शुक्रबार, १५ जेठ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, ०६ जेठ २०८३

पहिचानको ‘प’ उच्चारण गर्न डराउनेसँग एकता सम्भव छैन : अशोक राई

https://www.jawaaf.com/storage/01KS25VRJXX734YFKV7BDHY09M.jpg

धरान । अशोककुमार राईले पहिचानको मुद्दाबाट पछि हट्ने वा त्यसको ‘प’ उच्चारण गर्न समेत डराउने राजनीतिक शक्तिसँग एकता सम्भव नभएको बताएका छन्।

जनता समाजवादी पार्टी प्रदेश नं. १ समितिद्वारा धरानस्थित हरियाली सामुदायिक सभाहलमा जेठ २ र ३ गते आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री राईले यस्तो धारणा व्यक्त गरेका हुन्।

प्रशिक्षण कार्यक्रममा सहभागीहरूले नयाँ राजनीतिक दलहरूसँग एकताको सम्भावनाबारे प्रश्न उठाएपछि अध्यक्ष राईले स्पष्ट रूपमा भने, “मैले एमाले छोड्नुको मुख्य कारण नै उत्पीडित समुदायको पहिचान स्थापित गराउनका लागि हो। तर अहिले कुलमानजी तथा हर्कभाइजस्ता व्यक्तिहरू पहिचानको ‘प’ उच्चारण गर्नसमेत डराइरहेका छन्। पहिचानको पक्षमा बोले अशोक राईको जस्तो अवस्था हुन्छ भन्ने सोच राख्नेहरूसँग एकता सम्भव हुँदैन।”

कार्यक्रममा अध्यक्ष राईले समसामयिक राजनीति, पार्टी नीति तथा कार्यक्रमबारे प्रशिक्षण दिएका थिए। प्रशिक्षणपछि करिब एक घण्टासम्म सहभागीहरूसँग प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

त्यसैगरी, कार्यक्रममा पार्टी विधान तथा साङ्गठनिक संरचनाबारे जसपाका केन्द्रीय उपमहासचिव एवं प्रदेश नं. १ इन्चार्ज रमेश राईले प्रशिक्षण दिएका थिए। संगठन सञ्चालन पद्धति, बैठक सञ्चालन विधि–प्रक्रिया, कार्यक्रम आयोजना तथा पार्टी प्रशिक्षणको मोडालिटीबारे भीम राईले प्रस्तुति दिएका थिए।

यस्तै, वर्तमान व्यवस्थामा जनप्रतिनिधिहरूको भूमिका र जिम्मेवारीबारे निर्मला तावा लिम्बु, शासकीय स्वरूप तथा पहिचानसहितको संघीयताको आवश्यकताबारे मुक्कुम नेम्वाङ तथा निर्वाचन कार्यक्रम, मनोनयनदेखि परिणाम घोषणासम्मको प्रक्रिया र कानुनी व्यवस्थाबारे अधिवक्ता दिपक राईले प्रशिक्षण दिएका थिए।

दुईदिने प्रशिक्षण कार्यक्रममा प्रदेश नं. १ अन्तर्गतका सबै जिल्लाबाट प्रतिनिधिमूलक सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी एक प्रदेशस्तरीय नेताका अनुसार, प्रशिक्षण कार्यक्रम भएता पनि प्रदेशका सबै जिल्लाका नेताहरूको उपस्थितिरहेको अवसरमा प्रशिक्षणसँगै २०८४ सालमा हुने प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै अनौपचारिक राजनीतिक छलफलसमेत भएको जनाए।

उनका अनुसार, आगामी प्रदेशसभा निर्वाचनमा कोशी प्रदेशको पुनःनामाङ्कनको मुद्दालाई प्रमुख एजेन्डा बनाउने तथा सबै समुदायलाई समेट्ने गरी “किरात प्रदेश” नामका पक्षमा जनतामाझ जाने विषयमा नेताहरूको अनौपचारिक छलफलमा सुझावहरू पनि आएको बताए र यस सुझावका विषयमा पार्टीको निर्णय गर्ने निकायमा छलफलका लागि पुराउने जानकारी दिए।

उक्त कार्यक्रम जनता समाजवादी पार्टी  प्रदेश नं. १ समितिको आयोजनामा सम्पन्न भएको हो भने व्यवस्थापन जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले गरेको थियो। कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष गणेश राईले गरेका थिए भने सञ्चालन समितिका मुख्यसचिव नगेन्द्र पारघरी लिम्बुले गरेका थिए।

सम्बन्धित खबर

/frontend/images/redline.png