जेनजी पुस्ताको आवाज सुन्नुपर्छ : जसपा नेतृ दुर्गा गुरुङ
बराहक्षेत्र (सुनसरी) । जनता समाजवादी पार्टी (जसपा) बराहक्षेत्र नगर समितिले बडादशैं, शुभ दीपावली, छठ तथा उधौली पर्वको अवसरमा नगर स्तरीय शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम आइतबार बराहक्षेत्र–६ चक्रघटीमा सम्पन्न भएको हो ।
कार्यक्रममा समाजवादी महिला संघ प्रदेश सदस्य दुर्गा गुरुङ, जिल्ला सदस्य सञ्जय राई, जिल्ला सदस्य गोपाल विश्वकर्मा लगायतका नेताहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला सदस्य गोपाल विश्वकर्माले जनता समाजवादी पार्टी उत्पीडित वर्ग र समुदायको पार्टी भएको उल्लेख गर्दै नेपालको बहुजातीय, बहुभाषिक र बहुधार्मिक संरचना अनुरूप राज्यले सबै नागरिकप्रति समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, प्रदेश सदस्य दुर्गा गुरुङले जसपाले स्थापना कालदेखि उठाएका मुद्दाहरू देश र जनताको हितका लागि अग्रगामी र व्यवहारिक रहेको बताउँदै, “हामी ती सिद्धान्तहरूमा अडिग छौं र देश तथा जनताको मुक्ति यात्रामा कहिल्यै विचलित हुनेछैनौं,” भन्नुभयो। उहाँले हालको जेन्जी पुस्ताले पनि यिनै मुद्दाहरूलाई निरन्तर उठाइरहेको भन्दै उनीहरूको आवाज सुन्न र माग सम्बोधन गर्न सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला सदस्य सञ्जय राईले पार्टीको स्थापना कालदेखि हालसम्मको संगठनात्मक अवस्था र पार्टीका मुख्य नीतिगत मुद्दाबारे जानकारी दिनुभयो। उहाँका अनुसार जसपाको मूल अवधारणा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गका हुनुपर्ने, विशेषज्ञ र समावेशी मन्त्रिपरिषद् गठन, एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख नबन्ने व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, र स्थानीय तहमा स्वतन्त्र उम्मेदवारबाट निर्वाचन प्रणाली लागू गर्नुपर्ने हो ।
कार्यक्रमको अध्यक्षता पार्टी नगर अध्यक्ष जे.बी. हाङ राईले गर्नुभएको थियो भने सञ्चालन नगर सचिव भूपेन्द्र राजधामीले गर्नुभएको थियो। समापन भाषणमा अध्यक्ष राईले पार्टी सशक्त बनाउन तल्लो तह सुदृढ गर्नुपर्ने बताउँदै स्थानीय तहमा जिम्मेवार नेतृत्व र सक्रियता नै संगठनको बल भएको उल्लेख गर्नुभयो ।
त्यसैगरी उहाँले जेन्जी आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै देश र जनताको लागि बलिदान दिने सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो। साथै, हालैका बाढी, पहिरो र डुबानका कारण पीडित परिवारहरूलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई स्थानीय सरकारमार्फत पहल गर्न आग्रह गर्दै कार्यक्रम समापन गर्नुभयो ।
सम्बन्धित खबर
