विश्वकप क्रिकेटः इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हरायो
काठमाडौँ, ६ असार I आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट २०२४ अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले पराजित गरेको छ ।
वेस्टइण्डिजले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्डले १७ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । इङ्ग्लयाण्डका लागि फिल साल्टले अविजित ८७ रनको योगदान दिए । उनले ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतमा ८७ रनको योगदान गरेका हुन् ।
जोनी बेयरस्टो ४८ रन बनाउँदा कप्तान जोस बटलरले २५ र मोइन अली १३ रन बनाए । बलिङतर्फ वेस्टइन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले समान एक/एक विकेट लिए ।
त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइण्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८० रनको योगफल बनाएको थियो ।
वेस्टइण्डिजका लागि जोनसन चार्लसले ३४ बलमा चार चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ३८ रनको योगदान दिए । उनले निकोलस पुरन र रोभम्यान पावेलले समान ३६/३६ रन बनाए । त्यस्तै शार्फेन रदरफोर्डले २८ रन बनाउँदा ब्रान्डोन किङले २३ रन जोडे ।
इङ्ल्याण्डका जोफ्रा आर्चर, आदिल रशिद, मोइन अली र लियाम लिभिगस्टनले समान एक/एक विकेट लिए । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज राति नेपाली समयअनुसार ८ः१५ बजे अफगानिस्तान र भारत आमनेसामने हुनेछन् ।
विश्वकपको सुपर आठमा दक्षिण अफ्रिकाद्वारा अमेरिका पराजित
काठमाडौँ, ६ असार I आइसिसी टी–ट्वान्टी विश्वकप २०२४ को पहिलो सुपर–आठमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ । दक्षिण अफ्रिका अमेरिकालाई १८ रनले पराजित गर्दै विजयी भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार एक सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७६ रनमा समेटियो । अमेरिकाका एन्ड्रिस गौसले सर्वाधिक ८० रन बनाए । उनले ४७ बलमा ५ चौका र ५ छक्कासहित ८० रनका योगदान दिए ।
त्यस्तै हरमीत सिंहले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए । स्टिभन टेलरले २४, नितेश कुमारले ८ तथा कोरी एन्डरसनले १२ रन जोडे ।
दक्षिण अफ्रिकाका कागिसो रबाडाले तीन विकेट लिए भने केशव महाराज, एनरिच नोर्किया र तबरेज शाम्सीले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ९४ रनको योगफल बनाएको थियो । क्विन्टन डि ककले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४० बलमा ७ चौका र ५ छक्कासहित ७४ रन बनाएका हुन् ।
कप्तान एडेन माक्ररमले ३२ बलमा ४ चौका र १ छक्कासहित ४६ रन जोडेभने हेनरिक क्लासेन २२ बलमा ३ छक्कासहित ३६ रनमा बनाए । ट्रिस्टन स्टब्सले १६ बलमा २ चौकासहित २० रन बनाए । अमेरिकाका हरमीत सिंह र सौरभ नेत्रवालकरले समान दुई दुई विकेट लिए ।
गण्डकी प्रदेशस्तरीय क्रिकेट : नवलपुरको दोस्रो जित
कास्की, ४ असार I पोखरा रङ्गशालामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नवलपुर विजयी भएको छ । नवलपुरले गोरखालाई एक सय २५ रनले पराजित गरेको हो ।
नवलपुरले लगातार दुवै खेल जित्दै कुल चार अङ्कका साथ समूहमा पहिलो स्थान बनाएको छ । नवलपुरले सोमबार पर्वतमाथि जित हासिल गरेको थियो । स्याङजा एक जित र एक खेलमा बराबरी गरी तीन अङ्कका साथ दोस्रो स्थानमा छ । अङ्क तालिकामा पर्वतले एक अङ्क जोडेको छ भने गोरखा अङ्कविहीन छ । आजको पहिलो खेल भारी वर्षाका कारण रद्द भएसँगै बलियो मानिएको स्याङजाले पर्वतसँग अङ्क बाड्न बाध्य भयो ।
नवलपुरले गोरखासँगको खेलमा टस जितेर ब्याटिङ सुरुवात गरेकामा निर्धारित ओभरमा छ विकेट गुमाउँदै एक सय ७८ रन बनायो । जसमा ओपनर प्रमिश अर्यालले ६० बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए । सुदीप अर्यालले १५ बलमा तीन छक्का प्रहार गर्दै २७ रनको व्यक्तिगत योगदान दिए । यसै गरी रिजन काफ्लेले १४ बलमा २१ रन, दीपक डुम्रेले १० र कमल परियारले १२ रन बनाए ।
गोरखाका बलर मेहुल श्रेष्ठले चार ओभरमा ५३ रन दिएर तीन विकेट लिए । प्रशिद्ध बज्रचार्यले दुई विकेट हात पार्दा सुनिल गुरुङले एक विकेट लिए । जितका लागि एक सय ७९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको गोरखाले भने १५ ओभरको तेस्रो बलमा सबै विकेट गुमाउँदै ५३ रन मात्र जोड्न सक्यो । गोरखाका लागि मेहुल श्रेष्ठले सर्वाधिक १२ रनको योगदान दिए भने गौरव पौडेलले ११ र पङ्कज पाण्डेले १० रन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन लिन सकेनन् ।
गोरखालाई सस्तैमा समेट्न पवन सापकोटा र कमल परियारले तीन÷तीन विकेट लिए । स्वीकार श्रेष्ठले दुई र सुदीप अर्यालले एक विकेट हात पारे । खेलमा प्रमिश अर्याल ‘खेलको प्लेयर अफ दि म्याच’ घोषित भए ।
प्रतियोगिताअन्तर्गत बुधबारको खेलले फाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने छ । समूह ‘बी’ को पहिलो खेलमा नवलपुर र स्याङ्जाले फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछन् भने पर्वत र गोरखा प्रतिष्ठाको लागि भिड्नेछन् । घरेलु टोली कास्की समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगिसकेको छ ।
प्रदेश खेलकुुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा यही जेठ ३२ गतेदेखी प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताबाट आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टोली छनोट गरिने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार रु एक लाख र उपविजेता टिमलाई नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको छ ।
काठमाडौँमा ‘शिक्षा मेला–२०८१’ हुने
काठमाडौँ, ४ असार I काठमाडौँको उत्तरी भेगमा सञ्चालित विद्यालयको शैक्षिक विकासका लागि ‘शिक्षा मेला–२०८१’ हुने भएको छ ।
उच्च माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन (एनप्याब्सन) को आयोजना तथा स्काइ भिजन फाउण्डेसनको संयोजनमा यही असार ७ गते शुक्रबार मेला आयोजना हुन लागेको हो ।
स्काइ भिजन फाउण्डेशनले आज यहाँ पत्रकार सम्मेलन गरी माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको जनाएको छ । पत्रकार सम्मेलनमा फाउण्डेशनका सञ्चालक सुनिल भट्टराईले उत्तरी क्षेत्रमा सञ्चालित विद्यार्थीको शैक्षिक उन्नयनका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
मेलामा काठमाडौँका दुई दर्जनभन्दा बढी उच्च शिक्षा अध्यापन गराइरहेका कलेजको सहभागिता रहने टोखा नगरपालिका हिसानका अध्यक्ष राजन अधिकारीले जानकारी दिनुभयो । लर्ड प्यालेस ग्रीनल्याण्डमा बिहान ११ बजेदेखि सुरु हुने मेलाको चार हजारभन्दा बढी विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले जनाएको छ ।
मेलामा गायिक रचना रिमाल, श्रीधर अधिकारी र हाँस्य कलाकार शेरबहादुर गुरुङलगायतको प्रस्तुतिसमेत रहने फाउण्डेनका सञ्चालक भट्टराईले बताउनुभयो ।
लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
- सुवास दर्नाल
सोलुखुम्बु, ४ असार I मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् ।
अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो । यतिखेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन । त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ, हुस्सुले वरको वस्तु परबाट देखिन्न, झन् जहाज उडान हुने त कुरै छैन ।”
लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको एयर ट्राफिक कन्ट्रोलर दाहालले जानकारी दिनुभयो । सुर्के केही होचो स्थान भएकाले त्यहाँबाट हेलिकप्टरले पर्यटक काठमाडौँ लैजाने गरेको उहाँले बताउनुभयो । भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
मौसम सामान्य प्रतिकूल हुनेबित्तिकै लुक्लामा उडान ठप्प हुने भएकाले पर्यटक मर्कामा पर्ने गरेको तारा एयरका लुक्ला स्टेशन प्रमुख अमृत मगरले बताउनुभयो । यतिखेर खुम्बुमा पर्यटक यामको सकिन लागेकाले लुक्ला भित्रिनेको तुलनामा बाहिरिने बढी छन् । यद्यपि मौसमका कारण सबै उडान तालिका रद्द गर्नुपरेको उहाँ बताउनुहुन्छ । “विदेशीहरू यतिबेला आउनेभन्दा फर्किने बढी छन् आउने फाट्टफुट्ट छन् तर आएकाहरू फर्कने अलि बढी छन्”, उहाँले भन्नुभयो ।
लुक्लाभन्दा तल करिब चार घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्ने गर्छ । यसका कारण कतिपय पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थामडाँडा झरेर त्यहाँबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाडौँ फर्कने गरेका छन् । थामडाँडाबाट सल्लेरीको दूरी करिब ७० किलोमिटर छ । उक्त सडक कच्ची भएकाले बोलेरो गाडीमात्रै सञ्चालन हुने गरेको छ ।
थामडाँडाबाट सल्लेरीको गाडी भाडा प्रतिव्यक्ति रु दुई हजार दुई सय लिने गरेको यातयात व्यवसायी रामबहादुर विश्वकर्माले बताउनुभयो । थामडाँडाबाट आएको दिन सल्लेरी बास बस्ने पर्यटक भोलिपल्ट विमान, जिप तथा बसमार्फत काठमाडाँै फर्कने गरेका छन् । सल्लेरीबाट दुई सय ७५ किलोमिटरको दूरीमा पर्ने काठमाडौँको जिपभाडा प्रतिव्यक्ति रु दुई हजार लिने गरेका छन् ।
छैन मौसममा सुधारको सङ्केत
मौसम तत्काल खुल्ने सम्भावना नरहेकाले हवाई उडान अझै केही दिन अवरुद्ध हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पूर्वको कोशीमा भित्रिएको मनसुन निरन्तर सक्रिय भइरहेकाले कोशीसहितका क्षेत्रमा झरीको सम्भावना उच्च रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मौसम अहिले तत्काल सुधार हुने सम्भावना छैन, त्यसैले हवाई उडान अझ केही दिन प्रभावित हुनसक्छ, मनसुन सक्रिय भइरहेकाले अझै धेरै वर्षात् हुनसक्छ ।”
सगरमाथा क्षेत्रमा पर्ने एकमात्र विमानस्थल भएकाले तेन्जिङ हिलारी विमानस्थललाई महत्वका साथ हेर्ने गरिन्छ । विश्वको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित सगरमाथा क्षेत्र भ्रमण गर्न आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले यही विमानस्थल प्रयोग गर्ने गर्छन् ।
यहाँ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रामेछापको मन्थली विमानस्थलबाट उडान हुने गर्दछ । यो विमानस्थल भएर बर्सेनि ६० हजारभन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक सगरमाथा क्षेत्र भ्रमणका लागि पुग्ने गरेको नेपाल नागरिक उड्डयन प्राधिरणको तथ्याङ्क छ । लुक्लासम्म सडक सञ्जाल नपुगेकाले यस विमानस्थलको महत्व बढिरहेको लुक्लाका तोयाकुमार श्रेष्ठले बताउनुभयो ।
काठमाडौँबाट जहाजमार्फत लुक्ला .ओर्लिने पर्यटक यहाँबाट पदमार्ग हुँदै उकालो लाग्ने गर्छन् । यसभन्दा माथि सञ्चालनमा रहेका अन्य विमानस्थल नभएकाले खुम्बु भ्रमणका लागि हवाईमार्ग रोज्ने हरेक पर्यटकले यही विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा सरएडमण्ड हिलारीको सहयोगमा सन् १९६० मा निर्माण गरिएको यस विमानस्थल विसं २०६४ पुसमा तेन्जिङनोर्गे शेर्पा र सरएडमण्ड हिल्लारीको सम्मानमा उनीहरूकै नामबाट नामकरण गरिएको थियो । लुक्ला बजारको तलपट्टि पहाडको काखमा अवस्थित यस विमानस्थल समुद्री तहबाट दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ । यस विमानस्थलको धावनमार्गको लम्बाइ चार सय ६० मिटर अर्थात् एक हजार पाँच सय फिट रहेको जनाइएको छ ।
‘हिस्ट्री च्यानलको मस्ट एक्स्ट्रिम एयरपोर्ट र्याङ्किङ’मा लुक्ला विमानस्थल विश्वकै डरलाग्दो विमानस्थलको सूचीमा समावेश गरेको छ । जसलाई अन्तर्राष्ट्रिय वेबसाइड ‘प्राइभेटफ्लाइ डटकम’ले सूचीकृत गर्दै विश्वभरका रोमाञ्चक अनुभुति दिने विमानस्थलको आठौँ स्थानमा सूचीकृत गरेको छ । यस विमानस्थलमा उडान तथा अवतरणका लागि मौसम नै प्रमुख चुनौती हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उमेशकुमार पन्थी बताउनुहुन्छ ।
भिरको काखमा रहेको र छिनछिनमा यहाँको मौसममा फेरबदल भइरहने भएकाले उडान र अवतराणमा चुनौती थपिने गरेको उहाँ बताउनुहुन्छ । यद्यपि, पर्यटकीय विमानस्थल भएकाले यामका बेला एकैदिन एक सयभन्दा बढी हवाई उडान हुने गरेको प्राधिकरणको तथ्याङ्क छ । सगरमाथा क्षेत्र पुग्ने पर्यटक यही विमानस्थलमा ओर्लिएर उकालो लाग्ने भएकाले यसको महत्व र व्यस्तता बढेको स्थानीय जानकार बताउँछन् I -रासस
श्रीलङ्कासँग नेदरल्यान्ड्स पराजित
आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘डी’ को अन्तिम खेलमा श्रीलङ्का नेरदल्यान्ड्सलाई पराजित गर्दै विजयी भएको छ । सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा श्रीङ्लका ८३ रनले विजयी भएको हो । जितसँगै समूह ‘डी’ को श्रीलङ्काले चार खेलमा तीन अङ्क जोड्यो । पराजित नेदरल्यान्ड्सको भने समान खेलबाट दुई अङ्क नै छ । यस समूहबाट दक्षिण अफ्रिका र बङ्गलादेश विश्वकपको सुपर आठमा पुगिसकेका छन् ।
श्रीलङ्काले प्रस्तुत गरेको दुई सय दुई रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय १८ रनमा समेटियो । उसका लागि माइकल लेभिट र कप्तान स्कट एड्वार्डसले समान ३१-३१ रन जोडे । त्यस्तै म्याक्स ओडोउड र साइब्रान्ड एन्जलब्रेख्तले समान ११-११ रन बनाए । आर्यन दत्तले १० रन जोडे ।
श्रीलङ्काका लागि नुवान तुसाराले तीन विकेट लिए भने कप्तान वानिन्दु हसरंगा र मथिशा पथिरानाले समान दुई–दुई विकेट लिए । त्यस्तै महेश तिक्क्षणा र डुसान सनाकाले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीङ्लकाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय एक रनको योफफल बनाएको थियो । श्रीलङ्काका लागि कुशल मेन्डिस र चरिथ अस्लंकाले समान ४६-४६ रनको योगदान दिए ।
त्यसैगरी धनन्नजय डी सिल्भाले ३४ रन बनाए भने एन्जेलो म्याथ्युजले अविजित ३०, वानिन्दु हसरंगाले अविजित २० तथा कामिन्दु मेन्डिसले १७ रन बनाए । नेदरल्यान्ड्सका लागि लोगन भान विकले दुई विकेट लिए भने भिभियन किंगमा, आर्यन दत्त, पउल भान मिक्रेन र टिम प्रिन्गेलले समान एक–एक विकेट लिए ।
राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह
काठमाडौँ, ३ असार I जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ । सो समारोहमा उहाँले एकचोटीको नेपाली सधैँको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नविर्सन आग्रह गर्नुभयो । “जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पु¥याउन म सबै नेपालीलाई हार्दिक आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले आफूले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गर्नुभयो । उहाँले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नु आजको विश्वको साझा चुनौती रहेको बताउँदै खासगरी यसका कारक नरहेका विकासशील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा यहाँस्थित नेपालीहरूले स्वागत गर्नुभएको थियो । सो अवसरमा राजदूत खड्काले जर्मन नेपालबीच लामो समयदेखिको सम्बन्ध, विकास र सहयोगका बहुआयामिक पक्षबारे जानकारी गराउनुभएको थियो । साथै, जर्मनमा रहेका नेपालीको अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेको सहकार्य र समन्वयबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
सो अवसरमा जर्मनमा रहेको गैरआवासीय नेपाली सङ्घका तर्फका राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो । राष्ट्रपति पौडेलले यसअघि आइतबार दिउँसो जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाको अवलोकन गर्नुभएको थियो ।
राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुग्नुभएको हो । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीको राजधानी बर्लिन आइपुग्नुभएको हो । राष्ट्रपति पौडेल र उहाँका समकक्षी सङघीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा फरयाङक वाल्टर स्टाइनमेयरबीच आज औपचारिक भेटवार्ता हुनेछ ।
विश्वकप क्रिकेट : बङ्गलादेशले नेपालाई दियो एक सय सात रनको चुनौती
काठमाडौँ, ३ असार I आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले बङ्गलादेशलाई एक सय ६ रनमा अलआउट गरेको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै एक सय ६ रनमा समेटियो ।
यससँगै नेपालले नयाँ इतिहास रच्नको लागि एक सय सात रनको लक्ष्य पाएको छ । नेपालले हालसम्म टेस्ट टोलीलाई अहिलेसम्म हराउन सकेको छैन । खेलमा बङ्गलादेशका लागि सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे । महमुदूल्लाह रियादले १३ बलमा दुई चौकाको सहायताले समान १३ रन नै जोडे ।
यसैगरी तक्किन अहमद र जाकेर अलीले समान १२ /१२ रन जोडे भने लिटन दासले १० रन बनाए । तोव्हीद ह्रिदोयले ९, कप्तान नाज्मुल हसन सान्टाले चार तथा तान्जिम हसन सकिब र मुस्तब फिजुर रहमानले समान ३/३ रन बनाए । बङ्गलादेशलाई सस्तैमा समेट्नेक्रममा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई दुई विकेट लिए । नेपालल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
बकर इद मनाइँदै : सरकारद्वारा सार्वजनिक बिदा
काठमाडौँ, ३ असार I मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गर्नुभएको थियो ।
“जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, उहाँले भन्नुभयो ।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् ।
धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसै कारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।
निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ ।
उनले धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुसी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ ।
मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
आलेख : सास्तीमा छन् निसेलढोरवासी
डम्मर बुढामगर
ढोरपाटन (बागलुङ), २ असार I काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बीचबीचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा पुग्ने जो कोहीलाई टाढैबाट आकर्षित गर्ने गन्तव्य हो ।
बागलुङको निसेलढोर जति प्राकृतिक सुन्दरताले भरिएको छ, त्यति नै यहाँ बस्ने नागरिकको समस्या र सास्तीको दुर्दान्त कथा छ । सामान्यतः निसेलढोरवासीको समस्या कति छन् भन्ने यहाँ पुग्ने धेरैले सहजै अड्कल गर्न सक्दैनन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सुदूरपश्चिममा रहेको निसेलढोर नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्छ । विकासका हिसाबले निकै पिछडिएको यो ठाउँ पर्यटकीय सम्भावनाको हिसाबले भने अगाडि छ ।
अनेक समस्याका बाबजुद पनि निसेलढोरवासी वर्षौंदेखि यहाँ बस्दै आएका छन् । एक दशक अगाडिसम्म बर्खाको समयमा मात्रै ढोर बस्ने स्थानीय अहिले स्थायी रुपमा बस्दै आएका छन् । निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरमा अधिकांश बासिन्दा निसी गाउँबाटै गएर बसेका छन्् । निसेलढोर लेकमा र निसी गाउँ बेँसीमा पर्छ । दशक अघिसम्म हिउँद बर्खा घुम्ती बसाइँ गर्ने स्थानीय मोटरबाटोले निसेलढोर जोडिएपछि अहिले करिब ६० घर परिवार स्थायी रुपमै यहीँ बस्छन् । बर्खाको समयमा निसी गाउँबाट पशुचौपाया लिएर ढोर उक्लिने हुँदा असारदेखि कात्तिकसम्म केही परिवार मात्रै यहाँ रहन्छन् । एकै परिवारले सयौँ वस्तुभाउ पाल्ने हुँदा लेकबेँसी गर्ने गर्छन् ।
परम्परागत खेतीपाती र पशुपालन गर्दै आएका स्थानीय भौतिक पूर्वाधारको विकास र अवसरको पर्खाइमा छन् । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि उत्तरगङ्गा ढोरपाटन हुँदै निसेलढोर सडकले जोडिए पनि हालसम्म निसीखोलाबाट सिधै सडक सञ्जालले भने जोडिन सकेको छैन । निसीखोला र निसेलढोरको बीचमा ठूला–ठूला पहाड रहेको हुँदा सिधा सडक सञ्जालले जोड्न कठिन भएको स्थानीय बताउँछन् ।
विद्युत्को पहुँच अझै पुग्न नसकेको यस गाउँका बासिन्दा दाउरा, दियालो र टुकी बालेर रात कटाउनुपर्ने बाध्यतामा छन् । त्यति मात्रै होइन, स्वास्थ्य, शिक्षा, खानेपानीलगायत आधारभूत विकासको पहुँचसमेत पुग्न नसकेको स्थानीय सम्झना विश्वकर्माले बताउनुभयो । जङ्गलबाट घाँसदाउरा ल्याउन, वस्तुभाउ चराउन र खोलामा माछासमेत मार्न सिकार आरक्षले नदिँदा दैनिकी झनै कष्टकर बनिरहेको उहाँको भनाइ छ ।
वर्षौंदेखि निसेलढोरमै स्थायी रुपमा बस्दै आएको सुनाउने विश्वकर्माले गाउँ सडकले जोडिए पनि नियमित गाडी सञ्चालन नहुँदा सास्ती बेहोर्नु परेको बताउनुभयो । दशक अगाडि खुलेको सडकमा गाडी नचल्दा सामान ढुवानी र यात्रा गर्न निकै कठिन हुने गरेको छ । सडक खुले पनि स्थानीयले अहिलेसम्म ढोरपाटनको भुजी र नबीबाट दैनिक उपभोग्य सामान बोकेरै ल्याउनु परेको छ । हिउँद्मा कहिलेकाहीँ गाडी चले पनि बर्खामा पूर्ण रुपमा ठप्प हुने उहाँको भनाइ छ । विश्वकर्माले भन्नुभयो, “निसेलढोरमा घर जग्गा मात्रै भएर के गर्ने, घाँस दाउराको लागि जङ्गल जानुपर्छ तर जङ्गलमा गएर घाँस दाउरा गर्दा सिकार आरक्षले ल्याउन दिँदैन, निउरो, च्याउ, अरू जङ्गली तरकारीहरु पनि ल्याउन दिँदैन, यहाँ फल्न आलु, सिमी, स्याउ हो, त्यसले मात्रै वर्ष दिन पुग्दैन ।”
स्थानीय बलहादुर घर्ती मगरले देशमा शासन व्यवस्थाका हिसाबले ठूलो परिवर्तन भए पनि यहाँका स्थानीयले अहिलेसम्म विकासको अनुभूति गर्न नपाएको सुनाउनुभयो । अहिले गाउँमा सबैभन्दा बढी आवश्यक विद्युत्को भएको उहाँको भनाइ छ । यो ठाउँ पर्यटकका लागि निकै आकर्षक रहेको र बेला–बेला आन्तरिक पर्यटक पुग्ने तर बिजुलीको सुविधा नहुँदा बास नबसी फकर्ने गरेका छन् । घर्ती मगरले भन्नुभयो, “तल बेँसी (निसी गाउँ)बाट मोबाइल चार्ज गरेर ल्यायो भने दुई दिनसम्म चल्छ, त्यसपछि बन्द हुन्छ, आफन्तसँग कुराकानी पनि गर्न पाइँदैन, रातिमा दियालो बाल्छौँ, त्यही पनि वनबाट ल्याउन दिँदैनन् ।”
निसेलढोरवासीले सामान्य विकासको महसुस समेत गर्न पाएका छैनन् । यहाँ कक्षा ५ सम्मको पढाइ हुन्छ तर विद्यालयको अवस्था भने निकै नाजुक छ । गाउँको विद्यालयमा कक्षा पाँचभन्दा माथिको पढाइ नहुँदा धेरै बालबालिकाले त्यसभन्दा माथिल्लो तहको अध्ययन गर्न वञ्चित भएको स्थानीय कुँडेढोर प्राथमिक विद्यालयका शिक्षक रुद्रबहादुर विकले बताउनुभयो । प्राथमिक तहभन्दा माथिको अध्ययनका लागि धेरै टाढा जानु पर्ने हुँदा धेरै बालबालिकाले विद्यालय छोड्ने र सानै उमेरमा विवाह गर्ने गरेको उहाँको भनाइ छ । गाउँमा पाँच उत्तीर्णपछि त्यसभन्दा माथिल्लो तहको अध्ययनका लागि ढोरपाटन नगरपालिकाको बोबाङ, निसीखोलाको ज्ञानेन्द्र मावि र बुर्तिबाङ जानु पर्ने बाध्यता छ । ती विद्यालयमा पुग्न एक दिनभन्दा बढी समय लाग्छ ।
निसेलढोर आलु, स्याउ र सिमी उत्पादनका लागि प्रख्यात भए पनि बजारीकरणमा भने समस्या छ । यहाँको नजिकको मुख्य बजार बुर्तिबाङ हो । किसानले उत्पादन गरेको वस्तु बोकेर बजार पु¥याउन एक दिनभन्दा बढी लाग्छ । निसेलढोरवासीको मुख्य आम्दानीको स्रोत पशुपालन र कृषि नै हो । सडकको सहज पहुँच नहुँदा जीवन निर्वाहमा समस्या हुने स्थानीय प्रेमकुमारी घर्ती मगर बताउनुहुन्छ । यहाँका अधिकांश स्थानीयले आलु बेचेरै जीवन धान्दै आएको उहाँको भनाइ छ । एकै परिवारले एक सय मुरीसम्म आलु उत्पादन गरे पनि बजार पु¥याउन नसकिएको घर्तीले गुनासो गर्नुभयो ।
“गाउँका धेरै मान्छेले बारीमै काम गर्छन्, यहाँ त्यो बाहेक अरु केही रोजगार छैन, पहिले–पहिले धेरै मान्छेहरु निसीमा बस्थे, यहाँ थोरै मात्रै हुन्थे, सडक गाउँमा आयो भनेर धेरै यतै बस्न थाले तर अहिले सडक आएको खासै उपलब्धि भएन” घर्तीले भन्नुभयो– “यो त पर्यटकीय ठाउँ पनि हो, बेला–बेला स्वदेशी र विदेशी पर्यटक आउँछन्, तर बाटोको खराब अवस्था देखेर अर्को पटक आउँदैनन् ।”
निसेलढोरमा अझ बढी समस्या त स्वास्थ्यमा छ । नागरिकको स्वास्थ्य उपचारका लागि भन्दै निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर एक जना अनमी राखेको छ । एक जना अनमीले गाउँका बिरामीलाई सामान्य औषधि दिए पनि उपचारका लागि बुर्तीबाङ बजारमै झर्नु पर्ने अवस्था छ । निसेलढोरबाट बुर्तिबाङ बजार आउनका लागि हिँडेर करिब आठ घण्टा लाग्छ भने गाडीमा चार घण्टा लाग्छ ।
गाउँमा गतिलो अस्पताल नहुँदा कतिले अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गुमाउनु परेको स्थानीय खिमकुमारी विकले बताउनुहुन्छ । गाउँको सामुदायिक स्वास्थ्य इकाइ व्यवस्थित नभएको उहाँको भनाइ छ । खिमकुमारीले भन्नुभयो– “पोहोरसम्म गाउँमा कुनै पनि उपचार गर्ने ठाउँ थिएन, अहिले गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई सुरु गरेको छ, सामान्य घाउ चोटपटक लाग्यो भने सामान्य औषधि र उपचार हुन्छ ।” अलि ठूलो बिरामी भए बुर्तिबाङ, पोखरा काठमाडौँ जानु पर्ने अवस्था छ ।
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले निसेलढोर भौगोलिक हिसाबले विकट हुँदा विकासमा पछाडि परेको बताउनुभयो । गाउँपालिकाको स्रोत साधनले भ्याएसम्म विकास गर्ने प्रयास गरेको उहाँको भनाइ छ । ठूलो बजेट लाग्ने हुँदा अहिलेसम्म निसीखोलादेखि सिधा सडक सञ्जालले जोड्न नसकेको अध्यक्ष घर्ती मगरको भनाइ छ । यस ठाउँको विकासका लागि प्रदेश र केन्द्र सरकारसँग पनि सहकार्य गर्ने उहाँले बताउनुभयो ।
पालिकाको बजेट सीमित हुने हुँदा चाहेर पनि निसेलढोरको विकास गर्न नसकिएको उहाँ स्वीकार गर्नुहुन्छ । “पहिलेदेखि नै यो ठाउँमा राज्यको नजर पर्न सकेन, पर्यटकीय हिसाबले धेरै सम्भावना बोकेको छ,” अध्यक्ष घर्ती मगरले भन्नुभयो– “शिकार आरक्ष पनि यही क्षेत्रमा पर्ने हुँदा बेलाबेला बाह्य पर्यटकको आगमन हुन्छ, उनीहरुलाई थप आकर्षित गर्नका लागि धेरै काम गर्नु पर्ने हुन्छ, यसको विकासको लागि केन्द्र सरकारको प्राथमिकतामा पर्नुपर्छ, तीनै तहको सरकारबाट लगानी गर्न सकियो भने भविष्यमा यो क्षेत्र देशकै नमूना बन्नेछ ।” - रासस