बिहिबार, ०३ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ०४ असार २०८१

गण्डकी प्रदेशस्तरीय क्रिकेट : नवलपुरको दोस्रो जित

https://www.jawaaf.com/storage/01J0P1QEVVJKAHA6DEWXZCSFK6.png

कास्की, ४ असार I पोखरा रङ्गशालामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नवलपुर विजयी भएको छ । नवलपुरले गोरखालाई एक सय २५ रनले पराजित गरेको हो ।

नवलपुरले लगातार दुवै खेल जित्दै कुल चार अङ्कका साथ समूहमा पहिलो स्थान बनाएको छ । नवलपुरले सोमबार पर्वतमाथि जित हासिल गरेको थियो । स्याङजा एक जित र एक खेलमा बराबरी गरी तीन अङ्कका साथ दोस्रो स्थानमा छ । अङ्क तालिकामा पर्वतले एक अङ्क जोडेको छ भने गोरखा अङ्कविहीन छ । आजको पहिलो खेल भारी वर्षाका कारण रद्द भएसँगै बलियो मानिएको स्याङजाले पर्वतसँग अङ्क बाड्न बाध्य भयो ।

नवलपुरले गोरखासँगको खेलमा टस जितेर ब्याटिङ सुरुवात गरेकामा निर्धारित ओभरमा छ विकेट गुमाउँदै एक सय ७८ रन बनायो । जसमा ओपनर प्रमिश अर्यालले ६० बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए । सुदीप अर्यालले १५ बलमा तीन छक्का प्रहार गर्दै २७ रनको व्यक्तिगत योगदान दिए । यसै गरी रिजन काफ्लेले १४ बलमा २१ रन, दीपक डुम्रेले १० र कमल परियारले १२ रन बनाए ।

गोरखाका बलर मेहुल श्रेष्ठले चार ओभरमा ५३ रन दिएर तीन विकेट लिए ।  प्रशिद्ध बज्रचार्यले दुई विकेट हात पार्दा सुनिल गुरुङले एक विकेट लिए । जितका लागि एक सय ७९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको गोरखाले भने १५ ओभरको तेस्रो बलमा सबै विकेट गुमाउँदै ५३ रन मात्र जोड्न सक्यो । गोरखाका लागि मेहुल श्रेष्ठले सर्वाधिक १२ रनको योगदान दिए भने गौरव पौडेलले ११ र पङ्कज पाण्डेले १० रन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन लिन सकेनन् ।

गोरखालाई सस्तैमा समेट्न पवन सापकोटा र कमल परियारले तीन÷तीन विकेट लिए । स्वीकार श्रेष्ठले दुई र सुदीप अर्यालले एक विकेट हात पारे । खेलमा प्रमिश अर्याल ‘खेलको प्लेयर अफ दि म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत बुधबारको खेलले फाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने छ । समूह ‘बी’ को पहिलो खेलमा नवलपुर र स्याङ्जाले फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछन् भने पर्वत र गोरखा प्रतिष्ठाको लागि भिड्नेछन् । घरेलु टोली कास्की समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगिसकेको छ ।

प्रदेश खेलकुुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा यही जेठ ३२ गतेदेखी प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताबाट आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टोली छनोट गरिने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार रु एक लाख र उपविजेता टिमलाई नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको छ । 

सम्बन्धित खबर

/frontend/images/redline.png