‘एक जोर जुत्ता’ कथामा बन्यो लघुचलचित्र
काठमाडौं । माध्यमिक तहको कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश ‘एक जोर जुत्ता’ कथामा लघुचलचित्र निर्माण भएको छ । ‘एक जोर जुत्ता’ कथाका लेखक महेश विक्रम शाह रहेका छन् । आफू विदेश यात्रामा रहँदा भएको यथार्थ घटनामा आधारित भएर लेखिएको कथा ‘एक जोर जुत्ता’ कथामा चलचित्र निर्माण हुँदा शाहले खुशी व्यक्त गरे । उनले लेखेको कृति ‘छापामारको छोरो’ ले मदन पुरस्कारसमेत प्राप्त गरेको थियो ।
लघुचलचित्र ‘एक जोर जुत्ता’ मा श्रमिक लुइँटेल, सुरज पराजुली, रामबाबु रेग्मी, गीताश्री थापा, समिरा थापा, सितास्मा खड्का, सहदेव बस्नेत र राजु कारंजितको अभिनय रहेको छ । ऐना आर्टसको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्रलाई नारायण जिसीले छायांकन गरेका हुन् ।
कला निर्देशन सुमित राई र निर्माण व्यवस्थापन कविर शाक्यले गरेका छन् । छायाङ्कनअघि मुन क्रियशन फिल्म एकेडेमीमा कार्यशाला गरिएको लघुचलचित्रलाई अनिल कुमार महर्जनले रंग संयोजन तथा सम्पादन गरेका हुन् ।
लघुचलचित्रको निर्माणसँगै कास्टिङ डिरेक्सन रंगकर्मी सुरेन्द्र क्षेत्रीले गरेका हुन् । बालबालिकाको क्षेत्रमा लामो समयदेखि कार्यरत क्षेत्री काठमाडौंका विभिन्न स्कूलहरूमा पनि नाटक प्रशिक्षण गर्दै आईरहेका छन् ।
अहिले विद्यालयहरूमा पढाउने तरिका नै परिवर्तन भईरहेको अवस्थामा विद्यार्थीहरूका लागि कथा बुझ्न अझ सहज होस् भन्ने हेतुले लघुचलचित्र निर्माण गरिएको निर्माता क्षेत्री बताउँछन् । उनले निर्माण गरेको लघुचलचित्र ‘द स्कुल वाल’ले रसियामा उत्कृष्ट अवार्ड समेत प्राप्त गरेको थियो ।
लघुचलचित्र ‘एक जोर जुत्ता’ को पटकथा तथा निर्देशन मोहन अभिलाषीले गरेका छन् । उनको लेखन तथा निर्देशनमा निर्माण भएको लघुचलचित्र ‘भाउ’, ‘घुर्रा’, ‘पाउलो’, ‘द स्कूल वाल’ ले विभिन्न अन्तरराष्ट्रिय चलचित्र महोत्सवहरूमा छनोट भएर अवार्डसमेत प्राप्त गरेको थियो । पछिल्लो समय उनले लघुचलचित्र ‘दृश्य’ निर्माण गरेसँगै ठूलो पर्दाको चलचित्र निर्माणको तयारीमा लागेका छन् ।
कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगितामा ८ वटा टिम सहभागी हुँदै
हेटौँडा । तेस्रो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगितामा ८ वटा टिम सहभागी हुने भएको छ । आइतवार क्लबले खेलाडी लिलामी कार्यक्रमको आयोजना गर्दै प्रतियोगितामा ८ वटा टिमहरू सहभागी हुने जानकारी गराएको छ।
कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीको सभाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा लिलामी कार्यक्रम भएको हो ।
हेटौँडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको चौरमा आउँदो माघ १६ गतेदेखि १९ गतेसम्म प्रतियोगिता हुनेछ । कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्य यज्ञबहादुर रायको पनि उपस्थिति रहेको थियो ।
हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयको सहयोग रहने प्रतियोगितामा कमाने अर्ना, कमाने हन्टर्स, कमाने टाइगर, कमाने बुल्स, कमाने रोयल्स, कमाने लायन्स, कमाने राइनोज र कमाने राइडर्स गरी ८ वटा टिमको सहभागिता रहनेछ ।
खेलाडी लिलामी कार्यक्रममा सहभागी भएका ९८ जना खेलाडीलाई क्याटग्योरी ‘ए’देखि ‘पी’सम्म छुट्याएर छुट्टाछुट्टै टिममा सहभागी गराइएको छ । क्लबले जिल्लास्तरीय, प्रदेशस्तरीय तथा राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिएका ८ जना खेलाडीलाई पनि प्रतियोगितामा सहभागी गराउन लागेको छ ।
लिलामी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडाध्यक्ष थापाले वैदेशिक रोजगारी तथा उच्च शिक्षा हासिल गर्ने बहानामा युवा विदेशीने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । युवा पुस्तालाई विदेशीनबाट रोक्नका लागि खेलकुदमा सहभागी गराएर राष्ट्रियस्तरमा र्पुयाउन आवश्यक रहेको उनले औँल्याए । प्रतियोगिताको तेस्रो संस्करणसम्म आइपुग्दा वडाको स्तरलाई बढाएको आफूले मूल्याङ्कन गरेको उनले बताए ।
कमानेभित्रका खेलाडीहरूको पहिचान बढाउन, क्रिकेट खेलको क्रेज बढाउन, खेलाडीहरुबिच भातृत्वको सम्बन्ध कायम गराउन, खेलाडीलाई राष्ट्रियस्तरमा र्पुयाउन र क्रिकेट खेलको महत्वबारे बुझाउनका लागि यस वर्ष पनि क्लबले प्रतियोगितालाई निरन्तरता दिन लागेको अध्यक्ष खत्रीले बताए । उनका अनुसार प्रतियोगिताका लागि वडा कार्यालयले २ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
प्रतियोगिताका लागि प्रथम पुरस्कार जनकपुर बोल्ट्सका ओप्नर उत्सव सिग्देलले प्रायोजन गर्ने घोषणा गर्नुभएको छ । उहाँले क्लबले गर्न लागेको प्रतियोगिताबारे यस वर्षबाट मात्र थाहा पाएको भन्दै पुरस्कार सौजन्य गर्ने निर्णय गरेको बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट ब्याट्सम्यान र सर्वोत्कृष्ट बलरलाई पनि पुरस्कार प्रदान गरिने जनाइएको छ । गत वर्ष भएको दोस्रो संस्करणको कमाने टि–१० प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि कमाने राइडर्सले जितेको थियो ।
चलचित्र ‘एक्टरः टेक वन’को सशक्त गीत ‘के भरोसा गरम’ सार्वजनिक
काठमाडौँ । माघ १६ गते रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टरः टेक वन’को सशक्त गीत ‘के भरोसा गरम’ सार्वजनिक भएको छ ।
गीतको भिडियोमा सुपरस्टार प्रदिप खड्कालाई दुई नायिकाहरू आना शर्मा, र दिव्या रायमाझीसँग प्रेममा रहेको देखाइएको छ ।
यस गीतमा त्रिकोणात्मक प्रेमकथा दर्साइएको छ तर, चलचित्रको टिजरमा भने अभिनेता द्वय प्रदिप खड्का र राजबल्लभ कोइरालाका दृश्यहरूले यस चलचित्रको कथा अर्कै रहेको सङ्केत गरेको थियो ।
गीतको भिडियोले यस चलचित्रमा प्रदिप दोहोरो भूमिकामा त छैनन् ? भन्ने प्रश्न पनि उब्जाएको छ । अभिनेत्री आनासंगको दृश्यमा बोल्न सक्ने र दिव्यासँगको दृश्यमा बोल्न नसक्ने भूमिकाका दृश्य गीतमा देखिएका छन् ।
गीतमा हर्कुलस बस्नेत र इन्दिरा जोशीले आवाज दिएका छन् । उर्मिला गुरुङको शब्द र हर्कुलस बस्नेतको सङ्गीतले गीतलाई झन् सशक्त बनाएको छ । गीतमा किरण थापाले कोरियोग्राफी गरेका छन् । कलर ग्रेडिङ राजेन्द्र मोक्तानको रहेको छ ।
चलचित्रको निर्देशन राजन भुसालले गरेका हुन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालको सहकार्यमा तयार गरिएको छ । चलचित्रमा प्रदिप, आना, र दिव्याका साथै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।
‘एक्टरः टेक वन’ अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति हो । यसका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की, र सह–निर्माता अनीश भुसाल रहेका छन् ।
चलचित्रका प्राविधिक पक्ष झन् प्रभावशाली देखिन्छन् । छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । चलचित्रमा हर्कुलससहित रोहित शाक्य, र एलिस कार्कीले सङ्गीत दिएका छन् ।
सार्वजनिक गीत ‘के भरोसा गरम’ले दर्शकलाई चलचित्रप्रति अझ नजिक ल्याउने विश्वास गरिएको छ ।
धरान उत्सव सुरु
धरान I विगत वर्षहरुमा झै यस वर्ष पनि धरान दिवसको अवसरमा पाँच दिने ’धरान उत्सव’ सुरु भएको छ ।
शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक आवासीय समृद्ध शहर भन्ने नारासहित शनिबार धरानका विभिन्न जातीय संस्था, विभिन्न सङ्घ संस्थाहरु, सबै विद्यालयहरुले सांस्कृतिक झाँकी र्यालीसहित धरान–१६ स्थित रङ्गशालको दक्षिण खाली मैदानमा प्रमुख अतिथि ज्येष्ठ नागरिक ७७ वर्षिय श्रमदाता काजिमान गुरुङले पानसमा बत्ती बालेर धरान उत्सवको उद्घाटन गर्नुभएको थियो ।
धरान संस्कार, संस्कृति, कलाको क्षेत्रमा धेरै अगाडि रहेको नगरप्रमुख राईले बताउनुभयो । पछिल्लो समय धरानले गरेको श्रमसंस्कृतिको विकास सबैले सिक्न जरुरी रहेको उहाँले बताउनुभयो।
धरान बहुजाती, बहुभाषि,बहुसंस्कृति रुपमा रहेकोले हरेक कार्यक्रममा विभिन्न जातजातिका झाँकी र्याली सहितको संस्कार, संस्कृतिले धरान एक साझा मालाको रुपमा रहेको उपप्रमुख आईन्द्र बिक्रम बेघाले बताउनुभयो । संस्कार संस्कृतिलाई दर्शाउने झाँकी र्यालीले विविधता भित्रको एकता धरानमा रहेको उहाँले बताउनुभयो।
धरानमा सबै जाति सबै धर्मलाई सम्मान गर्दै आएको उपप्रमुख बेघाले बताउनुभयो । धरान १२४ वर्ष अगाडि १९५७ सालमा चन्द्र शमशेरले बस्ती बसाएको उपप्रमुख आइन्द्र बेघाले बताउनुभयो ।
धरान उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान स्थापना दिवसको रूपमा धरान उत्सवको आयोजना गर्दै आएको छ । यो वर्ष धरान स्थापना भएको १२४ औँ वर्ष पुगेको छ ।
उत्सवको उद्घाटन समारोहमा धरानको सबै वडाबाट विभिन्न सङ्घ संस्था, सबै विद्यालयले पनि उक्त समारोहमा भाग लिएको थियो । सबै सहभागीले धरान उत्सवको ब्यानर बोकेर नगर परिक्रमा गरेका थिए ।
धरान उत्सवमा रोटे पिङ तथा बालबालिकाको लागि मनोरञ्जनको गाडी, नाउहरु राखिएको छ भने हरेक साँझ स्थानिय तथा राष्ट्रीय स्तरका कलाकारहरुको साथमा साँगितिक कार्यक्रम हुने छ ।
उत्सव अवधिभर विगतमा जस्तै प्रवेश निःशुल्क हुने र स्थानीय, घरेलु उत्पादनहरुको प्रर्दशनी तथा बिक्रीलाई प्राथमकिता दिइएको छ ।
उत्सव उद्घाटन समारोहमा धरानलाई उत्कृष्ट कर बुझाएकोमा पाँच जनालाई र सामाजिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न सङ्घसंस्थाहरुलाई समेत सम्मान गरिएको थियो । उत्सव उद्घाटन समारोहलाई प्रदेश १ का प्रतिनिधि सभा सदस्य रमेशकुमार बस्नेत, विजयकुमार राई, पुर्व प्रमुख तिलक राई, वडाध्यक्षहरुले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम्मा भगिनी सम्बन्ध रहेको नगरपालिकाहरुका प्रमुख तथा प्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधिहरु, संघसंस्थाहरु लगायतको उपस्थिति रहेको थियो ।
गायक सविन श्रेष्ठको नयाँ गीत ‘बिहानीको किरण’ सार्वजनिक
काठमाडौँ । गायक सविन श्रेष्ठले ‘बिहानीको किरण’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गीतमा उनकै शब्द र सँगीत छ ।
गीतले प्रेम र एकअर्काबिचको साथको कुरा गर्छ । धोकाधडीमा रुमलिएको युवा-युवतीको प्रेममा विश्वास र भरोसाको अपेक्षाको कुरा गर्छ । गीतमा निश्चल र स्वच्छ प्रेमको बयान छ । ‘बिहानीको किरण...’ सविनप्रतिको आशा र उनको सँगीत यात्राको उत्सव पनि हो । प्रेम र साथको सुन्दर भावनालाई समेटेर तयार पारिएको गीतले श्रोतालाई सविनको कथा पनि भन्छ ।
“सँगीतले मलाई नयाँ जीवन दिएको छ । यो गीत मेरो जीवनको त्यही यात्रा हो, जसले मलाई जिन्दगीलाई फेरि प्रेमिल बनाएको छ,” सविन भन्छन्, “केही आफ्नै भोगाइ र केही कल्पनाको समीक्षण गीतमा समेटेको छु ।”
सविनले गीतको भिडियो पनि तयार पारेका छन् । जीवन भट्टराई र लक्ष्मी बर्देवाले अभिनय गरेका छन् । भिडियोको निर्देशन पनि जीवन र लक्ष्मीले नै गरेका छन् । बुद्ध थापाले खिचेको भिडियो विष्णु खड्काले सम्पादन गरेका छन् । गीत निर्माणमा दिमेश श्रेष्ठलगायतको लगानी छ ।
यसअघि, सविनले ‘माया...’ बोलको गीत सार्वजनिक गरेका थिए । जुन गीत श्रोता र दर्शकले मन पराएका थिए ।
छैठौँ बकैया फुटबल प्रतियोगिताको तयारी तीव्र भोलि शुक्रवार खेल तालिका सार्वजनिक गरिने
मकवानपुर । छैठौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिताको तयारी तीव्र भएको छ । आगामी पुस २४ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी तीव्र र अन्तिम चरणमा पुगेको बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले बताएका छन् ।
बकैया–३ स्थित बकैया रङ्गशालामा हुने प्रतियोगिताको खेल तालिका भोलि शुक्रवार दिउँसो २ बजे सार्वजनिक गरिने संयोजक लामाले बताए ।
यस संस्करणको प्रतियोगितामा सिनियर टिम तथा जुनियर टिमको फरक–फरक प्रतिस्पर्धा हुने भएको छ । सिनियर टिममा वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९ र १० गरी ८ टिम सहभागी हुनेछन् भने जुनियरतर्फ वडा नम्बर १, २, ११, र १२ गरी ४ टिम रहनेछन् ।
यस वर्ष जुनियर टिमबाट विजेता हुने टिम आगामी वर्ष सिनियर टिममाच बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम टिम घटुवा हुने संयोजक लामाले बताए ।
माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नकआउट चरणमा खेलाइने जनाएको छ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको २४ घण्टाभित्रै ट्रेन्डिङको दुई नम्बरमा
काठमाडौं । चलचित्र ‘कार्साङ’को ट्रेलर दर्शकले रुचाएका छन् । ट्रेलरले दर्शकबाट लोभलाग्दो माया पाइरहेको छ । सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलर ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ । ट्रेलर मुभी सेक्सनको दुई नम्बरमा छ ।
एक नम्बरमा सलमान खानको सिकन्दरको टिजर छ । ‘कार्साङ’को ट्रेलरमा दर्शकको आकर्षण देखिएको छ । वर्षकै राम्रो ट्रेलर भन्दै सिनेमाले पनि त्यस्तै सफलता पाउने प्रतिक्रिया युट्युबमा आइरहेको छ ।
दया र जितुको अभिनयको तारिफ गर्दै दर्शकले अब शेर्पा समुदायको कथा दर्शकले नजिकबाट नियाल्न पाउने बताइरहेका छन् ।
ट्रेलरले पाएको यो माया चलचित्रले पनि पाउने अपेक्षा चलचित्र निर्माणपक्षको छ । ‘यही तहको माया हामीले सिनेमा हलमा दर्शकबाट पनि अपेक्षा गरेका छौँ, निर्देशक यम शेर्पाले भने, ‘दर्शकले देखाउनु भएको यो माया र अपेक्षा पूरा हुनेगरी हामीले चलचित्र बनाएका छौँ ।’
चलचित्र ‘कार्साङ’को ट्रेलरमा पात्रको अभाव, झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन, समाजले गर्ने बहिष्कार, रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाएको छ ।
अन्धविश्वास, परिवारको माया, अरूको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र छिन्नभिन्न परिवारको कथा ट्रेलरमा देख्न सकिन्छ ।
पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन् । चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यद्यपि, सबैले सिनेमा रिलेट गर्ने निर्देशकको भनाइ छ ।
चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।
संजय न्यौपानेको म्युजिक भिडियो ‘हारे हारे’ सार्वजनिक
काठमाडौँ । संजय न्यौपानेको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘हारे हारे’ सार्वजनिक गरिएको छ । बुधवार अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको म्युजिक भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेल फिचर्ड छन् ।
यही टिमले यसअघि नेपालकै सर्वाधिक महँगो दाबी गरिएको म्युजिक भिडियो ‘मालती’ निर्माण गरेको थियो । बुधवार सार्वजनिक गरिएको नयाँ म्युजिक भिडियो ‘हारे हारे’मा साम्राज्ञी र विशाल रोमान्टिक अवतारमा प्रस्तुत छन् । यो भिडियो पनि थाइल्याण्डका रमणीय स्थानमा खिचिएको हो ।
एलए स्टुडियो इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको म्युजिक भिडियोमा नेपाल आइडल सिजन २ बाट चर्चामा आएका सुमित पाठक र ममता गुरुङको स्वर सुन्न सकिन्छ । गीतको शब्द रचना, कम्पोज र एरेञ्ज गायक पाठक स्वंयमले गरेका हुन् । सौरभ लामाको डिओपी रहेको म्युजिक भिडियोलाई निर्देशक न्यौपाने र कमल खतिवडाले निर्माण गरेका हुन् ।
जनवरी ४ मा एकसाथ लन्डनमा गुन्जिँदै ‘कन्दरा’ र स्वप्न सुमन
काठमाडौँ । नेपालको स्थापित साङ्गीतिक ब्यान्ड ‘कन्दरा’ले आउँदो ४ जनवरीमा लन्डन ओटुमा दिने साङ्गीतिक प्रस्तुतिको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रम लागि कन्दरासँगै गायक स्वप्न सुमनले पनि साङ्गीतिक प्रस्तुति दिँदै छन् । कन्दराले आफ्नो साङ्गीतिक यात्राको ३२ औँ वर्षगाँठ विश्व प्रतिष्ठित कन्सर्ट भेन्यु लन्डन ओटुमा उत्सवका भव्य कार्यक्रम गर्न लागेको आयोजक मामाघर इन्टरटेनमेन्टले जनाएको छ ।
आयोजकका अनुसार विश्व प्रख्यात द ओटुमा अवस्थित इन्डिगोमा युवा पुस्ताहरू माझ प्रख्यात गायक स्वप्न सुमन आफ्नो ब्याण्ड द आस्टर्सका साथमा प्रस्तुति दिनेछन् ।
कार्यक्रममा स्वप्न सुमन र उनको ब्याण्डले नढाक न मुहार शृङ्गारले, बाचा भयो, जे छौ तिमी लगायतका गीतहरू प्रस्तुत गर्नेछन् । पहिला घरदेखि अनि परदेशको नारासहित विश्व भ्रमणमा निस्केको कन्दराका तिमी पारी, चन्चले कान्छी, लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल जस्ता गीत प्रस्तुत हुनेछन्। कन्दराले आत्मसात् गरेको लोक पप धुनहरू आजपर्यन्त लाखौँ शुभचिन्तक र दर्शक रोजाइमा छन् ।
आयोजकले नेपाली सँगीत धरोहरको रूपमा रहेको कन्दरा ब्याण्डको यस ऐतिहासिक साँझको हिस्सा बनि नेपाली गीत सँगीत प्रवर्धनमा सरिक बन्न अनुरोध गरेको छ । जसका लागि अनलाइन मार्फत पनि कार्यक्रमको टिकट उपलब्ध हुने आयोजकले जनाएको छ । कन्दराले हालसालै काठमाडौँमा ऐतिहासिक कन्सर्ट गरेको थियो ।
‘कार्साङ’ चलचित्र गहन विषयमा बनेको निर्देशकको दाबी
काठमाडौँ । चलचित्र ‘कार्साङ’ का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने चलचित्र बनेको बताएका छन् । कुनै समुदाय र ठाउँ विशेषको कथा भए पनि सबैको मन जित्ने कथामा चलचित्र बनेको कलाकार र निर्देशकको भनाइ छ । आर्थिक अवस्था कमजोर भएको क्यारेक्टरमा आफू ‘कार्साङ’ मा रहेको बताउँदै दयाहाङले झाँक्री सिनेमामा हुँदाको स्मरण गरे ।
‘झाँक्री विद्या जान्नुपर्ने क्यारेक्टर थियो । आगोमा नाच्नु पर्ने थियो । सिनेमा हो चिटिङ भइहाल्छ नि भन्नेमा म थिएँ । तर उहाँहरू केही हुन्न मन्त्र पढेर आगोको राप मारेको छ भन्दै हुनुहुन्थ्यो, काठमाडौँमा सोमवार दयाहाङले पत्रकारसँगको अन्तरक्रियामा भने, ‘डिरेक्टर पनि खासै केही हुँदैन भन्नुहुन्छ । मलाई के गर्नु–गर्नु भयो । ट्राइ चाहिँ गर्छु भन्ने भयो । आगोमा पसेँ सफल भएँ । उहाँहरूसँग ज्ञान रहेछ ।’
लामो अनुभव र प्रयासले झाँक्री विद्या विद्यमान रहेको उनले बताए । झाँक्री विद्यालाई अन्धविश्वास भनेर सबैले सहजै भने पनि लामो अभ्यास र अनुभवका कारण केही शक्ति भने यसमा रहेको उनको भनाइ छ ।
निर्देशक यम शेर्पाले भने, ‘चलचित्रको कथा आफैँमा राम्रो छ । सिनेमाले दर्शकको मन छुन्छ । भावुक बनाउँछ र हसाउँछ पनि, राम्रो कथामा दयाहाङ राई, दिया मास्के, जितु नेपाल, सिर्जना निङलेखुजस्ता कलाकारको अभिनयनले चलचित्रलाई थप सशक्त बनाएको छ ।’
चलचित्रलाई लिएर आम दर्शकमा चासो रहेकाले हलमा पुगेपछि विषय र प्रस्तुतिलाई आम अडियन्सले मन पराउने उनको भनाइ छ ।
उनले भने, ‘म जहाँ गए पनि दयाहाङको कार्साङ आउँदैछ रे भनेको सुन्छु र टिजर र गीतको कुरा गरेको सुन्छु, सायद यस्तै खोजी हुने र चासो भयो भने नै चलचित्र हेरिने होला ।’
कलाकार जितु नेपालले चलचित्र विषय, प्रस्तुति र अभिनय सबै हिसाबले राम्रो बनेको बताए । आफू विदेशमा हुँदा धेरैले यो चलचित्रको विषय र भूमिकालाई लिएर धेरैले सोधेको उनले बताए ।
पोस्टर निस्किएपछि चासो बढेको उनको भनाइ छ । तपाईँको रोल कस्तो हो भनेर धेरैले सोध्ने गरेको जितुको भनाइ छ ।
‘म केन्द्रीय चरित्रमा छु वा सहायक त्यसले केही अर्थ राख्दैन । सिनेमा कस्तो छ र अभिनय कस्तो छ भन्ने कुरा हो, जितु अगाडि भन्छन्, म केन्द्रीय चरित्र हुँदा पनि काम गर्छु । सहायक चरित्र हुँदा पनि गर्छु ।’
कलाकारका लागि चरित्र कुन भन्दा पनि काम कस्तो गरेँ भन्ने कुराले चलचित्रमा अर्थ राख्ने उनको भनाइ छ ।
नायिका सिर्जना निङलेखुले ‘कार्साङ’ आफ्नो पहिलो चलचित्र भएको बताइन् ।
उनले भनिन्, ‘मेरो काम कस्तो छ भनेर हेर्न पनि यो चलचित्र हेर्नुपर्छ, मलाई प्रतिक्रिया दिन पनि यो चलचित्र हेरिदिनुहुन्छ भन्ने लागेको छ । समग्रमा चलचित्र राम्रो बनेको छ । मैले पनि राम्रो काम गर्ने प्रयास गरेको छु ।’
पुस २६ गते रिलिज हुने चलचित्र यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ । चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यद्यपि, सबैलाई रिलेट गर्ने कलाकार र निर्देशकको दाबी छ ।
चलचित्र ‘कार्साङ’ मा दयाहाङ, सिर्जना, जितु र दीयासँगै बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।




























