हरिबोल गजुरेलसहित सात जना नेता–कार्यकर्तालाई नेकपाबाट निस्कासित
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवारी दिएको आरोपमा सात जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निस्कासन गरेको छ ।
आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णयविपरीत उम्मेदवार बनेका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक र प्रचारकको भूमिकामा रहेका व्यक्तिलाई पार्टी विधानको दफा १०६ अनुसार अनुशासनात्मक कारबाही गर्दै निस्कासन गरिएको पार्टीले जनाएको छ ।
पार्टीबाट निस्कासनमा पर्नेहरूमा सिन्धुलीका हरिबोल गजुरेल, महेश्वर दाहाल, दाङ क्षेत्र नं. ४ का कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन् ।
पार्टी सह–संयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी विज्ञप्तिमा पार्टीको निर्णय विपरीत गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ ।
उम्मेदवारका लागि बैङ्क खाता सञ्चालन गरिदिन राष्ट्र बैङ्कलाई निर्वाचन आयोगको आग्रह
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि बैङ्किङ खाता सञ्चालनको व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ ।
आयोगले केन्द्रीय बैङ्कलाई पत्राचार गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्नुपर्ने र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सहजीकरण गर्न आग्रह गरेको हो।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिता, २०७३ को दफा १६ अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैङ्क वा वित्तीय संस्थामा खोलिएको छुट्टै खाताबाट मात्र गर्नुपर्ने व्यवस्था छ।
त्यस्तै, राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्चका लागि छुट्टै बैङ्क खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीमार्फत खर्च गर्नुपर्ने प्रावधान छ। २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा अनिवार्य रूपमा बैङ्क वा वित्तीय संस्थामार्फत लिनुपर्ने व्यवस्था गरिएको छ।
कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रूपमा नगद प्राप्त भएमा त्यसको रसिद वा भरपाई दिनुपर्नेछ। राजनीतिक दलको नाममा प्राप्त सहयोग दलको बैङ्क खातामा र उम्मेदवारको नाममा प्राप्त सहयोग उम्मेदवारकै बैङ्क खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी बनाउन यी व्यवस्थाहरू प्रभावकारी रूपमा लागू गर्न राजनीतिक दल र तिनका उम्मेदवारलाई बैङ्क खाता खोल्न सहजीकरण गरिदिन आयोगले आग्रह गरेको हो।
आयोगका अनुसार उक्त व्यवस्था समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारमा पनि लागू हुनेछ। दुवै निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका नाममा खोलिने बैङ्क खाता आमनिर्वाचन सम्पन्न भई आयोगले बन्द गर्न निर्देशन नदिएसम्म सञ्चालनमा रहनेछन्।
निर्वाचनसम्बन्धी आम्दानी र खर्चको पारदर्शिता सुनिश्चित गर्न प्रत्येक राजनीतिक दलका लागि छुट्टै एक वटा र प्रत्येक उम्मेदवारका लागि एक–एक वटा बैङ्क खाता खोल्ने व्यवस्था मिलाइदिन आयोगले नेपाल राष्ट्र बैङ्कलाई औपचारिक रूपमा अनुरोध गरेको छ।
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये देशभर ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार निर्वाचन आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएकोमा ४९ जना उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।
उनले भने,‘तोकिएको अवधिमा १६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी ३,४८७ मनोनयन पत्र दर्ता भएका थिए । दर्ता उम्मेदवारीमध्ये महिला ३९६, पुरुष ३,०९० र अन्य १ जना रहेका छन् । आज निर्धारित समयभित्र ४९ जना उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिएका छन् ।’
उनले माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिए । त्यस्तै समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली प्रकाशन, दावी विरोध संकलन लगायतका कार्य र समानुपातिकतर्फको मतपत्र छपाई, मतदाता नामावाली छपाई लगायतका कार्यहरु सञ्चालन भएको पनि उनले बताए ।
उनले भने,‘माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ भने फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत माघ १ गतेदेखि ९ गतेसम्म पहिलो हुने निर्वाचित हुनेतर्फको मनोनयन पत्र दर्ता, उम्मेदवार उपर दावी विरोध र छानबिन, उम्मेदवारी फिर्ता लगायतका कार्य सम्पन्न भएका छन् । त्यस्तै समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली प्रकाशन, दावी विरोध संकलन लगायतका कार्य र समानुपातिकतर्फको मतपत्र छपाई, मतदाता नामवाली छपाई लगायतका कार्यहरु सञ्चालन भएका छन्।’
आयोगको अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारहरुलाई चुनाब चिन्ह् प्रदान गर्ने कार्यक्रम रहेको छ ।
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/vc27EsqVEIU?si=NuXIlBBZht3JpSgs" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
रेशम चौधरीको उम्मेदवारी खारेज प्रतिशोधपूर्ण : जसपा अध्यक्ष राई
धरान । कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका उम्मेदवार रेशमलाल चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक कुमार राईले आपत्ति जनाएका छन् ।
अध्यक्ष राईले निर्वाचन आयोगको निर्णयलाई असंवैधानिक, प्रतिशोधपूर्ण र अलोकतान्त्रिक हर्कत भन्दै कडा शब्दमा निन्दा गरेका छन्। उनले पहिचान प्राप्तिको आन्दोलनका सशक्त अभियन्ता तथा नाउपा नेपालका संस्थापक, पूर्व सांसद तथा हाल संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी अस्वीकार गरिनु गम्भीर विषय भएको बताएका छन् ।
फेसबुक पोस्टबाट सार्वजनिक गरिएको भनाइमा अध्यक्ष राईले भनेका छन्,
“पहिचान प्राप्तिको संघर्षका एक सशक्त महारथी रेशमलाल चौधरीको उम्मेदवारी अस्वीकार गरिनु पूर्ण रूपमा असंवैधानिक, प्रतिशोधपूर्ण र अलोकतान्त्रिक कार्य हो। हामी यसको विरोध तथा भर्त्सना गर्दछौँ।”
उनले जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टीबीच एकल चुनाव चिन्ह ‘जाँतो (चकिया)’ मा चुनाव लड्ने निर्णयप्रति असन्तुष्ट तत्वहरूको षड्यन्त्रको दुर्गन्धसमेत महसुस भएको टिप्पणी गरेका छन् ।
“निष्पक्ष निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले यस्ता गतिविधिहरू सच्याउनेछ भन्ने विश्वास लिएका छौँ,” उक्त भनाइमा उल्लेख छ, “अन्यथा त्यसबाट उत्पन्न हुने गम्भीर परिणामको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्नेछ ।”
यसैबीच, आफ्नो उम्मेदवारी खारेजप्रति प्रतिक्रिया दिँदै नाउपा नेपालका अध्यक्ष रेशमलाल चौधरीले आफूलाई राजनीतिक सिकार बनाइएको आरोप लगाएका छन् ।
उनले भने,
“राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ। विभेद, दमन र उपेक्षित समुदायलाई उत्पीडनमा पार्दा प्रयोग गरिने हतियारहरू इतिहासमा कस्ता कस्ता रहेछन् भन्ने उदाहरण विश्वले देखिसकेको छ।”
चौधरीले पहिचानको लामो संघर्ष गलत दिशातर्फ मोडिने हो कि भन्ने आशंका व्यक्त गर्दै राजनीतिक विभेदविरुद्ध एकताबद्ध हुन आह्वान गरेका छन्।
“राजनीतिक विभेदको विरुद्ध सबैको साथ भनेकै ‘जाँतो (चकिया)’ मा मतदान हो,” उनले भने, “मेरो उम्मेदवारी खारेजविरुद्ध देशभर ‘जाँतो’ मा मतदान गरेर नाउपा नेपाललाई साथ दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु। जय नागरिक ।”
प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम टुंगो, दिउँसो ३ बजे नामावली सार्वजनिक
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज फिर्ता लिन पाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्।
निर्वाचन कार्यतालिकाअनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने अपराह्न ४ देखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न वितरण गरिने आयोगले जनाएको छ ।
पहिलो हुने निर्वाचित प्रणालीअन्तर्गत माघ ७ गते दाबी–विरोधमा उजुरी दिने र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको थियो।
देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्। तीमध्ये ३ हजार ८९ पुरुष, ३९६ महिला तथा अन्य एक जना उम्मेदवार रहेका छन्। माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता गरिएको थियो ।
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली र ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्।
आज सरस्वती पूजा, देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै
काठमाडौं । आज सरस्वती पूजा अर्थात् श्री पञ्चमी देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ । ज्ञान, कला र सङ्गीतकी देवी सरस्वतीको उपासना गर्दै विद्यालय, मन्दिर तथा विद्याका केन्द्रहरूमा आज विशेष पूजा–आराधना गरिन्छ ।
आजको दिन अक्षरारम्भ गर्ने, कलम–कागज, वाद्ययन्त्रजस्ता सिर्जनाका औजारहरूको पूजा गर्ने परम्परा रहेको छ ।
आजको दिन आफैँमा शुभ हुने भएकाले विवाह, व्रतबन्धलगायत सबै प्रकारका सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने बताइन्छ । यस दिन बालबालिकाको नाक, कान छेड्ने चलन पनि छ ।
आज काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरहरूमा भक्तजनको भीड लाग्ने गर्दछ । उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैह्रीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा भइरहेको छ ।
आजबाट वसन्त ऋतुको सुरुवात हुने धार्मिक विश्वास पनि छ । सरस्वती पूजालाई विद्या, सिर्जना र सकारात्मक सोचको आरम्भका रूपमा लिइन्छ ।
टजीपीटी र जेमिनीको प्रयोग वृद्धिसँगै विश्वभर उच्च क्षमताको र्यामको अभाव
काठमाडौं । चीनसहित विश्वभर पछिल्लो केही महिनादेखि र्यान्डम एक्सेस मेमोरी (र्याम) को मूल्य तीव्र रूपमा बढिरहेको छ । कृत्रिम बुद्धिमत्ता (एआइ) मा आधारित लार्ज ल्याङ्गवेज मोडेल (एलएलएम) एपहरू जस्तै च्याटजीपीटी र जेमिनीको प्रयोग र विस्तारसँगै उच्च क्षमताको ¥यामको माग अत्यधिक बढेपछि बजारमा अभाव देखिएको हो ।
विश्वका प्रमुख तीन र्याम उत्पादनकर्ता कम्पनी—सामसङ, एसके हाइनिक्स र माइक्रोन—एआई तथा डाटा सेन्टर केन्द्रित माग धान्न व्यस्त हुँदा उपभोक्ता स्तरको र्याम आपूर्ति सीमित बनेको छ । कम नाफामुखी भएकाले तीमध्ये कम्तीमा एक कम्पनीले उपभोक्ता–ग्रेड ¥याम उत्पादनसमेत बन्द गरेको बताइएको छ ।
आपूर्ति घट्दै जाँदा बजारमा उपलब्ध ¥यामको मूल्य आकासिएको छ । शाङ्घाइको एक इलेक्ट्रोनिक्स मलमा गत वर्ष करिब ४३ अमेरिकी डलरमा बिक्री हुने १६ जीबी ¥याम अहिले १५० अमेरिकी डलरभन्दा बढीमा बिक्री भइरहेको छ । एक उपभोक्ताले भने, “मूल्य सुन्दा म छक्क परेँ । पहिले करिब २८० अमेरिकी डलर पथ्र्यो, अहिले ८५० डलरभन्दा बढी पुगेको छ । म किन्नै सक्दिनँ ।”उता, करिब एक हजार किलोमिटर टाढा दक्षिण–पश्चिम चीनको गुइझोउ प्रान्तका पसलहरूमा पनि उस्तै अवस्था देखिएको छ । त्यहाँ चौथो र पाँचौँ पुस्ताको डबल डाटा रेट (डिडिआर ४ र डिडिआर ५) ¥यामको मूल्य गत वर्षको गर्मी यामदेखि करिब १०० प्रतिशतले बढेको छ ।
एक विक्रेताका अनुसार, “१६ जीबी डिडिआर ४ को मूल्य ८५ अमेरिकी डलरभन्दा माथि पुगेको छ भने डिडिआर ५ को मूल्य १४० डलर नाघेको छ ।”
विशेषज्ञहरूका अनुसार एआई, क्लाउड कम्प्युटिङ र डाटा सेन्टरहरूको दीर्घकालीन माग कायम रहने भएकाले विश्वका प्रमुख ¥याम उत्पादक कम्पनीमाथि दबाब अझै केही समय रहनेछ । यसका कारण सन् २०२६ भरि उपभोक्ता स्तरको ¥यामको मूल्य उच्च नै रहने अनुमान गरिएको छ । सीसीटीभी
प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार
सुर्खेत । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालिकोटको रास्कोट नगरपालिकाबाट चार जनाले प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन् । जिल्लाको नरहरीनाथ गाउँपालिका, पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकाबाट तीन÷तीन उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्कोट नगरपालिकाका स्थायी बासिन्दा नगेन्द्र शाही ‘नेश्नल’ राष्ट्रिय स्वतन्त्र पाटीका प्रकाश न्यौपाने, प्रगतिशिल लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने र स्वतन्त्र उम्मेद्वार मानबहादुर तिरुवा रहेका छन् । पचालझरना गाउँपालिका नेपाली काँग्रेसका हर्षबहादुर बम, नेपाली कम्युनिष्ट पाटीका महेन्द्रबहादुर शाही र देशभक्त समाज पार्टीका प्रेमसिंह तिरुवाले मनोनयन दर्ता गराएका छन् ।
खाँडाचक्र नगरपालिकाका स्थायी बासिन्दा नेपाली काँग्रेसका नेता भुपेन्दजंग शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर शाही र राष्ट्रिय जनमोर्चाका अजयबहादुर गिरी उम्मेदवार बनेका छन् ।
नरहरीनाथ गाउँपालिकाका स्थायी बासिन्दा नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’, नेपाली कम्युनिष्ट पार्टीका बागी उम्मेदवार जीवनबहादुर बुढा र जस्मिन बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेमकिपाका उम्मेदवार नन्दबहादुर शाही शुभकालिकाका स्थायी बासिन्दा हुन् ।
कालिकोटमा प्रतिनिधी सभाको निर्वाचन रोचक बन्दै गएको छ । झण्डै दुई दशकपछि प्रकाण्डको उपस्थिति नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीमा देखिएको असन्तुष्टिले चुनावी परिणाम आँकलन गर्न सहज नभएको स्थानीयहरुले बताएका छन् ।
२०६४ सालमा कालिकोटमा चुनाव लडेका प्रकाण्ड, लगातार चौथो पटक चुनाव लडेका महेन्द्रबहादुर शाही र यस अघि चुनाव लडिसकेका भुपेन्द्रजंग शाही र नगेन्द्र शाहीलाई नयाँ अनुहारले चुनौती दिएका छन् ।
तत्कालिन नेकपा माओवादी केन्द्रले आधार क्षेत्र मान्दै आएको कालिकोटमा प्रतिनिधी सभा निर्वाचन पछि परिणाम विगतको भन्दा फरक आउने आँकलन गरिएको छ ।
निर्वाचन आयोगले आज उम्मेदवारको नामावली सार्वजनिक गर्दै
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको नामावली आज सार्वजनिक गर्ने तयारी गरेको छ।
मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारहरूको नामावली आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिने आयोगले जनाएको छ।
मंगलबार साँझसम्म मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी दर्ता गरेको थियो। बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरी संकलन गरिएको हो।
आयोगका अनुसार दर्ता भएका उजुरीहरूको बुधबार साँझ नै जाँचबुझ सकिएको छ। सोही आधारमा आज उम्मेदवारहरूको नामावली सार्वजनिक गर्न लागिएको हो।
निर्वाचन कार्यतालिकाअनुसार माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्।
त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। साथै, माघ ९ गते दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।
नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो
काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्लो केही दिनदेखि लगातार बढेको बजारमा यस दिन करेक्सन देखिएको हो । नेप्से परिसूचक यस दिन ९.४३ अंकले घटेर २,७०५.३८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ अंक, फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंकले घटेको छ ।
यसदिन कारोबार रकम पनि घटेको छ। मंगलबार ११ अर्ब ८५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ३२४ स्टकमा ८९,७६६ पटकको कारोबारमा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँ बराबर २ करोड १६ लाख ४१ हजार कित्ता शेयर किनबेच भएको छ ।
यस दिन कालिका पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले बढेको छ। नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने रिभर फल्स पावरको शेयरमूल्य ५.५ प्रतिशतले वृद्धि भएको छ । अर्कोतर्फ, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.८९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको ३३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये बुधबार १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक ०.२६ प्रतिशतले बढेको छ। वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।