थुम्केको पर्यटन प्रवर्द्धन गर्न ‘पदयात्रा’
इलाम, ३० भदौः सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित मेची राजमार्गबाट छ किलोमिटर पूर्व मकरजुङ्ग गाउँ छ । यहाँबाट सात घण्टाको पैदल यात्रामा लोपोन्मुख रेडपाण्डा (हाब्रे) पाइने थुम्के पुगिन्छ । यहाँ रेडपाण्डा, थरिथरिका चरा, वनस्पतिको अध्ययन गर्न तथा सूर्योदय र कञ्चनजङ्घा हिमाल नियाल्न पर्यटक पुग्ने गर्दछन् ।
पर्यटकको बसोबासका लागि आठ वटा घरमा घरबास (होमस्टे) सञ्चालित छन् । एउटा हामेस्टेमा छ देखि १५ जनासम्म बस्ने व्यवस्था मिलाइएको होमस्टे सञ्चालक रविन बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार सम्भावना भएर पनि भौगोलिक कठिनाइका कारण ओझेलमा परेको थुम्केको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एक सय २० जनाले दुई दिनको पदयात्रा आज सम्पन्न गरेका छन् ।
राष्ट्रिय युवा सङ्घ सूर्योदय नगर कमिटी र १ नं वडा कमिटीको अगुवाइमा आयोजित पदयात्रामा वाइल्ड लाइफ फोटोग्राफर, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र युवाको सहभागिता थियो ।
“दुई हजार तीन सय मिटरको उचाइमा रहेको थुम्केमा रेडपाण्डा पाइनुका साथै सूर्योदयको झुल्केघाम देखिन्छ । आठ हजार पाँच सय ८६ मिटिरको कञ्चनजङ्घा हिमाल देख्न सकिन्छ”, पदयात्रा आयोजक समितिका अध्यक्ष सन्देश खड्काले भन्नुभयो, “बस्ती पातलो छ । घना जङ्गल भएकाले यहाँ लेकाली क्षेत्रमा प्रशस्त जडीबुटी पाइन्छन् ।” सूर्योदय–१ ठूलो भूगोल भएकाले मकर्जुङ्गबाट अन्तिम सीमा लामीधुरासम्म पुग्न सहज यातायातको व्यवस्था नहुँदा पर्यटकलाई समस्ती हुने गरेको उहाँको बुझाइ छ ।
“भारतीय बाटो भएर आउने भारत, भुटान, बङ्गलादेशलगायत देशका पर्यटकलाई केही सकज छ । नेपाली र नेपाली बाटो प्रयोग गरी यहाँ पुग्ने पर्यटकलाई भने यात्रा जोखिमपूर्ण नै छ”, अध्यक्ष खड्काले भन्नुभयो ।
यो क्षेत्रमा दुर्लभ चरा र जनावरहरु पाइने भएकाले पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँका रुपमा रहेको चरा खोजकर्ता देवेन्द्र खरेलले बताउनुभयो । “दुई वर्षअघि मैले यहाँ सीमधापमा रुप्स नेक्ड हर्नबिल (नेपाली नाम हङ्रायो) फेला पारेको थिएँ”, उहाँले भन्नुभयो, “लोप भएका चरा एक सय ९२ वर्षपछि विसं २०७८ पुस ६ गते फेला परेको थियो । अझै पनि यो घना जङ्गलमा थुप्रै चरा भेटिन्छन् । केही दिन बास बसेरै खोज्नुपर्छ ।”
सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा ओझेलिएको पर्यटकीय क्षेत्रलाई उजागर गर्न ठूलो सङ्ख्यामा पदयात्रा आयोजना गरिएको सङ्घका नगर कमिटी अध्यक्ष उदय हाङ फागोले बताउनुभयो । “यो क्षेत्र विकास निर्माणमा पछि परेको छ । प्रचारप्रसार र पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन हुन सकेको छैन । यहाँ अथाह सम्भावना छन्”, उहाँले भन्नुभयो, “हामीले स्थानीय स्तरका सबै दल र तिनका भातृसङ्घठनको साथ पायौँ । यो कार्यक्रम सबैको साझा प्रयासमा आयोजना भएको हो । हाम्रो यो प्रयास थुम्केको मुहार फेर्न पहिलो खुड्किलो बन्नेछ ।”
थुम्केबाट दुई घण्टाको पैदल यात्रामा भारतीय सीमाक्षेत्र लामिधुरा पुगिन्छ । पदयात्रीले त्यहाँ पुगेर राष्ट्रिय झण्डा फहराएर ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ गीतसमेत गएका छन् । सबै जातजातिको साझा बसोबास भएको ठाउँ भएकाले सूर्योदय–१ संस्कार, संस्कृतिमा धनी रहेको वडाध्यक्ष राजकुमार शेरेङले बताउनुभयो । उहाँका अनुसार यहाँ क्षेत्री ब्राह्मण, राई लिम्बू, दमाईंकामी, लोपोन्मुख जाति लेप्चा र थामी समुदायको बसोबास छ ।
वडाध्यक्ष शेरेङले भन्नुभयो, “मकर्जुङ्गको सिंह बाहिनी मन्दिर, गोर्खेको राम मन्दिर, बाङ्गिनमा थामी जातिको भुमेथान, साकेला मन्दिरलगायत आआफ्नै जातीका फरक देवालय छन् । सहिस्णुता र सामाजिक सत्भावमा हामी एककदम अगाडि छौँ ।”
पदयात्राका क्रममा समथर मकर्जुङ्ग गाउँको सिंह बाहिनी मन्दिर र सप्तऋषि, सीमधापको नागमन्दिर, बाङ्गिनको सेडुप छ्यार खोलिङ गुम्बा, चुम्लुङ, मिलनचोक, चियाबारी डाँडा (मगर गाउँ), भुमेथान, थुम्के, लामिधुरा भएर गोर्खेको देवी मन्दिर, राममन्दिर र यहाँको ऐतिहासिक महत्वका बारेमा जानकारी दिइएको युवा सङ्घ नगर कमिटीका उपाध्यक्ष प्रमोद सापकोटाले जानकारी दिनुभयो ।
पदयात्रीलाई विभिन्न टोलले विभिन्न जातजातिका झाँक्री प्रदर्शन गरेर खाँदा माला र अबिरले स्वागत तथा सत्कार गरेका थिए । उनीहरुले यति ठूलो सङ्ख्यामा यात्रा गराएर पर्यटन प्रववर्द्धनमा टेवा पु¥याइदिएको भन्दै युवा सङ्घलाई धन्यवाद दिएका छन् ।
सुनको मूल्यमा कीर्तिमान
काठमाडौँ, ३० भदौः स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५६ हजार आठ सय निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय निर्धारण भएको छ ।
सन्दर्भः ६०औँ बाल दिवस ‘बालश्रम शोषण व्यवहारमै कार्यान्वयन गरौँ
काठमाडौँ, २९ भदौ : यही भदौ २० गते काठमाडौ महानगरपालिका–१४ कुलेश्वर स्थित एक घरबाट कानून विपरीत बालश्रम गराइराखेको साथै घरधनीबाट यौन दुव्र्यवहार समेत भएको भन्ने गुनासोका आधारमा सरोकारवालाको उपस्थितिमा बालिकालाई उद्धार गरियो । राष्ट्रिय बाल अधिकार परिषद, काठमाडौं महानगरपालिका, बालबालिका खोजतलास समन्वय केन्द्र १०४, बाल हेल्पलाइन १०९८, स्थानीय जनप्रतिनिधि र प्रहरी समेतको सहयोगमा बालिकालाई उद्धार गरी मनोविमर्श र स्वास्थ्योपचारसहित अस्थायी संरक्षणको प्रवन्ध गरियो ।
ऐन विपरीत बालबालिकाको श्रम शोषण गर्ने र यौन दुव्र्यवहार गर्ने यो एउटा उदाहरण मात्रै हो । काठमाडौँ बालाजुस्थित एक होटलमा १२ वर्षीय मुकेश लामाले दुई वर्षदेखि भाडा माझ्ने काम गर्दै आएका छन् । उनलाई साहुले खान र बस्नका लागि मात्रै व्यवस्था गरेको छ । तर काम गरेबापत कति पनि पारिश्रमिक दिँदैनन् । सुरज र मुकेश जस्तै लाखौँ बालबालिका अहिले पनि यातायात, होटलमा, इँटाभट्टी वा घरायसी कामलगायत विभिन्न क्षेत्रमा लगाएर बालश्रमको शोषणको शिकार भइरहेका छन् । कानुनी व्यवस्थाअनुसार १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई रोजगारमा संलग्न गराउनु र १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई जोखिमपूर्ण श्रम तथा व्यवसायमा संलग्न गराउनु बालश्रम हो । राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले परिषद् आफूले बालश्रमका बारेमा अनुगमन गर्ने र परिषद्सम्म आएका मुद्दालाई समाधान गरी बालश्रम अन्त्यका लागि विभिन्न प्रयास गरिरहेको जानकारी दिनुभयो ।
श्रममा संलग्न बालबालिकाको सङ्ख्या ११ लाख (बालबालिकाको कूल जनसङ्ख्याको १५ प्रतिशत) रहेको छ जसमा जोखिमपूर्ण श्रममा संलग्न बालबालिकाको सङ्ख्या दुई लाख रहेको छ । अनौपचारिक श्रम क्षेत्र (कृषि, घरेलु, साना होटेल, सार्वजनिक यातायात, निर्माण, माटो, बालुवा तथा गिट्टी खानी)मा बालश्रम प्रभावित मुख्य श्रम क्षेत्रहरू हुन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी बालश्रम भएको पाइन्छ । मधेस, कर्णाली र सुदूरपश्चिमबाट हरेक वर्ष हजारौँ बालबालिका श्रमका लागि भारत जाने गरेका छन् । नेपालको संविधानको धारा ५१ मा राज्यका नीतिअन्तर्गत झ (३) बालश्रमलगायत सबै श्रमका शोषण अन्त्यका प्रतिबद्धता गरेको छ । संवैधानिक रूपमा निषेधित र दण्डनीय, (संविधानको धारा ३९), विशेष कानुन बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६, सान्दर्भिक कानुनहरू अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५, बालबालिकासम्बन्धी ऐन, २०७५, देवानी अपराध संहिता २०७४, श्रम ऐन २०७४, मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण ऐन २०६४ बालश्रम शोषणसँग सम्बन्धित छन् । यी ऐन–कानुनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बाल संरक्षण तथा विकास शाखाका शाखा प्रमुख दीपक ढकालले मन्त्रालयले बालबालिका श्रम शोषणमा परेको कहीँकतैबाट सूचना आएको खण्डमा मन्त्रालयले तत्कालै उद्दार गरी त्यसको उचित व्यवस्थापन गर्दै आएको जानकारी दिनुभयो ।
पूर्णरूपमा बालश्रम अन्त्यका लागि भएका, ऐन–कानुन, संविधान, नियमावलीलगायत नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै सबै मिलेर सचेतना अभियान नै सञ्चालन गर्नुपर्ने देखिन्छ । कानुन विपरीत, जबरजस्ती, इच्छा विपरीत कुनै पनि बालबालिकालाई रोजगारीमा लगाउनु वा आयआर्जन गर्ने काममा संलग्न गराउनु बालश्रम हो । कमजोर आर्थिक अवस्था, आमाबुबा इँटा उद्योगमा काम गर्न बसाइँ सर्ने हुँदासँगै आउने गरेको, अभिभावकविहीन, संरक्षकको अभाव, आमाबुबाले वास्ता नगर्नु आदि कारण बालबालिकाले श्रम गर्नुपर्ने बाध्यता रहेको पाइन्छ ।
साथीको लहलहैमा लागेर, बाल श्रमिकको समस्यालाई सरकारले प्राथमिकतामा राखी आवश्यक कार्य कार्यान्वयन नगर्नु, पारिवारिक कलह, जन्म दर्ता र नागरिकता नभएको र समावेशी तथा गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच नहुँदा पनि कतिपय बालबालिका बालश्रममा लाग्न बाध्य भएका छन् । मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक बालबालिकाले समयमा खानाको व्यवस्था नहुने, धेरै कम तलब, समयमा तलब नदिने, मालिकले रातिमा सवारीसाधनको व्यवस्था नगर्ने, ग्राहकबाट पैसा नपाउने, यौन शोषणको शिकार हुने, मादकपदार्थ सेवन गरेका ग्राहकले दुव्र्यवहार गर्दा पनि सहनुपर्ने समस्या भोग्दै आएका छन् ।
त्यसैगरी इँटाभट्टा, उद्योग कलकारखाना, घरेलु कामदार, यातायात क्षेत्रलगायत विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक बालबालिकाले मालिकले नराम्रा गालीगलौज गर्दा सहनुपर्ने, विद्यालय जानबाट बञ्चित, शरीरमा घाउ चोट लाग्ने, बिहानै उठ्नुपर्ने, आराम नपुग्ने, राति ढिलासम्म काम गर्नुपर्ने, अत्यधिक धुवाँ धुलोमा काम गर्नुपर्ने, गरुङ्गो सामग्री उचाल्न, बोक्न पर्नेलगायत समस्या भोग्दै आएका छन् । बालश्रम अन्त्यका लागि स्थानीय, प्रदेश र सङ्घीय गरी तीनै तहका सरकारसँग कानुन भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा उदासीनता देखिन्छ । बालश्रम अन्त्यका लागि स्थानीय तह नै जिम्मेवार हुनुपर्छ, स्थानीय तहले नै सचेतना फैलाउनुपर्छ ।
शारीरिक, मानसिक, स्वास्थ्य, अभिभावकविहीन, पारिवारिक मायाबाट वञ्चित, कुलतको शिकार, नागरिकता पाउने योग्य उमेरका श्रमिक बालबालिका नागरिकताविहीन र सरकारका विभिन्न कार्यक्रममा श्रमिक बालबालिकालाई सहभागिता नगराउनेलगायतका समस्या भोग्दै आएका छन् । अन्य साथी विद्यालय गएको देख्दा र आफू जान नपाउँदा, खाना समयमा खान नपाउँदा, राति अबेरसम्म सुत्न नपाउँदा, बिरामी भएको समयमा औषधि उपचार गर्न नसक्दा र घरको आर्थिक अवस्थालाई सम्झँदा, श्रमिक बालबालिकालाई नराम्रो अनुभूति हुने गर्छ ।
आसमान नेपालले पछिल्लो समय गरेको एक अध्ययनअनुसार प्रायः सबै श्रमिक बालबालिकाले आफ्नो परिवारको आयआर्जनमा सहयोग गर्न र रोजगारीको अवसर प्रदान गर्न सरोकारवालासँग अनुरोध गरेको पाइएको छ । अध्ययनअनुसार श्रमिक बालबालिकाले आफ्नो शिक्षा–पढाइको निरन्तरता राख्न चाहेको र उक्त कार्यका लागि स्थानीय सरकार र अन्य सङ्घ÷संस्थाले छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोगको अपेक्षा राखेका थिए ।
राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार परिषद्का अनुसार पाँच वर्षअघि बालश्रममा लाग्ने बालपालिको संस्था १६ लाख थियो भने अहिले घटेर ११ लाख मात्रै भएको तथ्य छ । नेपाल बाल श्रम प्रतिवेदन सन् २०२१ अनुसार १० लाख ८० हजार बालबालिका श्रममा रहेका छन् । समग्र बालबालिकाको जनसङ्ख्यामा बालश्रममा रहेका बालबालिकाको १६ प्रतिशत हुन आउँछ । त्यसमा दुई लाख बालबालिकालाई अत्यन्त जोखिमपूर्ण श्रम शोषण भएको देखिन्छ । कर्णाली प्रदेशमा २५ प्रतिशत, सुदूरपश्चिममा लगभग २१ प्रतिशत र कोशी प्रदेशमा करिब १८ प्रतिशत बालबालिका श्रम शोषणमा रहेका छन् । समग्रमा दलित समुदायको बालबालिका २० प्रतिशत श्रम शोषणमा परेका छन् ।
राष्ट्रिय श्रम शक्ति सर्वेक्षण प्रतिवेदनअनुसार करिब २१ लाख ४० हजार बालबालिका आर्थिक रूपमा सक्रिय रहेका छन् । प्रतिवेदनअनुसार १६ लाख बालबालिका श्रमिककै रूपमा कार्यरत थिए भने तीमध्ये छ लाख २० हजार बालबालिका निकृष्ट प्रकारको श्रममा संलग्न रहेका थिए । बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पार्ने काम गराउनु नै बालश्रम हो । बालबालिकालाई शिक्षा, खेलकुद, मनोरञ्जनका सट्टामा उनीहरूको शारीरिक, मानसिक, सामाजिक तथा नैतिक विकासको गतिविधिमा बाधा वा अवरोध हुने गरी काममा लगाउनु बालश्रम हो । हालसम्म बाल सहभागिताको बाल क्लब र यसमा आबद्ध बालबालिकाका बारेमा छलफल र विचार विमर्श हुने गरेका छन् तर श्रमिक बालबालिकाको सहभागिताको विषय हालसम्म छलफल र विमर्शमा आउन सकेको छैन ।
विशेषगरी बालश्रम न्यूनीकरण या निर्मूलनका लागि तीनै सहरका सरकार तथा सबै क्षेत्रमा अवधारणागत समान बुझाइ र निरन्तर सहकार्य गर्न आवश्यक छ । बालश्रम मानव विकासका लागि एक प्रमुख अवरोध हो भने नेपालको निम्ति समृद्धिका लागि प्रमुख चुनौती हो भन्ने बुझ्दाबुझ्दै पनि अहिले हरेक क्षेत्रमा अत्यधिक बालश्रम शोषण भइरहेको छ । सरकार र सरोकारवाला सङ्घ÷संस्थाले अनुगमनलाई अझै सक्रिय बनाउँदै दोषीमाथि कारबाही गर्नुपर्ने र बालश्रममा लाग्ने बालबालिकाको व्यवस्थापन गर्नुपर्ने देअिन्छ । यस बर्ष “बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित ६०औँ राष्ट्रिय बाल दिवस–२०८१ मनाइँदै छ । हरेक वर्ष नारा तय गर्दै दिवसलाई औपचारिक कार्यक्रममा मात्रै सिमित गर्नेभन्दा पनि सरकारले बालश्रम शोषणलाई व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने देखिन्छ । बालश्रम निर्मूलका लागि मुलुकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा व्यक्त गरेको प्रतिबद्धता, तर्जुमा भएका कानुन, नीति, योजना तथ्य कार्यक्रमहरू तदनुरूप प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिन्छ ।
नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति
काठमाडौँ, २९ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यससम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गर्नुभएको छ ।
एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) कंग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आउनुभएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाडीको उर्वर देश भएकाले विश्व खेलक्षेत्रमा नेपालबारे प्रचार गर्न आह्वान गर्नुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, “नेपालमा साहसिक र हाई अल्टिच्युड खेल, अल्ट्रा दौडको धेरै सम्भावना छ । एभरेष्ट म्याराथनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाइसकेका छन् ।” हालै पेरिसमा सम्पन्न पाराओलम्पिकमा पलेशा गोबर्द्धनले तेक्वान्दोमा पदक जितेर देशको गरिमा बनाउनुभएको बताउनुभयो ।
नेपालको परिचय सगरमाथा र बुद्धको जन्मस्थल मात्र नभइ खेलकुद क्षेत्र पनि भएको सन्देश विश्व समुदाय समक्ष प्रवाह गर्न आवश्यक रहेको राष्ट्रपति पौडेलले बताउनुभयो । उहाँले राष्ट्रका उत्कृष्ट खेलाडीलाई निरन्तर सम्मान गरेर एआइपीएस एसियाले असल परम्परा स्थापित गरेकामा त्यसको सरहाना गर्नुभयो ।
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’
रामपुर (पाल्पा), २९ भदौः बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ थकित भए पनि अनुहार भने जहिल्यै हँसिलो हुन्छ ।
हुम्लाको कनका सुन्दरी गाउँपालिका–८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा कपडाको व्यापार गरिरहनुभएको छ । हरेक दिन ढाका टोपी, इस्टकोटकमा सजिएर पिँठ्युमा राडीपाखी, गलैँचा बोकेर गाउँगाउँमा पुग्नुहुन्छ । जुम्लामा उत्पादन भएका राडीपाखी, गलैँचा, स्वीटर बोकेर गाउँका बस्तीमा व्यापार गर्नु उहाँको दिनचर्या हो ।
उमेरले पाँच दशक नाघेका काफ्लेलाई घुमन्ते व्यापारले अझै छोडेको छैन । उहाँको आफूले घुमन्ते व्यापार रहरले नभई बाध्यताले गरेको बताउनुहुन्छ ।
अहिले उहाँ पाल्पाको रामपुरमा कोठाभाडा लिएर यस आसपासका स्थानमा व्यापारका लागि पुग्नुहुन्छ । उहाँले सुरुमा करिब पाँच वर्षजति भारतको अलमुढा, नैनताल, बागेश्वर, गढवाल, हिमाञ्चल, पिथरागढ, चम्पाव, डिडिहाटलगायत बजारमा राडीपाखीको व्यापार गर्नुभयो ।
नेपाल फर्किएपछि उहाँ पोखरा, पर्वतको कुश्मा, बुटवल, तानसेनलाई व्यापारको केन्द्र बनाउनुभएको छ । तानसेनमा व्यापार गर्ने क्रममा उहाँ रामपुर आउनुभएको हो । तानसेनमा व्यापार अलि कम हुन थाल्यो, तानसेनका एक जना बुबाले रामपुर ग्रामीण भेग भएकाले व्यापार व्यवसाय कम छ, त्यहाँका गाउँगाउँमा राम्रो व्यापार हुन्छ भन्नुभयो, “म त्यही आशामा २०६८ सालतिर रामपुर आएर व्यापार सुरु गरेको हुँ, अहिलेसम्म पनि यहीँ निरन्तर लागिरहेको छु”, उहाँले भन्नुभयो ।
रामपुरमा सुरुआतमा राम्रो व्यापार भए पनि पछिल्ला वर्षमा भने व्यापार घटेको उहाँको अनुभव छ । रामपुरमा व्यापारिक पसल बढ्दै जादा घुमन्ते व्यापारमा असर पुगेको उहाँको अनुभव छ । पछिल्लो समय गाउँघरमा हुने मेला महोत्सवले गर्दा पनि व्यापारमा कमी आएको उहाँको बुझाइ छ । उहाँको मुख्य व्यापार भनेको राडीपाखी हो । तर अहिले बढीमात्रामा गलैँचा, तन्नाको व्यापार हुन्छ ।
गाउँमा कहिलेकाहीँ आउने व्यापारीले स्थानीयलाई ठग्दा आफूहरु जस्ता घुमन्ते व्यापारीप्रतिको विश्वास कम भएको उहाँको अनुभव छ । सुरुआती दिनमा गाउँगाउँमा पुग्दा डर, धम्की भोग्नुपरे पनि अहिले त्यसो नभएको उहाँको अनुभव छ ।
उहाँ भन्नुहुन्छ, “सबैले आफ्नै परिवारको सदस्यको व्यवहार गर्नुहुन्छ, राम्रोसँग चिन्नुहुन्छ, चलेको दरभाउअनुसार व्यापार गरिरहेको छु, दुई पैसा अहिलेसम्म ठगेर व्यापार गरेको छैन, सबैको माया र साथ पाएको छु, यहाँ बस्न ढुक्क छ, कसैको डर, धम्की छैन, त्यही भएर अन्यत्र ठाउँको तुलनामा रामपुरमा धेरै समय बसिरहेको छु ।”
पहिला दिनमा रु २० हजारसम्म कमाई गर्ने गरेकामा अहिले व्यापार घटेर दिनमा बढीमा रु चार हजार जति कमाइ हुने गरेको उहाँ बताउनुहुन्छ । ठूलो सपना छैन, सामान्य खाना, लाउन पुगेकामा यसमै खुसीका साथ जीवन बिताइरहेको उहाँले बताउनुभयो । राडीपाखीका सामान जुम्लाबाट खरिद गरेर ल्याउनुहुन्छ भने अन्य सामान काठमाडौँबाट खरिदगरी व्यापार गरिरहनुभएको छ ।
जुम्लामा राडीपाखी लिन उहाँ चार÷चार महिनामा जानुहुन्छ भने काठमाडौँमा महिनामा एक पटक पुग्नुहुन्छ । राडीपाखी विशेषगरी पूजाआजामा प्रयोग गरिने भएकाले बजारका सामानभन्दा राडीपाखी नै ग्राहकले रोज्ने गरेको उहाँले बताउनुभयो । राडीपाखी भेडाको ऊनबाट बनेको हुनाले पूजाआजाका लागि चोखो हुन्छ भन्ने विश्वास छ ।
काफ्लेको परिवारमा श्रीमती, एक छोरी, दुई छोरा छन् । उनीहरुको पालनपोषण, पढाइ खर्च काफ्लेको काँधमा छ । एक व्यक्तिको घुमन्ते व्यापारको कमाइले परिवारको गुजारा अहिलेसम्म चलेको उहाँ बताउनुहुन्छ ।
जेठो छोरो स्नातक अध्ययन पूरा गरी अहिले लोकसेवा आयोगको तयारीमा छन् । कान्छो छोरो एसइई उत्तीर्ण गरेपछि वैदेशिक रोजगारीका लागि कोरियन भाषा पढ्दैछन् । छोरी कक्षा ११ मा गाउँकै स्कुलमा अध्ययनरत रहेको उहाँले जनाउनुभयो ।
“अहिले छोराछोरी हुर्केबढेसँगै परिवारको खर्च बढ्दै गयो, थोरै खर्चले घरखर्च धान्न मुस्किल छ, व्यापार भने पहिलाको तुलनामा घट्दैछ, एक व्यक्तिको कमाइले जीविका चलाउन हम्मेहम्मे परेको छ, बाध्यताले गाउँगाउँमा राडीपाखी, गलैँचालगायतका कपडा बोकेर व्यापारमा हिँडेछु”, उहाँले भन्नुभयो ।
बाउबाजेको पालादेखि नै चलिआएको यो पेसा उहाँले अहिलेसम्म पनि निरन्तरता दिइरहनुभएको छ । यसरी व्यापार गर्ने हिजोआज पुराना व्यक्तिले छाड्दै गएका छन् । बाउबाजेले गरेको पेसा आजसम्म धान्दै आउनुभएका काफ्ले यो पेसा आफ्ना सन्ततिलाई हस्तान्तरण गर्न इच्छुक हुनुहुन्न । परिवारको आर्थिक अवस्था कमजोर हुँदा पढ्ने रहर भए पनि पढ्न नपाएको उहाँको गुनासो छ । कक्षा १० सम्म पढ्नु भएका काफ्ले आफूले दुःख गरेरै भएपनि छोराछोरीको उज्ज्वल भविष्य बनाउने सपना बुनेर गाउँगाउँमा व्यापारमा खट्नुभएको छ । अहिले उहाँले रामपुरका अलवा पाल्पाकै पूर्वखोला, रम्भा, बगनासकाली गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, मालुङ्गा, मिर्मी, बयरघारी, वालिङ, चिन्नेबास, गल्याङका गाउँसम्म व्यापार गर्नुहुन्छ ।
घुमन्ते व्यापारमा उहाँको साथमा पहिला दुई÷तीन जना साथी थिए, अहिले भने उहाँ एक्लै हुनुहुन्छ । उहाँसँगै व्यापार गर्ने साथीहरु पछिल्ला समय सन्तोषजनक व्यापार नभएपछि यो व्यवसाय छाडेर गएका छन् । लामो समयसम्म रामपुरमा व्यापार गर्दै आउनुभएका काफ्लेले अब अर्घाखाँची र गुल्मी जिल्लामा पुगेर व्यापार गर्ने सोच बनाउनुभएको छ ।
उहाँको गाउँ जुम्लाबाट व्यापार गर्ने थलो पाल्पा रामपुर आउन वा रामपुरबाट जुम्ला जान एकतर्फी मात्रै तीन दिनको यात्रा गर्नुपर्छ । जुम्लाबाट सुरु गरेको यात्रा कालिकोट, दैलेख, सुर्खेत, कोहलपुर र बुटवल हुँदै पाल्पा रामपुर आइपुगिन्छ । त्यहाँबाट सामान यहाँसम्म ढुवानी गर्न सहज छैन ।
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौँ, २८ भदौः स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको हो ।
बिहीबार प्रतितोला रु एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला रु ६५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ६० निर्धारण भएको छ ।
उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा
टक्सार (भोजपुर), २८ भदौः भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेको छ ।
विसं २०३५ मा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्दथ्यो । कुनै बेला यहाँबाट विराटनगरसमेत उडान हुने गरेकामा अहिले भने भोजपुर–काठमाडौँ हप्तामा बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ । भौतिक पूर्वाधारको कुनै समस्या नहुँदा पनि उडानमा भने समस्या छ ।
नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काका अनुसार केन्द्रबाट पठाउने गरिएको तालिकाअनुसार उडान भर्नुपर्ने हुन्छ, अहिले भोजपुरमा हप्तामा दुईमात्र उडान हुँदै आएको छ । भोजपुर विमानस्थलमा सरकारी ध्वजावाहक वायुसेवा निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ ।
विमान अभाव देखाउँदै निगमले उडान तालिका कम पठाउँदा यो समस्या देखिएको हो । उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्री मारमा पर्दैै आइरहेका छन । “घाँसेमैदान हुँदा भोजपुरमा नियमित उडान थियो, विमानस्थल र सडक कालोपत्र भएपछि त उडान तालिका पनि धेरै हुनुपर्नेमा कम हुँदै गएको छ”, स्थानीय सञ्जीव कार्कीले भन्नुभयो ।
टर्मिनल भवन जीर्ण हुँदा समस्या भएको गुनासो आएपछि पूर्वमन्त्री सुदन किरातीको पहलमा बजेट विनियोजन भएर हाल ठेक्का प्रक्रियाबाट आरबी अर्बान विल्डर्स एण्ड सप्लायर्सले विमानस्थलको टर्मिनल भवन निर्माण गरिरहेको छ । रु पाँच करोड ४५ लाख लागत सम्झौता रहेको उक्त टर्मिनल भवन २०८१ पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी अहिले काम भइरहेको छ ।
विमानस्थलका लागि करोडौ रकम खर्च भइसक्दा समेत उडान तालिका बढ्न नसक्नु जिल्लाकै लागि दुर्भाग्य भएको स्थानीय घमचन्द्र दाहालले बताउनुभयो । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र छ । जिल्लामा नै पहिलो आस्फाल्ट (मिश्रित) प्रविधिबाट पूर्वाधार विकास कार्यालयमार्फत प्रदेश सरकारको रु १६ करोड ९२ लाख लागतमा सडक कालोपत्र भएको थियो । रायमाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरेको सो सडकको लम्बाइ पाँच किलोमिटर छ ।
भोजपुरमा नियमित उडान र निजी कम्पनीले पनि उडान भर्ने वातावरण जिल्लाका राजनीतिक दल र नेताले मिलाउनुपर्ने माग जिल्लावासीको छ । “बजेट खर्च भएअनुसार जिल्लावासीले सेवा पनि पाउनुपर्छ, यसका लागि नेताहरू पनि जिम्मेवार बन्नुपर्छ”, जिल्लावासी कृष्णमाया तामाङले भन्नुभयो ।
ऐतिहासिक छोसेरको निर्फु गुम्बा पुनःनिर्माण
म्याग्दी, २७ भदौ : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक निर्फु गुम्बा पुनःनिर्माण सम्पन्न भएको छ । १५ औ शताब्दीमा पहाडको भित्तामा रहेको गुफामा स्थापना भएको गुम्बा विस २०७२ को गोरखाभूकम्पले असर पु¥याएको थियो । भूकम्प एवं वर्षात्ले समेत गुम्बाका संरचना भत्किने अवस्थामा पुगेकाले काठमाडौस्थित जर्मन राजदुताबासको सहयोगमा पुनःनिर्माण गरिएको गुम्बाका लामा छोम्भे गुरुङले बताउनुभयो ।
“जर्मन राजदुतावासको ६६ लाख आर्थिक सहयोगमा गुम्बाको परम्परागत संरचनालाई यथावत राखेर मौलिकता बिग्रन नदिई पुनः निर्माण गरिएको हो,” उहाँले भन्नुभयो “पुननिर्माण गरेपछि गुम्बाभित्र पानी चुहिने तथा ढुंगा खस्ने समस्या हटेको छ ।” तीन कोठा भएको गुफा मुनी गुम्बाका संरचनाहरु छन् । पहाडको फेदीमा पुगेको सडक देखि गुम्बा हुँदै गुफामा पुग्ने पदमार्ग निर्माण भएको र झ¥याङ राखिएको छ । गुफाभित्र वौद्ध धर्मसम्बन्धी पुस्तक संकलन गरेर धार्मिक पुस्तकालय स्थापना गर्न थालिएको छ । गुफाको बाहिरी भागमा झ्याल राखिएको छ ।
गुम्बा र गुफाको रंगरोगन गरेपछि आकर्षक देखिएको छ । मुस्ताङका तत्कालीन दोस्रो सांस्कृतिक राजा आगुन साङ्वोका तेस्रो छोरा सोनाम लोवो खेनचेन (सोनाम इन्टुक) ले १५ औ शताब्दीमा निर्फुको गुफामा ध्यान बस्नका लागि गुम्बा स्थापना गरेको वृद्ध धर्म सम्बन्धी ग्रन्थहरुमा उल्लेख छ । नेपाल र भारतका धेरै भिक्षुहरु ध्यान बस्न आउने शान्त ठाउँमा रहेको निर्फु गुम्बाको धार्मिक, ऐतिहाँसिक र सांस्कृतिक महत्व रहेको छ ।
गुफा र गुम्बा अवलोकन गर्न पर्यटकहरु आउँछन् । निर्फु गुम्बा अन्तर्गत सन् २००४ देखि सञ्चालन भएको लामा सम्बन्धी कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ६० जना विद्यार्थीहरु छन् । नेपाली, अंग्रेजी र भोट भाषाको पठनपाठन हुने यस विद्यालयमा गोर्खा वेल्यफेयरको रु. ३० लाख सहयोगमा तीन कोठे कक्षा कोठा भवन निर्माण भएको छ ।
भारतीय राजदुतावास र लोमान्थाङ गाउँपालिकाको लागत साझेदारीमा करिब रु. पाँच करोड लागतमा छात्रावास भवन पनि निर्माणाधीन रहेको लामा गुरुङले बताउनुभयो । सिंगापुरमा रहेका छोसेरबासीहरुको अगुवाईमा निर्फु गुम्बाको नयाँ भवन पनि निर्माणाधीन रहेको छ ।
चीनको सिमानामा रहेको नेपालको अन्तिम मानवबस्ती छोसेरको आकर्षण निर्फु र गार्फु गुम्बा तथा झोङ गुफा हो । गुफा र गुम्बा अवलोकनका लागि नेपालीलाई रु. एक सय र विदेशीलाई प्रतिव्यक्ति रु. एक हजार शुल्क तोकिएको छ । चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको नेचुङदेखि सवारी साधनमा पाँच मिनेट यात्रा गरेपछि छोसेरमा पुग्न सकिन्छ ।
आहा ! रारा गोल्ड कप घाटामा
गण्डकी, २७ भदौः सहारा क्लब पोखराले गत वर्ष माघमा आयोजना गरेको २३औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा गएको छ ।
क्लबले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आयोजना गर्दा रु १५ लाख ३८ हजार चार सय ६६ घाटा भएको जनाएको हो । क्लबका अध्यक्ष केशवराज बरालले आर्थिक मन्दीका कारण प्रायोजन रकम कम जुटेपछि खर्च धान्न नसकिएको बताउनुभयो ।
“तेइसौँ संस्करणमा अघिल्लो संस्करणको भन्दा दुई टोली बढी थपिए, केही विदेशी टोली पनि ल्याउनुपर्दा खेलाडीको दैनिक भ्रमण भत्तालगायतमा बढी खर्च भयो”, उहाँले भन्नुभयो, “प्रतियोगितामा नियमित प्रायोजन गर्दै आएका केही व्यापारिक प्रतिष्ठानले गत वर्ष क्लबसँगको सहकार्य टुटाएका कारण पनि बढी व्ययभार थपिन पुग्यो ।” प्रतियोगिताको इतिहासमा पहिलो पटक क्लबले घाटा व्यहोर्नुपरेको अध्यक्ष बरालले बताउनुभयो ।
प्रतियोगितामा कुल आम्दानी रु ९९ लाख ९५ हजार चार सय ५१ र खर्च रु एक करोड १५ लाख ३३ हजार नौ सय १७ भएको उहाँको भनाइ छ । उक्त प्रतियोगितामा प्रायोजनतर्फ रु ५६ लाख ७५ हजार दुई सय सात आम्दानी भएको अर्थ सङ्कलन उपसमितिका संयोजक सुनिल गुरुङले जानकारी दिनुभयो ।
हिम श्री फुड्स प्रालिले रु २२ लाख २५ हजार, पोखरा महानगरपालिकाले रु १० लाख, गण्डकी प्रदेश खेलकुद परिषद्ले रु पाँच लाखलगायत गरी १४ सङ्घसंस्था र व्यापारिक प्रतिष्ठानले प्रतियोगितामा प्रायोजन गरेका थिए ।
टिकट शुल्कबाट रु २६ लाख ३६ हजार छ सय १३ सङ्कलन भएको जनाइएको छ । खर्चतर्फ सबैभन्दा बढी खेलाडीको दैनिक भ्रमण भत्तामा ३९ लाख ७३ हजार चार सय ५७ खर्च भएको अर्थ सङ्कलन उपसमितिका संयोजक गुरुङले बताउनुभयो । प्रोत्साहन खर्चबापत रु १९ लाख ६२ हजार, आयोजक खर्च रु ११ लाख ५७ हजार र आयोजक टिम तयारी खर्च रु पाँच लाख ६३ हजार सात सय ४० भएको क्लबले जनाएको छ । विभिन्न १८ शिर्षकमा उक्त रकम खर्च भएको हो ।
क्लबका अध्यक्ष बरालले बजारमा देखिएको आर्थिक मन्दी र राष्ट्रिय फुटबल खेलाडीको विदेश पलायनले फुटबलको रौनक घट्दै गएकाले प्रतियोगिता सञ्चालनमा चुनौती थपिँदै गएको बताउनुभयो । क्लबले विगत २४ वर्षदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ । मोफसलको प्रतिष्ठित उक्त प्रतियोगिताको २३औँ संस्करणको विजेता त्रिभुवन आर्मी क्लब र उपविजेता थ्री स्टार क्लब बनेको थियो ।
टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि खेलाडी छनोट
काठमाडौँ, २६ भदौ : आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव, किरणकुमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपसा शाही, साना प्रविण, प्रतिमा शाह, स्नेहा महरा र सावित्रा धामी छनोटमा परेका छन् ।
त्यस्तै अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल, अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पुजा महतो, कुशम गोदार, सीमाना केसी, ज्योत्सनिका मरासिनी, निरु जीटी, सेरिना थापा, रचना चौधरी र आस्मा पुलामी मगर पहिलो चरणमा छनोटमा भएका छन् ।
टि–ट्वान्टी विश्वकप एसिया छनोट आगामी नोभेम्बरमा युएईमा हुने क्यानले जनाएको छ ।


























