शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, २८ असोज २०८२

साँढे ५ लाखसहित २ जना पक्राउ, वैध रकमलाई अवैध भनी पक्राउ गरेको भन्दै विरोध प्रदर्शन

https://www.jawaaf.com/storage/01K7GA0XDVWVW7WPPY5ZTAX1NP.jpg

सर्लाही । सर्लाहीको सीमावर्ती ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगरमा प्रहरीले वैध रकमलाई अवैध भन्दै बरामद गरेको भन्दै सोमबार सदरमुकाम मलङ्गवामा विरोध प्रदर्शन गरिएको छ।

प्रहरी चौकी त्रिभुवननगरले सोमबार चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका २५ वर्षीय आलम मन्सुर र ४० वर्षीय विकाउ मन्सुरलाई बीआर–०६ बीटी–३४३६ नम्बरको मोटरसाइकलसहित नगद पाँच लाख ४५ हजार रुपैयाँ लिएर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिले रकमको स्रोत स्पष्ट पार्न नसकेपछि सो रकमसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा बुझाइएको हो।

तर, मन्सुर परिवार र स्थानीयले भने प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनीहरूको भनाइ अनुसार विवाहको सरसामग्री किनमेलका लागि रकम लिइरहेका बेला प्रहरीले ‘अवैध रकम’ भन्दै लुटपाटजस्तो शैलीमा रकम बरामद गरेको हो।

प्रदर्शनकारीले मलङ्गवास्थित कुमारी बैंकबाट रकम झिकिएको बैंक स्टेटमेन्ट देखाउँदै प्रहरी र प्रशासनविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले जिविस चोकमा टायर बाल्दै विरोध प्रदर्शनसमेत गरेका छन्।

मोहनपुरकी अप्सना खातुनका अनुसार छोरीको विवाहका लागि किनमेल गर्न भन्दै उनले आफ्ना नातेदार आलम र विकाउलाई उक्त रकम जिम्मा लगाएकी थिइन्। तर, प्रहरीले वास्तविकता नबुझी हतारमा भन्सारमा बुझाएको आरोप उनले लगाइन्।

प्रहरी प्रवक्ता डिएसपी राईले भने पक्राउ परेका व्यक्तिहरू शंकास्पद अवस्थामा ठूलो परिमाणको नगदसहित भेटिएकाले कानूनी प्रक्रिया अनुसार रकम भन्सारमा बुझाइएको स्पष्ट पारेका छन्। उनले मलङ्गवाबाट पैसा झिकेर त्रिभुवननगरतर्फ लैजाने प्रयोजन पनि शंकास्पद रहेको बताए।

सम्बन्धित खबर

/frontend/images/redline.png