रौतहट सहित मधेशमा चिसोको कहर, जनजीवन प्रभावित
रौतहट । रौतहट सहित मधेशका जिल्लामा दुई दिन देखिको बाक्लो हुस्सु तथा शीतलहरका कारण अत्यधिक चिसो बढेको छ । विगत केही दिनको तुलनामा मधेशमा शुक्रवार र शनिवार अत्यधिक जाडो बढेको हो । बिहीबारसम्म पारिलो घाम लागेको भएपनि दुई दिन देखि हुस्सु तथा शीतलहरका कारण चिसो बढेको गरुडाका स्थानीय पवन उपध्याले बताए ।
उनका अनुसार बिहानैदेखि हुस्सु लाग्नुका साथै पानी परेजस्तै लगातार शित खसेको छ । शीतलहर सहितको चिसो बढेपछि स्थानीयहरू आगो तापेर बस्न थालेको उनको भनाइ छ । चिसो स्याँठ (पश्चिमी हावा) चल्ने हुँदा जाडोले जनजीवन नराम्रोसँग प्रभावित भएको उनले जानकारी दिए । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुलाइ चिसोले निकै सताउने देखिएको छ। यो चिसोमा सडक नै सुनसान हुने र मानिसको चहलपहल कम हुँदा अपेक्षा अनुसार कमाइ नभएको रिक्सा मजदुर हरिराम यादवले बताए ।
यसअघि दैनिक करिब दुई हजार सम्म हुने गरेपनि अहिले पाँच सय सम्म कमाउन मुस्किल भएको उनको गुनासो छ । यो चिसोमा काम गर्न सक्ने अवस्था पनि नरहेको अर्का ज्यालादारी मजदुर कृष्ण महराको भनाइ छ ।
हरेक जाडोयाममा रौतहट सहित तराई मधेश क्षेत्रमा निकै दिनसम्म पनि शीतलहर चलेर घाम नदेखिने हुँदा चिसोको कहर हुने गरेको छ । यो चिसोमा शीतलहरका कारण मानिस संगै पशु चौपाया र कृषि बालीमा पनि असर गरेको छ । चिसोका कारण सबभन्दा बढी बालबालिका र बृद्धबृद्धालाई समस्या भएको छ ।
चिसोबाट बच्नका लागि तातो झोलिलो खाने र न्यानोयुक्त कपडा लगाउन तथा अत्यावश्यक काम बाहेक बाहिरफेरो हिँडडुल नगर्न आम सर्वसाधारणलाई स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।बाक्लो हुस्सु तथा शीतलहरका कारण मधेसका जिल्लाका हवाई उडान प्रभावित भएको छ । सिमरा विमानस्थलका अनुसार शनिवार दिउँसो १ बजेदेखि मात्र हवाई उडान भएको हो । चिसोका कारण अस्पतालहरूमा बिरामीको चाप देखिन्छ ।
सम्बन्धित खबर