किराँत राई यायोक्खा क्षेत्रीय कार्य समिति रियादको अध्यक्षमा सुजन सेर राई चयन
रियाद (साउदी अरब)। किराँत राई यायोक्खा क्षेत्रीय कार्य समिति रियादको नयाँ अध्यक्षमा सुजन सेर राई सर्वसम्मत रूपमा चयन हुनुभएको छ। गत फागुन १ गते शुक्रबार साउदी अरबको रियादस्थित होटल डिमोरा बथामा सम्पन्न समितिको नियमित बैठकले राईलाई नेतृत्वको जिम्मेवारी सुम्पिएको हो ।
निवर्तमान अध्यक्ष विज्ञान राईले व्यक्तिगत कारणले संस्थालाई समय दिन नसक्ने उल्लेख गर्दै आफ्नो पदबाट राजीनामा दिनुभएको थियो। बैठकले उक्त राजीनामा स्वीकृत गरेसँगै रिक्त रहेको अध्यक्ष पदमा सल्लाहकार समितिका सदस्य सुजन सेर राईलाई चयन गर्ने निर्णय गरेको हो ।
साथै उक्त बैठकले भोजपुरस्थित किराँत राई समुदायको सांस्कृतिक एवं ऐतिहासिक उद्गम स्थल 'साल्पा सिलिचुङ' मा भइरहेका विभिन्न निर्माण कार्यका लागि आर्थिक सहयोग गर्ने विषयमा समेत प्रारम्भिक छलफल गरेको छ । संस्थामा प्राप्त सहयोगको प्रस्तावमाथि विस्तृत छलफल गरी आगामी बैठकबाट ठोस निर्णय लिइने समितिले जनाएको छ ।
कार्यवाहक अध्यक्ष सुजता राईको अध्यक्षतामा बसेको उक्त बैठकमा संस्थाका संरक्षक राज कुमार राई (तोङ्मालुङ्ग) र प्रवास शाखा केन्द्रीय वरिष्ठ उपाध्यक्ष भोगेन्द्र चाम्लिङ राईको विशेष उपस्थिति रहेको थियो ।
बैठकमा सचिवद्वय जहान सिं राई र मनिष राई, कोषाध्यक्ष रोसन राई लगायत कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको उल्लेख्य सहभागिता थियो । बैठकको अन्त्यमा कार्यवाहक अध्यक्ष सुजता राईले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै समितिको अर्को बैठक आगामी मार्च ६ तारिख (शुक्रवार) बस्ने जानकारी दिनुभयो ।
सम्बन्धित खबर