बुढासुब्बा गोल्डकप : धरान फुटबल क्लबको जित सुरुवात
धरान I २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–१६ स्थित रंगशालामा आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लबले जर्जियन फुटबल क्लब (भारत) लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि अन्तिम समयमा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । टाइब्रेकरमा भारतलाई पराजित गर्दै आयोजक धरानले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
टाइब्रेकरमा धरान फुटबल क्लबका प्रज्वल थापा, नगेन राई, विवेक राई र राज लिम्बूले गोल गरेका थिए भने,जर्जियन फुटबल क्लबका सैजा र सरद मुण्डाले गोल गर्न सफल भए भने बक्सर प्रधान र विशाल क्षेत्रीको प्रहार धरानका गोलकिपर विपुल मगरले रोकेका थिए ।
आजको खेलमा धरान फुटबल क्लबका विपुल मगर ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद रु.१० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत भोलि झापा–११ झापा र रोयल थिम्पु क्लब (भुटान) बीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।
प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ । विजेताले नगद रु.१० लाख प्राप्त गर्ने छन् भने उपविजेताले रु.पाँच लाख पुरस्कार प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु. १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु.२५–२५ हजार साथै सर्वाधिक गोलकर्तालाई रु.३५ हजार पुरस्कार प्रदान गरिने छ !
सम्बन्धित खबर