तिल, अलिकति मुरैहरु खानुहुन्छ । परिकार वा संस्कारमा पनि सबैतिर लगभग उही प्रक्रिया हो, तर मनाउने चलन फरक छ ।’
माघी थारु समुदायका लागि नयाँ वर्ष मात्र होइन, नयाँ नेतृत्व चयनको समय पनि भएको उनले बताए । थारु समुदायमा परम्परागत ‘बरघर प्रणाली’मार्फत गाउँको नेतृत्व छनोट गरिन्छ । पश्चिम नेपालका दाङ्ग, सुर्खेत, वाँके, वर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका थारू समुदायमा बरघर प्रणाली प्रचलित छ ।

बरघर प्रणालीका कारण यी जिल्लाका थारू समुदायमा बाटो, कुलो, बाँध निर्माण र मर्मत सम्भार गर्न सरकारी बजेटको मुख नताकेर जनश्रमदानबाट काम सम्पन्न गर्ने चलन बसेको छ । जसले निस्वार्थ सेवा भावले काम गरिन्छ, पारिश्रमिक लिइदैन । उनले भने, ‘जो अगुवा हुनुहुन्छ, उहाँले समाजप्रति सेवा गर्नुहुन्छ । उहाँहरूले समाजप्रति गर्ने काम निष्पक्ष रूपले गर्नुहुन्छ । सामुदायिक हिसाबले चुन्छौं ।’
तर पछिल्लो समय पहाडबाट बसाइसरी आउने प्रचलन बढेसँगै ‘बरघर’ प्रणालीमा परिवर्तन आएको चौधरी बताउँछन् ।

उनका अनुसार थारु बस्तीहरूमा पहाडीयाहरुको बाहुल्यता बढ्दो छ, जसले थारु समुदाय सीमित भइरहेको छ । बरघर प्रणालीमा समेत राजनीति छिराउन खोजिएको र पारिश्रमिक पनि माग गर्ने कुरा अमान्य हुने उनले बताए ।

‘पहाडबाट आएकाहरुले गर्दा नयाँ बस्तीहरू बढ्दैछन्, थारू समूदाय भन्दा अन्यको बाहुल्यता बढ्दै छ । हामी सीमित भइरहेको अवस्थामा बरघर सिस्टम राजनीति छिर्न खोज्दैछ,’ उनले थप भने, ‘त्यसमा हाम्रो आपत्ति छ, उहाँहरूले पनि अगुवाइ गर्न खोजिराख्नुभएको छ समाजमा । राजनीतिक तरिकाले चलाउन खोज्नुहुन्छ ।’ उनले आफ्नो समुदाय सरकारी प्रणाली भन्दा भिन्न तरिकाले चलाउँने पनि बताए ।

आधुनिकता, बसाइँसराइ र नयाँ पुस्ताको जीवनशैलीसँगै थारु समुदायको सांस्कृतिक निरन्तरता चुनौतीमा परेको छ । यही सन्दर्भमा थारु माघी महोत्सव जस्ता पर्वहरू पुस्तान्तरणका सेतु बनेको चौधरीले बताए ।

संस्कृतिलाई व्यावसायिक र पर्यटनसँग जोड्न सके पहिचान जोगिनुका साथै विकास पनि हुने उनको भनाइ छ ।

टुँडिखेलमा थारु पहिचानको उत्सव
पुस ३० र माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने थारु माघी महोत्सव २०८२ ले देशभरका थारु समुदायलाई एउटै मञ्चमा जोड्नेछ । झाँकी ¥याली, सांस्कृतिक प्रस्तुति, परम्परागत खानपान र हस्तकलाले थारु पहिचानलाई राजधानीमै उजागर गर्नेछ।

थारु माघी महोत्सव २०८२ को झाँकी र्यालीको संयोजक रहेका चौधरीका अनुसार थारु संस्कृति केवल समुदायको मात्र होइन, नेपालकै सांस्कृतिक धरोहर हो। अन्तर्राष्ट्रिय स्तरमा यसको प्रवद्र्धनका लागि सरकारको नीतिगत र आर्थिक सहयोग अपरिहार्य छ । यसले पर्यटन प्रवद्र्धनसँगै स्थानीय अर्थतन्त्र र राष्ट्रिय समृद्धिमा योगदान पु¥याउन सक्ने उनको अपेक्षा छ ।

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/SKjyEAYAOMY?si=-VtnCIDNHJyI8ojD" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः बिहिबार, ०१ माघ २०८२
https://www.jawaaf.com/storage/01KEKS35NSQ21NT002VH93JV10.jfif

द ब्रिटिश कलेजमा आन्दोलनका नाममा रकम मागेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ परेका छन् ।  कलेजको व्यवस्थापनसँग ३० लाख रुपैयाँ मागेको र नदिए कलेज नै बन्द गराइदिने धम्की दिएका काभ्रेपलाञ्चोक जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नं.४ स्थायी घर भई हाल जोरपाटी बस्दै आएका वर्ष २८ का ढकाल पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।

कलेज बन्द गर्न राजनीतिक र प्रशासनिक पहुँच प्रयोग गर्ने धम्की दिँदै रकमको बार्गेनिङ गर्ने ढकाल मुलुकी अपराध संजहता, २०७४ को दफा २५३ बमोजिम आपराजधक लाभ (एक्सिसइन) सम्बन्द्धी कसूरमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

ढकालले २०८२ साल पुस १६ र १७ गते नक्सालस्थित एक होटलमा कलेजको व्यवस्थापकसँग भएका भेटघाटका क्रममा डर, त्रास र दबाब सिर्जना गर्दै रकम नदिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको कलेज प्रशासनको भनाइ छ ।

ढकालविरुद्ध सामाजिक सञ्जाल तथा सीमित अनलाइन समाचार पोर्टलमार्फत कलेजको प्रतिष्ठा, विश्वसनीयता र छविमा नकारात्मक प्रभाव पार्ने सामग्रीहरू फैलाएको आरोप पनि लागेको छ । त्यस्तै, गत पुस ८ गते ब्रिटिश कलेज रहेको भवन ट्रेड टावर परिसरमा नारा जुलुस, तोडफोड तथा सवारी साधनमा क्षति पु¥याउने गतिविधिमा ढकाल पनि संलग्न भएको कलेजको दावी छ ।

ढकाल किल युनिभर्सिटीको सम्बन्धनमा सञ्चालन भइरहेको ब्रिटिश इन्टरनेशनल कलेजका पूर्व विद्यार्थी समेत हुन् । पीडित पक्षले दिएको जाहेरीमा धम्कीपूर्ण ह्वाट्सएप म्यासेज, अडियो रेकर्डिङ, समाचार सामग्रीका लिङ्क तथा अन्य कागजातहरू प्रमाणका रूपमा प्रहरीसमक्ष पेश गरिएको थियो । सोही आधारमा ढकाल पक्राउ परेका हुन् ।

प्रकाशित मितिः शनिबार, २६ पुस २०८२