शुक्रबार, ०४ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01J75C7HG2WG66BCV2T106VWH6.jpg

चाडपर्व नजिकिएसँगै कृषिउपज बजारमा चहलपहल बढ्यो

advertisement

धरान (सुनसरी), २२ भदौ : चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीणक्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् ।     
     
धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आउनुभएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आएको थिए, अब दुईवटा मात्र बिक्री गर्न बाँकी छन्”, लिम्बूले भन्नुभयो, “खसीबोका रु पाँच हजारदेखि रु २५ हजारसम्ममा बिक्री गरिरहेको छु ।”     
     
लिम्बूले खसीबोका बिक्री गर्न विराटनगर, दुहवी, इनरुवा, इटहरी, तरहरासम्म लैजाने गर्नुभएको छ । “व्यापारको टुङ्गो हँुदैन कहिले घाटा लाग्छ कहिले नाफा हुन्छ, तर यही व्यवसायबाट घरपरिवारका लागि खर्च भने मज्जाले पुग्छ”, उहाँले भन्नुभयो ।     
     
पाँचथरकी किसान रीता राईले धरानस्थित कृषि बजारमा खसीबोका बिक्री गर्न सधैँ आउने गरेको सुनाउनुभयो । खसीबोका गाडीबाट लिएर बिक्रीका लागि बुधबार नै धरान झरेको उहाँले बताउनुभयो । राईले मासिक रु पाँच लाखभन्दा बढीको खसीबोका बिक्री गर्ने गरेको बताउनुभयोे । उहाँले भन्नुभयो, “पुख्र्यौली पेसा खेती किसानी हो, तर विगत ६ वर्षदेखि मैले व्यवसाय सुरु गरेकी छु ।” प्रत्येक हप्ता धरानमा ३० देखि ३५ वटासम्म खसीबोका बिक्रीका लागि ल्याउने गरेकी र कहिलेकाहीँ बिक्री नभएर फेरि फर्काएर घरै लैजानु परेको उहाँ बताउनुहुन्छ । खेती किसानीभन्दा खसीबोका व्यवसाय राम्रो रहेको उल्लेख गर्दै राईले घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि नाफा नै हुने गरेको बताउनुभयो ।     
     

advertisement


धरान उपमहानगरपालिका–१७ का व्यापारी पर्शुराम बस्नेत प्रत्येक साता कृषि बजारमा खसीबोका किन्न आउनुहुन्छ । पन्ध्र वर्षको उमेरदेखि यो व्यवसाय सूरु गरेको उहाँले बताउनुभयो । प्रत्येक साता एक सयदेखि एक सय ५० सम्म खसीबोका खरीद गरी दैनिक ५० वटासम्म बिक्री गर्ने गरेको बस्नेतले बताउनुभयो ।     
     
“धरान कृषि बजारमा खरिद गरिएका खसीबोका राख्न राम्रो सुविधा छ, अरू ठाउँमा यस्तो सुविधा छैन । खरिद गरिएको खसीबोका राख्न यहाँ राम्रो खोरको व्यवस्था छ”, बस्नेतले भन्नुभयो । यहाँबाट किनेका खसीबोका बिक्रीका लागि अन्य जिल्ला लैजाने गरेको उहाँको भनाइ छ । काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवालगायत ठाउँमा खसीबोका बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । सबै खर्च कटाएर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म नाफा हुने गरेको बस्नेतको भनाइ छ ।     
     
चाडपर्व नजिकिएसँगै बिहीबार र शुक्रबार लाग्ने उक्त खसी बजारबाट सातामा करिब पाँच हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेको कृषिउपज बजार व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार धरान कृषिउपज बजारबाट प्रत्येक वर्ष रु दुई अर्बको खसीबोकाको कारोबार हुने गरेको छ । अध्यक्ष भट्टराईले भन्नुभयो, “वार्षिक एक लाख ६० हजार वटा खसीबोका बिक्री हुने गरेको छ ।” धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमका साथै तराईका इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत स्थानबाट किसान तथा व्यापारी खसीबोका किनबेचका लागि यहाँ आउने गरेका छन् । यहाँबाट मुलुकका ठूला सहरका साथै भारतमा समेत खसी बोका बिक्री गर्न लैजाने गरिएको उहाँले जानकारी दिनुभयो । 


advertisement

प्रकाशित मितिः शनिबार, २२ भदौ २०८१
https://www.jawaaf.com/storage/01J730CHJWRNX8XHQ474NJDX54.jpg

बाजुराको खप्तड छेडेदहमा बालविवाह विरुद्ध नाटक

advertisement

काँडाबाजुरा (बझाङ), २१ भदौः सामाजिक सञ्जालको देखासिकीमा चिनजान । कलिलैमा विवाह । त्यसपछि श्रीमान्को दिनचर्या मदिरामा । बिरामीले थला परेकी दुईजीउकी श्रीमती धामीको शरणमा । स्वास्थ्यचौकी पुग्दा बच्चा मर्नु, परिवार तथा गाउँलेको रुवावासी र पछुतो ।     
     
बालविवाहमा परेकी बालिकाले खेप्नुपरेको दुःख र भोग्नुपरेको पीडा समेटेर खप्तड छेडेदह गाउँपालिका–१ काँडा वडा कार्यालयमा प्रदर्शन गरिएको सडक नाटक हेरेका स्थानीयका आँखा रसाए । बालविवाहलाई मलजल गरिरहेको सामाजिक सञ्जाल र मदिरा सेवनबारे कलात्मक रूपमा प्रस्तुत गरिएको थियो । नाटकमा सानै उमेरमा गर्भवती भएर बच्चा जन्माउनु, पढाइ छाड्नु, पारिवारिक बेमेलले तहसनहस भइरहेको परिवारमा विवश किशोरीले भोगेका सास्ती देखाइयो ।     
     
नाटकमा श्रीमतीको भूमिका निर्वाह गर्नुभएकी जानकी रावलको बालविवाहले पढाइ छुटेको, घरमा खाना पकाउन नजानेर घरपरिवारले गालीगलौज गर्दै हेला गरेको, सानैमा गर्भवती बनेर बच्चा जन्माउन नसकेर बच्चा खसेको, अत्यधिक रक्तश्राव भएर मृत्युको मुखमा पुगेको घटनाले बालविवाह गर्न बाध्य किशोरकिशोरीको चित्र नाटकमा उतार्दा आँसु नरोकिएको स्थानीय रमिला रोकायाले बताउनुभयो ।     
     
नाटकमा देखाएकै कुरा धेरैका जीवनमा मेल खाएको उहाँले बताउनुभयो । काँडामा उच्च रहेको बालविवाह न्यूनीकरणका लागि यो नाटकले धेरै नै सहयोग पुग्ने रमिलाले विश्वास व्यक्त गर्नुभयो । दुर्गा भवानी आधारभूत विद्यालयकी शिक्षिका यशोदा रावलले गाउँमा भइरहेको बालविवाहलाई न्यूनीकरण गर्न सबैलाई जानकारीस्वरुप तिज कार्यक्रममा मौका छोपेर नाटक प्रदर्शन गरेको बताउनुभयो ।     
     
एघारजना बालिकाले बेहुला, बेहुली, बेहुलाका आमा बुबा, धामी, पुरोहित, डाक्टर, छिमेकी, मदिरा पसले भएर अभिनय गरेका थिए । “हरेक गाउँमा आफ्नै उमेरका केटमकेटीले पनि विवाह गरेर अलपत्र परेका देखिन्छन्”, कक्षा ८ मा अध्ययनरत बालिका जानकी रावलले भन्नुभयो, “बालविवाह गरेर सानै उमेरमा बच्चा पाउँदा दुवैको ज्यान गएका घटना पनि छन् । त्यसैले उमेर नपुग्दै विवाह नगरुन् भनेर नाटक देखाएका हौँ ।” यसले वडावासी केही सचेत हुनेछन् भन्ने विश्वास लिएको उहाँले बताउनुभयो ।     
     

advetisement



नाटकको सन्देशले तिज कार्यक्रममा घेरिएका महिला–पुरुष निकै सोचमग्न भएका थिए । नाटक हेरिरहनुभएका स्थानीय सचिन रोकायाले भन्नुभयो, “यहाँ बालविवाह भन्ने कुनै मतलब हुँदैन । तर, त्यसको असर भने घरपिच्छे देखिन थालेको छ, धेरैले भोगिरहेका पनि छन् ।”     
     
पहिले बुबाआमाले बिहे गराइदिने गरेका थिए भने आजभोलि आफैँ फोन गरेर बिहे गर्न थालेको सचिनले बताउनुभयो । “नयाँ पिँढीमा नयाँ कुरा सिक्नुपर्नेमा मोबाइल फोन तथा फेसबुकले धेरै बिगारेका छन्”, उहाँले भन्नुभयो, “विभिन्न गाउँमा १२ पास गरेर बिहे गर्ने धेरै कम छन् । एसइई पुग्दानपुग्दै बिहेवारी गर्ने र पछि हिंसाको सिकार भइरहेका छन् । अहिले यो रोक्न हामी सबै लागिपरेका छौँ ।” यस्तो अवस्था कम होस् भन्नका लागि नानीहरूले गरेको नाटक निकै सन्देशमूलक रहेको उहाँले बताउनुभयो ।     
     
काँडामा बालविवाह धेरै नै भएको हुँदा त्यसलाई रोक्न सरकारी निकायमात्रै नभई विभिन्न सङ्घसंस्थाले पनि काम गरिरहेका छन् । वडाध्यक्ष वीरबहादुर रावलले भन्नुभयो, “बालविवाह रोक्न सबैजना आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ । हामीले कहिले छुट्टै त कहिले सङ्घसंस्थासँगको समन्वयमा गाउँगाउँमा सचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ ।” केही हदसम्म कम भएको उहाँले बताउनुभयो ।     
     
तिज प्रतियोगितामा साविकको काँडा गाविसका सबै वडाबाट महिलाले संस्कृति जोगाउन नृत्य प्रदर्शन गर्नुभएको थियो । वडा कार्यालय र गरिमा परियोजनाद्वारा सञ्चालित ग्रीन तारा नेपालको सहयोगमा तिज प्रतियोगिता गरिएको ग्रीन ताराकी सामाजिक परिचालक मनिता सुनारले बताउनुभयो ।    


advertisement
 

प्रकाशित मितिः शुक्रबार, २१ भदौ २०८१
https://www.jawaaf.com/storage/01J72Q15T7VF6HYZ0KE7DXRBX1.jpg

तिज पर्वः महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज

advertisement

काठमाडौँ, २१ भदौः हिन्दू नारीको महान् पर्व हरितालिका तिजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ ।

पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तिजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको हो ।

नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष रक्षा बस्याललाई महिला स्वतन्त्रताका दिनका रूपमा आवाज उठाउँदै आएको पर्वलाई आपसी प्रेस र सद्भावका रूपमा मनाउनुपर्छ भन्ने लाग्छ । “आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्छ, श्रीमान्का लागि व्रत बस्नेभन्दा पनि यो पर्वले परिवारमा आपसी सद्भाव कायम गर्छ”, उहाँले भन्नुभयो, “व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो, बस्नैपर्छ भन्ने पनि छैन, पारिवारिक भेटघाट, रमाइलो मोहल तयार हुन्छ, त्यो राम्रो हो ।”, उहाँलाई तिज महिलाले मात्रै मनाउनुपर्छ भन्दा पनि राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने भन्ने लाग्छ ।

अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकाभद्र हमालको बुझाइमा महिलाको स्वतन्त्रताका दिनका रूपमा हिन्दू महिलाले मनाउँदै आएको राष्ट्रिय पर्व तिज हो । “पहिला अहिलेजस्तो सडक सुविधा थिएन, टाढा विवाह गरेर पठाउने चलन थियो, एक दिन तिजमा बोलाएर खुवाउनुपर्छ भन्ने थियौ”, उहाँले भन्नुभयो, “घरमा भोगेका पीडा माइतीघरमा आएर सासू, देउर, जेठानी, नन्द, आमाजुले दिएको दुःख गीतमार्फत गाउँथे, अहिले महिला सशक्तीकरणको राम्रो दिन बनेको छ ।”

यो पर्व मनाउँदै गर्दा महिला सचेत भएर निरंकुशताविरुद्ध, समाजमा भएका महिलामाथि हुने हिंसाविरुद्ध, सामाजिक रुपान्तरण र चेतनाका गीत गाउन थालेको उहाँको अनुभव छ । “समाज परिर्वतशील छ, महिलाका साझा सवालका विषयमा तिजलाई मनाउनुपर्छ, महिला एकजुट हुनुपर्छ”, नेतृ हमालले भन्नुभयो, “महिलाले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप उपलब्धि हासिल गर्ने विषयमा गीत गाउनुपर्छ ।” महिलाले खाएर नाचेरमात्र पर्वको सार्थकता नहुने र महिलाको हकअधिकारको आवाज उठाउने, क्षमता अभिवृद्धि गर्ने र आयआर्जन गर्ने खालका काम गर्नुपर्छ भन्ने उहाँको ठम्याइ छ ।

advertisement


सञ्चारकर्मी तथा महिला अधिकारकर्मी बन्दना राणाले तिज पर्वलाई समानता, सशक्तीकरण र सहअस्तित्वको उत्सवका रूपमा नौ वर्षदेखि ‘तिज उत्सव’ मनाउँदै आउनुभएको छ । यस वर्ष उहाँले सुदूरपश्चिमको कञ्चनपुरमा तिज संवाद गर्नुभएको छ ।

“तिज पर्वलाई महिला सशक्तीकरण, समानता, सद्भावको उत्सवका रूपमा मनाउनुपर्छ”, संयुक्त राष्ट्रसङ्घको महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सीड) कमिटीका सदस्य राणाले भन्नुभयो, “नेपाली संस्कृतिको कुरीतिहरूलाई हटाउँदै संस्कृति र प्रथाको गर्व गर्दै राम्रो पक्षलाई अगाडि लैजानुपर्छ भनेर तिज संवाद मनाउन लागिएको हो ।”

उहाँलाई तिज पर्व महिला स्वतन्त्रताको दिनका रूपमा मनाउने तरिका राम्रो लाग्ने उल्लेख गर्दै थप्नुभयो, “पृत्तिसतात्मक सोचका कारण महिलालले स्वतन्त्रता एकदम कम हुन्छ, सहरी महिलालाई मात्र हेरेर हुँदैन, गाउँगाउँमा महिलाको अवस्था अहिले पनि उस्तै छ, महिला पनि एक दिन माइत आउँन, आफ्ना आमा, दिदीबहिनी, साथीभाइसँग भेट्न पाउनु राम्रो हो ।”

महिला सशक्तीकरण र सद्भावका लागि पर्व असाध्यै राम्रो रहेको र गाउँगाउँमा धेरै महिला माइत जान पाउनु, दिदीबहिनी रमाउन पाउनु असाध्यै खुसीको कुरा भएको राणाको भनाइ छ । “एउटा वर्गले श्रीमान्का लागि व्रत बस्ने भन्ने पनि छ, हुन त व्रत बस्दा स्वास्थय पनि राम्रो हुन्छ, तर लहैलहैमा व्रत बस्न जरुरी छैन, करकापमा व्रत बस्न भएन”, उहाँले थप्नुभयो, “महिला सशक्तीकरण, समानता र सदभावका दृष्टिकोणले पर्व असाध्यै राम्रो हो ।”

संस्कृतिविद् डा शोभा ढुङ्गानाका अनुसार पहिला हिन्दू नारीले मात्र तिज मनाउने भए तापनि अहिले सबै धर्म, समुदायका महिलाले मनाउने गरेको र मुलतः महिलाको पुनःमिलनको पर्व हो । उहाँले भन्नुभयो, “महिलाबीच वर्षमा एक दिन भए पनि एकापासमा भेटघाट हुने अवसर मिलेको छ, संस्कृतिको प्रसार भएको छ, महिलाले खुसी साट्न पाएका छन् । केही विकृति पनि छ, त्यसलाई कम गरेर संस्कृति, स्वतन्त्रता दिवस र महिलाको पुनःमिलनको पर्वका रूपमा मनाउनुपर्छ ।”

डा ढुङ्गानाका अनुसार परम्पराअनुसार श्रीमान्को दीर्घायुको कामना गरी व्रत बस्ने, माइतमा आमा, दिदीबहिनीसँग भेटघाट गर्ने, दुःखसुखका भावना आपसमा बाँड्ने रूपमा मनाउँदै आए पनि स्वस्थानी व्रत कथाको सुरु भएपछि हरितालिका तिजको महत्व अझ बढ्दै आएको पाइन्छ । तिज पर्व महिलाको पर्व भएकाले आपसमा सौहार्दपूर्ण तरिकाले, तडभडक नगरी, महिलाको स्वतन्त्रता, सशक्तीकरण र समग्र महिलाको हितको विषयसँग पर्वलाई जोड्न जरुरी छ ।


advertisement

प्रकाशित मितिः शुक्रबार, २१ भदौ २०८१
https://www.jawaaf.com/storage/01J70A0G6JSCZEP6AQ0WD6WF8T.jpg

उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनसान

advertisement

बलेवा (बागलुङ), २० भदौः भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत मङ्गलबार चालक र सहचालकलाई टीका लगाए बसपार्कको शुभारम्भ गर्नुभएको थियो ।     
     
 बागलुङ नगरपालिका–४ दावगह्मा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो । व्यवसायी विष्णुराज पन्तले असुरक्षाका कारण व्यवसायीले बसपार्कमा बस राख्न नसकेको बताउनुभयो । “बस ठोकिन्छ, कसरी त्यहाँ बस जान्छ र खै ?”, उहाँले आश्चार्य व्यक्त गर्दै भन्नुभयो, “नगरले सुरक्षा दिनुप¥यो नी, अनि मात्र ठूला सवारी गन्तव्यमा पुग्छन् ।”     
     
 बसपार्क सञ्चालनमा ल्याएको नगरले भने व्यवसायीसँग सम्झौताको काम बाँकी रहेकाले केही दिन लाग्ने जनाएको छ । “व्यवसायीसँग सम्झौता भएको छैन, हामी छलफलमै छौँ, एक दुई दिनमा काम टुङ्गो लाग्छ”, नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भन्नुभयो, “एक दिन नचल्दैमा बसपार्क बन्द भयो भन्न मिल्दैन ।” उहाँले बसपार्कलाई दिगो बनाउनका लागि यातायात व्यवसायीसँग लिखित रुपमा सम्झौता गरेर अघि बढ्ने योजना सुनाउनुभयो ।     
     
 निर्माण प्रक्रिया सुरुआत गरेको २३ वर्षपछि बागलुङ बसपार्क सञ्चालनमा ल्याइएको थियो । बसपार्क निर्माणका लागि नगर विकास कोषबाट रु आठ करोड ७० लाख ऋण लिइएको थियो । बसपार्कमा ८० ठूला बस, १० माइक्रोबस एकैसाथ राख्न सकिन्छ ।     

advertisement

प्रकाशित मितिः बिहिबार, २० भदौ २०८१
https://www.jawaaf.com/storage/01J6YE1JWFBRS990YVADVBX8YY.jpg

काठमाडौँ महानगरपालिकाद्वारा पलेशालाई नगद पाँच लाखसहित सम्मान

advertisement

काठमाडौँ, १९ भदौ : काठमाडौँ महानगरपालिकाले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ । पारा ओलम्पिक     
     
महानगरपालिका कार्यालय काठमाडौँ प्लाजामा आज आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सम्मानपत्र तथा उपप्रमुख सुनिता डङ्गोलले पलेशालाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो ।     
     
सम्मान कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएशनका अध्यक्ष प्रकाश शमशेर राणा, ओलम्पियन सङ्गीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदीप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी हुनुहुन्थ्यो ।     
     
पलेशाले गत शुक्रबार फ्रान्सको पेरिसमा भएको पारा ओलम्पिकमा ‘के–४४’ विधा अन्तर्गत महिला ५७ किलो मुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेकी थिइन् । उनले उक्त प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिकेभलाई १५–८ अङ्कले पराजित गरेकी थिइन् । ओलम्पिकमा नेपाली खेलाडीले प्राप्त गरेको यो नै पहिलो पदक हो ।     


advertisement

 

प्रकाशित मितिः बुधबार, १९ भदौ २०८१
https://www.jawaaf.com/storage/01J6Y63YY1TZ6RF016VQHQTCX4.jpg

बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात

advertisement

ढोरपाटन (बागलुङ), १९ भदौ : बागलुङको निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि पशुपालनमा आवद्ध छन् । उच्च पहाडी क्षेत्र भएकाले भेडापालनमा यहाँका किसान सक्रिय छन् । भेडाबाट मासुसँगै ऊनको कपडासमेत बिक्री हुँदा किसान उत्साहित हुँदै आएका हुन् ।     
     
दशक अगाडिसम्म भेडाको ऊनबाट बनेका कपडा गोठालाले बढी प्रयोग गर्ने गरेकामा अहिले विदेशमा पुग्ने गरेको छ । विदेशबाट माग बढ्न थालेपछि भेडापालक किसान उत्साहित बनेका छन् । भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घाम पानी छेक्ने, वर्षौँ टिक्ने र न्यानो हुने भएकाले माग बढेको किसान बताउँछन् ।     
     
यहाँका अधिकांश स्थानीयले सयौँको सङ्ख्यामा भेडापालन गर्छन् । काम्लो, बख्खु, घुमलाई गोठालाको कपडा भन्ने गरिन्छ । एउटै परिवारले पाँच सयदेखि एक हजार पाँच सयसम्म भेडाबाख्रा पाल्ने गरेका ढोरपाटन नगरपालिका–९ का बिर्खबहादुर पुनले बताउनुभयो । “भेडाबाख्राको सङ्ख्या बढी भएकाले ऊन प्रशस्त उत्पादन हुन्छ । मासु र ऊनका कपडाबाट भेडापालक किसानले राम्रो आम्दानीसमेत गर्दै आएका छन्”, उहाँले भन्नुभयो ।     
     
मासु स्थानीयस्तरमा बिक्री हुने गरेको भन्दै त्यसबाट बन्ने कपडा देशविदेशमा निर्यात हुने गरेको पुनले जानकारी दिनुभयो । ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उहाँको भनाइ छ ।     
     
पहिले–पहिले गोठालाले लगाउने ऊनका कपडा अहिले विदेश निर्यात हुँदा अचम्म लाग्ने पुनले बताउनुभयो । एक दशक अगाडि काम्लो, बख्खु, घुम लगाउने मान्छेलाई लेकाली र गोठालाको सङ्ज्ञा दिने गरिएकामा अहिले विदेशमा बस्नेको रोजाइमा यी कपडा पर्न थालेको उहाँले जानकारी दिनुभयो ।     
     
पुनले एउटा काम्लो, हापदुला बुन्न समय बढी लाग्ने भन्दै ती सामान विदेश पठाउँदा आम्दानी पनि प्रशस्त हुने बताउनुभयो । एउटा ऊनको कपडाको मूल्य न्यूनतम रु १५ हजारदेखि रु ६० हजारसम्म पर्ने उहाँले जानकारी दिनुभयो ।     
     
आफूहरुले लेकमा उत्पादन गर्ने काम्लो, बख्खु, घुम जापान, कोरिया, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायत देशमा निर्यात हुने गरेको पुनले बताउनुभयो ।     
     
“हामीहरुले घुम, काम्लो ओड्दा भेडाको ऊनको कपडा लगाउने मान्छे भनेर हेपेर गोठाले भन्थे । अहिले धेरैले ऊनको कपडा चाहियो भन्नुहुन्छ, खुसी लाग्छ । गाउँघरसँगै विदेशबाट बढी माग गर्नुहुन्छ” उहाँले भन्नुभयो, “भेडा पालेर पहिले मासु बेच्थ्यौँ । अहिले त्यसको रौँबाट बनेका कपडा बेच्न थालेका छौँ । नयाँ प्रविधिको प्रयोग गरी कपडा बुन्दा सहज हुन्थ्यो होला, हामीसँग प्रविधि नहुँदा पुरानै सीपको प्रयोगबाट कपडा बनाउने गरेका छौँ ।”     
     
निसीखोला गाउँपालिका–६ का वीरमानबुढा मगरले आफूहरु सानो हुँदा चप्पल, सिरक, डसना र अन्य कपडा पाउन मुस्किल हुने गरेको स्मरण गर्दै उतिबेला ऊनबाट बनेका कपडा प्रयोग गर्ने गरेको बताउनुभयो । पछिल्लो समय भेडा पाल्ने किसान घट्दै गएको भन्दै ऊनको कपडाको माग भने बढ्दै गएको उहाँको भनाइ छ ।     
     
मगरले चार पुस्तादेखि भेडा पाल्दै आएको सुनाउँदै आफूपछिको पुस्ताले चासो नदिएको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “पुस्ताले परम्परागत सीप सिक्न मान्दैनन्, हाम्रो पालामा कपडाको अभाव थियो, अभावले ऊनको कपडा बनाएर लगाउन सिकायो । अहिले बजारमा आधुनिक कपडा पाउँछ, त्यही भएर युवापुस्ता सीप सिक्न चाहदैनन् । अहिले यहाँबाट विदेश गएकाले फोन गरेर मलाई काम्लो, हापदुला चाहियो पठाइदिनुस् भन्छन् ।”     
     
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलालबुढा मगरले ऊनका कपडा बनाउनका लागि किसानलाई आधुनिक प्रविधिसँग जोड्ने योजना बनाइएको बताउनुभयो । तमानखोलाका अधिकांश किसानले भेडापालन गर्दै आएको भन्दै किसानलाई आधुनिक उपकरणसहित आधसनिक सीप सिकाउने योजनामा पालिका रहेको उहाँले जानकारी दिनुभयो ।     
     
किसानलाई भेडापालनतर्फ आकर्षित गर्ने र आयआर्जनसँग जोड्ने गरी योजनाबद्ध रुपमा काम गरिरहेको अध्यक्ष बुढा मगर बताउनुभयो । 


advertisement

प्रकाशित मितिः बुधबार, १९ भदौ २०८१
https://www.jawaaf.com/storage/01J6XPSVQMZVN0N5ABJ4ME2WZ2.jpg

मौसममा सुधार आएसँग सुकेटार विमानस्थलमा पुनः उडान

advertisement

फुङ्लिङ (ताप्लेजुङ), १९ भदौ : प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुआत भएको छ । नेपाल वायु सेवा निगमले बुधबार उडान सुरु गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिनुभयो । उहााले भन्नुभयो, “ मौसममा सुधार आएसँगै उडान गर्न सम्भव भएको हो । ”

निगमले केही साताअघि नै उडान तालिका तोकेको भए पनि प्रतिकूल मौसमले गर्दा उडान हुनसकेको थिएन । बुधबारको उडानले मौसम पूर्ण रूपमा सुधार नभए पनि यात्रा सम्भव भएको देखाएको छ । निगमले हाललाई हप्तामा एक दिनमात्र उडान तालिका राखेको छ, यो तालिका आगामी भदौ ३० गतेसम्म बुधबारका दिन सञ्चालन हुनेछ । मौसम खुला रहेमा र यात्रुको चाप बढेमा निगमले उडान तालिका थप्ने तयारी गरिरहेको छ ।

बर्खायाम सुरु भएपछि जेठ ११ गतेदेखि सुकेटारमा उडान बन्द भएको थियो । तीन महिना लामो अवरोधपछि सुरु भएको उडानले स्थानीयमा केही आशा जागृत गरेको छ । यद्यपि, पहिलो उडानमा काठमाडौँ–ताप्लेजुङ दुवैतर्फ विमानको पूर्ण क्षमतामा यात्रु थिएनन् । ताप्लेजुङको यात्रु सङ्ख्यालाई बढावा दिन आवश्यक प्रचार–प्रसार र नियमित उडानको आवश्यकता देखिएको छ । आगामी उडानका लागि यात्रीले सम्पर्क गर्न थालेको बताइएको छ ।

उडान पुनः सञ्चालन भएसँगै दसैँ, तिहारजस्ता चाडपर्व र पर्यटकीय मौसमको नजिकिँदो समयमा यात्रुलाई सुविधा हुने अपेक्षा गरिएको छ । ताप्लेजुङ आउने पर्यटक र सर्वसाधारण यात्रीको सुविधाका लागि निगमले नियमित उडानलाई सुनिश्चित गर्नुपर्ने दबाब छ । जिल्लाका बासिन्दाले पर्यटकीय मौसममा विमान सेवा नियमित गर्न आग्रह गरेका छन् । सुकेटार विमानस्थलमा हाल निगमको ट्वीनअटर जहाजले मात्र उडान गर्दै आएको छ । ताप्लेजुङ–काठमाडौँ उडानका लागि हालको भाडादर प्रतिव्यक्ति रु  नौ हजार चार सय ७६ रहेको निगमले जनाएको छ ।


advertisement

प्रकाशित मितिः बुधबार, १९ भदौ २०८१
https://www.jawaaf.com/storage/01J6VSZRNZ8PJ050JMWKBSTGEN.jpg

मिस्टर एण्ड मिसको ताज प्रतीक र आकाङ्क्षालाई

advertisement

धरान, १८ भदौः ड्रिम्स प्रोडक्सन प्रा.लि. द्वारा आयोजित मिस तथा मिस्टर प्रदेश नं १ स्तरीय प्रतिस्पर्धामा सिद्धार्थ शिशु सदन धरानका छात्र प्रतीक राई र छात्रा आकाङ्क्षा शाक्यले जुनियर तर्फ प्रथम पुरस्कार हातपार्न सफल भएकाछन् । त्यसैगरी मिस सिनियर  तर्फ भने निवा प्रेमी लिम्बु प्रथम हुन सफल भएका थिए ।


मिस तर्फ १७ र मिस्टरमा ३ जना गरी जम्मा बिस प्रतिस्पर्धी सहभागी भएको उक्त प्रतियोगिता धरान १५ स्थित शदन स्कुलको सभाहलमा भाद्र १५ गते सम्पन्न भएको थियो । मिस्टर एण्ड मिस किड्स प्रदेश स्तरीय कार्यक्रम २०२४ का १५ प्रतिस्पर्धीहरू लाइ पछि पार्दै आकाङ्क्षा शाक्य ले जुनियर तर्फको प्रथम उपाधि हात पार्न सफल भए भने मिस्टर तर्फ २ जना प्रतियोगी लाई पछि पार्दै प्रतीक राईले प्रथम उपाधि हात पारेका थिए । 


advertisement


मिस बिजेता आकाङ्क्षा शाक्य ले नगद दश हजार र ट्रफी सहित विभिन्न गिफ्ट हात पारेकी थिईन भने मिस्टर तर्फका प्रतीक राइले नगद पाँच हजार र ट्रफिका साथमा अन्य गिफ्ट हातपारेका पारेका थिए ।

 

उक्त कार्यक्रमबाट मिस्टर एण्ड मिस प्रोभेन्स किड्स २०२४ को जुनियर तर्फ पहिलो पुरस्कार सहित आकाङ्क्षा शाक्यले मिस फोटोजेनिक र पब्लिक च्वाइस पुरस्कार पनि हात पारेकी थिईन । त्यसैगरी मिस्टर तर्फ का प्रतीक राईले पहिलो पुरस्कार सहित मल्टिमिडिया च्वाइस, पब्लिक च्वाइस र मिस्टर ट्यालेन्ट अवार्डहरू प्राप्त गर्न सफल भएका थिए ।


प्रतियोगिता कार्यक्रम विभिन्न चरणहरू सहित एक महिना अगाडीबाट सुरु भएको थियो । कार्यक्रमको महत्व र समय अवधिकाबारेमा आयोजकले जानकारी गराए अनुसार, बालबालिका को मनोविज्ञान वृद्धि सँगै बालबालिका मा रहेका प्रतिभा लाइ प्रस्फुटन गर्न पाउने यस कार्यक्रममा विभिन्न रचनात्मक सृजनात्मक क्रियाकलाप सम्बन्धी एक महिना सम्म आयोजकले तालिम समेत प्रदान गर्छ र चरण बद्धरूपमा विभिन्न प्रकारका व्यक्तित्व विकासका लागि गरिने क्रियाकलापले गर्दा एक महिना अवधि सम्म कार्यक्रम समय लाग्ने जानकारी गराएका थिए ।


advertisement

प्रकाशित मितिः मङ्गलबार, १८ भदौ २०८१
https://www.jawaaf.com/storage/01J6SCPP1RGSH132E93A55TE6X.jpg

पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’

advertisement

काठमाडौँ, १७ भदौ : कुशे औंशीको अवसर पारेर पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’ सार्वजनिक भएको छ । रमेश थापाको लेखन तथा निर्देशन रहेको यो लघु चलचित्र म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।     
     
सो लघु चलचित्रमा प्रभाकर न्यौपाने, विकास जोशी, अनुजा अधिकारी, मेघराज पौडेल, श्याम मगर, टेकबहादुर घले, दिपेन्द्र थापा, खगेन्द्र धामी, प्रान्जिल सापकोटाका अलावा बाल कलाकार रियांशी थापा र सन्तोष बटालाको अभिनय रहेको छ ।     
     
सङ्कल्प भुजेलको छाँयाङ्कन रहेको यो लघु चलचित्रमा बालकृष्ण श्रेष्ठ र बिक्रम चिमौरियाको सम्पादन, सोम जिसीको मुख्य सहायक निर्देशन रहेको छ ।     
     
तीजमा दर खाने चलनको बढ्दो विकृती, बाबुलाई छोराबुहारीले गर्नुपर्ने माया र सम्मानको कमीबाट उत्पन्न हुने कठिनाई यो लघु चलचित्रमा देखाइएको छ । आधुनिकताका नाममा अनपढ बाबु आमालाई त्यसपछिको पुस्ताले गर्ने व्यवहार राम्रो नभइरहेको अवस्थामा त्यसैको प्रतिनिधि कथामा लघु चलचित्र तयार गरिएको निर्देशक थापाले बताउनुभयो ।     
     
चन्द्र विनायक फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो लघुचित्रकी निर्मात्री दिपा मल्ल थापा हुनुहुन्छ ।     


advertisement

प्रकाशित मितिः सोमबार, १७ भदौ २०८१
https://www.jawaaf.com/storage/01J6SBYZAMA2XXEAQZCTRB3HXD.jpg

तारा एयरले मङ्गलबारदेखि पोखरा–जोमसोम उडान सुरु गर्दै

advertisement

काठमाडौँ, १७ भदौ : तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा भोलि मङ्गलबारदेखि पुनःउडान सुरु गर्ने भएको छ ।     
     
प्रतिकूल मौसमका कारण उडान बन्द भएको उक्त गन्तव्यमा नियमित उडान गर्न लागिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । पर्यटकीय ‘सिजन’ सुरु हुन लागेको र मौसम पनि खुल्ने समय भएकाले उडान नियमित हुन लागेको तारा एयरका प्रमुख हवाई सुरक्षा अधिकृत सुदर्शन बर्तौलाले बताउनुभयो । उहाँका अनुसार जोमसोमको नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि विसान गर्नेछ । कम्पनीका अनुसार हालका लागि मौसम अनुकूल भए दैनिक पाँच वटा उडान गर्नेगरी तालिका मिलाइएको छ ।     
     
तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाटै सञ्चालन हुनेछ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम बिमानस्थल समुन्द्री सतहबाट दुई हजार सात सय ३६ मिटर उचाइमा रहेको छ भने यस एअरपोर्टको लम्बाई सात सय ३९ मिटर रहेको छ ।     
     

advertisement


असोज ४ देखि रामेछाप–दुक्ला उडान     
     
 यसैगरी पर्यटक सिजनका लागि तारा एअरले रामेछाप–लुक्ला– रामेछापका लागि असोज ४ अर्थात् सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् ।     
     
यस्तै यो सिजनका लागि तारा एअरको दुई वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ उडान गर्ने तालिका बनाएको छ ।     
     
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्रि बिसान गरी डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी तारा एयरले जानकारी दिएको छ ।     
     
ताराले रामेछापदेखि लुक्लाको साथै काठमाडौँदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पालगायतका दुर्गम क्षेत्रमा उडान सेवा दिँदै आएको छ ।     
     
विमानस्थलमा धावनमार्ग विस्तार, एकैपटि उडान चाप भइरहेको व्यवस्थापनमा सहज हुने सुरक्षा अधिकृत बर्तौलाको भनाइ छ । उहाँले रामेछाप विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुको सुविधाका लागि राम्रो प्रबन्ध गरेकाले एयरलाइन्सको उडानमा सहज हुने बताउनुभयो । उक्त विमानस्थलमा आठ वटा पाकिङ्ग, एक्सरे मेसिन पनि जडान भएकाले यात्रुलाई सजिलो भएको छ । यस्तै लुक्लामा एक्सरे मेसिन सञ्चालनमा आएकाले यात्रु व्यवस्थापनमा सहज हुने कम्पनीले जनाएको छ ।     


advertisement

प्रकाशित मितिः सोमबार, १७ भदौ २०८१