सोमबार, २९ मंसिर २०८२

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, २७ मंसिर २०८२

जेन-जी आन्दोलनलाई सन्तुलित रूपमा विश्लेषण गर्नुपर्छ : जसपा अध्यक्ष अशोक राई

https://www.jawaaf.com/storage/01KCBESCESZE7XXVSD6F8DFWYH.jpeg

धरान । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष अशोक राईले जेन–जी आन्दोलनलाई विभिन्न दलहरूले आ–आफ्नै ढङ्गले व्याख्या गरिरहेको अवस्थामा यसलाई सन्तुलित र निष्पक्ष रूपमा विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । केही दलहरूले जेन-जी आन्दोलनलाई प्रतिगामी गतिविधि भने पनि त्यसलाई एकोहोरो रूपमा मूल्याङ्कन गर्न नमिल्ने उनको भनाइ छ ।

शुक्रवार सुनसरीको धरान–१५ स्थित छथहरे समाजको सामुदायिक भवनमा आयोजित जनता समाजवादी पार्टी प्रदेश नं. १ तथा किरात राष्ट्रिय समितिको पुनर्गठन कार्यक्रममा बोल्दै अध्यक्ष राईले लामो समयसम्म सत्ता सञ्चालन गरेका दलहरू र तिनका प्रशासनहरूले भ्रष्टाचार, कुशासन र विलासी जीवनशैलीका कारण समाजमा असन्तोषको ‘बारुद’ जम्मा गरेको बताए ।
“कोठाभरि बारुद जम्मा गरेर राख्ने पनि दोषी हुन् । त्यसमा आगो लाग्दा आगो लगाउनेलाई मात्र दोष दिन मिल्लदैन,” उनले भने ।

उनले भदौ २३ र २४ गते उक्त असन्तोष विस्फोट हुँदा कतिपय नहुनु पर्ने विध्वंस भएको र त्यस्ता गतिविधिलाई प्रगतिशील भन्न नसकिने स्पष्ट पारे । तर भ्रष्टाचारविरुद्धको जनआक्रोश, सुशासनको अभाव, नेताहरूको विलासी जीवनशैली र अस्थिर राजनीतिक अवस्थाविरुद्ध जेन-जी युवाहरूले सडकमा आवाज उठाउनु सही र जायज भएको उनको धारणा थियो ।
“भ्रष्टाचार मुर्दावाद, स्थिर सरकार चाहिन्छ, अस्थिर सरकार हट्नुपर्छ भन्ने मागसहित युवाहरूले दिएको अभिव्यक्ति सही थियो । त्यसकारण जेन-जी आन्दोलनलाई केवल प्रतिगामी मात्र भन्न मिल्लदैन,” उनले भने ।

पार्टीभित्रका केही केन्द्रीय नेता तथा प्रदेश अध्यक्षले पार्टी परित्याग गरेको सन्दर्भमा अध्यक्ष राईले भने जिल्लास्तरका नेतृत्वहरू पार्टीको विचारमा दृढ रहे पनि प्रदेश नेतृत्व सम्हाल्ने व्यक्तिहरू अस्थिर बनेको टिप्पणी गरे ।
“पार्टीको विचारभन्दा कतै दायाँबायाँ नहटेका जिल्ला अध्यक्षहरू बलिया छन् तर प्रदेश नेतृत्व गर्नुपर्ने व्यक्ति बतासले पत्कर उडाएजस्तै कहाँ पुगे,” उनले आलोचना गरे ।

अर्को पार्टीमा प्रवेशलाई केही नेताहरूले वामपन्थी एकीकरण र ध्रुवीकरणले पहिचान प्राप्तिको रूपमा व्याख्या गरेकोप्रति टिप्पणी गर्दै अध्यक्ष राईले पहिचानको पक्षमा दृढ उभिएको पार्टी छोड्नु आत्मपहिचान बिर्सिनु सरह भएको बताए ।
“विचारभन्दा स्वार्थ हाबी भयो भने मान्छे आफैँ विलाएर जान्छ,” उनले भने । इतिहासमा पुष्पलाल र बी.पी. कोइरालालाई समेत धेरै नेताहरूले छोडेको उदाहरण दिँदै अन्तत उहाँहरूको विचारले नै विभिन्न आन्दोलनको नेतृत्व गरेको उनले स्मरण गराए ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष राईले नेता-कार्यकर्तालाई इतिहास निर्माण गम्भीर जिम्मेवारी भएको उल्लेख गर्दै विचार, आस्था र निष्ठामा दृढ रहन आग्रह गरे ।
“हामी हिँडिरहेको बाटो भावी पुस्ताले पनि हिँड्ने बाटो हो । यही बाटोले नेपाललाई एकजुट बनाउँछ,” उनले भने ।

सम्बन्धित खबर

/frontend/images/redline.png