शनिबार, ३० जेठ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, ३० जेठ २०८३

फिफा विश्वकप : क्यानडाको ऐतिहासिक पुनरागमन, बोस्नियासँग १–१ को बराबरी

https://www.jawaaf.com/storage/01KTZCPS0NGZ559AD78PXX0G4A.jpg

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को उद्घाटन खेलमा सह–आयोजक क्यानडाले बोस्निया–हर्जेगोभिनासँग १–१ गोलको बराबरी खेल्दै विश्वकप इतिहासमा पहिलो पटक अंक हासिल गरेको छ।

टोरन्टोस्थित खचाखच भरिएको रंगशालामा शनिबार बिहान सम्पन्न खेलमा बोस्नियाले पहिलो हाफमा अग्रता बनाए पनि क्यानडाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै हार टार्न सफल भयो।

खेलको २१औँ मिनेटमा जोभो लुकिकले कर्नरबाट आएको बललाई गोलमा परिणत गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए। अन्तर्राष्ट्रिय फुटबलमा उनको यो पहिलो गोल समेत बनेको थियो। पहिलो हाफभरि बोस्नियाले खेलमा पकड जमाएको देखिएको थियो भने क्यानडाले घरेलु समर्थकको साथ पाए पनि अपेक्षित प्रदर्शन गर्न सकेन।

दोस्रो हाफमा भने क्यानडा थप आक्रामक रूपमा प्रस्तुत भयो। ५३औँ मिनेटमा रिची लारियाको प्रहारलाई बोस्नियाका डिफेन्डर सियाड कोलासिनाकले गोललाइनबाट क्लियर गर्दै टोलीलाई संकटबाट जोगाए। तर खेलको ७८औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका साइल लारिनले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए।

लारिनको गोलले खेलमा नयाँ ऊर्जा थप्नुका साथै उनलाई घरेलु मैदानमा क्यानडाका लागि विश्वकप गोल गर्ने पहिलो खेलाडीको रूपमा इतिहासमा स्थापित गरायो। 

अतिरिक्त समयको ६ मिनेटमा दुवै टोलीले विजयी गोलको प्रयास गरे पनि कुनै टोलीले सफलता हात पार्न सकेन र खेल १–१ को बराबरीमा समाप्त भयो। यससँगै १९८६ र २०२२ विश्वकपमा खेलेका सबै खेल गुमाएको क्यानडाले विश्वकप इतिहासमा पहिलो पटक अंक बटुल्न सफल भएको छ।

यो खेलसँगै समूह ‘बी’ का क्यानडा र बोस्निया एन्ड हर्जगोभिना दुवैले पहिलो खेलपछि एक–एक अंक जोडेका छन् । यस समूहमा स्विट्जरल्यान्ड र कतार पनि छन्।

सम्बन्धित खबर

/frontend/images/redline.png