टी–१० क्रिकेटमा निङ्लाशैनी ग्वाल्लेक विजयी
बैतडी, ३१ जेठ I बैतडीमा आजदेखि टी–१० भेट्रान डिसिएल खुला क्रिकेट प्रतियोगिता सुरू भएको छ । आज भएको पहिलो खेलमा आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी विजयी भएको छ । उसले निङ्लाशैनी वारियरलाई आठ विकेटले पराजित गरेको हो ।
निङ्लाशैनीले दिएको एक सय ४१ रनको लक्ष्य एकेडेमीले १९ दशमलव तीन ओभरमा दुई विकेटको क्षतिमा पूरा ग¥यो । निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका लागि प्रतिक बोहराले अर्धसतकीय पारी खेले । ‘म्यान अफ दी म्याच’ घोषित भएका उनले अविजित ५१ रन बनाए । यस्तै सुशील बोहराले अविजित ३५ तथा दीपक बोहराले ३१ रन बनाए । बलिङतर्फ निङ्लाशैनीका मङ्गेश दयालले एक विकेट लिए ।
यसअघि निङ्लाशैनी खेल मैदान, देहिमाडौँमा पहिला ब्याटिङ गरेको निङ्लाशैनी वारियरले निर्धारित १० ओभरको खेलमा आठ विकेट गुमाएर एक सय ४० रन बनाएका थियो । उसका लागि ऋषिकेश बोहराले अद्र्धशतकीय पारी खेल्दै ५८ रन बनाए । बलिङतर्फ निङ्लाशैनी ग्वाल्लेकका यज्ञराज भट्ट र डम्बर पुजाराले दुई दुई विकेट लिए ।
निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीले उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ११ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी खेल सञ्चालन भइरहेका आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।
अमेरिकालाई हराउँदै भारत विश्वकपको सुपर आठमा
काठमाडौँ, ३१ जेठ I आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा अमेरिकालाई पाखा लगाउँदै भारत विजयी भएको छ ।
अमेरिकाको न्यूयोर्कमा गए राति सम्पन्न खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत विश्वकपको सुपर आठमा पुगेको हो । लगातार तेस्रो जित हात पारेको भारत छ अङ्क जोड्दै समूह ‘ए’ बाट सुपर ८ मा प्रवेश गर्ने पहिलो टोली बन्यो । सोही समूहमा रहेको अमेरिका तीन खेलबाट चार अङ्कसहित दोस्रो स्थानमा छ । पाकिस्तान र क्यानाडाको समान दुई अङ्क छ । आयरल्यान्डले अङ्क खाता खोल्न सकेको छैन ।
खेलमा अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतले १८ दशमलव ३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतका लागि सूर्यकुमार यादवले ४९ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । त्यस्तै ऋषभ दुबेले ३१ रन बनाए भने ऋषभ पन्तले १८ रनको योगदान दिए ।
अमेरिकाका सौरभ नेत्रवालकरले दुई विकेट लिए भने अली खानले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाका ओपनर सायन जहान्गिरलाई अर्शदीप सिंहले पहिलो बलमै आउट गर्दै दबाब दिएका थिए । त्यसपछि नितिश कुमारले २३ बलमा सर्वाधिक २७ रनको योगदान गरे भने अर्का ओपनर स्टेभन टेलरले ३० बलमा २४ रन बनाए ।
भारतका अर्शदीप एक्लैले चार विकेट लिए भने हार्दिक पाण्डेयाले दुई तथा एक्सर पटेलले एक विकेट लिए ।
आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा अष्ट्रेलिया प्रवेश
काठमाडौँ, ३० जेठ I अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो । समूह ‘बी’ मा रहेको अष्ट्रेलियाले लगातर तेस्रो जित निकाल्दै विश्वकपको सुपर आठमा पुगेको हो । अष्ट्रेलियाले यसअघि ओमानलाई ३९ र इंग्ल्याण्डलाई ३६ रनले हराएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नामिबियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले पाँच दशमलव चार ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका लागि ट्रविस हेडले सर्वाधिक ३४ रनको योगदान दिए । उनले १७ बलमा पाँच चौका र दुई छक्कासहित ३४ रनमा अविजित रहेका हुन् । त्यस्तै डेविड वार्नरले २० जोड्दा कप्तान मिचेल मार्सले १८ रन बनाए । नामिबियाका डेविड विजाले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको नामिबिया १७ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटिएको थियो । नामिबियाका लागि कप्तान जेराल्ड इरास्मसले ४३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै माइकल भान लिंगेनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
समूह ‘बी’मा अष्ट्रेलिया तीन खेलमा छ अङ्कका साथ शीर्षस्थानमा छ । त्यसैगरी सोही समूहमा रहेको स्कटल्याण्ड तीन खेलमा दुईमा जित र एक खेलमा अङ्क बाँड्दै पाँच अङ्कका साथ दोस्रो स्थानमा छ । नामिबिया तीन खेलमा एक जित र दुई खेलमा हारसहित दुई अङ्कका साथ तेस्रो स्थानमा छ । इंग्ल्याण्ड दुई खेलमा एक अङ्कका साथ चौथो स्थानमा छ । ओमान तीन खेलमा जितविहीन हुँदै विश्वकपबाट बाहिरिसकेको छ । विश्वकपमा सहभागी प्रत्येक समूहका शीर्ष दुई स्थानमा पुग्ने टोली सुपर आठमा पुग्ने प्रावधान रहेको छ ।
सामाजिक विकृतिविरुद्ध कलाकार क्रियाशील हुनुपर्ने
काठमाडौँ, ३० जेठ I आदर्श समाज निर्माणका लागि कलाकार सामाजिक विकृतिविरुद्ध क्रियाशील हुनुपर्नेमा सिनेक्षेत्रका व्यक्तिहरूले जोड दिएका छन् ।
नेपाल चलचित्र कलाकार सङ्घद्वारा मङ्गलबार यहाँ आयोजित छलफलमा वक्ताहरूले सामाजिक रुपान्तरणमा कला र कलाकार सशक्त माध्यम भएकाले धूमपान, मद्यपानका साथै बहुविवाहलगायत सामाजिक विकृतिविरुद्ध उनीहरू खुलेर लाग्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले सभ्य समाज निर्माणका लागि चेतना फैलाउने कलाकारहरू जातीय, धार्मिक वा अन्य असामाजिक कार्यलाई निरुत्साहित गर्न क्रियाशील हुनुपर्ने बताउनुभयो ।
चलचित्र समालोचक कृष्ण भट्टराईले कलाकारले पेसागत मर्यादा, व्यक्तिगत आचरण तथा सामाजिक दायित्वलाई निर्वाह गर्ने कुरामा चनाखो भई समाजमा पार्ने प्रभावको आकलन गर्नुपर्ने सुझाव दिनुभयो ।
चलचित्र निर्देशक राजेन्द्र शलभले नेपालमा चलचित्रको विकास तथा प्रभावबारे जानकारी दिँदै राज्यको शान्ति सुरक्षामा आँच आउने फिल्ममा अभिनय नगर्न सुझाव दिनुभयो ।
कलाकार दिनेश डिसीले सामाजिक विकृतिविरुद्ध कलाक्षेत्रका सबै व्यक्ति लाग्नुपर्ने दोहो¥याउँदै समाज रूपान्तरणका निम्ति योगदान गर्नु हरेक कलाकारको दायित्व हो भन्नुभयो ।
चलचित्र कलाकारितालाई मर्यादित बनाउन उद्देश्यले सङ्घले चार बुँदे आचारसंहिता पनि जारी गरेको छ ।
नेपाल र यमनबीचको खेल बराबरीमा टुङ्गियो
काठमाडौँ, ३० जेठ I फिफा विश्वकप २०२६अन्तर्गत एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र यमनले समान गोल गरेका छन् ।
साउदी अरबको दमामस्थित प्रिन्स मोहमद बिन फहद मैदानमा आज बिहान सखारै समाप्त भएको खेलमा नेपाल र यमनबीचको खेल दुई–दुई गोलको बराबरीमा टुङ्गिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेपालका लागि फरवार्डरद्वय सञ्जीव विष्ट र जिलेस्पीजङ्ग कार्कीले समान एक–एक गोल गरे । खेलको नवौँ मिनेटमा पेनाल्टीमार्फत नेपालले गोल खान पुगेको थियो । बक्सभित्र मनिष डाँगीले यमनका खेलाडी रमी अल–वासमानीमाथि खेल नियम उल्लङ्घन गरेपछि यमनले पेनाल्टी पाएको थियो । पेनाल्टी सदुपयोग गर्दै नसीम अल–गाहवाहीले गोल गरेका थिए ।
खेलको २२औँ मिनेटमा सञ्जीवले गोल फर्काका थिए । खेलको ६६औँ मिनेटमा नेपालले अग्रता लियो । नेपालका छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडरमा जिलेस्पीले गोल गरे । नेपालको दुई–एक गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको दोस्रो हाफको अतिरिक्त समयमा यमनका मोहम्मद अल–दाहीको गोल गरेपछि अन्ततः खेल दुई–दुई गोलको बराबरीमा सकियो ।
उक्त छनोट प्रतियोगितामा नेपालले एक अङ्क जोडेको हो । नेपालले यसअघि कुनै पनि गोल गर्न सकेको थिएन । यो खेलसँगै नेपालले समूह चरणका छ खेलमा एक अङ्क जोड्दै विश्वकप छनोटको दोस्रो चरणको यात्राको अन्त्य गरेको छ ।
यसअघि नेपाल युएईसँग पहिलो खेलमा चार–शून्य र यमनसँग दुई–शून्यले पराजित भएको थियो । बहराइनसँगको पहिलो खेलमा पाँच–शून्य र दोस्रो खेलान तीन–शून्यले नेपाल पराजित भएको थियो ।
नेपाल रहेको समूह ‘एच’ मा संयुक्त अरब इमिरेट्स (युएई) १६ अङ्कसहित शीर्षस्थानमा छ भने बहराइन ११ अङ्कसहित दोस्रोमा छ । यी दुई टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । पाँच अङ्कसहित तेस्रो भएको यमन र नेपालले एसियन कप छनोटको तेस्रो चरणमा पनि स्पर्धा गर्नेछन् ।
शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला
काठमाडौँ, ३० जेठ I अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवद्र्धन गर्न पर्सी शुक्रबार देखि यहाँ १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ ।
‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा हुन लागेको मेलामा १६ देशका एक सय ५० भन्दा बढी व्यवसायीका ‘स्टल’ रहने उक्त संस्थाका सञ्चालक विष्णु पाण्डेले बताउनुभयो । “ मेलाको माध्यमबाट मुलुकको दिगो पर्यटन विकास र संस्कृति आदानप्रदानमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, उहाँले भन्नुभयो ।
मेलामा नेपालसहित भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुनेछन् । यसैगरी मेलामा सातवटै प्रदेशका स्टल पनि राखिने छ । स्थानीय भृकुटीमण्डपमा आयोजना हुने मेलामा नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले सहयोग गरेका सञ्चालक पाण्डेले बताउनुभयो ।
विश्वकप क्रिकेटः वर्षा भएपछि नेपाल र श्रीलङ्काबीचको खेलमा टस हुन सकेन
काठमाडौँ, ३० जेठ I आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा आज विहान हुने भनिएको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको आइसीसीले जनाएको छ ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ । समूह चरणका चार खेलमध्ये पहिलाे खेल हारेको नेपालले दोस्रो खेलमा जित निकाल्ने दाउमा छ भने श्रीलङ्काले यसअघिका दुवै खेलमा हार बेहोरेकाले अन्तिम आठमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ ।
सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमने सामने हुन लागेका छन् । यसअघि उमेर समूहमा यी दुई टोलीको पटक-पटक भेट भए पनि सिनियर टोलीमा भने पहिलो अवसर हो ।
नेपालले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो भने श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग छ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो ।
आजको खेलपछि समूह चरणका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ ।
‘सिरिजङ्गाको गौरव कञ्चनजङ्घा’ अभियान सञ्चालन गरिने
फुङ्लिङ (ताप्लेजुङ), २९ जेठ I ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई विश्वमा चिनाउन ‘सिरिजङ्गाको गौरव कञ्चनजङ्घा’ अभियान सञ्चालन गरिने भएको छ ।
गाउँपालिकाले गत साता प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सो अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो । सो हिमाल ताप्लेजुङको सिरिजङ्घा र फक्ताङलुङ गाउँपालिकाको सिमानामा पर्दछ । उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सिरिजङ्घा गाउँपालिकालाई विश्वमा चिनाउन उक्त अभियान सञ्चालन गर्ने सिरिजङ्घा गाउँपालिकाले जनाएको छ ।
अभियान सफल बनाउन सिरिजङ्घा गाउँपालिका-७ याम्फुदीको आम्जी खोलाबाट नयाँ तुम्लुङ, दुन्दुडाँडा, नगर्चा र चैराम हुँदै कञ्चजङ्घा हिमालको आधार शिविरसम्म सङ्घीय सरकारसँग लागत साझेदारीमा सुरु भएको साहसिक पदमार्गलाई गाउँपालिकाले गौरवको आयोजनामा राखेको छ ।
सो पदमार्ग करिब २२ किलोमिटर लामो रहेको गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले बताउनुभयो । माबोका अनुसार गत आवमा पर्यटन मन्त्रालयबाट रु पाँच करोड बजेट विनियोजन भइ अहिले पदमार्ग निर्माण भइरहेको छ । अभियानलाई व्यापक बनाइ पर्यटक आकर्षित गर्ने गाउँपालिकाले जनाएको छ । पदमार्ग क्षेत्रमा ‘होमस्ट’ सञ्चालन गर्न गाउँपालिकाले बजेट विनियोजन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने
काठमाडौँ, २९ जेठ I आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ ।
अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार भोलि बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमनेसामने हुन लागेका हुन । त्यसो त उमेर समूहमा भने यी दुई टोलीबीच पटक–पटक भेट भएको थियो । नेपालले टेष्ट राष्ट्र श्रीलङ्कालाई हराउँदै आफनो विश्वकप यात्रालाई अगाडि बनाउने कोसिसमा रहनेछ ।
त्यसैगरी लगातार दुई खेलमा पराजित श्रीलङ्काले पनि नेपाललाई हराउदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ । नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि पनि बाँकी खेल जित्नुपर्ने दबाब छ । विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ ।
नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । यता श्रीलङ्काको दक्षिण अफ्रिकासँग छ विकेट र बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले श्रीलङ्काविरुद्धको खेल नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताउनुभयो । उहाँले विश्वकप क्रिकेट प्रतियोगितामा एशोसिएट राष्ट्रले पनि टेस्ट राष्ट्रलाई पराजित गरेको इतिहास रहेको भन्दै आफ्नो टोलीले उच्च मनोबलका साथ श्रीलङ्का विरुद्धको खेलमा जित निकाल्ने विश्वास व्यक्त गर्नुभयो । विश्वकप अघि नेपालले फ्लोरिडामै क्यानडाविरुद्ध एक अभ्यास खेल खेलेको थियो । जसमा नेपाल क्यानडासँग पराजित भएको थियो ।
फ्लोरिडामै श्रीलङ्काले भने दुई अभ्यास खेल खेलेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग हारेको श्रीलङ्काले दोस्रो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो । विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो । घरेलु मैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (यूएई) लाई सेमिफाइनलमा पराजित गर्दै दोस्रो पटक विश्वकपमा स्थान पक्का गरेको थियो ।
दुःखसुख साट्न अन्नपूर्णमा ज्येष्ठ नागरिक प्रतिक्षालय निर्माण
भोजपुर, २९ जेठ I अन्नपूर्णमा प्रतिक्षालय तथा पुस्तकालय निर्माण अन्तिम चरणमा पुगेको छ । वृद्धावृद्धको सम्मानमा टेम्केमैयुङ गाउँपालिकाले यहाँ बहुउद्देश्यीय भवन निर्माण गरेको हो ।
टेम्केमैयुङ–३ अन्नपूर्णले आर्थिक वर्ष २०७८/७९ बाट भवन निर्माण थालेको थियो । बाह्र आना क्षेत्रफलमा निर्माण भइरहेको भवनमा हालसम्म रु २२ लाख खर्च भएको छ । भवनको रु ५० लाखको लागत अनुमान रहेकाले सरकारका विभिन्न निकायमा माग गर्दा पनि बजेट नदिएपछि वडाले नै निर्माण गरेको टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । भवन निर्माणको काम यही आर्थिक वर्षभित्र सम्पन्न हुने उहाँले बताउनुभयो ।
“हामीले ज्येष्ठ नागरिकको सम्मानस्वरुप प्रतिक्षालय भवन निर्माण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “हाल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो भवनको माथिल्लो तलामा पुस्ताकलयसमेत सञ्चालनमा ल्याउनेछौँ ।” भवनमा ज्येष्ठ नागरिकलाई लक्षित गरेर भजनकीर्तनका लागि वाद्यवादनका साधन, मन्दिर, बगैँचालगायत संरचना निर्माण गरिने वडाध्यक्ष राईले भन्नुभयो ।
ज्येष्ठ नागरिकको ज्ञान सीप तथा अनुभवलाई समेट्दै उनीहरूका कुरा सुन्ने थलोका रूपमा विकास गर्न ज्येष्ठ नागरिक भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । यहाँ आएर ज्येष्ठ नागरिकसँग भलाकुसारी गर्दा उनीहरुको सीप अनुभव नयाँ पुस्तासम्म पुर्याउन सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताउनुभयो ।
“ज्येष्ठ नागरिक समाजका जिउँदो इतिहास हुन्”, प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, “उहाँहरूका ज्ञान, सीप, अनुभवलाई हामीले अनुशरण गर्न आवश्यक छ । ज्येष्ठ नागरिकलाई भेला भएर भलाकुसारी गर्ने वातावरण निर्माणमा यो भवनले भूमिका खेल्नेछ ।”
वडाको पहलमा ज्येष्ठ नागरिकको सम्मानस्वरुप भवन निर्माण हुनु सकारात्मक रहेको स्थानीयवासी केदार अधिकारीले बताउनुभयो । ज्येष्ठ नागरिकले यहाँ भेला भएर आफ्ना दुःखसुखका कुरा साटसाट गर्न सक्ने उहाँको भनाइ छ । यहाँ आएर भलकुसारी गर्दै दिन कटाउने मेलो हुने उहाँ बताउनुहुन्छ । ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव सङ्कलन केन्द्रका रूपमा यो भवनलाई लिन सकिने उहाँ बताउनुहुन्छ । ज्येष्ठ नागरिकको सम्मानमा वडाको पहलमा भवन निर्माण भएपछि स्थानीय नागरिक खुसी भएका छन् ।