बिहिबार, ०३ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01HXTRSJ8ZZ5PH8HKBMR51NWFX.jpg

कैलाली चुरे गाउँपालिका का किसान पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै

टीकापुर (कैलाली) I कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खेतीपातीमा जुटेका छन् । हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन् । 

लिसवेली गाउँका सबै किसान अन्नबालीभन्दा सागसब्जीको अधिक खेती गर्छन् ।  गोलभेँडा, खुर्सानी, बन्दाकोभी, काउली, आलु, प्याज, लसुन, धनियाँलगायत तरकारी बाली लगाउने गर्छन् । यहाँका १२ किसान परिवारले सामूहिक र व्यक्तिगत रूपमा बनाइएका पोखरीमा सङ्कलन भएको पानीबाटै प्रशस्त आम्दानी गर्दै आएका किसान खेमराज सापकोटाले राससलाई बताउनुभयो । उनीहरूले बारीमा पानी लगाउने समयसारिणी पनि बनाएका छन् । 

“खेतीका लागि पानीको समस्या भएकाले पोखरीमा मुहानको पानी सङ्कलन गरिरहेका छौँ, पोखरीको पानीको किफायती प्रयोगमा हामी सबैको जोड छ,”उहाँले भन्नुभयो । यहाँका किसान वर्षात्को दुई महिनाबाहेक अन्य समयमा तरकारीखेती गर्छन् ।

 खेतीका लागि उनीहरूले सामूहिक वा व्यक्तिगत पोखरीमा जम्मा भएको पानी प्रयोग गर्ने गरेका अर्का किसान धर्मराज भट्टले बताउनुभयो । किसानले थोपा सिँचाइ प्रविधि प्रयोग गरेका छन् । किसानले वर्षाको पानी सङ्कलन गर्न प्रत्येक घरमा ‘स्वायल सिमेन्ट’ पोखरी बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो । 

प्रकाशित मितिः मङ्गलबार, ०१ जेठ २०८१
https://www.jawaaf.com/storage/01HXRRKWFC2QK1D3ZCW1BNTQZV.jpg

दुर्गा मन्दिर : परियारले बनाए, गैरदलितले सघाए

तनहुँ I व्यास नगरपालिका–१३ बेलवासका परियार गैरदलितको सहयोगमा दुर्गा भवानीको मन्दिर स्थापना गरी हिन्दू धर्म संरक्षण अभियानमा जुटेका छन् । बेलवास बेनिकोट परियार समाजमा आबद्ध ३७ घरका आफूहरुले हिन्दू धर्मको सारलाई भावी पुस्तासम्म बचाइराख्न गरेको अभियानमा स्थानीय गैरदलितबाट साथ र सहयोग मिलेको समाजका प्रमुख सल्लाहकार धनबहादुर परियारले बताउनुभयो । मन्दिर निर्माणका लागि आफूहरुले करिब छ आना क्षेत्रफललाई संरक्षण गरेकोसमेत परियारले जानकारी दिनुभयो । 

“सदियौँदेखि मान्दै आएको हिन्दू धर्म छाडेर अन्य धर्म अँगाल्न चाहनेहरुको चाप समाजमा बढ्दै गयो”, प्रमुख सल्लाहकार परियारले भन्नुभयो, “त्यसैले परियार समाजका सबै भेला भई हिन्दू धर्मलाई नै बचाई राख्नुपर्छ भनेर दुर्गा मन्दिर बनाउन जुट्यौँ ।”  

वडाध्यक्ष वसन्त आले, स्थानीय वर्च्याङ्दी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यमबहादुर आलेबाट, सचिव सिर्जना तिवारी र स्थानीय मिलन टोल विकास संस्थाका अध्यक्ष सुमित्रा बगाले लगायतबाट समेत मन्दिर बनाउन साथ र सहयोग पाएपछि आफूहरु मन्दिर बनाउन अघि बढेको परियार समाजका अध्यक्ष मनबहादुर परियारले बताउनुभयो । 

उक्त मन्दिर निर्माणका लागि हालसम्म करिब रु पाँच लाख खर्च भएको समाजले जनाएको छ । नगरपालिकाको कार्यालय र वडा नं १३ कार्यालयबाट रु ५०÷५० हजार प्राप्त भएको र अन्य रकम स्वऐच्छिक चन्दाबाटै जुटाइएको अध्यक्ष परियारको भनाइ छ ।   

“सनातनदेखि मान्दै आएको हिन्दू धर्मको संरक्षणमा हामी पनि जुट्नुपर्छ भनेर मन्दिर निर्माणमा अग्रसर भएका हौँ”, समाजका अध्यक्ष परियारले भन्नुभयो, “मन्दिर निर्माणको अभियानमा टोलका सबै गैरदलितले साथ र सहयोग मिल्दा निकै खुसी लागेको छ ।”

परियार समाजले गरेको मन्दिर निर्माण कार्यमा आफूले पनि रु एक हजार पाँच सय चन्दा प्रदान गरी ऐक्यबद्धता जनाएको मिलन टोल विकास संस्थाका अध्यक्ष सुमित्रा बगालेले बताउनुभयो । परियारले समुदायले मन्दिर निर्माण गरे पनि सबै जातजातिका मानिसले सहभागी भई पूजापाठ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“परियारहरुले मन्दिर बनाएर रचनात्मक काम गर्नुभएको छ”, टोल विकास संस्थाका अध्यक्ष बगालेले भन्नुभयो, “अब सबै मिलेर संयुक्त पूजापाठ गरी धार्मिक एकताको सन्देश दिन आवश्यक छ ।” आफूहरुले मच्छिन्द्रनाथ रथ यात्राको दिन पारेर शनिबार नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतको सहभागितामा पञ्चेबाजासहित बजार परिक्रमा गरी दुर्गाको मूर्तिमा प्राणप्रतिष्ठा गरिएको थियो । 

नगर प्रमुख न्यौपानेले समाजमा विभेदमा परेको समुदायलाई उत्थानका लागि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो । “दलित समुदायले मन्दिर बनाउने प्रस्ताव ल्याएपछि हामीले सहयोग नगरी बस्न सकेनौँ”, नगर प्रमुख न्यौपानेले भन्नुभयो, “मन्दिर निर्माणपछि मानिसलाई सत्मार्गमा लाग्न प्रेरणा मिल्ने हाम्रो बुझाइ हो ।”

व्यास–१३ का वडाध्यक्ष वसन्त आले, नगरप्रमुख न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष विश्व बाँस्तोला लगायतले विभेदमा परेको समुदायबाट मन्दिर निर्माण हुनु सकारात्मक कुरा रहेको बताउनुभयो । 

प्रकाशित मितिः सोमबार, ३१ वैशाख २०८१
https://www.jawaaf.com/storage/01HXRR6X7NG2MBA4H2JYQKBZS8.jpg

तनहुँ जलविद्युत् आयोजनाले सञ्चालन गरेको मादी नदी माछा संरक्षण

दमौली (तनहुँ) I तनहुँ जलविद्युत् आयोजनाले सञ्चालन गरेको मादी नदी माछा संरक्षण कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । आयोजनाको मस्त्य संरक्षण व्यवस्थापन योजनाअन्तर्गत कार्यान्वयनमा ल्याइएको मादी नदी माछा संरक्षण कार्यक्रमका विषयमा प्रभावित क्षेत्रका बासिन्दालाई जानकारी दिन सन्देशमूलक सन्देश प्रसारण थालिएको छ ।     
     
असारदेखि भदौ महिनासम्म माछाको प्रजनन समय हुनेहुँदा उक्त अवधिभर मादी नदीमा माछा नमार्न तथा प्रतिबन्ध लगाइएका क्रियाकलाप गरिएमा हुने कानुनी कारबाहीलगायतका विषयमा प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराउन थालिएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।     
     
उहाँले भन्नुभयो, “दमौलीदेखि भैँसेपुलसम्म करिब ४५ किलोमिटरको क्षेत्रमा माइकिङ गर्दै प्रसारण गरिएको छ । सन्देशमूलक सूचना दमौलीमा सञ्चालित एफएम रेडियोबाट पनि प्रसारण गर्न सुरु गरिएको छ भने कास्की जिल्लाका रेडियोबाट चाँडै सुरु गरिनेछ ।”     
     
आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्यरुपमा त्यहाँ पाइने रैथाने असला तथा सहर माछाको जीवन जोखिममा पर्ने देखिएको छ । त्यसको संरक्षणका लागि सेती र मादी नदीको सङ्गमस्थलबाट करिब ४५ किलोमिटर मादीको माथिल्लो तटीय क्षेत्रमा मत्स्य संरक्षण योजना कार्यान्वयनमा ल्याइएको भण्डारीको भनाइ छ ।     
     
उहाँका अनुसार व्यास नगरपालिका वडा नं ३, ४, ५, ६, ७ तथा १०, लमजुङको मध्यनेपाल नगरपालिका– ४, ५, ६, ७ तथा ८, कास्कीको रुपा गाउँपालिका वडा नं १, ३, ७, मादी गाउँपालिका– ४, ५, ९, १०, ११ र १२ लाई प्रभावित क्षेत्र मानिएको छ ।     
     
मस्त्य व्यवस्थापन योजनाअन्तर्गत तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित आयोजनाको कार्यालय तथा आवास परिसरमा मस्त्य ह्याचरी निर्माणका लागि पोखरी खन्ने काम भइरहेको जनाइएको छ । राष्ट्रिय मस्त्यविज्ञको उपस्थितिमा ठाउँ छनोट, लागत तथा डिजाइन गरी ह्याचरीका संरचना निर्माण गर्न काम अगाडि बढाइएको भण्डारीले बताउनुभयो ।     
     
योजना कार्यान्वयनका लागि मादी नदीको तटसँग जोडिएका तनहुँको व्यास तथा लमजुङको मध्यनेपाल नगरपालिका प्रमुखहरु, कास्कीको मादी तथा रुपा गाउँपालिकाका अध्यक्षहरु, तनहुँ हाइड्रोपावर लिमिटेड र बोटे समाजको प्रतिनिधि रहने गरी माछा संरक्षण समन्वय समिति गठन गरिएको छ ।     
     
मादी नदीमा माछा संरक्षण गर्ने विषयमा स्थानीय पालिकाहरुको साझा सरोकार र साझेदारीको विषय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था बमोजिम समिति गठन गरिएको हो । जलचर संरक्षण ऐन, २०१७ मा भएको व्यवस्था बमोजिम माछा संरक्षण योजना व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याइएको जनाइएको छ ।     
 

प्रकाशित मितिः सोमबार, ३१ वैशाख २०८१
https://www.jawaaf.com/storage/01HXRPFA5J2J7K6TS53MD2T00P.jpg

पर्यटक तान्दै मोटरबोट

काठमाडौँ  I नेपालका नदीमा पहिलोपटक ‘मोटरबोट’ चलेको सायद साढे पाँच दशकअघि हो । सन् १९६८ मा एड्मन्ड हिलारीले हेमिल्टन नामका दुईवटा मोटरबोट कोशी र गण्डकी नदीसम्म ल्याउनुभएको थियो । तत्कालीन समयमा यी बोट यातायात तथा ढुवानी प्रयोजनका लागि ल्याइएको थियो । हिलारीले केही समय नेपालका नदीमा ती मोटरबोट चलाएपछि स्वदेश फर्कनुअघि तत्कालीन भरतपुर गाउँ पञ्चायतलाई उपहार दिनु भएको थियो ।     
     
उपहारमा प्राप्त ती बोटलाई भरतपुर गाउँ पञ्चायतले केही समय विदेशी पाइलट राखेर सञ्चालन ग¥यो पनि । तर पछि मर्मतसम्भार लगायतका समस्याले यी बोट सञ्चालनमा निरन्तरता भएन । केही समयपछि तीनै बोट भाडामा लिएर कोशी नदीमा चलाइयो ।     
     
त्यसपछि लामो समयसम्म नेपालका नदीमा मोटरबोट खासै चलेनन् । फाट्टफुट्ट भने ढुवानी वा यातायातका रुपमा सञ्चालन भने भएका थिए । पछिल्लो एक दशकयता नेपालका यिनै मोटरबोट पर्यटकीय गतिविधि बढाउने माध्यम बनेका छन् । अहिले कैयौँ नदी तथा जलाशयमा मोटरबोट हुँइकिएको देखिन्छ । पूर्वमा कोशीदेखि पश्चिममा सुर्खेतको बुलबुल तालसम्म मोटरबोट सञ्चालन भइरहेको छ । मोटरबोट सञ्चालनमा आएसँगै ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ ।     
     
नेपालमा मोटरबोट पर्यटनको सुरुआत गर्ने श्रेय व्यवसायी राजकुमार श्रेष्ठलाई जान्छ । चितवनको ठिमुरामा लभ्ली रिसोर्ट सञ्चालन गर्नुभएका उहाँले नारायणी नदीमा पहिलोपटक मोटरबोट सञ्चालन गरी पर्यटकलाई आकर्षित गर्नुभएको थियो । उहाँले जापानबाट दुई वटा जेट स्की र एउटा जेट बोट ल्याएर नारायणी नदीमा सेवा सुरु गर्नुभएको थियो । उहाँकै सिको गरेर पछि अन्य कम्पनी पनि थपिए । तर पछि यसले पनि निरन्तरता पाउन सकेन ।     
सन् २०१६ मा लमजुङका विष्णुबहादुर ढकालले नेपाल सीप एण्ड बोट बिल्डिङ कम्पनी स्थापना गरेपछि भने मोटरबोट पर्यटनले पुनर्जीवन मात्र पाएन देशैभर फैलिएको छ । “हाम्रो कम्पनीले नेपालमै मोटरबोट उत्पादनका साथै मर्मतसम्भारका लागि प्राविधिक जनशक्ति तयार पारेपछि मोटरबोट सञ्चालन गर्नेहरु बढे”, ढकालले भन्नुभयो, “पछिल्लो समय हामीले जनशक्ति पनि उत्पादन सुरु गरेका छौँ, हाल हाम्रो कम्पनीबाट मोटरबोट उत्पादन गरी सञ्चालन गर्ने कम्पनीहरु बढेका छन् ।”     
     
ढकालका अनुसार नेपालमा मोटरबोट पर्यटनको ठूलो सम्भावना छ । नेपालका कैयौँ नदी र जलाशयमा मोटरबोट सञ्चालन गरी पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने अवस्था बनेको छ । केही स्थानीय सरकारले त आफूकहाँ भएका नदी र जलाशयमा मोटरबोट सञ्चालनका लागि सहजीकरण गर्दै सो क्षेत्रको पर्यटन गतिविधि बढाएका छन् । भरतपुर महानगरपालिका, बागमती नगरपालिका, आबुखैरेनी गाउँपालिका तथा वीरेन्द्रनगर नगरपालिकाले आफ्नै अग्रसरतामा पर्यटनको प्रबद्र्धनमा मोटरबोट सञ्चालन गरेको उहाँको भनाइ छ ।     
     
ढकालका शब्दमा कोशी नदीमा यातायात र ढुवानीका हिसाबले मोटरबोट सञ्चालन राम्रो मानिए पनि नारायणी नदी र मर्याङ्दी जलायशमा मोटरबोट सञ्चालन गरी पर्यटक आकर्षित गर्न राम्रो देखिएको छ । उहाँका अनुसार भरतपुर महानगरपालिकाले मोटरबोट सञ्चालनका कारण मनोरञ्जन करबाट मात्रै वार्षिक औसत रु ५० लाख सङ्कलन गर्दै आएको छ । यसबाट स्थानीय सरकारको राजस्व समेत बढेको छ ।     
     
“सफा पानी, पर्याप्त लम्बाइ भएकाले मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलायश मोटरबोट सञ्चालनका लागि राम्रो छ, यस्तोमा मोटरबोट गतिविधि उत्कृष्ट मानिन्छ”, उहाँले भन्नुभयो । त्यसबाहेक नेपालगञ्जको वाटरपार्कमा बोट राइडिङकै कारण भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।     
     
भरतताल र नारायणी नदीमा पनि मोटरबोटकै कारण पर्यटक बढेका छन् । पछिल्लो समय सुर्खेतको बुलबुले तालमा मोटरबोट सञ्चालनमा आएपछि तालको स्वरुप नै फेरिएको छ । चितवनको देवघाटमा रहेका विभिन्न कुण्ड घुम्न पनि मोटरबोट माध्यम बनेको छ । त्यसबाहेक भरतपुरको शिवघाट, सिन्धुलीको खुर्कोटलगायतमा मोटरबोट चलिरहेको छ । बर्दियाको राजापुरमा बोट चढेर डल्फिन हेर्न पाइन्छ । मोटरबोटका गतिका कारण पानीको छाल निस्कँदा डल्फिन आउने गरेका छन् । यसले सो क्षेत्रको पर्यटकीय गतिविधि बढाएको छ ।     
     
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बोटेबोरा कम्पनीसँगको सहकार्यमा बुलबुल तालमा मोटरबोट सञ्चालनमा ल्याएपछि तालको स्वरुप मात्रै फेरिएको छैन, आम्दानीको नयाँ स्रोत पनि थपिएको छ । लामो समयदेखि जलकुम्भी र फोहोरले भरिएको तालको अस्तित्व सङ्कटमा परेको अवस्थामा फोहोर सफा गरी बोटेबोरा कम्पनीले मोटरबोट सञ्चालनमा ल्याएको छ । कम्पनीले बुलबुले तालमा मोटरबोट सञ्चालन गरेवापत वीरेन्द्रनगर नगरपालिकालाई वार्षिक रु १३ लाख बुझाउने सम्झौता गरेको छ ।     
     
वीरेन्द्रनगरपालिका नगर विकास समितिका सदस्य तथा बुलबुले ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङले तालबाट फोहोर निकालेपछि पानीको सतह कम भएको र नगरपालिकाको सहकार्यमा केही माथिपट्टी रहेको दशधाराबाट रातिको समयमा पानी ल्याइएको बताउनुभयो । मोटरबोट सञ्चालनपछि बुलबुले ताको स्वरुप फेरिएको उहाँको भनाइ छ ।     
     
तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्राण्डका मोटरबोटमार्फत सेवा सुरु गरेको छ । साथै, बोटेबोरा कम्पनीले नेपालगञ्ज उपमहानगरपालिकासँगको समन्वयमा वार्षिक रु २५ लाख बुझाउने गरी वाटरपार्कमा मोटरबोट सञ्चालन गरिरहेको छ ।     
     
पछिल्लो समय मोटरबोट सञ्चालनमा आकर्षण देखिनुमा बागमती नगरपालिकामा रहेको भरत तालमा मोटरबोट सञ्चालन हुनु पनि हो । सुरुमा माछापालनका लागि बनाइएको पोखरीलाई तालमा परिणत गरिएपछि मोटरबोट सञ्चालन गरिएको थियो । मोटरबोटकै कारण उक्त क्षेत्रको पर्यटकीय गतिविधि मात्रै बढेको छैन, सयौँ जनाले रोजगारी पनि पाएका छन् ।     
     
बागमती नगरपालिकाका उपप्रमुख लिलाकुमारी मोक्तानका अनुसार भरत तालमा मोटरबोट सञ्चालनका कारण धेरैले रोजगारी पाएका छन् भने यसबाट पालिकाको आम्दानी पनि बढेको छ । “हाल ३० भन्दा मोटरबोट सञ्चालन भइरहेका छन्, ताल आसपासमा विभिन्न होटल, रेष्टुराँ तथा पसल सञ्चालन भइरहेका छन् । सामान्य दिनमा औसतमा दुई हजार र मेलापर्व र बिदाका दिनमा पाँच हजारसम्म पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार मोटरबोट सञ्चालनबाट नगरपालिकाले २० प्रतिशत शुल्क लिने गरेको छ ।     
     
त्यसो त स्याङ्जाको मिर्मीदेखि सेतिबेनीसम्मको बाँधमा यातायातका रुपमा स्टिमर भनिने मोटरबोट सञ्चालन लामो समयदेखि भइरहेको छ । नेपाल सीप एण्ड बोट बिल्डिङ कम्पनीका सञ्चालक ढकालले मोटरबोटलाई पर्यटकीय मनोरञ्जनका साथै यातायातको साधनका रुपमा सञ्चालन गर्न सकियो भने निकै ठूलो फाइदा लिन सकिने धारणा राख्नुहुन्छ । “अहिले नदी र जलाशयमा मोटरबोट बढी सञ्चालन भइरहेका छन् । मनोरञ्जनका हिसाबले राम्रो पनि हो तर यसको बढी उपयोग ढुवानी वा यातायातका रुपमा गर्न सकिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार भारतको कलकत्तादेखि चितवनको दासढुङ्गासम्मको रुटमा १० टनसम्मको जहाज सजिलै ल्याउन सकिन्छ । यसो गर्न सकिएमा भने ढुवानी खर्च निकै कम हुन्छ ।     
     
उहाँका अनुसार हिजोका दिनमा नेपालमा जलपर्यटनसम्बन्धी गतिविधिमा ¥याफ्टिङ मात्रै रहेकामा अहिले मोटरबोट थपिएपछि पर्यटकीय गतिविधि बढेको छ । आगामी दिनमा यसैका आधारमा विभिन्न पर्यटकीय गतिविधि पनि सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । “हिजोका दिनमा विदेशमा गएर गरिने ‘वाटर स्पोर्टस्’का गतिविधिहरु आगामी दिनमा नेपालमै पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “यसका लागि कैयन सम्भावना छन् ।”     
     
जलाशयमा डुङ्गा चलाउँदा सामान्य अनुभव मात्रै प्राप्त हुने र मोटरबोटको प्रयोग तथा अन्य गतिविधि गर्दा वास्तवमै साहसिक जलपर्यटन हुने उहाँको भनाइ छ । “मोटरबोटमार्फत गरिने गतिविधिमा हावा, पानी र गतिको सम्मिश्रण हुन्छ । यसले खेललाई साहसिक बनाउँछ ।”     
     
उहाँ हामीकहाँ भएका जलाशयहरु विद्युत् उत्पादनमा मात्रै प्रयोग भइरहेको भन्दै त्यही जलाशयमा मोटरबोट सञ्चालन गरी थप आर्थिक गतिविधि बढाउन सकिने धारणा राख्नुहुन्छ । “विदेशमा रु पाँच हजारमा गर्ने गतिविधि आजका दिनमा एक प्लेट ममःमा हुने खर्चमै हामीले उपलब्ध गराइरहेका छौँ”, उहाँले भन्नुभयो, “रन अफ रिभरमा औसतमा रु दुई सय ५० देखि तीन सय ५० सम्ममा अनुभव लिन सकिन्छ ।”     
     
नेपालमै बन्छ बोट     
नवलपरासीको गैँडाकोटमा रहेको नेपाल सीप एन्ड बोट बिल्डिङ कम्पनीले पछिल्लो एक दशकयता बोट निर्माण गर्दै आएको छ । “हामीले नेपालका नदीहरुको बहाव, पानीको गहिराइ, खोलाको गतिको अध्ययन गरिसकेका छौँ, सोहीअनुसार बोट उत्पादन गर्छौ”, कम्पनीका अध्यक्ष ढकालले भन्नुभयो ।     
     
उहाँका अनुसार कम्पनीले जापानको सुजुकी मरिन कम्पनीले उत्पादन गर्ने इन्जिन र प्रविधि प्रयोग तथा मेकानिकल स्टेरिङ प्रणालीका लागि अमेरिकाको मल्टिफेलेसको प्रणाली प्रयोग गरी बोट उत्पादन गर्दै आएको छ । उहाँका अनुसार एउटा बोट उत्पादनका लागि सामान्यतयाः औसतमा रु २० लाख पर्छ । त्यसबाहेक ग्राहकको रुचि र आवश्यकताका आधारमा यसको खर्च थपघट हुनसक्छ ।     
 

प्रकाशित मितिः सोमबार, ३१ वैशाख २०८१
https://www.jawaaf.com/storage/01HXR2BP9MTVDFWVX80TB6Y7R2.jpg

बुद्धिजीवी परिषद् भेलाको निष्कर्ष : विकास र समृद्धिलाई प्राथमिकता

काठमाडौँ I नेपाल बुद्धिजीवी परिषद्को दुई दिने राष्ट्रिय परिषद् भेलाले वर्तमान सत्ता समीकरणले जनतामा आशा र विश्वास जगाउने गरी राजनीतिक स्थिरता, सुशासन, विकास तथा समृद्धिलाई प्राथामिकतामा राखेर अगाडि वढ्नुपर्नेमा जोड दिएको छ ।

भेलाबाट पारित १६ बुँदे समसामयिक प्रस्तावमा सरकारलाई राजनीतिक शुद्धीकरण, पारदर्शिता, जवाफदेहिता सहितको समाजवादको आधार निर्माण गर्ने दिशामा प्रभावकारी रूपमा अगाडि बढ्न आग्रह गरेको हो । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट यही वैशाख २९ गते उद्घाटन र वैशाख ३० गते एमालेका वरिठ उपाध्यक्ष ईश्वर पोखरेलबाट समापन भएको उक्त भेलाले लघुवित्त र मिटरब्याजीको समस्यासँगै पछिल्लो समयमा सहकारी समस्या विकराल बन्दै गएकाले दलीय स्वार्थबाट माथि उठेर व्यक्तिकेन्द्रित नभई समग्र समस्याको समाधान हुने गरी छानबिन गर्न माग गरेको छ ।

परिषद्का उपमहासचिव सुशील विकेका अनुसार सङ्घीयता कार्यान्वयन गर्न आवश्यक पर्ने महत्वपूर्ण विधेयक छिटो पारित गर्न, गणतन्त्रात्मक व्यवस्था विरोधी गतिविधिप्रति सचेत हुन र बैंकिङ तथा वित्तीय क्षेत्रको सङ्कट समाधान गर्न ध्यान दिन पनि आग्रह गरेको छ ।

प्रकाशित मितिः सोमबार, ३१ वैशाख २०८१
https://www.jawaaf.com/storage/01HXR1N2YA9EXSEGQBQ6FE6N3N.jpg

पुस्तक समीक्षा : झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’

काठमाडौँ I इतिहासका घटनालाई आधार बनाएर नाटक, खण्डकाव्य, उपन्यास आदि साहित्यिक कृति लेखिने तथा चलचित्र निर्माण गरिने चलन कायमै छ । बालकृष्ण सम, डायमनशमशेर, भीमनिधि तिवारी, माधवप्रसाद घिमिरे, एसपी आशा, श्रीकृष्ण श्रेष्ठ, नारायण ढकाल, योगेशराज, निलम कार्की निहारिका, नगेन्द्र न्यौपाने, चन्द्रप्रकाश बानियाँ, केशव दाहाल, गोविन्दप्रसाद कुसुम, राजव, चिरञ्जीवी वाग्ले आदिले ‘अमरसिंह’, ‘सेतो बाघ’, ‘शिलान्यास’, ‘राष्ट्रनिर्माता’, ‘राजराजेश्वरी’, ‘जङ्गबहादुर’, ‘वृषभ वध’, ‘रणहार’, ‘योगमाया’, ‘दरबार बाहिरकी महारानी’,  ‘महारानी’, ‘मोक्षभूमि’, ‘भृकुटी’, ‘क्रूर पृष्ठमा जो थिए’, ‘बहादुर शाह’ आदि उपन्यास, नाटक, काव्यकृतिमा इतिहासका पक्षलाई विषय बनाउनुभयो । कतिपयले सत्रौँ–अठारौँ शताब्दीका र केहीले पञ्चायतकालकै घटनाबारे लेखेर मदन र पद्मश्रीलगायत पुरस्कार पनि प्राप्त गर्नुभयो । 

पात्रमार्फत इतिहासका लुकेका पाटाबारे जानकारी दिने र मनोरञ्जन पनि गराउने उद्देश्यले लेखिएका त्यस्ता कृतिमा वास्तविकता एवं सत्यताबारेको जोखिम भने कायमै रहन्छ । कथालाई रोचक बनाउन बिचबिचमा घुसाइने प्रसङ्ग, संवाद र वाक्यहरू मसला मात्र हुन् भन्ने सत्य जान्दा जान्दै पनि उपन्यासकारले घटनालाई तन्काइरहन्छन्, पाठक त्यसैमा रमाइलो मान्दै जान्छन् र आफू ऐतिहासिक घटनाको नजिक पुगेको ठान्छन् । 

कतिपय कृतिमा पात्रहरूका समय र घटनाको सत्यतामा आनका तान फरक परे पनि त्यसलाई कथा वा उपन्यास वा नाटक आदि भनिदिनाका साथै लेखकको कल्पनाशीलता भनिदिए पुग्छ । तैपनि ऐतिहासिक घटना र त्यसका पात्रहरूलाई प्रस्तुत गर्न लेखकहरू जोखिम मोल्नमै लालायित भइरहन्छन् । इतिहास लेख्दा तथ्यतथ्याङ्कको नजिक पुग्न निकै मेहनत पर्ने र कतिपय प्रसङ्गमा सत्यता नभेटिने भयले पनि उहाँहरू आख्यान वा साहित्य लेखनमा लाग्नुभएको हुन सक्छ । 

साङ्ग्रिला मिडिया ग्रुप प्रालिद्वारा २०८० पुसमा प्रकाशित साहित्यकार कुमार भट्टराईको ‘२८ साल’ उपन्यास नेपालको त्यस्तै ऐतिहासिक ‘झापा विद्रोह’ (२०२८–०३२) मा आधारित छ । सोही वर्ष माघ १० गते काठमाडौँमा विमोचन भएर बजारमा आई चर्चापरिचर्चा हुन थालेको छ । ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ शीर्षकमा गत वर्ष नै भदौमा सार्वजनिक भएको निरोज कट्टेलको अनुसन्धानमूलक कृतिले पनि भट्टराईकै जस्तो कथा भन्छ तर इतिहासका वर्णनका रूपमा । आख्यानका रूपमा आएको भट्टराईको समीक्ष्य कृतिलाई भने कतिसम्म पत्याउने भन्ने प्रश्न चाहिँ बाँकी नै रहन्छ । 

लेखक विद्रोहसँग सम्बन्धित पात्रहरू कसैलाई देवत्वकरण र कसैलाई दानवीकरण गरिएकाले इतिहासको समूल सत्य स्वरूप खुल्न नसकेको तथ्यसँग विश्वस्त भएपछि नै अनुसन्धानात्मक समीक्ष्य कृति लेख्न आफू उद्यत भएको स्पष्ट गर्नुहुन्छ । आठ वर्षअघि अध्ययन सुरु गरी चार वर्ष लेखन, पुनर्लेखन, सम्पादन र प्रकाशनमा लागेको  यस उपन्यासका ‘सबै तथ्य  पात्रहरूसँग गरिएका आधिकारिक संवाद’ भएकाले ‘कृतिमा उल्लिखित विषय र सन्दर्भमा जिज्ञासा रहे उहाँहरूसँग हरेक पाठकले सम्पर्क गर्न सक्ने’ वा रुजु गर्न सक्ने चुनौती पनि लेखकले दिनुभएको छ । झापाका पत्रकार भट्टराईका यसअघि ‘नसमेटिएका पाइलाहरू’ र ‘बकाइनो’ कथासङ्ग्रह तथा ‘मेरो’ कवितासङ्ग्रह र ‘कृष्ण’ सूत्रकाव्य पनि प्रकाशनमा आइसकेका छन् । 

उपन्यासकार “सम्पूर्ण सत्य केही हुँदैन” भन्नेमा विश्वस्त भएपछि घटनाको यथार्थ खोज्नपट्टि तथा लेखनमा लाग्नुभयो । ‘इतिहासको वास्तविकता खोज्ने र हेर्ने प्रयासमा तयार’ भएको अनुसन्धानमूलक उपन्यासमा २०२८ सालदेखि सुरु भएको विद्रोहको पृष्ठभूमि, विकास र त्यस क्रममा विद्रोहीबाट आठ, सरकार पक्षबाट ६ र नागरिकको अगुवाइमा भएको एक जनाको हत्यासँग सम्बन्धित घटनाको नालीबेली वक्ताहरूका मुखबाट व्यक्त गराइएको छ । गाउँका हुनेखाने वर्गका धर्मप्रसाद ढकाल र उहाँका छोरा ज्ञानी एक्सनका नाममा मारिएपछि सरकारबाट पक्राउ परेकामध्ये पाँच जना झापा र इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा २०२९ फागुन २१ गते  मारिएकाले घटनाले झनै उग्र रूप लिएको र त्यसैबाट  कोअर्डिनेसन केन्द्र हुँदै हालका नेकपा (माले), एमाले, एकीकृत समाजवादी जन्मेका हुन् । यसैले नेपाली कम्युनिस्ट आन्दोलनको  इतिहास अध्ययन गर्दा २८ साल र त्यसपछिका घटना बिर्सनै सकिन्न । 

नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनको विकास हुँदै गणतन्त्र प्राप्तिसम्मको उपलब्धिमा सो अभियानको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ । राजाको सत्र सालको कदमपछि छिन्नभिन्न वामपन्थी समूहलाई त्यस घटनाले नयाँ तागत भने दिएको थियो । उग्रता, युवा जोस, क्रान्तिकारी दुस्साहस जे भए पनि सो कार्यको  सकारात्मक–नकारात्मक दुवै पक्षबाट मूल्याङ्कन हुँदैआएको छ ।  रोचक कुरा त, भारत, पश्चिम बङ्गाल, नक्सलबाडीमा चारु मजुमदारका अगुवाइमा ‘नक्सलाइट’बाट भएको ‘वर्गशत्रु खत्तम’ को सिको गरेर केही किलोमिटर दूरीमा रहेको झापामा चलाइएको अभियानमा राजनीतिक र लडाकु दुवै पक्षको संलग्नता थियो र नक्सलबाडीका केही युवा पनि सहभागी थिए ।  सुखानीमा मारिएका क्रान्तिकारी कम्युनिष्टका नाममा ‘सुखानी सहिद स्मृति प्रतिष्ठान’ नै बन्यो भने विद्रोहमा सामेल हुनुभएकालाई केपी शर्मा ओली सरकारका पालामा  २०७२ सालमा राष्ट्रिय सहिद पनि घोषित गरियो । जहाँ सुखानीका सहिदको प्रतिमा बनेको छ, त्यसको करिब तीन सय मिटर पूर्वमा विद्रोहीबाट मारिएका बुटन चौधरीलाई पनि सहिद नै मानेर सालिक स्थापना गरिएको घटना रोचक छ । मर्ने, मार्ने दुवै सहिद र दुवैका सालिक सार्वजनिक स्थानमा सँगसँगै हुनाले इतिहासको पुनःमूल्याङ्कन भएको मान्न सकिन्छ । 

मारिनुपर्ने भनिएका सामन्त र शोषक तथा  नमारिनुपर्ने निर्दाेष दुवैथरी मारिएको सुनिएको सो घटना आन्दोलन थियो कि पूर्वाग्रह भन्ने ठोस प्रमाण नभएकाले नै त्यसको पूर्तिका लागि पुस्तक लेख्नुभएका भट्टराईले इतिहास नै त लेख्नुभएन, बरु त्यसलाई स्पर्श गर्ने उपन्यास लेख्नुभयो । नयाँ उपन्यास लेख्नलाई उहाँलाई ‘धनबहादुर र म’ र महाभारतकालीन पात्र ‘अश्वत्थामा’लाई लिएर लेख्दाको पहिलेकै अभ्यास छँदै थियो । पहिलो प्रयोगवादी उपन्यासमा उहाँले सामान्य भनिएका मानिसका भोगाइलाई विषय बनाउनुभएको छ  भने दोस्रो सबैले भन्दै आएका असत्य पक्षका दुर्याेधन एवं कौरवपक्ष सत्य भएको नयाँ कथ्य दिनुभएको छ । 

विद्रोह थालनीको ५० वर्ष पारेर स्वर्ण वर्ष समारोह आयोजना गराई त्यहाँ विद्रोहमा संलग्न व्यक्तिलाई वक्ताका रूपमा बोल्न लगाएर तिनका टिपोट सारेको जस्तो गरेर लेखकले पहिले नै तिनै वक्ता भनिएकासँग गरेको कुराकानीको प्रस्तुति नै प्रस्तुत उपन्यासको रूप हो । विद्रोहमा संलग्न ठुलो र सानो दुर्गा अधिकारी, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, केपी (खड्गप्रसाद) शर्मा ओली, सिपी (चन्द्रप्रकाश) मैनाली, नरेश खरेल, लीला उदासी, नारद भारद्वाज र उहाँका दाजु खडानन्द वाग्ले, भीष्म धिमाल, गौरा प्रसाइँ, (आन्दोलनमा महिलामा खासगरी गौरा, सीता खड्का र ...लागेका रहेछन् ।), मनकुमार गौतम, अमर कार्की, मानकुमार तामाङ, मारिने धर्मप्रसादका जेठा छोरा खगेन्द्र, घनेन्द्र बस्नेत, खड्गप्रसाद दहाल, दधिराम उप्रेती, तिलविक्रम ढकाल, रामनारायण चौधरी, नारायणप्रसाद तिवारी, हर्कबहादुर खड्का, युवराज विमली, केशवकुमार बुढाथोकी, भारत, नक्सलवाडीका निमुसिं अर्थात् राजन राजवंशी, मङ्गल मर्डी, लेखनाथ भट्टराई, कृष्ण बराललगायत ३० जनाभन्दा बढी व्यक्तिसँग भेटी औपन्यासिक रूप दिनु चानचुने कुरा होइन । मुख्य वक्ताका भनाइलाई सच्याउने तथा थपथाप गर्ने क्रममा केही वक्ता पनि नाटकीय पाराले थपिएका छन् जसले पाठकलाई कुनै वक्ताको पट््यारलाग्दो कथन पढ्दा पढ्दा  झिँजो लाग्नबाट बचाउँछ । वक्तामध्ये धेरैले हिजोको त्यो भूमिगत आन्दोलनमा संलग्न भई पार्टी बनाउने र बचाउनेहरूको मूल्याङ्कन नभएको तथा तिनको वर्तमान र भविष्य अन्धकार बनेको, दलभित्र अवसरवादी र पुँजीवादीले निर्बाध प्रवेश पाएको, कोही विद्रोहीले त मन्दिर बनाएर आफू पुजारीसमेत बनेको अनौठो र अपत्यारिलो घटना पनि सुनाएका  छन् । गोरु व्यापारी ज्ञानबहादुर कार्कीका हत्यामा संलग्न ठुलो दुर्गा अधिकारीले त यतिसम्म भने, “ यतिखेर लाग्छ–विद्रोह त कसैको पद, प्रतिष्ठा र बेपारका लागि भुइँमान्छे प्रयोग भएर लडिदिने युद्ध त रहेछ ।” 

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको भनाइ चाहिँ “राजनीतिमा जनता मार्न सत्तापक्षले हतियार प्रयोग गर्छ भने त्यसको प्रतिवादमा हतियार जायज हुन्छ । तर, शान्तिपूर्ण अवस्थामा अनावश्यक हतियार प्रयोग जायज ठहर्दैन भन्ने हाम्रो त्यतिखेरको तर्क हो” भन्ने छ जुन कुरा माओवादी आन्दोलनसँग विमति राख्ने उहाँका अचेलका बेला बेलाका भनाइसँग मेल खान्छन् । तैपनि व्यक्तिहत्यामा नेतृत्वले प्रश्रय दिएको कुरा लेखकले केही नामै किटेर लेखिदिनाले उहाँहरूलाई अप्ठेरो पर्न सक्छ । 

लेखकले विद्रोहका क्रममा पक्राउ परेकाहरू राखिएको ललितपुरस्थित नख्खु कारागारभित्र  आठ–दस फिट गहिरो र ६५ फिट लामो सुरुङ खन्दा निस्केको माटो कहाँ कसरी व्यवस्थापन गरियो त भन्ने प्रश्न गर्दै यसमा सुरक्षाकर्मीले थाहै नपाएको कुरामा विश्वास गर्नुहन्न र  सरकारले नै बन्दीलाई भाग्न मद्दत गरेको स्वतन्त्र विश्लेषक कृष्ण बरालमार्फत भन्न लगाउनुभएको छ । सबै वक्ताका भनाइ प्रस्तुत भइसकेपछि त्यसको विश्लेषणका लागि जिम्मा दिइएका साहित्यकार तथा पत्रकार बराल घटनामा पञ्चायती सरकार सहयोगी थियो भन्ने कताकति देखाउन खोज्नुभएको छ । यो चाहिँ विवादकै कुरा हो किनकि  तत्कालीन बागमती अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठलाई भने जेलरले विद्रोहीहरुले खरायो पालेको र तिनले नै खनेको हुन सक्ने भनी आफूहरू चुप लागेको स्पष्टीकरण दिएको कुरा उहाँको हालै प्रकाशित कृति ‘सूर्यास्त विम्ब (आत्मकथा)’ मा पढ्न पाइन्छ । 

नेपालको वामपन्थी एवं प्रजातान्त्रिक आन्दोलनको मार्ग नै मोडिदिने उक्त घटनाका प्रत्यक्ष साक्षी तथा सहभागीबाट नै सो अभियानको समग्र इतिहास लेखिनुपथ्र्याे ।  सोका अभावमा पत्रकार–साहित्यकार भट्टराईले जोखिम मोलेर त्यसलाई उजागर गर्ने जोखिम लिनु चानचुने कुरा होइन । हिंसालाई परिवर्तनको माध्यम ठानेको र उग्रवादलाई अपनाएको झापाली समूह पछि मनमोहन अधिकारीले नेतृत्व गरेको समूह (दल)सँग एकीकृत भएपछि शान्तिपूर्ण मार्गमा आएपछि झनै उपलब्धि हासिल भएको कुराको नालीबेली २८ सालका आन्दोलनकारीबाट राम्रोसँग आएको भए २०५२–२०६२ को सशस्त्र द्वन्द्वको घटना नै हुँदैनथ्यो कि ? वक्ता प्रायः सबैले व्यक्ति हत्या गलत थियो भनी स्विकार्नुले आगामी दिन अहिंसा र शान्तिमार्गबाट नै नेपाल हिँड्नुपर्ने सन्देश पनि दिन्छ । अनि वर्तमान गणतन्त्रको बीउ रोपाइँ र उपलब्धिमा भने दुवै घटनाको ठूलो भूमिका थियो भने चाहिँ ठोकुवा गर्न सकिन्छ । सो घटनाका पात्रमध्ये केहीले राजकीय पदहरू पाएको र अथाह सम्पत्तिको मालिक बनेको तर कसैको टाउको लुकाउने एक धुर जमिन पनि नभएको कुरा कोट्याएर लेखकले निरीह कार्यकर्तालाई नेतृत्वले ध्यान दिओस् भन्नेतर्फ पनि ध्यानाकर्षण गराउनु सकारात्मक पक्ष हो । 

कृतिमा एकै प्रकारका घटनालाई पनि विभिन्न वक्तामार्फत दोहो¥याइ–तेहे¥याइ प्रस्तुत गरिएकाले कृति अनावश्यक रूपले ४४० पृष्ठको मोटो हुन पुगेको छ  । हुन त वक्ताको भनाइमा राखिए पनि आफ्नो थर नलेख्ने पुष्पलालका नाममा श्रेष्ठ पनि राखिएको, राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको जन्म २०३५ सालतिर भएकामा एक वक्ताले २८ सालमा देखाएको, एक ठाउँमा सुखानी काण्ड फागुन ११ गते परेको, लडाकु समूह ‘स्क्वाड’ हुनुपर्नेमा ‘स्क्वार्ड’ भएको तथा रामनाथको थर प्रायः दाहाल लेखिने भए पनि दहाल, हताहत हुनुपर्नेमा हताहती, कतै अश्वत्थामा हुनुपर्नेमा अवश्वत्थामा, वृत्तिविकास  हुनुपर्नेमा वृद्धिविकास, गर्त हुनुपर्नेमा गर्व लेखिएको, राजन राजवंशीको भनाइ उहाँले बोल्ने लवजमा नआएको जस्ता केही कमजोरी लेखनमा देखिएको  छ ।  

कृति पढ्दा औपन्यासिक अंश कम र घटना विवरण बढी भएको भान पनि पाठकलाई पर्छ । घटनाका साक्षी तथा सहभागी त्यतिका वक्ताले विद्रोहका बारे बेलिबिस्तार लगाइसकेपछि लेखकले पाठकलाई नै त्यसप्रति हेर्ने दृष्टिकोण आफैँ तय गर्न छाडेको भए हुन्थ्यो । राजनीतिमा रुचि राख्ने अझ वामपन्थीले त आफ्नो इतिहासको ज्ञान बढाउन पनि निकै तथ्यतथ्याङ्क मिसिएको प्रस्तुत उपन्यास पढ्नैपर्नै हुुन्छ र नेपालको समग्र तथा वाम–प्रजातान्त्रिक आन्दोलनको इतिहासको सच्चाइलाई मर्न नदिन बहस चलाइराख्नुपर्छ । 

प्रकाशित मितिः सोमबार, ३१ वैशाख २०८१
https://www.jawaaf.com/storage/01HXQQQPWEAT71KCR4EJWKKM2Z.gif

आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षा

काठमाडौँ  I गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

देशका पहाडी भू–भागका थोरै स्थानमा साथै तराई भू–भागका केही स्थानमा मेघगर्जन-चट्याङ-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मितिः सोमबार, ३१ वैशाख २०८१
https://www.jawaaf.com/storage/01HXP22K0E86FDKPTG5SPMM9GW.jpg

शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छुः त्रिवि उपकूलपति बराल

काठमाडौँ I त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले शैक्षिक पात्रो सुधार गरी त्यसलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उहाँले शैक्षिक पात्रो सुधारअनुरुप काम गरिरहेको र तयारी भइरहेको जानकारी दिनुभयो । 

“कसरी त्रिविको परीक्षा पात्रो सुधार गर्नुहुन्छ, कसरी परीक्षालाई सुधार गर्नुहुन्छ भन्ने यहाँहरुको जिज्ञासा स्वाभाविक हो”, उहाँले भन्नुभयो, “प्रत्येक प्रदेशमा परीक्षा गर्ने र उत्तरपुस्तिका त्यही सङ्कलन र जाँच गर्ने संरचना भन्दै छ, परीक्षालाई विकेन्द्रीकरणलाई व्यावहारिकरुपमै कार्यान्वयन गर्ने हाम्रो योजना छ ।”

उपकूलपति प्रा डा बरालले विद्यार्थीलाई जतिसक्दो चाँडो परीक्षाफल दिनका लागि आइटीको प्रयोग गर्ने योजना सुनाउनुभयो । बजारको मागअनुसार पाठ्यक्रम विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन गर्ने बताउँदै उहाँले त्यसपछि बजारले मागेको जनशक्ति उत्पादन गर्नका निम्ति नयाँ नयाँ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नुभयो । नेपाल सरकारको शिक्षा नीति, २०७६ मा विदेशी विद्यार्थीलाई आकर्षण गर्नेगरी त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्नुपर्ने उल्लेख गरिएको छ । 

कमाउँदै पढ भन्ने आफ्नो योजना रहेको बताउँदै उहाँले प्रमाणपत्र मात्रैभन्दा पनि व्यावहारिक र रोजगारमूलक शिक्षा बनाउने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिभुवन विश्वविद्यालयले नेपालको उच्च शिक्षामा करिब ८० प्रतिशत ओगटेको छ, यो विश्वविद्यालय बिग्रिँदा देशको समग्र शिक्षा क्षेत्र नै बिग्रिन्छ भन्ने मेरो योजना, सोँच पत्रमा राखेको छु र अहिले पनि हाम्रो मान्यता त्यही नै छ ।” 

उहाँले शैक्षिक पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन नहुँदा र समयमा परीक्षफल प्रकाशित नहुँदा पछिल्लो समयमा विश्वविद्यालयप्रति विकर्षण बढ्दै गएको स्वीकार गर्दै अभिभावक र आमजनतामा विश्वविद्यालयप्रति नकारात्मक किसिमको भावना सिर्जना गरेको बताउनुभयो ।

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुन नहुने भन्दै उहाँले उपकुलपतिलाई विभिन्न समयमा विभिन्न किसिमका धम्की आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो नेपालको ठूलो विश्वविद्यालय हो, यसको ७७ जिल्लामै नेटवर्क छ, त्यसैले विश्वविद्यालय सुधार गर्नका निम्ति हामीले यसको ‘स्ट्रक्चर रिफर्म’ गर्नुपर्छ भन्ने छ, यो नेपाल सरकारको नीतिमा पनि छ ।”

प्रकाशित मितिः आइतबार, ३० वैशाख २०८१
https://www.jawaaf.com/storage/01HXNXT5AGCXESTEFT290R6AWH.jpg

लामो समयपछि वर्षा भएसँगै झापाका किसान खुसी

भद्रपुर (झापा) I लामो समयपछि वर्षा भएसँगै झापाका किसान खुसी भएका छन् । आज बिहानै देखि पानी परेपछि किसानले लगाएको चैते धान, मकै, सुपारी लगायतका बालीलाई राहत मिलेको भन्दै किसान खुसी भएका हुन् ।

झापा गाउँपालिका–७ मा मकैखेती गर्नुभएका जीवनाथ लम्साल आज बिहानै देखि पानीले अलिकति भए पनि राहत मिलेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “धेरै समयपछि माटो भिज्ने गरी पानी परेको छ, हाम्रो जस्तो सुक्खा माटो भएको क्षेत्रलाई यसले राम्रो गर्छ ।” 

आजको पानीले घोगा लाग्दै गरेको मकैका लागि रामवाणको काम गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापा एकाइका प्रमुख रविन्द्र सुवेदी बताउनुहुन्छ । “वर्षा ढिलो भए पनि माटो भिजेको छ, सबै किसानका लागि राहतको काम गर्छ”, प्रमुख सुवेदीले भन्नुभयो । लामो समयसम्म पानी नपर्दा नदीबाट सिँचाइ भएको ठाउँमा पानीको कमी हुँदै गएको तथा भूमिगत सिँचाइको सुविधा भएका क्षेत्रमा बिजुलीको भोल्टेज कम हुँदा किसानले आवश्यक सिँचाइ गर्न नपाएको बताएका छन् । 

गौरीगञ्ज गाउँपालिका–३ का सीताराम खड्काका अनुसार भूमिगत सिँचाइको व्यवस्था भए पनि खडेरीका कारण सबै बोरिङमा सुक्खा लागेको छ । “लामो समयको खडेरीका कारण धान, गहुँ आधाजति सुकिसकेका थिए, उत्पादनमा कमी भए पनि आजको पानीले राहत मिल्नेछ”, खड्काले भन्नुभयो । झापाका विभिन्न भागमा आज बिहानैदेखि सामान्य वर्षा भइरहेको छ । 

प्रकाशित मितिः आइतबार, ३० वैशाख २०८१
https://www.jawaaf.com/storage/01HXNHB0G0FHSDZBNAE5091SPJ.jpg

किसानलाई मौरीसहितको घार अनुदानमा

दमौली (तनहुँ) I बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन वडाले मौरीसहितका घार वितरण गरेको हो । किसानलाई ६० प्रतिशत अनुदानमा मौरीहितका घार उपलब्ध गराइएको वडाध्यक्ष धुर्वप्रसाद लामिछानेले जानकारी दिनुभयो । त्यसमा ४० प्रतिशत किसानको साझेदारी छ । स्थानीयलाई मह उत्पादनमा आकर्षित गर्दै ग्रामीणस्तरमा पोषण परिपूर्ति गर्ने उद्देश्यका साथ मौरीसहितको घार उपलब्ध गराइएको उहाँले बताउनुभयो ।     
      
वडाका हरेक किसानलाई समृद्धिसँग जोड्ने अभियानस्वरुप सहयोग गरिएको बताउँदै उहाँले भन्नुभयो, “वडाभित्रका हरेकलाई आयआर्जनसँग जोड्ने सोच राखेका छौँ । वडाले पशुपालन, कृषि, रोजगारीलाई प्राथमिकतामा राखेको छ । उद्यम गर्न चाहने सबैलाई वडा कार्यालयले सहयोग गर्नेछ । ” उत्पादित महको बजारीकरणका लागि पनि वडा कार्यालयले सहयोग गर्ने वडाध्यक्ष उहाँले बताउनुभयो I

प्रकाशित मितिः आइतबार, ३० वैशाख २०८१