अमेरिकामा सन्तोष राईलाई काँस्य पदक
काठमाडौं । अमेरिकामा सम्पन्न युएसए ओपन कराते च्याम्पियनसिप २०२६ मा नेपालका सन्तोष राई ले काता विधामा काँस्य पदक जितेका छन् ।
फोर्ट वर्थ कन्भेन्सन सेन्टर मा आइतबार सम्पन्न प्रतियोगितामा सन्तोषले पुनःअवसर चरणमार्फत उत्कृष्ट प्रदर्शन गर्दै पदक सुरक्षित गरेका हुन् । पुनःअवसर चरणमा उनले अमेरिकाका खेलाडी कारास्क्वेललाई पराजित गर्दै नेपाललाई पदक दिलाए ।
यसअघि सन्तोषले आफ्नो यात्रा उत्कृष्ट ढंगले सुरु गरेका थिए । पहिलो खेलमा अमेरिकाकै भिरायो पिएरपाओलोलाई हराउँदै उनले जितको सुरुवात गरेका थिए भने दोस्रो खेलमा कोम्पस जोनीलाई पनि पराजित गरे । तर तेस्रो खेलमा जापानका ओसाको हिसाओसँग पराजित भएपछि उनी फाइनल पुग्न सकेनन् । त्यसपछि पुनःअवसरमार्फत उनले काँस्य पदक जित्न सफल भए ।
कुमिते विधामा पनि सन्तोषले राम्रो प्रदर्शन गरे । उनले पाँच बाउट जिते पनि पदकका लागि पर्याप्त हुन सकेन । पुनःअवसर चरणमा सार्दी मार्सेलोसँग अन्तिम समयमा सम्हालिन नसक्दा उनी अर्को पदकबाट चुके । यसअघि उनले नाथानियल जुनियरलाई ७–० ले हराएका थिए भने सोर्बी ओरिया र कारास्क्वेललाई पराजित गर्दै अगाडि बढेका थिए । चौथो खेलमा घरेलु टोलीका कुचुक्कसँग हार व्यहोरेपछि फाइनल पुग्ने अवसर गुमाए ।
सन्तोषका प्रशिक्षक सुनिल लामा ले खेलाडीले सन्तोषजनक प्रदर्शन गरेको बताए । उनका अनुसार अन्तिम समयमा केही कमजोरी देखिँदा अर्को पदकबाट वञ्चित हुनुपरेको हो ।
सम्बन्धित खबर