बुधबार, ०२ पुस २०८२

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01J5G1X831VDSZMQMA01XV7SFV.jpg

सहकर्मी हत्याको विरोधमा भारतीय चिकित्सकहरु देशव्यापी हडतालमा

_

नयाँदिल्ली, १ भदौ (रासस / एएफपी):  सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकहरुले शनिबार राष्ट्रव्यापी विरोध र हडताल गरेका छन् ।     
     
पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीया डाक्टरको रगतले लतपतिएको शव प्राप्त भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो ।     
     
स्वास्थ्यकर्मीहरुले हड्तालको नेतृत्व गरेका छन् भने दोषीलाई कारबाहीको माग गर्दै दशौँ हजार सर्वसाधारण पनि हडतालमा सहभागी भएका छन् ।     
     
 प्रदर्शनकारीहरु “निको हुने हातबाट रगत बग्न हुँदैन”, “इनफ इज इनफ” “बलात्कारीलाई फाँसी दे “ आदि लेखिएको प्लेकार्डसहित विरोधमा उत्रिएका छन् ।     
     
मृतक चिकित्सकको शव शिक्षण अस्पतालको सेमिनार हलमा फेला परेको थियो । शवपरीक्षण प्रतिवेदनबाट यौन उत्पीडनको पुष्टि भएको छ भने अदालतमा दर्ता भएको निवेदनमा पीडितका आमाबाबुले छोरीलाई सामूहिक बलात्कार गरेको आशङ्का व्यक्त गरेका छन् ।     
     
कोलकाताको प्रहरीले उक्त मुद्दालाई गलत तरिकाले लिएको आरोप लगाई उच्च अदालतले “जनताको विश्वास जगाउन“ अनुसन्धानलाई भारतको शीर्ष केन्द्रीय अनुसन्धान ब्यूरोलाई हस्तान्तरण गरेको छ ।     
     
धेरै राज्यका सरकारी अस्पतालहरूमा उनीहरूले विरोध स्वरूप सोमबार वैकल्पिक सेवाहरू ‘अनिश्चित कालका लागि’ बन्द गरेका छन् । सरकारी तथा निजी दुवै प्रणालीमा धेरै चिकित्सा सङ्गठनहरूले हडतालको समर्थन गरेका छन् ।     
     
हड्तालमा संलग्न चिकित्सकहरुले स्वास्थ्य सेवाकर्मीलाई हिंसाबाट जोगाउन केन्द्रीय सुरक्षा ऐन लागु गर्न माग गरिरहेका छन् ।     
     
हडतालले नियमित स्वास्थ्य सेवा प्रवाहमा समेत बाधा पुर्याएको छ ।     


_

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१
https://www.jawaaf.com/storage/01J5G1MXKGG38DKWGS8XBJPSFP.jpg

बेनीमा परम्परागत ‘वर्षे नाच’को रौनकता

_

बेनी(म्याग्दी), १ भदौः सदरमुकाम बेनीमा परम्परागत ‘वर्षे नाच’को रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै देखाउन थालिएको परम्परागत वर्षे नाचलाई नेवार समुदायको अगुवाइमा निरन्तरता दिइँदै आइएको छ ।     
     
घण्टाकर्ण चर्तुदर्शीदेखि सुरु भएको वर्षे नाच हरितालिका तीजको दिनसम्म एक महिनाभन्दा बढी समय देखाउने गरिन्छ । बेनीमा नेपाल भाषामंकाः खलः अन्तर्गतका युवाहरुको समूह ल्याम्हः पुचःको नेतृत्वमा वर्षे नाच देखाउने गरिएको छ ।     
     
यस वर्ष लाखे नाच, घोडा नाच, जोग नाच, नागनागिनी नाचसहित श्रीकृष्ण रथयात्रा लगायतका कार्यक्रम समावेश गरिएको ल्याम्हः पुचःका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । अघिल्ला वर्षहरुमा रोपाइँ, धानको बाला, गोरु लगायतका नृत्यसमेत वर्षे नाचमा समावेश गरिएको भए पनि यस वर्ष नाच व्यवस्थापनमा जनशक्ति थोरै भएकाले लाखे, घोडा, जोगीर नागनागिनी नाचलाई प्राथमिकता दिएर देखाउने गरिएको उहाँको भनाइ छ ।     
     
पुर्खाले सुरु गरेको परम्परागत नाचलाई तालिम र अभ्यासका माध्यमबाट युवा तथा बालबालिकामा समेत सिप हस्तान्तरण गर्ने गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । बेनी बजारमा दिनहुँजसो साँझपख विभिन्न नाच देखाउन थालेपछि वर्षे नाचको रौनकता बढेको छ । सडक र चोक चोकमा देखाइने वर्षेनाच हेर्न बालबालिका, युवायुवति देखि बृद्धबृद्धासम्म सडकतीर जम्माहुने गर्छन् ।     
     
वर्षे नाचमा नेवार समुदायका साथै बेनीमा बसोबास गर्ने अन्य जातजातिका युवायुवती र बालबालिकासमेत सहभागी हुने गर्छन् । बेनीकै सांस्कृतिक पहिचानका रुपमा रहेको वर्षे नाचमा नयाँनयाँ कलाकारहरुको आगमनले मौलिक नाचको संरक्षण र निरन्तरतामा सहयोग पुगेको लाखे नाचका संयोजक सन्दिप श्रेष्ठले बताउनुभयो ।     
     
परम्परागतरुपमा देखाइँदै आएको वर्षे नाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचहरुलाई समेत निरन्तरता दिने गरिएको छ । वर्षे नाचमा समावेश गरिने नागनागिनी नाच नेपालभरमा म्याग्दीमा मात्र देखाउने नाचको रुपमा परिचित छ । जनैपूर्णिमा पर्वको दिनमा वर्षभरी दिवंगत भएका नेवार समुदायका व्यक्तिहरुको सम्झनामा सापारु अर्थात् नागनागिनी नाच देखाउने चलन रहेको छ ।     
     
दुई सय वर्षभन्दा पुरानो वर्षे नाचको निरन्तरताको लागि बेनीमा नयाँ कलाकारलाई तालिम दिने गरिएको छ । परम्परादेखि चलिआएको संस्कृतिको निरन्तरता र मौलिकताको संरक्षणमा युवाहरुको उत्साहजनक सहभागिताले सहयोग पुगेको युवा कलाकार अभिनेष श्रेष्ठले बताउनुभयो । आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा वर्षे नाचलाई संरक्षण गर्ने दायित्व युवाको काँधमा आएको उहाँको भनाइ छ ।     
     
वर्षे नाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गर्ने चलन छ । खास गरि लाखे नाचमा परापूर्व कालमा समाजमा दुःख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । वर्षे नाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ ।     


_

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१
https://www.jawaaf.com/storage/01J5G1FHK86Y88Q4ECXWQQCRRF.jpg

‘खाद्य, ऊर्जा र जलवायु सङ्कटबाट पार पाउन सामूहिक प्रयास अपरिहार्य’

_

काठमाडौँ, १ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तन, स्रोत र साधनको बुद्धिमत्तापूर्ण प्रयोगबाट अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्रका जनताको हित सुनिश्चित गर्नका साथै आपसी साझेदारी र सहकार्यबाट समुज्ज्वल भविष्य निर्माण गर्न सकिने बताउनुभएको छ ।     
     
भारत सरकारद्वारा श्रव्यदृश्यका माध्यमबाट आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभयो ।     
‘वसुधैव कुटुम्वकम्’को आदर्शअनुरुप ‘दिगो भविष्यका लागि सशक्त ग्लोबल साउथ’ शीर्षकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अवधारणामा आयोजित उक्त सम्मेलन सामयिक भएको बताउँदै प्रधानमन्त्री ओलीले ग्लोबल साउथको अभिमत अभिव्यक्त गर्नुभएकामा आफ्ना भारतीय समकक्षीको सराहना गर्नुभयो ।     
     
विश्वका विभिन्न भागमा फैलिएको द्वन्द्व, खाद्य र ऊर्जा सङ्कट, जलवायु परिवर्तनका असरलगायत विषयले असमान रूपमा विकासशील देशहरूमा गम्भीर चुनौती थपेकाले तिनको सामना गर्न सामुहिक प्रयास अपरिहार्य भएकामा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।     
प्रधानमन्त्री ओलीले ग्लोबल साउथका १५ राष्ट्र तथा सरकारप्रमुखसँगै सम्मेलनलाई सम्बोधन गर्नुभएको हो । तुलनात्मक रूपमा न्यून आर्थिक एवं औद्योगिक विकास गरेका ७८ अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्र ग्लोबल साउथका सदस्य छन् ।    


_

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१
https://www.jawaaf.com/storage/01J5G18AZKQ242RWNPTKQ56T3V.jpg

अलैँची र सुन्तला उत्पादन बढाउनसुपर जोन कार्यक्रम

_

किमाथाङ्का (सङ्खुवासभा), १ भदौः कृषिमा आधुनिक प्रविधि भित्राएर आत्मनिर्भरता बनाउने उद्देश्यले छ वर्षयता कृषि परियोजना सञ्चालनमा ल्याइएको छ । सङ्खुवासभा र भोजपुर दुई जिल्ला समेटेर अलैँची र सुन्तलालाई सुपर जोन क्षेत्र बनाइ कार्यान्वयन गरिएको हो ।     
     
उक्त परियोजनाअन्तर्गत सङ्खुवासभाका १० र भोेजपुरका छ स्थानीय तहमा कार्यक्रम लागु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिनुभयो । अलैँची सुपर जोनतर्फ २३ सय १३ हेक्टरमा र सुन्तला सुपर जोनतर्फ छ सय ८७ हेक्टरमा कार्यक्रम लागु गरिएको उहाँले बताउनुभयो ।     
     
सुपर जोन क्षेत्रमा अलैँची र सुन्तला उत्पादन बढाउन यो वर्ष सिँचाइ पूर्वाधार र सुधारिएको आधुनिक अलैंँची भट्टी निर्माण कार्यक्रम राखिएको परियोजना एकाइ प्रमुख गुरुङले उल्लेख गर्नुभयो । परियोजनाका लागि चालु आर्थिक वर्षमा पुँजीगततर्फ रु २० लाख र चालुतर्फ रु चार करोड ४७ हजार बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।     
     
परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाले चालु आवमा सिँचाइ पूर्वाधार, सुधारिएको आधुनिक भट्टी निर्माण र जडान कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको एकाइ प्रमुख गुरुङले बताउनुभयो । सिँचाइ पूर्वाधार निर्माण गर्न रु ७० लाख, सुधारिएको आधुनिक भट्टी निर्माण र जडानमा रु ४६ लाख, अलैँची बाली प्राथमिक प्रशोधन उद्योग स्थापना गर्न रु २५ लाख, सुन्तलाको भण्डारण गर्न मिनि चिस्यान केन्दै स्थापना कार्यक्रमका लागि रु २१ लाख र सुन्तला बालीको क्षेत्र विस्तारमा रु २१ लाख विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । चालु आवमा अन्य २४ कार्यक्रमसमेत पारित भएका छन् ।     
     
अलैँची सुपन जोन कार्यक्रम सङ्खुवासभाका १० स्थानीय तहअन्तर्गत ३२ वडा र भोजपुरका छ स्थानीय तहअन्तर्गत ३० वडामा सञ्चालन गरिएको मा छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले अलैँची, सुन्तला, धान, मकै, गँहु, आलु, सागसब्जी र माछालगायत कृषि क्षेत्रमा किसानलाई सहयोग पु¥याउँदै आएको छ ।     
 

_

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१
https://www.jawaaf.com/storage/01J5G122HGVJG3C7RC2DNANWQ0.jpg

गर्पाछेडाको लोभलाग्दो सुन्दरता, पाहुनाका लागि ‘गोठ स्टे’

_

म्याग्दी, १ भदौ : पहाडको टुप्पोमा भिरालो पाखा । जता हेरे पनि कार्पेट बिछ्याएझै देखिने हरियाली । पाखामा फुलेका रंगी बिरंगी फुल । तल हेर्दा देखिने हरियाली जंगल र फेदीको फाँट । वरपर देखिने थुम्का, थुम्की ।     
     
चरनमा रमाइरहेका गाईभैसी, भेडाबाख्रा र घोडाका बथान । गाईबस्तुको घाँटीमा झुण्डीएका घाडो (घण्टी)को एकनाशको आवाज । शीतल हावापानी । एकान्त वातावरण । छिन छिनमा फेरिरहने मौसम । घाम, पानी र बादलको लुकामारी ।     
     
बिहानीपख सुर्योदय, साँझमा सुयास्त, पृष्ठभूमिमा लहरै रहेका सिस्ने देखि मनास्लु सम्मका हिमालहरुको मनमोहक दृष्य । बादल हट्दा देखिने निलो आकाश । समुन्द्रि सतहदेखि चार हजार १० मिटरको उचाईमा रहेको पुर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछेडा पुग्दा कुनै चित्रकारले मेहनत गरेर बनाएको क्यानभास अवलोकन गरेझै आभास हुन्छ ।     
     
काठमाडौका आशिस सिलवालले गर्पाछेडामा रहेका गोठालाहरुको जिवनशैली नियाल्दै प्रकृतिको सुन्दरतामा तीन दिन बिताउनुभयो । “लोप हुदै गएको घुम्ति गोठ र पशुपालन गर्ने परम्परागत चलनको अध्ययन गर्ने अवसर पाइयो,” उहाँले भन्नुभयो “जता फर्केर हेरेपनि देखिने मनमोहक दृष्यले समय बितेको पत्तै भएन् ।”     
     
यहाँबाट सिस्ने, पुथा, गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । ढोरपाटन शिकार आरक्षको पहाडी भूगोलको मनमोहक दृष्यका साथै बुकीको चरनमा रमइरहेका भेडा, बाख्रा, घोडा, गाईभैसीका बथानहरु थप आकर्षण हुन् ।     
     
शान्त वातावरण र चिसो हावापानीमा रमाउन पाइने गुल्मीको चन्द्रकोट गाउँपालिकाबाट आएका रमेश क्षेत्रीले बताउनुभयो । बादल, घाम र पानीको लुकामारीसँगै पाखाभरी रंगीबिरंगी फुलेका बुकीमा रमाउन पाउँदा उमंगको अनुभूति हुने उहाँले सुनाउनुभयो ।     
     
ढोरपाटनको पाखाथरदेखि तीन घण्टा उकालो हिडेपछि पुगिने गर्पाछेडा पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका र डोल्पाको सदुरमुकाम जाने परम्परागत पैदलमार्गमा पर्दछ । किसानहरुले बर्खा याममा पोषिलो घाँस खुवाउन गर्पाछेडा, टिकाडाडा, रासबन, दहखर्कमा घरपालुवा पशुचौपायाको गोठ लगेका छन् ।     
     
पाहुनाका लागि ‘गोठ स्टे’     
     
गर्पाछेडामा पुग्ने पाहुनाहरुका लागि ‘गोठस्टे’ सञ्चालन गरिएको छ । होटल र होमस्टे सञ्चालन गर्न सम्भव नभएको विकट ठाउँको गोठस्टेले पर्यटकलाई सुविधाका साथै गोठालाहरुलाई अतिरिक्त आम्दानीको स्रोत बनेको छ । ‘ब्लु सिप गोठ स्टे’का सञ्चालक सन्देश थापाले पाहुनाहरुलाई घुम्ती टहरा र गोठमा खाजा, खाना खुवाउने र बास बस्ने व्यवस्था मिलाएको बताउनुभयो ।     
     
“नाउर र झारलको बथान अवलोकन गर्न सकिने भएकाले गर्पाछेडाको ‘गोठ स्टे’लाई ब्लु सिप नामाकरण गरिएको हो,” उहाँले भन्नुभयो “जंगली जनावर, पंक्षी, पहाडी भूगोल, वनजंगल, हिमाल, सुर्योदय र सुर्यास्तको मनमोहक दृष्यका साथै गोठालाहरुको जिवनशैली र दैनिकी अवलोकन गर्न पाउने यहाँको आकर्षण हो ।”     
     
गाईभैसीको दूध, दहि, मोही, घ्यु, भेडा, बाख्राको मासु, निगालोको टुसा, रातो च्याउको तरकारी, ढिडो, आटो पकाएर पाहुनालाई खुवाउने गरेको थापाले बताउनुभयो । छुट्टै बस्नेहरुका लागि टेन्ट पनि राखिएको छ । बर्खामा बुकीमा गोठ लगेको समयमा मात्र त्यहाँ गोठ स्टे सञ्चालन हुन्छ ।     
     
चिसो बढेपछि गोठ वेसीतर्फ झर्छन । प्रतिव्यक्ति रु. दुई हजार शूल्कमा २ छाक खाना, २ छाक खाजा र सुत्न पाइन्छ । शुक्रबार, शनिबार र बिदाका दिन १४÷१५ जनासम्म पाहुना आउने गोठ स्टे अन्य दिन पनि खाली हुदैन् । गोठ स्टेमा २० जनाको क्षमता छ ।     
     
ढोरपाटन पर्यटन विकास संस्थाका सचिव जीवनकुमार पुनले गर्पाछेडामा खानेपानी, सार्वजनिक शौचालय र सञ्चार सुविधाका लागि स्थानीय तह, शिकार आरक्ष र प्रदेश सरकारसँग पहल गरिएको बताउनुभयो । ढोरपाटन आउने पर्यटकको बसाई लम्बाउने गर्पाछेडा, किटिनी डाडा, जलजलालाई नयाँ गन्तव्यको रुपमा विकास गरेको उहाँले बताउनुभयो ।   


_
 

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१
https://www.jawaaf.com/storage/01J5G0NFJSKC77PBH6Y1271RNK.jpg

‘हुक्काभित्र ट्वार्र ! ट्वार्र !’ सार्वजनिक

_

काठमाडौँ, १ भदौ : गीतकार रामबाबु सुवेदीका शब्द र वसन्त सापकोटाको सङ्गीतमा बालगीत ‘हुक्काभित्र ट्वार्र ! ट्वार्र !’ को श्रव्यदृश्य सार्वजनिक भएको छ ।     
     
“हुक्काभित्र ट्वार्र ! ट्वार्र ! चेतनामूलक बालगीत हो । यसमा हाम्रा नानीबाबुहरू प्रश्न गर्छन् कि तमाखु, चुरोट, खैनी किन सेवन गर्ने ? यी सबै स्वास्थ्यका लागि हानिकारक छन् । उनीहरू भन्छन्, हामी नानीबाबुहरू अम्मली छैनौँ, हामी स्वस्थ नेपालका स्वस्थ बालबालिका हौँ । नानीबाबुहरूका सत्य भनाइ हाम्रा लागि अचुक वाण हुन्”, भिडियोमा भनिएको छ ।     
     
बाल नमूना माध्यमिक विद्यालयमा शुक्रबार भएको एक कार्यक्रममा पूर्वसांसद माया ज्ञवाली, ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य, वरिष्ठ सङ्गीतकार एवं गायक रामेश श्रेष्ठ र अनन्त वाग्लेलगायत बालसाहित्यकारको उपस्थितिमा उक्त भिडियो सार्वजनिक गरिएको हो ।     
     
उक्त भिडियोमा पूजा देवकोटा, दर्शिल पन्त, टेरेसा विश्वकर्मा र प्रशन्न तामाङको स्वर रहेको छभने यसको निर्माणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहयोग गरेको छ । भिडियोमा बाल नमूना माध्यमिक विद्यालयका नानी बाबुहरूको नृत्य र अभिनय छ । आचार्य गोपालको निर्देशनमा बनेको भिडियोमा ख्यातिप्राप्त कलाकार रामचन्द्र अधिकारीले पनि अभिनय गर्नुभएको छ ।     


_

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१
https://www.jawaaf.com/storage/01J5FNYRJ4QPWNB0HR89HD1Y0J.webp

चीनको युवा बेरोजगारी दरमा वृद्धि

_

बेइजिङ, १ भदौ (रासस / एएफपी) :  चीनको युवा बेरोजगारी दर जुलाई महिनामा बढेर १७.१ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ जुन यस वर्षकै सबैभन्दा उच्च हो ।     
     
राष्ट्रिय तथ्याङ् विभागको तथ्याङ्क अनुसार १६–२४ वर्ष उमेर समूहका मानिसहरुको बेरोजगारी दर जुन महिनामा १३.२ प्रतिशत रहेको थियो । युवाहरूमा बढ्दो बेरोजगारी विश्वको अर्थतन्त्रले सामना गरिरहेको अवरोधहरू मध्ये एउटा हो ।  एनबीएसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशमा २५–२९ वर्ष उमेरका युवामा बेरोजगारी दर अघिल्लो महिना ६.४ प्रतिशतबाट बढेर जुलाईमा ६.५ प्रतिशत पुगेको छ ।     
     
यसै सन्दर्भमा राष्ट्रपति सी जिनपिङले मे महिनामा बढ्दो युवा बेरोजगारीको अवस्थालाई “शीर्ष प्राथमिकता“ राखेर अगाडी बढ्नु पर्ने बताउनुभएको छ । जुन महिनामा ११.८ मिलियन विद्यार्थीहरूले चीनको विश्वविद्यालयबाट स्नातक गरेसँगै रोजगार बजारमा अझै प्रतिस्पर्धा बढेको छ ।    


_

Subscribe to JawaafTV : श्रव्यदृश्यमा हरपलको खबर जवाफ टिभी मा...

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१
https://www.jawaaf.com/storage/01J5FNH8QQG452JX6M9Y1YZ921.jpg

भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो : अध्यक्ष दाहाल

_

काठमाडौँ, १ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको समापनपछि पार्टी झन् एकताबद्ध भएको स्पष्ट पार्नुभएको छ । पोष्टबहादुर बोगटीको नवौँ स्मृति दिवसका अवसरमा आज केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उहाँले पार्टीभित्रका शङ्का, उपशङ्का, विवाद र मतभेदलाई कसरी समाधान गरेर पार्टीलाई एकताबद्ध गर्ने र जनतामा जाने भन्ने विषयमा छलफल भएको बताउनुभयो ।     
      
  “स्थायी समिति बैठकसम्म आइपुग्दा उपमहासचिव जनार्दन शर्माले राख्नुभएको मतलाई लिएर पार्टी विभाजन हुन्छ भनेर सुनाउने गरेका थिए”, अध्यक्ष दाहालले भन्नुभयो, “ पार्टी बैठकको अन्त्यसम्म आइपुग्दा पार्टी विभाजन गर्ने नेता शर्माको कुनै उद्देश्य र नियत छैन, यससम्बन्धमा स्वयम् उहाँले नै स्पष्ट पार्नुभएको छ, कसैलाई पार्टी विभाजन हुन्छ भन्ने आशङ्का छ भने त्यसबाट मुक्त हुन देशभरका नेता कार्यकर्तालाई आग्रह गर्दछु ।”     
      
  स्थायी समितिको बैठकमा छलफलका क्रममा नेता शर्माले अरूले मौखिक धारणा राखेजस्तै आफूले लिखित रूपमा धारणा राखेका तर आफ्नो मत फरक नरहेको स्पष्ट पारेको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “शर्माले नेतृत्वलाई स्थापित गर्नकै लागि हो भनेर भन्नुभएको छ । उहाँले फरक मत भन्नुभएको छैन । उहाँको दस्ताबेजलाई पनि समेटेर पार्टी अगाडि जान्छ ।”     
      
  पार्टी एकताबद्ध भएर अगाडि बढ्ने जनाउँदै उहाँले भन्नुभयो, “पार्टी विभाजनको चर्चा बाहिर भएको भए पनि पार्टी स्थायी समिती बैठकमा आउँदा त्यो क्लियर भएको छ ।त्यो आंशका मैले लिए पनि अरूले लिए पनि त्यो निराधार भएको कुरा क्लियर भए हुन्छ ।”     
      
  अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको दाबी गर्नुभयो । “पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ । भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा महत्वपूर्ण काम भएका छन्, बजेट निर्माणमा पनि उत्पादनमा जोेड दिन खोजिएकोे छ । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो,” उहाँले भन्नुभयो ।     
      
  अध्यक्ष दाहालले साधारण किसान परिवारमा हुर्केर ठूलो राजनीतिक उचाइ हासिल गर्नुभएका बोगटीको व्यक्तित्व र चरित्रले सिङ्गो समाजलाई नै प्रभावित पार्न सक्ने अवस्था रहेको स्मरण गर्नुभयो । “बोगटी पार्टीको नेतृत्वमा आउने र मन्त्री बन्ने मात्र होइन, आफ्नो विशेषता र चरित्रद्वारा सिङ्गो समाजलाई प्रभावित गर्नुभयो”, उहाँले भन्नुभयो, “पार्टी अप्ठ्यारो अवस्थामा पुगेको अवस्थामा सम्पूर्ण जिम्मेवारी बोगटीलाई लगाइन्थ्यो, उहाँले त्यसलाई सफल बनाउनुहुन्थ्यो । ”     
      
  बोगटीले पार्टी लाइन र नेतृत्वप्रति आशङ्का गर्ने कहीँकतै भूमिका नखेलेको स्मरण गर्दै अध्यक्ष दाहालले पार्टी नीतिलाई परिमार्जित गर्ने र नेतृत्वलाई अझ बलियो बनाएर लैजानेमा उहाँ बढ्ता केन्द्रित हुने चर्चा गर्नुभयो । “पार्टीभित्र नेतृत्वलाई समझदारीमा ल्याउने काम निरन्तर गरिरहनुभयो”, उहाँले भन्नुभयो ।     
      
  वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीलाई साङ्गठनिक रुपमा एकताबद्ध तथा वैचारिकरुपमा क्रान्तिकारी बनाउन सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई थप बलियो बनाएर लैजानेमा सिङ्गो स्थायी समिति एकमत भएको उल्लेख गर्दै पार्टी नेतृत्वलाई बलियो बनाएर लैजाने सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।     
      
  वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीभित्रका वैचारिक असमझदारी र अन्तरसङ्घर्षलाई सही ढङ्गले विश्लेषण गरेर पार्टीलाई झन् एकताबद्ध बनाउन बोगटीले खेल्नुभएको भूमिका अतुलनीय रहेको बताउनुभयो ।     
      
  प्रतिष्ठानका अध्यक्ष वर्षमान पुनले दिवंगत नेता बोगटीको योगदानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतिष्ठान क्रियाशील रहेको स्पष्ट पार्नुभयो । प्रतिष्ठानले आगामी दिनमा वैचारिक विषयलाई कार्यकर्ता र जनताका बीचमा लैजाने उहाँले जानकारी दिनुभयो ।    


_


Subscribe to JawaafTV : श्रव्यदृश्यमा हरपलको खबर जवाफ टिभी मा...

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१
https://www.jawaaf.com/storage/01J5FCKJCYD7HMACM2WFF68T1Q.jpg

ललितपुरको ऐतिहासिक अदालत भवन पुनःनिर्माण हुँदै

_


ललितपुर, १ भदौ : ललितपुरको पाटनस्थित विश्वसम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालत भवन पुनःनिर्माण हुने भएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको उक्त भवनको पुनःनिर्माणको काम अघि बढेको छ ।     
     
 जिल्लास्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी लीला पाठकका अनुसार २०७२ सालको भूकम्पपछि जीर्ण बन्दै गएको ऐतिहासिक अदालत भवन अहिले प्रयोगविहीन अवस्थामा छ । जीर्ण बन्दै गएपछि घाँसले ढपक्कै ढाकेको उक्त भवनको तल्लो कोठामा यसअघि इलाका हुलाक कार्यालय सञ्चालित थियो । हाल सो भवन पुनःनिर्माण हुने भएपछि इलाका हुलाक कार्यालय अर्को ठाउँमा सारिएको छ ।     
     
 भारतीय दूतावासको सहयोगमा पुनःनिर्माण हुन लागेको सो भवन पुनःनिर्माणको सबै प्रक्रिया सकिएर अबको केही दिनमा काम सुरु हुने उहाँले बताउनुभयो । “हाल जीर्ण अवस्थामा रहेको भवनभित्र रहेका समान सुरक्षितसाथ अर्को ठाउँमा सारिएको छ । अबको केही दिनमा काम सुरु हुन्छ”, सूचना अधिकारी पाठकले भन्नुभयो । जीर्ण भवन नेपालको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (१९५६) अनुसार निर्माण गरिनेछ । भवनको संरक्षण नीतिअन्तर्गत उक्त भवन पुनर्निर्माणका लागि प्रस्ताव गरिएको पुरातत्व विभागले जनाएको छ ।     
     
 पुनःनिर्माणका लागि काम सुरु हुन थालेको ऐतिहासिक अदालत भवन १९९० सालको भूकम्प अगाडि तीन तलाको रहेको पाइएकाले पुरानै स्वरुपमा भवन निर्माण गर्न नक्सा पास भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।  


_


Subscribe to Now : श्रव्यदृश्यमा हरपलको खबर जवाफ टिभी मा...

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१
https://www.jawaaf.com/storage/01J5FC1Z6JV7MT9KJQ4T06XTK8.jpg

खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

_


सोलुखुम्बु, १ भदौ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।     
     
 जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ । बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।     
     
 नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ । बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ ।     
     
 उक्त बाढी भोटेकोसी हँुदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ । बाढीले कोसी आसपासका क्षेत्र कटान गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पक्की मोटरेबल पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।     
     
 पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ । प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, “बाढीले जिल्लाको तल्लो क्षेत्रमा पनि क्षति पु¥याएको खबर छ, सोताङ र थुलुङ दूधकोसी जोड्ने दिप्लीघाटस्थित दूधकोसी नदी छेउमा राखिएको बेलीबृजको सामान बगाएको छ, नदी आसपासका बस्तीमा पनि सामान्य क्षति पुगेको छ । बाढी आउनुको कारण खुल्न सकेको छैन ।”     
     
 खुम्बु क्षेत्रबाट उक्त बाढी हिमताल फुटेर आएको हुनसक्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । कुन हिमताल फुट्यो भन्ने यकीन नभएको उहाँको भनाइ छ । बाढीले गाउँ नै बगाएको स्थानको स्थलगत निरीक्षणमा रक्षामन्त्री मानवीर राईसहित विपत् व्यवस्थापन समितिको टोली आज आउने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।     


_


Subscribe to Now : श्रव्यदृश्यमा हरपलको खबर जवाफ टिभी मा...

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१