१ अर्बभन्दा बढी योजना सम्पन्नको दाबी गर्दै जसपा उम्मेदवार नगेन्द्र पारघरी लिम्बुको २६ बुँदे प्रतिबद्धता सार्वजनिक
धरान । जनता समाजवादी पार्टी (जसपा) सुनसरी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार नगेन्द्र पारघरी लिम्बुले आफ्नो २६ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
आइतवार धरानस्थित जसपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थितिमा लिम्बुले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
प्रतिबद्धतामा लिम्बुले प्रदेश नं. १ कै शिक्षा तथा सूचना केन्द्रका रूपमा धरानलाई विकास गर्ने, श्रम बैंक स्थापना गरी दक्ष श्रमशक्तिको लगत तयार गर्दै रोजगारी सिर्जना गर्ने, प्रस्तावित धरान–लेवती सुरुङ मार्ग सम्पन्न गरी धरानलाई व्यापारिक केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै गोर्खा भूतपूर्व सैनिकहरूको नागरिकता बिना सर्त कायम गर्न कानुनी व्यवस्था गर्ने, धरान–१६ स्थित रंगशालालाई राष्ट्रिय स्तरको रंगशालाका रूपमा विकास गर्ने योजना अघि सार्नुभयो ।
त्यसैगरी धरान–११ देखि धरान–२० भन्ज्याङसम्म तथा धरान–१७ बाट बराहक्षेत्र–३ नडाहासम्मको बजेट पार्टीकै पहलमा विनियोजन भएको उल्लेख गर्दै, अव धरान–१९ हरियालीदेखि रामधुनी–६ बकलौरी सम्मको सडक मार्ग स्तरोन्नति गरी सुरक्षित र सहज यातायात सुनिश्चित गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
उम्मेदवार लिम्बुले आर्थिक उन्नति, शिक्षा, स्वास्थ्य, रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई समेटेर तयार गरिएको २६ बुँदे प्रतिबद्धता व्यवहारिक र कार्यान्वयनयोग्य रहेको दाबी गर्नुभयो।
अन्त्यमा बोल्दै लिम्बुले सुनसरी–१ अन्तर्गत धरान, बराहक्षेत्र र रामधुनी क्षेत्रमा निवर्तमान माननीय तथा पार्टीका श्रद्धेय अध्यक्ष अशोककुमार राईको विशेष पहलमा रु. १ अर्ब १९ करोड ६ लाख ३३ हजार बराबरका विकास योजनाहरू सम्पन्न हुने चरणमा रहेको जानकारी दिनुभयो। अन्तरिम सरकार गठनपछि करिब रु. १६ करोड बराबरको बजेट अस्थायी रूपमा रोकिएको उल्लेख गर्दै निर्वाचनपछि ती योजनालाई पुनः गति दिन र थप बजेट निकासा गराउन सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र नं. १ निर्वाचन परिचालन समितिका संयोजक भीम राईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक समावेशी राज्य व्यवस्था पार्टीको मुख्य एजेन्डा रहेको बताउनुभयो। उहाँले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाउने तथा नेपाली विशेषताको समाजवाद स्थापना गर्ने पार्टीको लक्ष्य रहेको स्पष्ट पार्नुभयो।
राईले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख तथा विज्ञहरूको सहभागितामा मन्त्रीपरिषद् गठन भए मात्र दिगो राजनीतिक स्थिरता सम्भव हुने उल्लेख गर्दै सुनसरी–१ का मतदातालाई क्षेत्रगत विकाससँगै जनचाहना अनुसारको राज्य व्यवस्था प्राप्तिका लागि जसपा उम्मेदवार नगेन्द्र पारघरी लिम्बुलाई चुनाव चिन्ह ‘जाँतो’ मा मतदान गर्न अपिल गर्नुभयो ।
सम्बन्धित खबर