कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी
कोशी । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीको घरमा मंगलबार प्रदर्शनकारीले तोडफोड गरेका छन्।
कर्फ्युको अवज्ञा गर्दै सडकमा उत्रिएका आक्रोशित प्रदर्शनकारीले इटहरीस्थित भण्डारीको घरको सिसा र अगाडिको गेट तोडेका हुन्। भीडले घरमा आगजनी गर्न खोजे पनि त्यहाँ अन्य भाडामा बस्ने परिवार रहेको भन्दै केही प्रदर्शनकारीले विरोध गरेपछि आगो लगाउने प्रयास रोकिएको प्रहरी स्रोतले जनाएको छ।
यसअघि, आन्दोलनकारीहरूले नेकपा (एमाले) इटहरी पार्टी कार्यालयमा प्रवेश गरी फर्निचर तोडफोड गर्दै आगजनी गरेका थिए। कार्यालयमा पुगेको भीडले कुर्सी, टेबललगायत सामग्रीमा आगो लगाएको थियो। एमाले कार्यालयमा आगजनी गरेपछि भीड मन्त्री भण्डारीको घरतर्फ मोडिएको हो।
‘गोली हान्नेलाई कारबाही गर’ भन्दै नाराबाजीसँगै भएको तोडफोड र आगजनीका कारण इटहरीमा जारी कर्फ्युबीच स्थिति अझै तनावपूर्ण बनेको छ। विराटनगरलगायत कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा समेत अवस्था तनावग्रस्त रहेको जनाइएको छ।
सम्बन्धित खबर