शुक्रबार, २५ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, १३ वैशाख २०८१

डढेलोले खोटाङमा तेह्र घर खरानी

https://www.jawaaf.com/storage/01HW9Q9ZSEBN622FWD5DX3AX3Q.jpg

१३ वैशाख, खोटाङ I सामुदायिक वनमा लागेको डढेलो गाउँ सम्म फैलदा बराहपोखरी गाउँपालिका – १ बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन । बराहपोखरी–१ का वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार भिरगाउँका मोहनलाल थापामगरको दुईवटा घर र मचान, पूर्णबहादुर मगरको एउटा घर र तीन मचान, भद्रसिंह मगरको घर र दुईवटा गोठ, सुवास थापामगरको घर र मचान तथा मदन थापामगरको घर जलेको छ । यस्तै, डढेलोले डान्सिङटारका गङ्गामायाँ मगरको दुईवटा घर र दुईवटा मचान, ४० वटा बाख्रा, आधा तोला सुन, नगद रु ५० हजारलगायत जलेको छ ।     
      
यसैगरी खोर्साने गाउँका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर जलेको छ । डढेलोले डाँडाखर्क गाउँका होमबहादुर कटवाल र पदमबहादुर कटवालको बसोबास नभएको घर जलेको छ । खोर्सानेकै छकुमार राईको पनि बसोबास नभएको घर जलेको छ ।   
      
रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले भञ्ज्याङका बमबहादुर मगरको भान्छा घर र बाख्रा खोर खरानी भएको जनाइएको छ । डढेलो डाँडाखर्क र खाल्लेबीच, पोखरी–राँकुली क्षेत्र तथा चुइयाँटार र रानाछापमा फैलिरहेको स्थानीय बासिन्दाले बताएका छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले डढेलो निभाउने प्रयास गरिरहेको भए पनि त्यो सफल नभएको स्थानीय भुवन श्रेष्ठले बताउनुभयो । गत साउन देखि हालसम्म जिल्लामा एक सय नौ वटा आगलागीका घटना हुँदा रु चार करोड नौ लाख २२ हजार छ सय बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।     
   

सम्बन्धित खबर

/frontend/images/redline.png