‘पेटका लागि होइन, देशका लागि राजनीति’ - हर्कराज राई
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफ्नो पार्टीलाई केवल राजनीतिक शक्ति नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा प्रस्तुत गरेका छन् ।
शनिबार खोटाङको दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै राईले मोलमिलाप, चेतना र जागरणको अभियान सञ्चालन गर्नुका साथै श्रमदानमार्फत विकासमा टेवा पुर्याउनु नै आफ्नो पार्टीको उद्देश्य रहेको बताएका हुन् ।
उनले भने, ‘हाम्रो पार्टी केवल राजनीति गर्ने मात्र होइन, यो सामाजिक अभियान पनि हो । यो मेलमिलाप, चेतना र जागरणको अभियान हो । साथै, श्रमदान गरेर विकासमा टेवा पुर्याउने पार्टी पनि हो ।’
उनले पार्टीले भ्रष्टाचार, दलाली, कमिसन र घुसखोरी नगर्ने प्रतिबद्धता व्यक्त गरे । ‘म तपाईंलाई के वचन दिन्छु भने मोलमोलाइ, दलाली, भ्रष्टाचार, कमिसन वा घुसखोरी कदापि गर्ने छैनौं । आफ्ना सांसदहरूलाई पनि यस विषयमा सचेत गराइरहेको छु,’ उनले भने ।
उनले आफ्नो पार्टी व्यक्तिगत स्वार्थ पूरा गर्न नभई देश निर्माण, संरक्षण र सुधारका लागि समर्पित रहने बताए । ‘आफ्नो पेट पाल्न र पेट बढाउनका लागि होइन, देश बनाउन र बचाउनका लागि हो । हामी देश सुधारका लागि लाग्नेछौं,’ उनले भने ।
उनले सुशासनको पक्षमा दृढतापूर्वक उभिने र वर्तमान सरकारका गलत कार्यहरूको विरोध गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सम्बन्धित खबर