जसपा उम्मेदवार गणेश राईद्वारा उदयपुर–१ मा घरदैलो अभियान तीव्र
उदयपुर । जनता समाजवादी पार्टी (जसपा) का उदयपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार गणेश राईले आफ्नो चुनावी अभियान तीव्र बनाएका छन् । उनी घर–घर पुगेर मतदाता भेट्दै क्षेत्रको विकास र नागरिक अधिकार संस्थागत गर्न आफूलाई मत दिन आग्रह गरिरहेका छन् ।
घरदैलो अभियानका क्रममा स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै राईले क्षेत्रका जनचाहना अझ स्पष्ट रूपमा बुझ्न पाएको बताएका छन् । भाषणभन्दा काम र परिणामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै उनले उदयपुरबासीको भरोसालाई व्यवहारबाट प्रमाणित गर्ने दृढ संकल्प व्यक्त गरे ।
अन्य प्रतिस्पर्धीलाई गाली गर्दै भाषण गर्नु भन्दा मतदाताको घर–घर पुगेर समस्या र आवश्यकता बुझ्नु नै सही राजनीति भएको राईको धारणा छ ।
चुनावी अभियानकै क्रममा उनले रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार, ग्रामीण सडक विस्तार, पर्यटन र कृषिको आधुनिकीकरण, खोलाको कटान नियन्त्रण, स्थानीय समस्याको समाधान, सुशासन तथा भ्रष्टाचार अन्त्यलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सारेका छन् ।
यसैबीच, गत भाद्र २३ र २४ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा जेन–जीद्वारा सञ्चालित आन्दोलनप्रति उच्च सम्मान व्यक्त गर्दै राईले जनता समाजवादी पार्टी स्थापना कालदेखि नै शासन व्यवस्था सुधार, पहिचानमा आधारित संघीयता, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख तथा पूर्ण समानुपातिक समावेशी प्रणालीलाई मुख्य राजनीतिक मुद्दा बनाउँदै आएको उल्लेख गरे ।
सबै समुदायको बसोबास रहेको उदयपुर–१ मा घरदैलो अभियानका क्रममा मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको बताउँदै राईले यसपटकको निर्वाचनमा जाँतो चिन्हमा मतदान गरी आफ्नो तथा पार्टीको प्रतिबद्धतालाई अनुमोदन गर्ने विश्वास व्यक्त गरेका छन् ।
सम्बन्धित खबर


