जाजरकोटमा ‘शक्तिहीन’ देखिए शक्ति बस्नेत
सुर्खेत । जाजरकोटको पछिल्लो मत परिणाम अनुसार नेकपाका नेता शक्ति बस्नेत ‘शक्तिहीन’ देखिएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार बस्नेतले नेपाली कांग्रेसका खडक बिसीलाई पछ्याइरहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार बस्नेतसँग बिसीले मतान्तर बढाउँदै लगेका छन् ।
सुरुवातदेखि नै अग्रता लिँदै आएका नेपाली कांग्रेसका खड्कबहादुर बिसीले अग्रता कायमै राख्दा शक्ति बस्नेत पछ्याई रहेका छन् । विसीले एक हजार ८३९ मतसहित अग्रता कायम राखेका छन् ।
जाजरकोटका ६ वटा पालिकाको पुरै र छेडागाड नगरपालिकाको आधा मत गणना हुँदा बिसीले १३ हजार ७१४ मत ल्याएर अग्रता कायम राख्दा शक्तिबहादुर बस्नेतले ११ हजार ८७५ मतसहित पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका डम्बरबहादुर सिंहले १० हजार ८८५ र रास्वपाले एक हजार २२७ मत ल्याएका छन् ।
सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम
सर्लाही । सर्लाही ९ प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।
बिहान ७ बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता कायमै राखेका छन्। हालसम्मको मतगणनामा रास्वपाका सिंहले ११ हजार ३८३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् ।
दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा रहेका छन्। उनले ६ हजार ९५२ मत प्राप्त गरेका छन् । त्यसैगरी, नेकपा एमालेका उम्मेदवारले १ हजार ९६७ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका उम्मेदवारले ८४० मत ल्याएका छन् । नेकपा (तारा चुनाव चिह्न) ले ४८९ मत प्राप्त गर्दा जसपा नेपालले ३६ मत पाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २० मत प्राप्त गरेको छ । यसैबिच, मतगणनामा १ हजार ८७ मत बदर भएको जनाइएको छ । मतगणना कार्य जारी रहेको छ । जिल्लाका अन्य क्षेत्रमा पनि रास्वपा अग्रस्थानमा छ ।
रुकुम पूर्वबाट प्रचण्ड विजयी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका छन् । नेकपाका संयोजकसमेत रहेका प्रचण्ड विजयी भएसँगै उक्त दलले जीतको खाता खोलेको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० हजार २४० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लिलामणि गौतमले ३ हजार ४६२ भोट पाए । प्रचण्ड ६ हजार ७७८ मतसहित विजयी भएका हुन् ।
रौतहट–१ : प्रारम्भिक रुझानमा माधव नेपाल पाँचौ स्थानमा, रास्वपाका राजेश चौधरीको अग्रता
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा पूर्वप्रधानमन्त्री एवं नेकपाका सह–संयोजक माधव कुमार नेपाल निकै पछि परेका छन् ।
फागुन २१ गते सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाल पाँचौ स्थानमा खुम्चिएका हुन् ।
मतगणनाको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश कुमार चौधरीले उल्लेख्य अग्रता बनाउँदै अन्य प्रतिस्पर्धीलाई निकै पछाडि छाडेका छन् । चौधरी १,४९९ मतका साथ पहिलो स्थानमा सुरक्षित देखिएका छन् ।
दोस्रो स्थानमा जनता समाजवादी पार्टी (जसपा) का योगेन्द्र राय यादव छन्, जसले ६३१ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार अजय गुप्ता ३९९ मतसहित तेस्रो स्थानमा संघर्षरत छन् ।
चौथो स्थानमा नेपाली कांग्रेसका अनिल कुमार झा रहेका छन् । उनले ३६६ मत ल्याउँदा ‘हेभीवेट’ उम्मेदवार मानिएका माधव कुमार नेपाल भने मात्र ३२० मतका साथ पाँचौ स्थानमा सीमित भएका छन् ।
घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका रास्वपाका चौधरीले सुरुआती चरणदेखि नै भारी मतका साथ अग्रता लिँदा जिल्लाको राजनीतिक समीकरणमा नयाँ मोड आउने संकेत देखिएको छ ।
संसद छिर्ने लक्ष्यका साथ चुनावी मैदानमा होमिएका नेपालका लागि यो प्रारम्भिक नतिजा निकै चुनौतीपूर्ण र अप्रत्याशित बनेको छ ।
निर्वाचन आयोगका अनुसार मतगणना हाल शान्तिपूर्ण रूपमा जारी छ । अहिले केही वडाहरूको मात्र गणना सकिएको र बाँकी वडाहरूको परिणाम सार्वजनिक भएसँगै यो समीकरणमा फेरबदल आउन सक्ने अनुमान गरिएको छ । यद्यपि, रास्वपाको सुरुआती अग्रताले पुराना दलहरूलाई ठूलो दबाब सिर्जना गरेको छ ।
क्षेप्यास्त्र आक्रमणको त्रास : भूमिगत रेल स्टेशनहरू बने आश्रय स्थल
एजेन्सी । इजरायलको तेल अभिभका बासिन्दाहरू भूमिगत रेल स्टेशनहरूमा रात विताउन वाध्य भएका छन् ।
यात्रुका लागि बनाइएका विश्रामस्थलहरु अस्थायी आश्रयमा परिणत गरिरहेका छन् । किनकि साइरनहरूले क्षेप्यास्त्र आक्रमणको चेतावनी दिने गरेको छ ।
तेल अभिभको सबैभन्दा ठूलो लाइट रेल स्टेशनहरू मध्ये एक, जुन सामान्यतया यात्रुहरूले भरिने गर्दथ्यो । तर अब उक्त स्थान सुरक्षा खोज्ने नागरिकहरूको लागि अस्थायी आश्रयमा परिणत भएको छ।
क्षेप्यास्त्रको त्रासका कारण स्थानीय बासिन्दाहरूले तेल अभिभको भूमिगत स्टेशनहरू प्रयोगमा ल्याएका हुन् । क्षेप्यास्त्रहरूको चेतावनीसहितको साइरन बज्दा बारम्बार आश्रयस्थलहरूमा दौडनुको सट्टा रेल स्टेशनहरू रोजाइमा परेको हो ।
इजरायली सेनाले आफ्नो वायु रक्षा प्रणालीले इरानबाट भएको क्षेप्यास्त्र आक्रमणलाई रोक्न काम गरिरहेको घोषणा गरेसँगै बिहीबार बिहान सबेरै तेल अभिभमा साइरन र ठूलो विस्फोटको आवाज सुनिएको थियो।
फेब्रुअरी २८ देखि तेहरान र अन्य धेरै इरानी शहरहरूमा अमेरिका–इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी, उनका परिवारका केही सदस्यहरू, शीर्ष सैन्य कमाण्डरहरू र सर्वसाधारणहरू मारिएका छन्।
इरानले इजरायल र यस क्षेत्रमा रहेका अमेरिकी सम्पत्तिहरूलाई लक्षित गरी धेरै क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू मार्फत प्रतिक्रिया दिएको थियो । (सीसीटीभीप्लस)
सर्लाही–४ को पहिलो मतगणना अपडेट : रास्वपाका अमरेश कुमार सिंह अग्रस्थानमा
सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनाको पहिलो अपडेट सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंह अग्रस्थानमा देखिएका छन् ।
हालसम्म गणना भएको मत अनुसार सिंहले १,२३५ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले ७४४ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले १९४ मत प्राप्त गर्दा नेकपा तर्फका उम्मेदवार रजनीश राय यादवले १२ मत प्राप्त गरेका छन् ।
जुम्लामा राप्रपाको अग्रता, नेकपाले पछ्याउँदै
काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता लिएको छ । राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो ।
तीनसय मत गणना हुँदा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीले १०३ मत प्राप्त गरेको छ । यहाँ राप्रपाका नरेश भण्डारी उम्मेदवार छन् ।
नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत ल्याउँदा एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत प्राप्त गरेको छ ।
झापा अपडेट : क्षेत्र नं–५ मा बालेन र क्षेत्र नं–२ मा इन्दिराको अग्रता
झापा । झापामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत केही निर्वाचन क्षेत्रमा मतगणना सुरु भएसँगै सुरुवाती नतिजा सार्वजनिक हुन थालेको छ । हालसम्म झापाका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रको मतगणना सुरु भएको निर्वाचन आयोगले बताएका छन् ।
सुरुवाती परिणामअनुसार दुई क्षेत्रमा रवि लामछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन् ।
झापा क्षेत्र नं. ५ मा रास्वपाका बालेनले उल्लेखनीय अग्रता बनाएका छन् । २३०३ मत गणना हुँदा उनले १४७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४२, नेकपाका रञ्जित तामाङले ६१ र श्रम संस्कृति पार्टीका समिर तामाङले १४९ मत प्राप्त गरेका छन्।
झापा–५ मा कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेकोमा १ लाख ६ हजार ३७२ मत खसेको थियो ।
त्यस्तै, झापा क्षेत्र नं. २ मा पनि रास्वपाकी उम्मेदवार इन्दिरा राणा मगरले सुरुवाती अग्रता लिएकी छन् । २४१२ मत गणना हुँदा निवर्तमान उपसभामुखसमेत रहेकी उनले १५९९ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवराज घिमिरेले २७५ मत ल्याएका छन् ।
खामेनीको पार्थिव शरीर तेहरानको ग्रान्ड मोसल्लामा राख्ने तयारी
काठमाडौं । अमेरिका–इजरायलको संयुक्त आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीर तेहरानस्थित ग्रान्ड मोसल्ला प्रार्थना परिसरमा राख्ने तयारी भइरहेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको ग्रान्ड मोसल्ला राजधानीका सबैभन्दा ठूला राज्य तथा धार्मिक समारोह आयोजना हुने विशाल प्रार्थना स्थल हो । खामेनीको निधनपछि आयोजना गरिएको तीन दिने श्रद्धाञ्जली कार्यक्रमअन्तर्गत हजारौँ शोकाकुल नागरिक उक्त स्थलमा उपस्थित हुने अपेक्षा गरिएको छ ।
इरानमा सर्वोच्च नेताको निधनपछि “विदाइ समारोह” तथा त्यसपछि “अन्त्येष्टि जुलुस” आयोजना गर्ने प्रोटोकल रहेको बताइएको छ । यता, इरानले बिहीबार इजरायल र अमेरिकाले इस्लामिक गणतन्त्रको शासन परिवर्तन गर्ने प्रयास गरे इजरायलको डिमोना आणविक केन्द्रलाई निशाना बनाउने चेतावनी दिएको छ । यो चेतावनी इजरायलका रक्षामन्त्री इस्रायल कात्जले “नयाँ नेता नियुक्त भए पनि उसलाई समाप्त पार्ने लक्ष्य हुन सक्छ” भन्ने अभिव्यक्ति दिएपछि आएको हो ।
उता इजरायलमा भने इरानले फेरि ब्यालेस्टिक मिसाइल आक्रमण गरेको इजरायली रक्षा बलले जनाएको छ । केन्द्रीय इजरायल, जेरुसेलम क्षेत्र तथा वेस्ट बैंकका केही भागमा सायरन बजाइएको बताइएको छ ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले “अपरेसन ट्रु प्रमिस–४” अन्तर्गत १९औँ चरणको संयुक्त मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेको जनाएको छ । आईआरजीसीका अनुसार “या हसन इब्न अली” नामक कोड प्रयोग गरी कब्जामा रहेका क्षेत्र र अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ठूलो विस्फोटसहित आक्रमण सुरु गरिएको हो ।
यसअघि पनि आईआरजीसीले क्षेत्रभरि रहेका इजरायली तथा अमेरिकी लक्ष्यमा आक्रमण गरेको दाबी गरेको थियो । इरानी सरकारी टेलिभिजन प्रेस टिभीका अनुसार यो आक्रमण इजरायल र अमेरिकाको “उत्तेजनारहित आक्रमण” को जवाफस्वरूप सुरु गरिएको बताइएको छ ।
आईआरजीसीले अमेरिकी तथा इजरायली सातभन्दा बढी उन्नत रडार प्रणाली ध्वस्त पारेको दाबी गर्दै यसले उनीहरूको निगरानी सञ्जाल “अन्धो बनाएको” उल्लेख गरेको छ । साथै इरानी मिसाइलहरूले इजरायलको रक्षा मन्त्रालय परिसर, तेल अवीव तथा बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थललाई पनि निशाना बनाएको दाबी गरिएको छ ।
इरानी पक्षका अनुसार लगातार मिसाइल र ड्रोन आक्रमणका कारण इजरायलका विभिन्न क्षेत्रमा घण्टौँसम्म हवाई आक्रमणको सायरन बजेको र सर्वसाधारणलाई आश्रयस्थलमा बस्न बाध्य बनाएको छ । आगामी दिनमा आक्रमण अझ तीव्र र व्यापक हुने चेतावनी पनि इरानले दिएको छ ।
पश्चिम एसियामा जारी यो द्वन्द्व बिहीबार छैटौँ दिनमा पुगेको छ ।
अमेरिकी पक्षले आफ्नो सैन्य अभियान “भर्खर सुरु भएको” दाबी गरेकाले यो संघर्ष अपेक्षाभन्दा लामो समयसम्म चल्न सक्ने आशंका गरिएको छ । एएनआई
कस्तो छ कोशी प्रदेशमा निर्वाचनको तयारी ?
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशभर अन्तिम तयारी तीव्र पारिएको छ । निर्वाचन आयोग नेपाल अन्तर्गत कोशी प्रदेश निर्वाचन कार्यालयले आवश्यक सबै प्राविधिक, प्रशासनिक तथा सुरक्षा तयारी पूरा हुने चरणमा पुगेको जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालका अनुसार अधिकांश स्थानमा मतदान केन्द्र निर्माण सम्पन्न भइसकेको छ भने बाँकी स्थानमा पनि अन्तिम व्यवस्थापन कार्य भइरहेको छ । “दिनभरिमा सम्पूर्ण तयारी पूरा हुन्छ, भोलि बिहानदेखि नियमित समयमै मतदान प्रक्रिया सुरु हुन्छ,” उनले भने ।
मतपेटिका, मतपत्र, कर्मचारी परिचालन र मतदान केन्द्रमा आवश्यक सामग्री ढुवानीको कार्य अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ ।
सुरक्षा घेरामा निर्वाचन, ८२१ संवेदनशील
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने उद्देश्यले सुरक्षा निकायले समेत विशेष रणनीति अपनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर रहेका १ हजार ९०७ मतदानस्थलमध्ये ४३९ मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ ।
प्रदेशस्तरीय सुरक्षा समितिले तयार पारेको वर्गीकरणअनुसार ८२१ मतदान स्थल ‘संवेदनशील’ र ६४७ मतदान स्थल ‘सामान्य’ सूचीमा राखिएका छन् । विगतका निर्वाचनमा भएका घटनाक्रम, मतदाताको सङ्ख्या, राजनीतिक गतिविधि, सीमा क्षेत्रको अवस्था, भौगोलिक विकटता तथा सम्भावित जोखिमको विश्लेषणका आधारमा वर्गीकरण गरिएको प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
सुरक्षालाई नै थप सुदृढ बनाउन नेपाल सेनाले पनि सक्रिय भूमिका खेलेको छ । पूर्वी पृतना हेड क्वाटर मातहत कोशी प्रदेशका सम्पूर्ण जिल्लामा १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको सेनाले जनाएको छ ।
सम्भावित विस्फोटक पदार्थ, शङ्कास्पद वस्तु तथा गतिविधि नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको सेनाको भनाइ छ । मतदान अघिल्लो रातदेखि नै संयुक्त सुरक्षा गस्ती, चेकजाँच र निगरानी बढाइएको छ ।
३५ लाख बढी मतदाता, २४ अस्थायी मतदान केन्द्र
निर्वाचन कार्यालयको तथ्यांकअनुसार कोशी प्रदेशमा कुल ३५ लाख ७४ हजार ३१० मतदाता रहेका छन् । जसमा १७ लाख ४६ हजार ७३ महिला, १८ लाख २८ हजार २१३ पुरुष र २४ जना अन्य मतदाता रहेका छन् ।
विशेष परिस्थितिका मतदातालाई लक्षित गर्दै प्रदेशका २४ स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । कारागार, वृद्धाश्रम तथा विशेष सुरक्षा व्यवस्थाभित्र रहेका मतदातालाई मतदानको अवसर सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको हो ।
आचारसंहिता उल्लङ्घनका घटना भने जारी
निर्वाचन नजिकिँदै गर्दा केही स्थानमा आचारसंहिता उल्लङ्घनका घटनाहरू आएको स्वीकार गर्दै प्रमुख दंगालले सम्बन्धित निकायमार्फत आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताए । मौन अवधिमा प्रचारप्रसार, सामाजिक सञ्जाल गतिविधि तथा समूहगत प्रदर्शनजस्ता गतिविधिमाथि निगरानी बढाइएको उनले स्पष्ट पारे ।
निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिँदै उनले सबै मतदातालाई निर्धक्क र उत्साहपूर्वक मतदान गर्न अपिल गरे ।