सांसद बन्न अर्बपति देखि सञ्चार उद्यमी सम्मले दिए उम्मेद्वारी
काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा तर्फको निर्वाचनका लागि यसपटक प्रत्यक्षतर्फ उद्योगी व्यवसायीहरुले बाक्लो सङ्ख्यामा उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ता गराउनेमा शेयरकारोबारी, सहकारी सञ्चालक देखि ठुला उद्योगी व्यवसायी सम्म रहेका छन् ।
आगामि निर्वाचनका लागि करीब दुई दर्जनभन्दा बढी उद्योगी व्यवसायीले उम्मेद्वारी दर्ता गराएका छन् । तिनै मध्येका एकहुन नेपालकै पहिलो अर्बपति बिनोद चौधरी, उनले नेपाली कांग्रेसबाट नवलपरासी पश्चीम क्षेत्र नं –१ बाट मंगलबार आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् । चौधरीको यो दोस्रो चुनावी प्रतिस्पर्धा हो ।
राजनीतिमा व्यवसायीको आकर्षण बढ्नुको मुख्य कारण नीति निर्माण तहमा पुग्ने चाहना रहेको उनीहरू बताउँछन् । उद्योगमैत्री कानुन, कर प्रणालीमा सुधार, लगानी सुरक्षाजस्ता मुद्दालाई संसदमा बलियो ढंगले उठाउन आफूहरू आवश्यक रहेको उनीहरूको तर्क छ । नीति बनाउने ठाउँमै नपुगेसम्म उद्योग–व्यवसायका समस्या समाधान नहुने उनिहरुको तर्क छ । करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले पनि रुपन्देही–२ बाट कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका छन् । यो उनको पहिलो चुनावी प्रतिस्पर्धा हो ।
पठाओका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यातले काठमाडौँ–१ बाट स्वतन्त्र रूपमै उम्मेदवारी दिएका छन् । उनले यसअघि नै आफुले स्वतन्त्र रुपमा निवार्चनमा भाग लिने जानकारी गराएका थिए । यस्तै, नेपाली कांग्रसका तर्फबाट पर्सा–४ मा टिकट पाएका अनिलकुमार रुंगटा पनि स्थापित उद्योगी हुन् । कास्की–१ बाट नुर ओभर्सिज म्यानपावरका सञ्चालक तिलक रानाभाट नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका छन् ।
मुक्तिनाथ विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सञ्चालक समितिका पूर्व अध्यक्ष भरतराज ढकालले स्याङ्जा–१ बाट कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका छन् ।
व्यवसायी पृष्ठभूमिबाट प्रतिनिधिसभा चुनाव लड्न लागेका अर्का व्यक्ति हुन् । मेडिकल व्यवसायी सुनीलकुमार शर्मा । कांग्रेसले मोरङ–३ मा उम्मेदवार बनाएका काठमाडौं मेडिकल कलेज र नोबल मेडिकल कलेजका सञ्चालक शर्माले जलविद्युत् आयोजनामा पनि लगानी गर्न लागेका छन् । उनी यसअघिको निर्वाचनमा मोरङ–३ बाटै निर्वाचित भएका थिए ।
सञ्चार उद्यमीका रूपमा चिनिने ऋषिराज धमला रौतहट–१ बाट चुनावी मैदानमा उत्रिएका छन् । प्रभु शाहको पार्टी आम जनता पार्टीले उनलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षसमेत रहेका डीपी अर्याल काठमाडौँ–९ बाट उम्मेदवार बनेका छन् । उनको कृषि फार्म, ट्राभल सर्भिस, सहकारी, इँटा उद्योग, रेमिटेन्स कम्पनी, एजुकेशन कन्सल्टेन्सी, सेक्युरिटी सर्भिस, ट्रेकिङ सर्भिस, होटेलसहितमा लगानी छ । उनी अघिल्लो निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेका थिए ।
युवा शेयर कारोबारी हरि ढकालले पनि चितवन–१ बाट दोस्रो पटक उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता ढकाल यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । कांग्रेसका तर्फबाट रसुवामा उम्मेदवार बनेका मोहन आचार्य, धादिङ–२ बाट टिकट पाएका रमेशप्रसाद धमला, एमालेबाट कपिलवस्तु–३ मा उम्मेदवारी दिएका वीरेन्द्रप्रसाद कनौडिया तथा झापा–४ बाट उम्मेदवार बनेका एलपी साँवा लिम्बू पनि विभिन्न व्यवसाय तथा उद्यमसँग सम्बन्धित व्यक्तिहरू हुन् ।
कालिकोटमा नेकपा र नेपाली कांग्रेसका बागी उम्मेदवार
सुर्खेत । कालिकोटमा चुनावी माहोल एकएक फेरिएको छ । तत्कालिन नेकपा माओवादी केन्द्रले आफ्नो किल्ला ठान्दै आएको कालिकोटमा यो पटक नेकपाकै जीवन बुढाले चुनौती दिएका छन् ।
कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाहीकका लागि जीवन बुढाको उम्मेदवारी भारि हुने छ । लगातार चौथो पटक संसद छिर्ने सपना बोकेका शाहीको यो पटकको यात्रा रोकिन सक्ने अड्कलबाजी गरिदैछ ।
नेकपाका केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहिले टिकट ल्याए पछि विवाद चुलिएको हो । शाहि र बुढा दुबै प्रचण्डका विश्वास पात्र मानिन्छन् । बुढा प्रचण्डको सचिवालय हुँदै राष्ट्रिय सभाका सदस्य भई सकेका हुन् भने शाहि २०७० सालदेखि निरन्तर प्रतिनिधि सभा र प्रदेश सभामा चुनाव जित्दै आएका थिए ।
सुरुमा जीवन बुढाले टिकट पाउने चर्चा भए पनि बुढालाई रोक्न शाहीले प्रचण्डलाई कालिकोटबाट चुनाव लडाउने भन्दै प्रचण्डको नाममा एकल सिफारिस गरेका थिए । प्रचण्डले रुकुम पूर्व रोजे पछि कालिकोटमा विवाद चुलिएको थियो । मनोनयनको अन्तिम समयमा महेन्द्र शाहीको नाममा टिकट आए पछि बुढाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता पछि सधै अरुलाई अवसरबाट बञ्चित गर्न खोज्ने प्रवृत्तीकोविरुद्व आफ्नो उम्मेदारी भएको बुढाले बताए । ‘यो पार्टीभित्रको अन्यायविरुद्वको आवाज हो’ उनले भने, ‘कार्यकर्तालाई दास बनाउने खोज्ने प्रवृत्तिविरुद्धको लडाइँ हो ।’
नेपाली कांग्रेसबाट टिकट नपाए पछि कांग्रेस नेता भुपेन्द्रजंग शाहिले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा टिकट पाएका शाहिले यो पटक टिकट पाएनन् । नेपाली कांग्रेसको आन्तरिक समिकरण फेरिएपछि पुर्व पार्टी सभापति हर्षबहादुर वमले टिकट पाएका छन् ।
सबैको चासो रहेको सर्लाही क्षेत्र नम्बर ४ मा कसले मर्ला बाजी ?
सर्लाही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सर्लाही क्षेत्र नम्बर ४ राजनीतिक बहसको केन्द्रमा परेको छ । प्रमुख दलका प्रभावशाली नेताहरू मैदानमा उत्रिएपछि यस क्षेत्रको चुनावलाई विशेष चासोका साथ हेरिएको छ ।
नेपाली कांग्रेसको नेतृत्व सम्हालिसकेका गगनकुमार थापा यस पटक सर्लाही – ४ बाट उम्मेदवार बनेका छन् । लामो समयदेखि पार्टीभित्र प्रभाव जमाउँदै आएका थापाले सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत हटाएर नेतृत्व हात पारेपछि उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
२०७० सालदेखि काठमाडौं – ४ बाट लगातार चुनाव जित्दै आएका थापाले यस पटक निर्वाचन क्षेत्र परिवर्तन गरी मधेस प्रदेशको सर्लाही – ४ रोज्नुले पनि राजनीतिक वृत्तमा चर्चा बढाएको छ । २०६४ सालको संविधानसभा निर्वाचनबाट समानुपातिक सभासद् बनेर संसदीय यात्रा थालेका थापाका लागि यो निर्वाचन प्रतिष्ठाको विषय बनेको छ ।
पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनको निर्णयलाई निर्वाचन आयोगले वैधानिकता दिएको थियो । सो निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत पुगे पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि थापाको नेतृत्व सुरक्षित बनेको छ । मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले देउवा समूहका तर्फबाट दायर मागदाबी खारेज गरेसँगै थापा थप बलियो देखिएका छन् ।
कांग्रेसले थापालाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिरहेको सन्दर्भमा यो निर्वाचन जित्नु उनको राजनीतिक यात्राका लागि अनिवार्य जस्तै बनेको छ । कांग्रेसका पूर्वनेता डा. अमरेश कुमार सिंह मैदानमा छन् भने एमालेबाट अमनिश कुमार यादव र नेकपाबाट राजनीश राय यादव उम्मेदवार छन्। साथै, क्षेत्र नं ४ मा २६ स्वतन्त्रसहित कुल ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
२०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा डा. सिंहले २० हजार १७ मत ल्याएर जित हासिल गरेका थिए । त्यस बेला कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए भने स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरेकी थिइन् । त्यस बेला कांग्रेशले सिंहलाई किटक नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए।
सर्लाही–४ अन्तर्गत बरहथवा नगरपालिकाका वडा नम्बर १, २, ३, ४, १३, १४ र १५, बसबरिया गाउँपालिकाका वडा नम्बर १, २ र ३, धनकौल, रामनगर गाउँपालिका, बलरा, गोडैता नगरपालिका तथा विष्णु गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ पर्दछन् ।
प्रभावशाली उम्मेदवार, विगतको प्रतिस्पर्धी नतिजा र राष्ट्रिय राजनीतिक अर्थ जोडिएकाले सर्लाही – ४ को चुनाव यस पटक निकै रोचक र निर्णायक बन्ने देखिएको छ ।
कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभरका अन्य स्थानको तुलनामा कोशी प्रदेशको राजनीतिक माहोल थप तातिएको छ । २८ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशमा ५०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारको सङ्ख्या घटबढ हुन सक्ने भए पनि प्रारम्भिक तथ्यांकअनुसार यति नै उम्मेदवारी दर्ता भएको हो ।
विशेष गरी सहरी र राजनीतिक रूपमा संवेदनशील क्षेत्रहरूमा उम्मेदवारको चाप बढी देखिएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मात्रै ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सुनसरीका चारै निर्वाचन क्षेत्रमा गरी कुल ११० जना उम्मेदवार मैदानमा छन् । सुनसरी क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्कराज राईसहित प्रतिस्पर्धा हुँदैछ । सुनसरी–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीश कुसियतमाझ मुख्य टक्कर हुने देखिएको छ । यसअघि सो क्षेत्रमा कार्की विजयी भएका थिए ।
मोरङ र झापा राजनीतिक केन्द्रमा, झापा बन्यो ‘इपिसेन्टर’
प्रदेश राजधानी विराटनगर समेटिएको मोरङका ६ निर्वाचन क्षेत्रबाट ११८ जनाले उम्मेदवारी दिएका छन् । मोरङमा नेपाली कांग्रेसका प्रभावशाली नेताहरू डा. शेखर कोइराला, महामन्त्री गुरुराज घिमिरे र डा. सुनिल शर्मासहित प्रतिस्पर्धामा छन् ।
उता झापाका ५ निर्वाचन क्षेत्रमा ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये क्षेत्र नम्बर ५ सबैभन्दा बढी चर्चामा छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र साह (बालेन) को उम्मेदवारीले यो क्षेत्र राष्ट्रिय राजनीतिमै बहसको केन्द्र बनेको छ ।
दुवै दलले आफ्ना उम्मेदवारलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेपछि यहाँ एकजनाको हार निश्चित हुने छ । यही कारण झापा–५ लाई यसपटकको निर्वाचनको ‘इपिसेन्टर’का रूपमा हेरिएको छ ।
झापाकै क्षेत्र नम्बर २ मा पूर्वसभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगर मैदानमा छन् भने क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार छन् ।
पहाड र हिमालमा पनि चुनावी चासो
प्रदेश निर्वाचन कार्यालयका अनुसार उदयपुरका दुई निर्वाचन क्षेत्रमा कुल ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा पनि प्रतिस्पर्धा कमजोर देखिएको छैन । उपलब्ध तथ्यांकअनुसार ताप्लेजुङमा १३, पाँचथरमा १५, इलामका दुई निर्वाचन क्षेत्रमा २७, संखुवासभामा १६, तेह्रथुममा १२, भोजपुरमा १२, धनकुटामा १८, सोलुखुम्बुमा १२, खोटाङमा १५ र ओखलढुंगामा १६ जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभाबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा
यसैबीच झापा निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य भक्ति प्रसाद सिटौलाले आफ्नो पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् । उनले राप्रपाकै तर्फबाट झापा–४ मा उम्मेदवारी दिएका हुन् ।
कोशी प्रदेश सभा सचिवालयका अनुसार सिटौलाले सभामुखसमक्ष राजीनामा पेश गरी सनाखत गराइसकेका छन् । राजीनामा स्वीकृत भएसँगै सो क्षेत्रको प्रदेश सभा सदस्य पद रिक्त भएको छ ।
उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । अब उजुरी, छानबिन र अन्तिम नामावली प्रकाशनपछि औपचारिक चुनावी प्रचारले तीव्रता पाउने अपेक्षा गरिएको छ ।
सिन्धुली–२ मा नेकपा र कांग्रेसभित्र विद्रोह, आधिकारिक उम्मेदवारविरुद्ध छुट्टाछुट्टै दाबी
रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ताको क्रममा सिन्धुली–२ मा दुई ठूला दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस भित्र विद्रोही उम्मेदवारी परेको छ ।
नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ विरुद्ध सोही पार्टीका नेता तथा पत्रकार महेश्वर दाहालले विद्रोही उम्मेदवारी दर्ता गराएका छन् । दाहालले पार्टीका नेता हरिबोल गजुरेल, वसन्त माझी, पानीराज बम्जन लगायतको समर्थनमा मनोनयन दर्ता गराएका हुन् ।
जिल्ला पार्टीले सिफारिस नै नगरेका व्यक्तिलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवार बनाएको भन्दै जिल्लास्तरमा असन्तुष्टि देखिएको छ । उम्मेदवार छनोट कार्यदलले पार्टी केन्द्रलाई पत्र पठाउँदै निर्णय पुनर्विचार गर्न सुझावसमेत दिएको थियो ।
यस्तै, अर्को ठूला दल नेपाली कांग्रेसमा पनि आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी परेको छ । पार्टीले टिकट नदिएपछि कांग्रेस नेता खड्ग वाइबाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । सिन्धुली–२ बाट नेपाली कांग्रेसले सुशिला थिङलाई आधिकारिक उम्मेदवार बनाएको छ ।
उक्त निर्वाचन क्षेत्रबाट यसअघिको निर्वाचनमा माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका थिए।
दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा यसपटक नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
नेकपा एमालेले निर्वाचन क्षेत्र नं– १ बाट प्रदीपकुमार कटुवाल र क्षेत्र नं–२ बाट मनोजजंग थापालाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले क्षेत्र नं– १ बाट उज्जल बराल र क्षेत्र न–ं २ बाट सुशिला थिङलाई उम्मेदवार बनाएको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नं– १ मा डेकेन्द्र सुवेदी र क्षेत्र नं–२ मा लेखनाथ दाहाललाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नं १ मा धनेन्द्र कार्की र क्षेत्र नं २ मा आशिष गजुरेललाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले क्षेत्र नं १ मा रामनारायण अधिकारी र क्षेत्र नं २ मा डा. मुकुन्द गजुरेललाई उम्मेदवार बनाएको छ ।
प्रतिनिधिसभा निर्वाचनको लागि २ हजार ९ सय २५ जनाले गराए उम्मेदवारी मनोनयन दर्ता
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि अहिलेसम्म २ हजार ९ सय २५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको जानकारी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउतले महिला ३ सय ३६ र पुरुष २ हजार ५ सय ८९ जनाले मनोनयन दर्ता गरेको बताए ।
उनले भने, ‘अहिले हाम्रो सिस्टमा आइसकेको २ हजार ९ सय २५ उम्मेदवारी मनोनयन दर्ता भएको सूची प्राप्त भएको छ । त्यसमा महिला ३३६ र पुरुष २ हजार ५ सय ८९ दर्ता भएको छ । समावेशी समुह अन्तरगत अपांगताको ८५ जना, पिछडिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको भनेर आएको छ । बाँकी निरन्तर अपडेट भइ नै रहन्छ ।’
बिहान १०ः०० बजेबाट सुरु भएर अपराह्न ५ः०० बजेसम्म तोकिएको उक्त समयभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य हालसम्म पनि जारी नै रहेको आयोगले जनाएको छ ।
यसैगरी आयोगले माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको जनाएको छ भने सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरुलाई निर्वाचन चिन्ह् प्रदान गरिने आयोगले जनाएको छ ।
निवर्तमान उपसभामुख इन्दिरा राना मगरले गराइन् मनोनयन दर्ता
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की वरिष्ठ नेतृ तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरले मनोनयन दर्ता गराएकी छिन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर २ बाट राना मगरले मनोनयन दर्ता गराएकी हुन् ।
यो क्षेत्रमा एमालेबाट पूर्वसभामुख देवराज घिमिरे छन् । पूर्व सभामुख र उपसभामुख भएर पनि यो यो क्षेत्र राजनीतिक रूपमा थप चासोको केन्द्र बनेको छ ।
फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन प्रक्रिया सुरु भएको हो।
प्रत्यक्षतर्फ उम्मेदवारी दिन नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि, सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिवार्य गरिएको छ। उम्मेदवारले एक जना प्रस्तावक र एक जना समर्थकको विवरणसहित मनोनयनपत्र पेस गर्नुपर्नेछ।
नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा सरकारी स्वामित्व वा अनुदान प्राप्त संस्थामा बहाल रहेका व्यक्तिले उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिएको निस्सा बुझाउनुपर्ने व्यवस्था छ। दलको तर्फबाट उम्मेदवारी दिने हकमा सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समितिबाट प्रदान गरिएको औपचारिक मनोनयन पत्र पनि आवश्यक पर्ने आयोगले जनाएको छ।
उम्मेदवारले १० हजार रुपैयाँ धरौटी रकम जम्मा गरेको रसिद पेस गर्नुपर्नेछ भने महिला, दलित, अल्पसंख्यक र आर्थिक रूपमा विपन्न उम्मेदवारलाई सो धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। आर्थिक विपन्नताको हकमा स्थानीय तहको सिफारिस पत्र अनिवार्य हुनेछ।
यसका साथै उम्मेदवारले स्वघोषणा पत्र, वैयक्तिक विवरण फाराम, सम्पत्ति विवरण, पेस्की फछ्र्योट तथा बेरुजु फछ्र्योटसम्बन्धी आवश्यक निस्साहरू पनि पेस गर्नुपर्नेछ।
मनोनयन दर्तासँगै देशभर राजनीतिक दलहरूका गतिविधि तीव्र बनेका छन् भने निर्वाचन कार्यालय वरपर चुनावी चहलपहल बढेको छ।
लहानमा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा बालेन साहद्वारा माल्यार्पण
सिरहा । सिराहा जिल्लाको लहान नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन साहले मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् ।
मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै साहले उनको योगदान मधेश मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणादायी रहेको बताए ।
कार्यक्रमका क्रममा उनले सहिदहरूको बलिदानकै कारण आजको लोकतान्त्रिक उपलब्धि सम्भव भएको उल्लेख गर्दै सहिदको सपना पूरा गर्न इमानदार राजनीति, सुशासन र न्याय आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनी यसअघि आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेर नियमित हुने बिहानी आरतीमा सहभागी भएका थिए ।
आजदेखि निर्वाचन आचारसंहिता लागू
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि (आज (सोमबार) बिहान १२ बजेदेखि आचारसंहिता लागू गरेको हो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ ।
आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ । आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ ।
साथै, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठनलाई आचारसंहिता लाग्नेछ ।
यस्तै, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।