बुद्धि तामाङले ‘कुस्ती’ बनाउने
काठमाडौँ । तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सार्वजनिक पोस्टरमा धीरज मगर र मिरुना मगर फिचर्ड छन् । यसपटक पोस्टरमा लाइट ग्रीन र लाइट पिङककोे प्रयोग गरिएको छ ।
पोस्टरमा धीरज मगरले लाइट पिङ्क ड्रेस लगाएका छन् भने मिरुना मगरले लाइट ग्रीन ड्रेसमा देखिएका छन् । धीरजको स्वभाव लाइट पिङ्क जस्तै छ । उ जेन्टल छ, केयरिङ छ, रोमान्टिक छ र सफ्ट छ । यस्तै, मिरुना लाइट ग्रीन कलर झैँ प्रगतिशील सम्बन्ध जोड्ने, हरेक कुरामा पर्फेक्ट खोज्ने स्वभावकी छिन् । फिल्ममा धीरज र मिरुनासँगै बुद्धी तामाङको पनि अभिनय रहने छ ।
अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’ मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताए ।
उनले भने,‘उनीहरु एक अर्कालाई धेरै माया गर्छन् तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईकको सामना गरिरहेका छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ ।’
कलाकार बुद्धी तामाङले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए । उनले भने,‘म यसै क्षेत्रमा छु । यसपटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रुपमा अगाडि आएको छु । यसपटक सबैको साथ र सहयोगले यो यात्रा सफल हुनेमा विश्वस्त छु । हामी फिल्मको विषयमा अन्य जानकारी र टिमको परिचय विस्तारै दिनेछौँ ।’
उनले छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा हो ‘कुस्ती’ रहेको बताए । काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भाद्रमा प्रदर्शन हुनेछ । पोस्टरमा उमङग शाहीको फोटोग्राफी र राकेश दाहालको पोस्टर डिजाइन रहेको छ ।
ड्रागन डुंगा दौड प्रतियोगिता आजदेखि पोखरामा शुरु
पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालमा नेपाल– चीन मैत्रीपूर्ण ड्रागन डुंगा दौड प्रतियोगिता आजदेखि शुरु भएको छ । नेपाल र छिमेकी मुलुक चीनबिचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजित दोस्रो संस्करणको नेपाल– चीन मैत्रीपूर्ण ड्रागन डुंगा दौड प्रतियोगिता आजदेखि पोखराको फेवातालमा शुरु भएको हो ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा आयोजना गरेको उक्त प्रतियोगितामा पाल, चीन र सिङ्गापुरका२० वटा समूह सहभागी छन् ।
सोमवारसम्म सञ्चालन हुने प्रतियोगितामा भाग लिन चीनको छेन्दुबाट विमान चार्टर गरी १२९ खेलाडी पोखरा आएका छन् ।
प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएका छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल राफ्टिङ एजेन्सी एसोसिएसन (नारा) सहित नेपालका ११ टोलीको सहभागिता रहने छ ।
प्रतियोगितामा ५०० सय र २०० मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।
नेपाल सरकारका प्रवक्ता गुरुङद्वारा पर्यटनमन्त्री पाण्डेको सार्वजनिक रूपमा आलोचना
पोखरा । नेपाल सरकारका प्रवक्ता एबम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको सार्वजनिक रूपमा आलोचना गरेका छन् ।
पोखरामा शनिवार देखि सुरु भएको २६ औँ सडक महोत्सवको उद्घाटन समारोहमा सरकारका प्रवक्ता गुरुङले पर्यटनमन्त्री पाण्डेको आलोचना गरेका हुन् ।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका सम्बन्धमा सरकारले २० बुँदे कार्ययोजना पारित गरेको जानकारी दिँदै मन्त्री गुरुङले २–३ महिना हुँदा पनि ती बुँदा कार्यान्वयन नभएकोमा आलोचना गरे ।
२० बुँदे कार्ययोजना पारित भएको यति लामो समय हुँदा पनि कार्यान्वयन नभएकोमा आपत्ति प्रकट गर्दै मन्त्री गुरुङले त्यसको कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम गर्नुपर्ने बताए ।
मन्त्री गुरुङले अन्तर्राष्ट्रिय उडान सञ्चालनका सन्दर्भमा स्वास्थ्य परीक्षण, ‘भिसा’ अनुमति, सामान आयात–निर्यातका लागि भन्सारलगायत सम्बन्धित कामहरू सम्बन्धित अन्तरराष्ट्रिय विमानस्थलबाटै हुनुपर्नेमा जोड दिँदै त्यसका लागि सम्बन्धित मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।
उनले अन्तर्राष्ट्रिय उडानका साथै पोखराबाट अन्य छवटा प्रदेशलाई हवाई सञ्जालबाट जोड्नुपर्ने आवश्यकता औँल्याए । ‘पोखरालाई शिक्षा, स्वास्थ्यलगायत केन्द्रका रूपमा विकास गर्न सकिने अवस्था छ । यहाँ डेटा सेन्टर बनाउन सकिन्छ । धवलागिरि, अन्नपूर्ण, मनासलु जस्ता हिमशृङ्खला रहेको गण्डकी प्रदेशमा माउन्टेन फ्लाइटका माध्यमबाट पर्यटकीय विकास अघि बढाउन सकिने भएकाले यसतर्फ लाग्न आवश्यक छ’, मन्त्री गुरुङले भने, ‘प्रदेशको पर्यटन विकासका लागि सङ्घको मुख ताकेर हुँदैन । अब आफ्नो क्षमताले भ्याउन काम गरेर यहाँको विकासलाई गतिदिन आवश्यक छ ।’
‘कन्दरा’ ब्याण्डले नयाँ गीत ल्याउँदै, ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी
काठमाडौँ । गत कार्तिक २४ गते राति काठमाडौँको ठमेलस्थित एक क्लबमा ‘कन्दरा’ ब्याण्डले साङ्गीतिक इतिहास लेख्यो । पोखरामा ३२ वर्षअघि स्थापित कन्दराले यो अवसरमा मेलोडी र मिठासको केवल एउटा युग पोखेको थिएन, काठमाडौंमा पहिलो पटक आफ्नो साङ्गीतिक प्रस्तुति मार्फत अभूतपूर्व क्षण सिर्जना गरेको थियो ।
कन्दराले नयाँ वर्ष सन् २०२५ लाई अझ विशेष बनाउँदै नयाँ गीत ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ । गीतका शब्द तथा सङ्गीत ब्याण्डका ड्रम वादक सुनिल थापाले तयार पारेका छन् ।
यो गीतलाई आशा र प्रेरणा दिने सन्देशका रूपमा प्रस्तुत गर्न लागिएको छ । देशमा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले आफ्ना सोच, व्यवहार, र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिने जनाइएको छ ।
यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हस्ताक्षरसहित यस गीतको सफलताको शुभकामना दिएका थिए । गीत छिट्टै सार्वजनिक हुने घोषणा भएको छ, जसले ब्याण्डको साङ्गीतिक यात्रामा अर्को सुनौलो अध्याय थप्ने अपेक्षा गरिएको छ ।
कन्दरा ब्याण्डका ’लेककी हे माया’, ’विदेसिएर गइन् उनी’, ’चञ्चले कान्छीको’, ’भेडी गोठैमा’, ’हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ र ’बिचरा म’ जस्ता गीतहरू नेपाली सङ्गीतमा मौलिक लोक पपको सुगन्ध छर्दै ऐतिहासिक बनेका छन् । पश्चिमा शैलीको पप गीतमा नेपाली लोक स्वाद मिसाउँदै आएको यो ब्याण्डले आफ्नो मौलिकता कायम राख्दै श्रोतामाझ विशिष्ट स्थान बनाउन सफल भएको छ ।
कन्दराको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक, र किबोर्डमा उमेश थापा छन् । विशेष गरी, ड्रम्समा रहेका सुनिल थापा ब्याण्डका स्थापना कालदेखिका सदस्य हुन् ।
हाल कन्दरा ब्याण्ड आन्तरिक र बाह्य पर्यटनलाई बढवा दिने उद्देश्यका साथ देश घुम्न, देश बुझ्न ’पहिला घरदेश अनि परदेश’ नारासहित नेपाल टुर अन्तर्गत गण्डकी, कोसी र बागमती प्रदेशमा सफलताका साथ प्रस्तुति सम्पन्न गरिसकेको छ ।
यही जनवरी २०२५ देखि बेलायतको लण्डनस्थित ऐतिहासिक ‘ओ टु अरीना, इण्डिगो (इ२ ब्चभलब, क्ष्लमष्नय)’ बाट वल्र्ड टुरको प्रारम्भ गर्दैछ । लगत्तै दुबईमा प्रस्तुति दिने ब्याण्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा, र जुलाई–अगस्टमा युरोपका विभिन्न देश पछि अगस्ट–सेप्टेम्बरमा जापानमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम तय गरेको छ । साथै, कतार र सिंगापुरमा पनि साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम छ ।
३२ वर्षे साङ्गीतिक इतिहासको यात्रा तय गरेको यस ब्याण्डले नेपाली युवामाझ लोक–पप शैलीमा मेलोडी र आधुनिक सङ्गीतको फ्युजन प्रस्तुत गर्दै आफ्नो साङ्गीतिक विरासतलाई निरन्तरता दिँदै आएको छ । प्रमुख भोकलिस्ट विवेक श्रेष्ठ, जो १४ वर्षसम्म विदेशमा रहेका थिए, पुनः सक्रिय हुँदै ब्याण्डलाई नयाँ ऊर्जासहित अघि बढाइरहेका छन् ।
रिलिजको सम्मुखमा रहेको नयाँ गीत ’हुनेछः द सङ्ग अफ होप’ ले विश्वभर फैलिएर रहेका नेपालीहरूमा सकारात्मक ऊर्जासँगै मेलोडी र मिठासको साङ्गीतिक पहिचानलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।
बेलायती राजदूतले मनाए २२ औँ वैवाहिक वर्षगाँठ जनकपुरधाममा
काठमाडौँ । नेपालका लागि बेलायती राजदूत रब फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन् । आफ्नो श्रीमती जुलिया फेनसंग धनुषाका विभिन्न क्षेत्र घुम्न आएका फेनले शनिवार आफ्नो वैवाहिक वर्षगाँठ जानकी मन्दिर परिसरमै मनाएका हुन् ।
गत वर्ष काम विशेषले जनकपुरधाम आएको बेला उनले यहाँको संस्कृति र इतिहासले आफू निकै नै प्रभावित भएको भन्दै आफ्नो वर्षगाँठ मिथिलाशैलिमा यहीँ आएर मनाउने सोचेको बताए ।
उनले राम र सिताको प्रेमको चर्चा गर्दै यहाँ आएर फेरि आफ्नो श्रीमतिसँग विवाह गरेको जस्तै अनुभूति भएको बताए । उनले जनकपुरधाम विवाहको लागि उपयुक्त डेस्टिनेसन भएको धारणा राखे । उनले सम्पूर्ण बेलायतवासीलाई एक पटक जनकपुरधाम आउन आग्रह समेत गरे ।
यता जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैषणवले राजदूत फेनलाई मिथिलाशैलीमा वैवाहिक परम्परा अनुसारका पहिरन लगाईदिनुका साथै मन्त्र पाठ गरि पुनः विवाह गराएका थिए । उनले जानकी मन्दिरको इतिहास स्मरण गर्दै प्रेमको पहिचान रहेको जानकी मन्दिर र जनकपुरधामलाई विवाह डेस्टिनेसनको रूपमा विकास गर्न सरकारसंग आग्रह गरे ।
राजदूत फेनको वैवाहिक वर्षगाँठ कार्यक्रममा प्रदेशका सभामुख रामचन्द्र मण्डल, संस्कृति मन्त्री रानी शर्मा तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह लगायका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो
पर्यटकीय गन्तव्य बन्दै ‘सेछ एडभेन्चर पार्क’
धरान, ११ पुस : विराटनगरबाट साथीहरूसँगै घुम्न आउनुभएकी मनिशा मेहेता धरान उपमहानगरपालिका–२० स्थित चिन्डे डाँडामा सेछ एडभेन्चर एन्ड होलिडेज पार्कमा रमाइरहनुभएको अवस्थामा भेटिनुभयो । धरानबाट हाइकिङ गर्दै यहाँ आइपुग्नुभएकी उहाँले पहिलो पटक जिपलाइन साइक्लिङ गर्न पाउँदा खुसी भएको बताउनुभयो ।
विराटनगरकै पिङ्की शर्माले फेसबुक र टिकटकमा मात्र यो पार्क देख्नुभएको थियो । प्रत्यक्ष यहाँ आइपुग्दा सामाजिक सञ्जालमा देखेभन्दा राम्रो लागेको उहाँको प्रतिक्रिया थियो । “सोचेभन्दा राम्रो रहेछ, अरू साथीहरूलाई यहाँ घुम्न आउन अनुरोध गर्छु”, उहाँले भन्नुभयो ।
मनिशा र पिङ्की मात्रै होइनन्, सेछ एडभेन्चर एण्ड होलिडेज पार्क घुम्नका लागि अधिकांश युवाको रोजाइमा पर्न थालेको छ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । धरानको मुख्य बजारबाट छ किलोमिटर दूरीमा रहेको यहाँ कोही ‘हाइकिङ’ गर्दै त कोही सवारीमा पुग्ने गर्छन् । यहाँ साइक्लिङ जिपलाइन र प्यारालाइडिङ जस्ता साहसिक खेलहरू खेल्न आन्तरिक पर्यटक आउन थालेका हुन् ।
पहिले उजाड र सुनसान गाउँका रूपमा रहेको यहाँ चार वर्षअघि मात्र पार्क निर्माण गरिएको हो । साइक्लिङ जिपलाइन, हेडिङ ब्रिज, रसियन सर्कल, चिल्ड्रेन पार्क यहाँको मुख्य आकर्षण रहेको पार्कका निर्देशक वासुदेव बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्रदेशमै पहिलो पटक एक मात्र एडभेन्चर पार्क सञ्चालन गरेका छौँ, पर्यटकले रुचाइदिनुभएको छ ।” पार्कमा वनभोजका लागि आउने विद्यार्थीहरूको घुइँचो लाग्ने गरेको निर्देशक बरालले बताउनुभयो ।
पार्कले विभिन्न प्याकेज उपलब्ध गराएपछि पनि आन्तरिक पर्यटक तथा क्याम्पस तहका विद्यार्थीहरूको आकर्षण बढेको हो । सुरुमा पाँच करोडको लगानीमा निर्माण गरिएको सेछ पार्कमा हाल केही नयाँ संरचना निर्माण गरिएसँगै लगानी सात करोड पुगेको जनाइएको छ । पार्क अढाई बिघा क्षेत्रफलमा फैलिएको छ ।
‘लाज शरणम्’ को विश्व बजारमा उच्च माग
काठमाडौं ।चर्चित सिरियल‘सक्किगो नि’ समूहद्वारा निर्माण गरिएको प्रतीक्षित नेपाली चलचित्र ’लाज शरणम्’को अन्तर्राष्ट्रिय वितरण अधिकार (इन्टरनेशनल राइट्स) बिक्री भएकोछ ।
शिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गते प्रदर्शन गर्ने तयारी रहेको यो सिनेमाको भारत बाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले खरिद गरेको हो ।
मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार, सेभेन सिज इन्टरनेसनलले ‘लाज शरणम’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना बनाएको छ ।
वितरक प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम’ आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन गरिने जानकारी दिए । कुन–कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने सुवेदीले बताएका छन् ।
नेपालमा भने यो चलचित्रलाई ब्यांकटेस इन्टरटेनमेन्टले जिम्मा लिएको छ । कुमार कट्टेल ‘जिग्री ब्रो’द्वारा निर्देशित यो सिनेमा चर्चित सिरियल ‘सक्किगो नि’ टिमको प्रयासमा बनेको र दर्शकमाझ निकै प्रतीक्षित मानिएको छ ।
चलचित्रको कथा, निर्देशन र प्रस्तुतिकरणको प्रशंसा गर्दै यसलाई नेपाली सिनेमा उद्योगको महत्वपूर्ण परियोजनाका रूपमा परिभाषित गरेको छ । सिनेमाले नेपाल र विदेश दुवै स्थानमा राम्रो व्यापार गर्ने अपेक्षा राखिएको छ ।
यो चलचित्रमा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामासँगै सक्किगोनि टिमबाट र्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहेको छ ।
नवीन श्रेष्ठ निर्माता रहेको चलचित्रमा राम नरेश शाह र श्रीजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । चलचित्रमा सुदीप बराल छायांकारका रूपमा रहेका छन् ।
‘लाज शरणम्’को प्रदर्शन मिति नजिकिँदै गर्दा यसको प्रचार–प्रसार तीव्र पारिएको छ । दर्शकहरूबिच यसले कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा उत्सुकता बढिरहेको छ ।
आज क्रिसमस डे मनाइदैँ
काठमाडौं । आज भव्यताका साथ इसाई धर्मका अनुयायीहरू क्रिसमस मनाउँदै छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मदिनको सम्झनामा डिसेम्बर २५ का दिन यो सम्प्रदायले क्रिसमस डे मनाउदैँ आउने गरेका छन् ।
इतिहास साक्षी छ, मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय व्यक्तित्वहरूको जन्मदिन व्यापक उत्साह अनि सद्भावका साथ मनाउने गर्दछन् । चाहे त्यो भगवान् कृष्ण होउन्, बुद्ध, गुरु नानक होउन् या पैगम्बर मोहम्मद । आज भने इसाई धर्मका प्रवर्तक जिजस अर्थात् प्रभु येशुको जन्मदिन हो ।
विभिन्न प्राचीन युरोपियन दस्ताबेजका अनुसार क्राईस धर्तीमा आउनपूर्व नै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसँगै आजको दिनलाई क्रिसमसका रूपमा मनाउन थालिएको हो । इस्वी संवत्का अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रूपमा मनाइन्छ भने केही देशहरूले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।
इस्वी सम्वतलाई क्राईसको जन्म अगाडी र एनोनो डोमिनी क्राईस पछाडि गरी दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसार भरिनै उपहारहरू साटासाट गरिँदै, क्रिसमस रुख सिँगार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरूमा गएर क्रिसमस मनाइन्छ । नजिकै जङ्गल हुने समुदायमा घरका पुरुषहरू जङ्गल गएर ठुला रुखका मुढाहरू काटेर ल्याउने र आँङ्गनमा बालेर यो पर्व मनाउने गरिन्छ ।
दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ पुन सञ्चालनमा
हेटौँडा । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्दारपछि खुल्ला गरिएको छ । हेटौँडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमवारबाट नागरिकका लागि खुला गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सुरुङमार्गको उद्घाटन गर्दै सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेका हुन् । प्रदेश सरकारले २०७८ बैशाख १९ मा काठमाडौँको माउन्टेन इन्फ्रा कम्पनी लिमिटेडसँग सुरुङमार्ग जीर्णोद्धारको सम्झौता गरी काम सुरु गरेको थियो । प्रदेश सरकारले ३ करोड ६५ लाख रुपैयाँ खर्चिएर सुरुङमार्गको जीर्णोद्धार गरेको हो । सुरुङमार्ग २२५ मिटर लामो सुरुङको चौडाइ २.५ मिटर छ भने उचाइ ३ मिटर रहेको छ ।
२०८० असोज २२ मा सम्पन्न आयोजनाको निर्माण सम्पन्न भएको सुरुङमार्ग एक वर्ष सञ्चालनमा ल्याइएको हो । सुरुङमार्ग सञ्चालनको ढाँचा र कार्यविधि तयार नभएकाले एक वर्षदेखि बन्द गरेर राखिएको थियो । हेटौँडा उपमहानगरपालिकाले तयार गरेको कार्यविधि अनुसार सुरुङमार्ग अवलोकन गर्न नेपालीका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ भने विदेशीलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको छ ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो । नेपालका प्रथम ग्य्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’ बीच भागमा भासिएको थियो । जीर्णोद्धारपछि सुरुङमार्ग उद्घाटन समारोहमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सरकारका बहालवाला मन्त्री, पूर्वमन्त्री, प्रदेश सभा सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
८ पुस, धरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औँ संस्करण आगामी माघ १९ गतेदेखि २६ गतेसम्म हुनेभएको छ । धरान फुटबल क्लबद्धारा आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष प्रताप तामाङले उक्त कुराको जानकारी गराएको हो ।
धरान उपमहानगरपालिका–१६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागी रहनेछ । प्रतियोगितामा एनआरटी क्लब काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृति क्लब, युके एफसि भारत, मच्छि«न्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र धरान फुटबल क्लब रहने जनाइएको छ ।
प्रतियोगिताको विजेताले ट्रफी सहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अप दि म्याच हुनेले रु १५ हजार, सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने अध्यक्षले बताउनुभयो ।
प्रतियोगिता रु ८० लाख १० हजार खर्च हुने अनुमान गरिएको छ भने रु एक करोड दुई लाख २५ हजार आम्दानी हुने लक्ष्य राखिएको क्लबका महासचिव नवीन राईले बताउनुभयो ।
प्रतियोगितामा उपविजेताले पाउने रु पाँच लाख धरान उपमहानगरपालिका–१५ निवासी हाल पोर्चुगलमा रहनुभएको अरुण राईले प्रदान गर्ने अध्यक्ष तामाङले बताउनुभयो । प्रतियोगिताको गत वर्षको संस्करणमा एनआरटी क्लब काठमाडौँ विजेता र जिल्ला फुटबल सङ्घ मोरङ उपविजेता भएका थिए ।

































