यु–१९ एसिया कप : आज पहिलो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गदै छ । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने प्रतियोगिताको पहिलो खेल शुक्रवार नेपाली समय अनुसार बिहान १०ः ४५ बजे सुरु हुने छ।
आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेका छन्।
नेपालले दोस्रो खेल मंसिर १६ गते आइतवार बंगलादेशसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग खेल्ने छ।
सेमिफाइनल मङ्सिर २१ र फाइनल खेल २३ गते हुँदैछ।
विवाहको मौसममा सुनको मूल्य कम हुँदा बजारमा चहलपहल
काठमाडौँं । गत साताबाट नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो गतिमा छ । मूल्यमा आएको गिरावटसँगै बजारमा चहलपहल बढ्दो छ । उपभोक्ताहरू सस्तिएको मूल्यमा सुन खरिद गर्न उत्सुक देखिन्छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक १५ गतेसम्म नेपाली बजारमा एक लाख ७१ हजारसम्म पुगेको सुनको मूल्य मंसिर ११ मा सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ पुगेकोे थियो ।
झन्डै एक महिनाको अवधिमा सुनको मूल्यमा १२ प्रतिशतले गिरावट आइसकेको छ । गत बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेपछि सुनको भाउमा गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय थियो । मंगलबारको तुलनामा बुधवार सुनको भाउ नौं सय रुपैयाँले बढेको हो । मंगलबार सुनको भाउ १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो ।
पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ । आइतवार प्रतितोला १ लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा सोमवार घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
सोमवार एकैदिन १५ हजार ९ सय रुपैयाँले सुनको भाउ घटेको हो । नेपाल सरकारले सुनमा लगाएको भन्सार महसुलमा समायोजन गरेको र अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य घटेपछि केही समयका लागि सुन सस्तिएको नेपाल राष्ट्र बैँकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।
उनले भने,‘सरकारले कुनैपनि वस्तुमा कर घटाउने बँडाउने गरिरहेको हुन्छ । यसै अनुसार कुनैपनि वस्तुको मूल्य निर्धारण हुन्छ । सुनको हकमा पनि सरकारले सुनमा लाग्दै आएको कर, भन्सार दर घटाएको कारणले सुन केही समयका लागि सस्तिएको हो ।’
थापाका अनुसार अब भने सुन घट्ने सम्भावना कम छ । बजारमा यतिबेला सुन किन्नेहरूको चहलपहल बाक्लो छ । अघिपछिभन्दा हिजोआज माग बढेको व्यवसायीहरूको भनाई छ । न्यूरोडमा १० वर्षदेखि सुन व्यापार गर्दै आएकी विमला घिमिरे काफ्ले सुनको मूल्य घटेसँगै ग्राहकहरू झन धेरै आउन थालेको बताउँछिन ।
उनले भनिन,‘सुनको भाउ एक लाख ७१ हजार पुग्दा खेरी मूल्य बढेर तोलाकै दुई लाख हुन्छ भन्ने हल्ला सुनेर ग्राहकहरू आत्तिएर किन्न आउने गरेकोमा तोलामा एक्कासि १५ हजारले सुन घटेर १ लाख ५१ हजार भएपछि ग्राहकहरू झनै धेरै आउन थालेका छन् ।’
सुनको मूल्य घट्नुमा आन्तरिक कारण रहेको औंल्याइन्छ । किनभने पटक-पटक चर्को भन्सार दर बृद्धिले व्यवसायी असन्तुष्ट बन्दै आएका थिए । सरकारले भन्सार दर घटाउने निर्णय गर्दै नेपालराजपत्रमा प्रकाशित भएको र यससँगै लागु भएपछि व्यवसायी उत्साहित छन् ।
यसअघि पनि भन्सार दर घटाउन व्यवसायीहरूले सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । राष्ट्र बैँक, अर्थ मन्त्रालय, प्रधानमन्त्रीलगायतका सबै समक्ष भन्सार दर घटाउन माग गरेका थिए ।
सुनको मूल्य घटेसँगै केहीदिन यता सुन किन्नेहरूको घुइँचो लागेको सुन व्यवसायीहरू बताउँछन । तथापि सुनको अभाव भने भएको छैन । अहिलेको महँगीलाई हेर्दा सुनको भाउ घट्नु राम्रो कुरा भएको उपभोक्ता विश्व भारती राना बताउँछिन् ।
उनी भन्छिन्,‘अहिलेको महँगी हेर्ने हो भनेपनि, नेपालीहरूले सांस्कृतिक रूपमा सुन लगाउनु पर्ने हुन्छ । बिहेबारी, चाडबाड सबैमा आवश्यक नै हुन्छ । त्यसैले सुनको मूल्य घटेको राम्रो नै हो । किनभने सबै वर्गले प्रयोग गर्न सक्छन् ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनामा एक अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ बराबरको एक सय ३३ किलोग्राम सुन आयात भएको छ ।जसबाट सरकारले २८ करोड ५५ लाख सात हजार रुपैयाँ बराबर भन्सार राजस्व प्राप्त गरेको छ ।
प्राकृतिक सुन्दरताको पर्याय मुस्ताङको कागबेनी र सेल्फी डाँडा (फोटोफिचर)
हिमालपारीको जिल्ला मुस्ताङ आफैँमा पनि सुन्दर, मनमोहक र आकर्षक छ । मुस्ताङ घुमेर फर्किनेहरू मुस्ताङलाई ‘स्वर्गको टुक्रा’ भन्छन् । मुस्ताङमा थुप्रै धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरू रहेका छन् । मुस्ताङमा प्रसिद्ध मुक्तिनाथ मन्दिरसहित दामोदरकुण्ड, प्राचीन गुफाहरू, मार्फाको स्याउ बगैँचा, उपल्लो मुस्ताङ, मुस्ताङ–तिब्बत कोरला नाका र कागबेनी लगायत मनोरम दृश्यावलोकनका लागि ठाउँहरू छन् । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको गन्तव्य बनेको ‘यारुजो डाँडा’ पर्यटकीय क्षेत्रका रूपमा चिनिँदै जान थालेको छ ।
नेपाल प्रिमियर लिगको युट्युब प्रशारण अधिकार डिश मिडिया नेटवर्कलाई
धरान । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको छ । डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्क बीच सम्झौता भएको हो।
दर्शकहरूले एनपीएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्। यसका साथै, प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्नेछ ।
प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।
पोस्टर र क्यारेक्टर तस्बिरमार्फत चलचित्र ‘कार्साङ’को पब्लिसिटी सुरु
काठमाडौँ । रिलिज डेट नजिकिएसँगै चलचित्र ‘कार्साङ’ले प्रचारप्रसार सुरु गरेको छ । पोस्टर र क्यारेक्टर तस्बिरमार्फत ‘कार्साङ’ले पब्लिसिटी सुरु गरेको हो । सुरुमा दयाहाङ राई फिचर्ड पोस्टर आउट गरेको निर्माणपक्षले त्यसपछि जितु फिचर्ड पोस्टर सार्वजनिक गरेको छ । केही दिन अगाडि मात्रै निर्माणपक्षले जितु र दीया मास्के फिचर्ड पोस्टर सार्वजनिक गरेको छ ।
लगातार जितु नेपाल फिचर्ड पोस्टर निर्माणपक्षले किन सार्वजनिक गरिरहेको छ । मुख्य कलाकार दयाहाङ राई हुन् भने किन लगातार जितुका पोस्टर सार्वजनिक भएका हुन् । निर्माणपक्षले लगातार जितु फिचर्ड पोस्टर सार्वजनिक गर्नुले कतै ‘कार्साङ’मा दयाहाङ राई मुख्य भूमिकामा नभएर जितु नेपाल त छैनन् भन्ने शंका उब्जाएको छ । जितु पनि लगातार मुख्य भूमिकामा देखिन थालेकाले यो शंका गर्ने ठाउँ पनि छ ।
दसैँमा जितु मुख्य भूमिकामा रहेको चलचित्र ‘ज्वाइँ साब’ रिलिज भएको थियो । उक्त चलचित्रले राम्रो हाइप पनि बनाएको थियो ।
यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ’ पुस २६ गते प्रदर्शन हुँदै छ ।
शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमा पुरुषोत्तम प्रधानको छायाङ्कन र निर्माता स्वयम् हुन् । सिनेमाको सह–निर्मातामा गोविन्द बोहोरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।
यो चलचित्रको अन्तर्राष्ट्रिय वितरकमा अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन् भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मले लिएको छ ।
विराट कोहलीको टेस्ट करियरको ३० औँ शतक
काठमाडौँ । भारतका विराट कोहलीले आफ्नो टेस्ट करियरको ३० औं शतक बनाएका छन् । अष्ट्रेलिया विरुद्धको बोर्डर–गावस्कर ट्रफीको पहिलो खेलको दोस्रो इनिङ्समा विराटले १०० रनको नटआउट पारि खेलेका हुन् ।
उनले अष्ट्रेलियाका महान ब्याट्सम्यान डन ब्रान्डम्यान (२९ शतक) लाई पछि पारेका छन् । भारतले कोहली र यशस्वी जैस्वाल (१६१ रन)को शतकको आधारमा ४८७÷६ मा आफ्नो इनिङ्स घोषणा गरेको थियो । योसँगै अष्ट्रेलियालाई ५३४ रनको लक्ष्य प्राप्त गरेको छ ।
रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले तेस्रो दिनको खेल सकिँदा १२ रनमा ३ विकेट गुमाएको छ । उस्मान ख्वाजा ३ रनमा नटआउट रहेका छन् । मार्नस लाबुसचेन ३, कप्तान प्याट कमिन्स २ र नाथन म्याकस्विनी खाता नखोली नै पभेलियन फर्किएका थिए ।
जसप्रित बुमराहले २ र मोहम्मद सिराजले एक विकेट लिए । भारतीय पारिमा जैसवाल–कोहलीबाहेक नितिश रेड्डी ३८ रन बनाएर नटआउट फर्किए । वासिङ्टन सुन्दरले २९ रन, देवदत्त पडिक्कलले २५ रन र केएल राहुलले ७७ रन बनाए । नाथन लियोनले २ विकेट लिए ।
बिहान १७२ रनको स्कोर बनाएर तेस्रो दिनको सुरुआत भारतले गरेको थियो । पहिलो इनिङ्समा अस्ट्रेलिया १०४ रनमा अलआउट भएको थियो भने भारत १५० रनमा समेटिएको थियो । पहिलो पारिको स्कोरका कारण भारत ४६ रनले अगाडि रहेको थियो ।
सिड्नीमा नेपाल फेस्टिभल, हजारौँको सहभागिता
सिड्नी । अष्ट्रेलियाको सिड्नीमा भएको नेपाल फेस्टिभल सिड्नी २०२४ मा उत्साहजनक सहभागिता भएको छ । शनिवार डार्लिङ हार्बरको टम्बलङ पार्कमा भएको फेस्टिभलमा नेपाली कलाकारहरूले भरपुर मनोरञ्जन समेत दिलाए ।
नेपाली कला–संस्कृति झल्कने प्रदर्शनी र कलाकारहरूको प्रस्तुतिमा आगन्तुकहरूले भरपुर मजा लिएका छन् । करिब २० हजारभन्दा बढी नेपालीले महोत्सवमा सहभागिता जनाएको आयोजकको दाबी छ ।
फेस्टिभल सुरु हुनुअघि नेपाली पहिरन र विविध कला–संस्कृति झल्काउने बाजागाजा र नाचगानसहित सहर परिक्रमा गर्दा विदेशीहरूले चाख दिएर अवलोकन गरेका थिए । फेस्टिभल अघि आयोजित डिनर कार्यक्रममा अस्ट्रेलियामा बसोबास गर्ने प्रतिष्ठित व्यक्तिहरूले सहभागिता जनाएका थिए ।
महोत्सवमा पहिलोपटक प्रिमियर क्रिस मिन्स सहभागी भए । प्रिमियर मिन्ससँगै विपक्षी लिबरल पार्टीका प्रमुख मार्क स्पिकम्यान समेत सहभागी थिए ।
महोत्सवमा नेपाल हाउस मुख्य आकर्षणको केन्द्र बनेको थियो जसमा नेपाली धरहरा, पशुपति मन्दिर, बौद्ध स्तुपा लगायतको प्रतिमा स्थापना गरिएको थियो । कार्यक्रममा अस्ट्रेलियाका नेपाली कलाकारका साथै एक्स ब्यान्ड, आस्था राउत र हेमन्त शर्माले साङ्गीतिक मनोरञ्जन दिएका थिए ।
एनआरएन अस्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेष्टिभलको सिड्नी संस्करण सबैभन्दा पुरानो हो । नेपाल फेष्टिभल मार्फत नेपालीहरूले अस्ट्रेलियामा आफ्नो उपस्थितिलाई सेलिब्रेट गर्ने गरेका छन् । नेपाल फेष्टिभलको लागि २ लाख ५० हजार डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
धरहरा प्रवेश गर्न ५० रुपैयाँ, चढ्न दुईसय रुपैयाँ शुल्क
काठमाडौँ । आज देखि धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । परीक्षणका रूपमा यसअघि निःशुल्क खुला गरिएको थियो । अब धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएको हो ।
धरहरा प्रवेश गर्न ५० रुपैयाँ र चढ्दा प्रतिव्यक्ति दुईसय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गते देखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रीपरिषद्ले नै स्वीकृत गरेको छ।
सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ।
त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ। धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार तोकिएको छ । धरहरा परिसरमा व्यावसायिक भिडियो छायाकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ तोकिएको छ।
कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्वाचित
काठमाडौँ । वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका छन् । नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाबाट विशिष्ट अभिनेता मल्ल अध्यक्ष पदमा चयन भएका हुन् ।
काभ्रेपलान्चोकको थुम्की रिसोर्टमा भएको साधारण सभा धुलिखेल नगरपालिकाको नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो भने बिशिष्ठ अतिथिहरुमा बरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, बरिष्ठ लोक गायक प्रेमराजा महत, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, लक्ष्मण न्यौपाने र अभिनेत्री करिश्मा मानन्धर रहेका थिए ।
अध्यक्षमा निवार्चित भएपछि अध्यक्ष मल्लले नेपाली कलाकारिताको विकासमा आफू कटिबद्ध भइ लागिपर्ने र नेपाली चलचित्रलाइ अन्ताराष्ट्रिय स्तरमा पुर्याउन अहोरात्र खट्ने बताए ।
सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ, सह कोषाध्यक्षमा दुर्गा बिशुराल र सोसाइटीको सदस्यहरूमा क्रमशः सुनिल कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजी कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्का सर्वसम्मत चयन भएका छन् । नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत रहेको छ ।
विराटनगर किंग्सको जर्सी सार्वजनिक
विराटनगर । एनपीएल लिग खेल्ने विराटनगर किंग्सको जर्सी र गीत सार्वजनिक गरिएको छ । मंगलबार साँझ कोसीका मुख्यमन्त्री हिक्मत कार्कीले विराटनगरमा एक कार्यक्रमबिच जर्सी सार्वजनिक गरेका हुन् । जर्सीको कलर पहेँलो र निलो रहेको छ । जर्सीसँगै कार्यक्रममा टिमको एन्थम गीत समेत सार्वजनिक गरिएको छ ।
भ्वाइस अफ विराटनगर किंग्स तथा एम्बेसडर समेत रहेका कुशल पोखरेलले उक्त रचना तयार पारेका हुन् । विराटनगर किंग्सको गीत ¥याप फर्म्याटमा रहेको छ । यसका साथै विराटनगर किंग्सको फेसमा गायिका रचना रिमाललाई घोषणा गरिएको छ । कार्यक्रममा टिमका मार्की खेलाडी सन्दीप लामिछाने सहभागी थिए ।





















































