एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । पोलिटब्युरो सदस्य एवं मञ्च व्यवस्थापनका संयोजक विनोद श्रेष्ठले ११ औं महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्नको लागि सबै कार्यहरू लगभग सकिएको जानकारी दिए ।
महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रवार अपराह्न पत्रकार सम्मेलनको आयोजना गर्दै उनले महाधिवेशन भव्य तरिकाले सम्पन्न गर्ने र मञ्च पनि सन्देशमूलक बनाउने हिसाबले तयार गरेको बताए । उनले भने, ‘महाधिवेशन भव्य तरिकाले सम्पन्न गर्ने हिसाबले हामीले काम गरेका छौ । मञ्च कस्तो बनाउने भन्ने कुरामा मञ्चले आफैँ पनि केही सन्देश दिनुपर्छ भन्ने हिसाबले बनाएका छौँ ।’
यस्तै, उनले भक्तपुर पुरातात्त्विक सहर, मन्दिरहरूको सहर विश्व सम्पदा सूचीमा अंकित रहेको सहर भएको हिसाबले यसलाई प्रवर्धन गर्न पनि भक्तपुरमा महाधिवेशन गरेको र मञ्चमा पनि चाँगुनारायण मन्दिरको प्रतिमा राखेको बताए ।
उनले भने, ‘भक्तपुर जहाँ पुरातात्त्विक सहर, मन्दिरहरूको सहर विश्व सम्पदा सूचीमा अंकित रहेको सहरलाई पनि प्रमोशन गर्न खोजीरहेका छौ । यस कार्यक्रममार्फत युगौँ सम्म छाप रहोस भनेर मञ्चमा चाँगुनारायण मन्दिरको प्रतिमा पनि राखेका छौ । महाधिवेशनबाट थाहा नभएको मान्छेले पनि यो मन्दिरको बारेमा थाहा पाउन सक्छन् ।’
यसका साथै, उनले काठमाडौँका मन्दिरहरू–पशुपतिनाथ, स्वयम्भूनाथ, ललितपुरको कृष्ण मन्दिर र भक्तपुरको न्यातापोल मन्दिरदेखि सबै मन्दिरको प्रतिमा पनि मञ्चमा राखेको बताए । नेकपा एमाले सिद्धान्त मात्र नभइ सांस्कृतिक विषयमा पनि काम गर्छ भन्ने सन्देश दिन चाहेको उनले बताए । जनपरिचालन समितिका सचिव डा.राजन भट्टराईले महाधिवेशन स्थलमा उल्लेख्य मात्रामा स्वयंसेवक परिचालन गरिने जानकारी दिए ।
सम्बन्धित खबर